सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा


प्रकाशित मिति :2020-06-29 17:06:01

–महिला खबर–

ललितपुर । मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित सुर्य चोककी २४ वर्षीया सुस्मिता क्षेत्री थापाको हत्या आरोपमा प्रहरीले चार जनालाई सार्वजनिक गरेको छ ।

सुस्मिताको आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापाले सुनियोजित रुपमा हत्या गरेको निष्कर्ष निकाल्दै प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बिबाह भएको ६ महिना नपुग्दै श्रीमान् रुपेन्द्र थापाको दुर्घटनामा मृत्यु भएपछि पीडामा रहेकी सुस्मितालाई बलात्कार गरेका ससुराले आफ्नो बलात्कार कर्तुत सार्वजनिक हुने डरले बुहारीको हत्या छोरी र श्रीमतीको सहयोगमा सुनियोजित हत्या गरेको प्रहरीको भनाइ छ ।

आफूमाथि आफ्नै ससुराले बलात्कारजस्तो जघन्य अपराध गरेको र यो कुरा कुनै पनि हालतमा लुकाएर नबस्ने सुस्मिताको मनसाय बुझेर ससुरा प्रकाश थापाको योजना बमोजिम हत्या अपराध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डी.एस.पी.इन्द्र बहादुर रानाले महिला खबरलाई बताए ।

यस्तो छ प्रहरी प्रतिवेदन

मिति २०७७।०३।१५ गते ।

सुस्मिता क्षेत्री थापा हत्याकाण्ड विवरणः

मिति २०७६।०१।१८ गते स्व. रूपेन्द्र थापा र मृतक सुस्मिता क्षेत्री थापा बीच विवाह सम्पन्न भएको ।

मिति २०७६।०६।२३ गते कपिलवस्तु स्थित ससुरालीबाट मोटरसाइकलबाट फर्कने क्रममा नवलपरासीको दाउन्नेमा रूपेन्द्र थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको । घटना विवरणः मिति २०७७।०३।०२ गते विहान अं. ०६:२० बजेको समयमा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.वडा नं. ४ कर्रा स्थित सुर्य चोक बस्ने वर्ष २४ की सुस्मिता क्षेत्री थापा आफ्नै घरको भान्सा कोठाभित्र मृत अवस्थामा फेला परेको भनी व.प्र.का. हेटौंडामा खबर प्राप्त भएको ।

तत्काल व.प्र.का. हेटौडाबाट घटनास्थल सुरक्षार्थ प्रहरी अधिकृत सहितको टोली खटी विहान ०६:३० बजे पुगेको । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्र.ना.उ. ईन्द्र बहादुर रानाको कमाण्डको प्रहरी टोली घटनास्थलमा खटी गएको तथा सो घरको भान्छा कोठाभित्र मृतक लाश रही ढोकाको चुकुल भित्रबाट बन्द रहेको भन्ने जानकारी प्राप्त ।

माईती पक्षलाई खबर । कार्यालय प्रमुख प्र.उ. सुशील सिंह राठौर हेटौंडा अस्पतालको MEDICAL LEGAL तालिम प्राप्त डाक्टरलाई साथमा लिई घटनास्थलमा पुग्नु भएको । दिउँसो अन्दाजी १४:०० बजे माईती पक्ष (मृतकको बुबा समेत) घट्नास्थलमा पुगेको । स्थानीय जनप्रतिनिधी र माईती पक्षको रोहबरमा प्रहरीले ढोका फोरी हेर्दा मृतक सुस्मिता क्षेत्री थापाको शव उत्तानो अवस्थामा टाउकोमा चोट लागी रगत बगेको अवस्थामा फेला परेको ।

घटनास्थलमा तालिम प्राप्त कुकुरलाई लगी अनुसन्धान गरिएको । घटनास्थल तथा लाशजाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरेको । मृतकको माइती पक्ष अर्थात पीडित पक्ष यस कार्यालयमा उपस्थित भई ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिएको । प्र.ना.उ. ईन्द्र बहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको । पोष्ट मार्टम पश्चात मृतक सुस्मिता क्षेत्री थापाको शव निजको ससुरा प्रकाश थापाले बुझी लिएको । मिति २०७७।०३।०४ गते हेटौंडा अस्पतालको पत्र साथ पोष्टमार्टम रिपोर्ट प्राप्त भएको ।

मृतकका ससुरा प्रकाश थापा, नन्द सिता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको । घटना हुनुका कारणहरूः मानसिक यातनाः · स्व. रूपेन्द्र थापाको ससुरालीबाट घर फर्कने क्रममा मिति २०७६।०६।२३ गते सवारी दुर्घटनामा परी मृत्यु भए पश्चात रूपेन्द्र थापाको श्रीमती मृतक सुस्मिता क्षेत्री थापाको कारणले रूपेन्द्र थापाको मृत्यु भएको भनी परिवारका सदस्यहरूबाट पटक पटक आक्षेप लगाई मानसिक तनाव दिने गरेको ।

यौन जन्य कारणः ससुरा प्रकाश थापाबाट बुहारी मृतक सुस्मिता क्षेत्री थापालाई बाथरूममा जबर्जस्ती करणी उद्योग गरेको ।

आर्थिक कारण:

(क) मृतक सुस्मिता क्षेत्री थापाको श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु पश्चातको क्षतिपूर्ति वापत पाउने रू. ५,००,०००।- (पाँच लाख) हकवाला मृतक सुस्मिता क्षेत्री थापाले प्राप्त गरेको सो सम्बन्धमा घर पक्षले हामीले पाउनुपर्छ भनी विवाद सृजना गरेको । (ख) स्व. रूपेन्द्र थापाले काम गर्ने (CSI) क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रा.लि. हेटौंडाबाट निजको मृत्यु पश्चात पाउने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत एकमुष्ठ रू. ३८,२८,४७२।- (अठतीस लाख अठ्ठाइस हजार चार सय बहत्तर) भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र श्रीमती सुस्मिता क्षेत्री थापा बीच विवाद भएको कारण हालसम्म भुक्तानी हुन नसकेको ।

(ग) सामाजिक सुरक्षा कोषबाट मिति २०७६ साल कार्तिक महिना देखि मिति २०७७ सालको बैशाख महिना सम्म मासिक रु. १७,१००।– को दरले रु. १,७७,९४८।– रकम मृतक सुस्मिता क्षेत्रीको ग्लोबल आई.एम.ई. बैंक हेटौडाको खाता नं. ४६०७०१०००४४३३ मा अन लाईन पेमेन्ट भएको । (घ) नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट स्व. रुपेन्द्र थापाको रु. १०,००,०००।- को बचत अमृत सावधिक जीवन बिमालेख दाबी भुक्तानी बापतको रू. १०,६३,९१४।- (दश लाख त्रीसठ्ठी हजार नौ सय चौध) ईच्छाईएको व्यक्ति निजको बुबा प्रकाश थापाले लिई सकेको । मृतक सुस्मिता क्षेत्री थापालाई प्राप्त हुने सबै रकमहरू निकालेर घरमा ससुरालाई दिनुपर्छ भनी मृतक सुस्मिता क्षेत्री थापालाई घर परिवारबाट बारम्बार दवाव दिने गरेको ।

हत्या कसरी भयो ?

मिति २०७७।०३।०१ गते अन्दाजी बेलुकी २१:३० बजेको समयमा मृतकको पारिवारका सदस्यहरू ससुरा प्रकाश थापा र सासु तुलसा थापा बेलुकाको खाना खाई भान्छा कोठाबाट आफ्नो सुत्ने कोठा तर्फ गएको थिए । खाना खानु भन्दा अगाडि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । तत्पश्चात नन्द सिता थापा र मृतक सुस्मिता क्षेत्री थापा भई भान्छा कोठामा खाना खाइरहेका थिए । सुस्मिता क्षेत्री थापा महिनावारी भएकाले भान्छा कोठाको भुईमा बसेर खाना खाँदै थिइन् । सोही समयमा ससुराले बाहिरबाट काठको लौरो हातमा लिएर भान्छा कोठामा प्रवेश गरी बुहारीको टाउकोमा प्रहार गरे र सुस्मिता भुँईमा लडिन् । नन्द सिता थापाले समेत भाउजु माथि प्रहार गरिन् । तत्पश्चात सुस्मिता क्षेत्री थापाले बचाउ बचाउ भन्ने शब्द निकाले पछि सासु तुलसा थापाले सुनी भान्छा कोठामा आए पश्चात ससुरा र नन्द सिता थापाले सासुलाई भान्छाबाट बाहिर निकाले । त्यसपछि ससुरा र नन्द सिता थापा मिली पटक पटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्ममता पूर्वक सुस्मिता माथि प्रहार गरी हत्या गरे र निजको मृत्य पश्चात सासु तुलसा थापा भित्र आई फुटेको सिसाको कचौराको टुक्राहरू जम्मा गरी प्लास्टिकको झोलामा हाली बाहिर भान्छा कोठाको अगाडिको बरन्डामा राखे पछि सिता थापाले आफ्नी आमालाई लिएर सुत्ने कोठामा लगी हल्ला नगर्न भनिन् ।

सुस्मिता मृत्यु प्रकरणः ससुरा र नन्द पक्राउ, हत्या नै भएको माइतीको दावी

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: