यसरी ध्वस्त भए अछामका छाउगोठ


प्रकाशित मिति :2020-06-23 14:32:12

–मेनुका ढुंगाना–

अछाम । कमलबजार नगरपालिका २ बजुडाकी नरपता विष्ट ४३ वर्षकी भइन् । १३ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएकी उनी अहिले पनि महिनावारी हुन्छिन् । विवाहपछि उनी पहिलो पटक महिनावारी भएकी थिइन् । ३० वर्षसम्म प्रत्येक महिनाको ६ दिनसम्म गोठमा बसिन् । जिल्लाभरी छाउगोठ भत्काउने अभियान सुरु भयो । त्यही क्रममा नरपताको गोठ पनि भत्कियो ।

गोठ भत्किएपछि आफ्नो जिन्दगीमा ठूलै परिवर्तन भएको महसूस नरपतालाई भयो । ‘ससाना छोराछोरी छन् । आफंै खाना पकाएर खान सक्दैनन् । एक महिनाको ६ दिन म मात्र होइन, ४ छोराछोरीसमेत भोकै बसे’ उनले भनिन्, ‘श्रीमान् भारतमा, घरमा खाना पकाएर आफूलाई र छोराछोरीलाई खुवाइदिने मान्छे कोही थिएनन् । भोकभोकै बस्नुपथ्र्यो ।’ छोराछोरीलाई भोकै सुताउनु भन्दा आफैं खाना पकाएर खुवाउछु भन्दै जबरजस्ती भान्सामा पसेको अनुभव उनले सुनाइन् । ‘नाबालक छोराछोरीको बिचल्ली बनाएर गोठमा म बस्न सकिन । एक पटक त खाना पनि पकाएँ । तर गाउँले सबै मिलेर मलाई खेद्न थाले’ उनले भनिन्,‘ मलाई देउताको डर थिएन, समाजको डर थियो ।’ अहिले उनी मात्र होइन गाउँका सबै महिला छाउगोठमा नजाने भएपछि सबैभन्दा धेरै खुशी नरपतालाई मिलकोे छ । ‘सबैभन्दा धेरै समाजको डर हो । एक्लै बसे समाजले हेला गर्ने, नबसे छोराछोरी भोकभोकै राख्नुपर्ने । यो अभियानले मजस्ता धेरै आमाहरू खुशी भएका छन् ।’

कमलबजार नगरपालिका १ मुलीकी २९ वर्षीया पुतली विष्टको अनुभूति पनि नरपताको जस्तै छ । उनका २ छोरी एक छोरा छन् । महिनावारी भएको समयमा कयौं रात ३ छोराछोरीलाई आफूसंगै गोठमा राखेर सुतेको उनको भनाइ छ । ‘श्रीमान् घरमा छैनन् । खाना पकाउने मान्छे पनि कोही भएन’ उनले भनिन्, ‘तीन छोराछोरी आफूसंगै गोठमा सुताएँ । म छाउ भएको थाहा पाए छोराछोरी डाको छोडेर रुन्थे ।’ प्रहरी र जनप्रतिनिधिको टोलीले छाउगोठ भत्काइदिएपछि उनी घरमै बस्न थालिन् । छोराछोरीलाई खाना पकाएर खुवाउन सक्ने भइन् । ‘आफैं त छाउगोठ भत्काएर कहिल्यै घरमा बस्न सक्ने थिइनँ,’ उनले भनिन्, ‘समाजसंग लडेर पनि घरमा बस्न सक्दैन थिएँ । अहिले त ढुक्कले बस्न पाइएको छ ।’

मेनुका ढुंगाना

बजुडाकी धौली भण्डारी ६० वर्षकी भइन् । महिनावारी भएको समयमा जंगलमा बसेको अनुभव छ उनीसंग । ‘मेघ, चिसो । हिलो केही नभनी जंगलमा बस्यौं । ओडारमा बस्यौं । धेरै दुःख पाइयो’ त्यतिबेला यसरी छाउ बार्नु नराम्रो हो भनिदिने कोही थिएनन् । हामीलाई त यो संस्कार जस्तो लाग्थ्यो’ धौलीले भनिन्, ‘महिला भएपछि एक महिनामा ५ दिन दुःख भौग्नै पर्ने चलन जस्तो थियो ।’ आफूले भोगेका दुःख छोरी बुहारीले भोग्नु पर्छ भन्ने उनलाई लाग्थेन । तर समाजको चलन हो । नमाने समाजले बहिष्कार गर्छ भन्ने पिर भने थियो । ‘अहिले नराम्रो रहेछ भन्ने थाहा भयो । छाउ बारे कारबाही हुन्छ भन्ने थाहा भयो’ उनले भनिन्, ‘अहिलेका छोरी बुहारी त साह्रै भाग्यमानी ।’

कमलबजार नगरपालिका ७ कि अस्मिता खड्कालाई जहिले महिनावारीको समय नजिकिँदा निकै डर लाग्थ्यो । गाउँकै विद्यालयमा कक्षा ८ मा पढ्ने उनलाई महिनावारी हुँदा ढोकाबिनाको गोठमा रात कसरी बिताउने भन्ने पिरलो हुन्थ्यो । छोटा दिन, लामा रात उनलाई नभए हुन्थ्यो जस्तो लाग्थ्यो । तर एक महिना यता महिनावारी भएको समयमा उनलाई कुनै चिन्ता छैन । प्रहरी र जनप्रतिनिधिले गोठ भत्काएको र गोठमा बसाए कारबाही गर्ने भन्दै अभिभावकलाई सम्झाइ बुझाइ गरेपछि उनी आफ्नै सुत्ने कोठामा सुत्न थालेकी छन् । उनले सुनाइन्, ‘महिनावारी हुँदा गोठमा जाउ भन्ने दुस्साहस कसैले गरेका छैनन् । यस्तो भने उजूरी पर्ला भन्ने डर छ सबैलाई ।’

स्वयंसेविका सक्रिय

मंगलसेन नगरपालिका ५ कि मथुरा ढुंगाना स्वयंसेविका हुन् । महिला, बालकालिका वृद्धवृद्धाका दुःख सुखसंग घुलमिल भएको २० वर्ष भयो । यो अवधिमा उनले धेरैको ज्यान जोगाएकी छन् । कुसंस्कारका विरुद्धमा आवाज उठाइरहेकी छन् । छाउगोठ अन्त्य गर्नुपर्छ । सुरक्षित घरमा बस्नुपर्छ भनेर उनले पहिलेदेखि नै सबैलाई सम्झाइबुझाइ गर्दै आएकी छन् । गाउँमा आमा समूहको बैठकमा पनि उनको मुख्य एजेण्डा छाउपडी कुप्रथा कसरी उठाउने भन्ने नै रहन्छ । सबै महिलाहरूलाई बुझाउन नसके पनि उनले यो अभियानलाई कहिल्यै छोडिनन् । ‘छाउगोठमा बस्दा महिलाको स्वास्थ्यमा मात्र होइन, आमासंग बस्ने बालबालिकालाई झन् धेरै असर पर्छ’ उनले भनिन्, ‘आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन त यस्ता कुसंस्कार हट्नै पर्छ । यो हटाउनु हाम्रो दायित्व हो ।’

गाउँगाउँमा आमा समूह गठन गर्ने, बचत गर्ने बानीको विकास गर्ने, महिलालाई स्वस्थ बनाउने र आर्थिक रुपमा सक्षम बनाउन उनी जस्ता थुपै्रै स्वयंसेविकाको भूमिका रहेको उनको भनाइ छ । ‘टोलटोलसम्म स्वयंसेविकाहरू छौं । हामीले मात्रै महिनावारी भएको बेला सुरक्षित बस्न थाल्यौं भने अरु दिदीबहिनी पनि सिको गर्छन्’ उनले भनिन्, ‘हामीले पाएका विभिन्न तालिमहरूमा पनि पहिले आफ्ना आनिबानी सुधार्न भनिएको छ । सुरुआत आफैंबाट गर्यौं र अरुलाई पनि सिकाउदै छौं ।’ उनका अनुसार छाउगोठ भत्काईसकेपछि व्यवस्थित बास र पुनः गोठ निर्माण नगर्ने बारे सबैलाई सचेत पार्न थालिएको छ ।

मंगलसैन नगरपालिका ५ का महिलाहरू छाउगोठ भत्काउने अभियान बारे छलफल गर्दै । तस्वीरः मेनुका ढुंगाना

मंगलसैन नगरपालिका ५ कि मंगला बिक २६ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आएकी छन् । कसैलाई गाह्रो, अप्ठ्यारो पर्दा सबै भन्दा पहिले गाउँलेहरू उनलाई सम्झन्छन् । अहिलेसम्म उनले आफ्नो टोलका बिरामी र धेरै गर्भवतीलाई बोकेर नै स्वास्थ्य चौकी पुर्याएकी छन् । मंगला गाउँमा स्वास्थ्य स्वयंसेविका हुँदासम्म कसैलै दुःख पाउदैनन् भन्ने त्यो गाउँका मान्छेको सोचाइ छ । अहिले तिनै मंगला राज्यले चलाएको छाउगोठ भत्काउने अभियानलाई खुलेर सहयोग गर्न थालेकी छन् । गाउँमा रहेको आमा समूहकी अध्यक्ष समेत रहेकी मंगलाले भनेको धेरै महिलाले मान्छन् पनि ।

मंगलसैन ५ कि गंगा विष्टलाई महिनावारी भएको समयमा छोराछोरीलाई खाना पकाउन, स्कुल पठाउन र हेर विचार अप्ठ्यारो पथ्र्यो । पहिले सासूसुरालाई धेरै पटक सम्झाइ बुझाइ गरी घरमा बस्न खोज्दा पनि बस्न दिएनन् । अन्ततः उनले उनै मंगलाको सहयोग मागिन् । मंगलाले उनका सासूसुरालाई बुझाइ दिँदा घरमा बस्न पाइन्छ भन्नेमा उनी ढुक्क थिइन् । उनले सोचे अनुसार नै मंगलाले उनका सासूससुरालाई सबै कुरा बुझाइन् । ‘मंगला दिदी नभए म साह्रै दुःख पाउँथे, मेरो लागि भगवान नै भएर आउनु भयो ।’ गंगाले भनिन्, ‘हाम्रो लागि उनै डाक्टर हुन् । उनले भनेको कुरा सबैले पत्याउछन् ।’ गंगा जस्तै गाउँका अधिकांश महिलाहरू सामान्यदेखि जटिल समस्या देखिनेबित्तिकै मंगलाको खोजी गर्छन् । सामाजिक अभियान सफल पार्न आफू जस्ता थुप्रै स्वयंसेविकाको मुख्य भूमिका रहेको गंगाको बुझाइ छ ।

समुदायका महिला सानादेखि ठूला समस्या पर्दा श्रीमान्, सासूससुरालाई भन्दा पहिला आफू जस्तै स्वास्थ्य स्वयंसेविकालाई सुनाउने गरेको अर्की स्वयंसेविका मथुरा ढुंगानाले बताइन् ।

छाउगोठ भत्काउने अभियान स्थानीयको सहयोगले मात्रै सम्भव भएको पञ्चदेवल बिनायक नगरपालिकाकी उपप्रमुख अम्बिका चलाउने बताउछिन् । ‘प्रहरी र जनप्रतिनिधिले जबरजस्ती भत्काएको होइन । विषेशगरी आमा समूह, स्थानीयकै साथ पाएका छौं । यसले सकारात्मक सन्देश दिएको छ’ उनले भनिन्, ‘छाउपडी कुप्रथा कुनैै व्यक्तीको सम्प्रदायको मात्रै समस्या होइन, राज्यको समस्या हो । जुगौंजुग देखि बनाएको मानसिकता तोड्ने बेला सहज हुदैन ।’ उनका अनुसार छाउगोठ भत्काएपछि महिलाहरू कहाँ बसे, अवस्था के छ, त्रिपाल टाँगेर बसेको अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहको हो । मानसिकता पनि परिर्वतन हुँदै आएको छ । प्रहरी र जनप्रतिनिधि गाउँमा गएपछि छाउगोठ बस्न कानूनले बन्देज गरेको छ भन्ने सूचना पुगेको छ । ‘पहिले पाँच दिनसम्म घरको आगनमा नआउने महिलाहरू घरभित्र बस्छौं भन्न सक्ने भएका छन् । यो अभियान जसरी पनि सफल पार्छौं’ उनले भनिन् । यसअघि कानूनको डर नदेखाएसम्म स्थानीयले नमानेको उनको भनाई छ ।

पढेलेखेका महिलाहरू नै महिनावारी भएको बेला घर नजिक जान नसकेको अवस्थामा प्रहरी र जनप्रतिनिधिले जनचेतनासहित छाउगोठ भत्काएको अभियानले राम्रो सन्देश दिएको महिला अगुवाहरूको बुझाइ छ । ‘एक जना महिलाले मात्रै छाउगोठमा नजानुस् भन्दा समाजले एक्लो बनाउदै आएको थियो । आफू अर्घेलो नदेखिन पढेलेखेका महिलाहरू नै नबुझे जस्तो गर्थे’ पञ्चदेवल बिनायक नगरपालिका ८ बारलाकी अगुवा राधिका सञ्ज्यालले अनुभव सुनाइन्, ‘छाउका कुरा गरे अनिष्ट हुन्छ भन्ने समाज जब चेतावनी दिँदै प्रहरी गाउँगाउँमा पुग्यो, तब जबरजस्ती सच्चियो ।’ सिंगो गाउँका महिला गोठ भत्काउन तयार भएको बेला २÷४ जना महिला त्रिपाल टाँगेर बस्न सक्ने अवस्था आउने उनको बुझाइ छ । ‘सतप्रतिशतले भनेको मान्छन् भन्ने छैन । केही महिला त्रिपालमुनि बस्न सक्छन् । उनीहरूलाई सम्झाउन हामी लाग्ने छौं’ राधिकाले भनिन् ।

प्रत्येक टोलमा महिलाहरूलाई क्रियाशील बनाएर अभियान चलाएको वडा नम्बर ८ बारलाका वडाअध्यक्ष ताराप्रसाद खनाल बताउँछन् । ‘अछाम जिल्लाको सबैभन्दा बढी छाउ बार्ने ठाउँ भनेकै बारला हो । यहाँका जनताले गोठ भत्काउने अभियानमा साथ दिन्छन् जस्तो लागेको थिएन’ उनले भने, ‘तर अभियान लिएर घरघरमा जाँदा स्थानीयको उत्साहजनक सहभागीता र साथ पाइयो । यसलाई जनचेतनासहित निरन्तरता दिन्छौं ।’

२०७६ मंसिर १५ गते राती साँफेबगर नगरपालिका ३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा बसेका बेला मृत्यु भएपछि अछामका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान सुरु भयो ।

गृहमन्त्रालले छाउगोठ भत्काउनु, सम्झाई बुझाई गर्नु र अटेर गरे कानूनी कारबाही गर्नु भन्दै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि अछाममा छाउगोठ भत्काउने अभियान पुस ९ गतेबाट सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालयको संयोजनमा १० वटै स्थानीय तहका प्रमुख उपप्रमुखले माघ मसान्तभित्र छाउगोठ भत्काइ सक्ने र फागुनभित्र जिल्लालाई छाउगोठ मुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसै अनुरुप कमलबजार नगपालिका मंगलसेन नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका छाउगोठमुक्त घोषणा भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाका १० वटा स्थानीय तह मध्ये सबै भन्दा बढी चौरपाटी गाउँपालिकामा ८ सय ५३ छाउगोठ भत्काइएका छन् । यस्तै साँफेबगर नगरपालिकामा ४ सय ६४, मंगलसेन नगरपालिकामा ५ सय १९, पञ्चदेवल बिनायक नगरपालिकामा ३ सय ४१, कमलबजार नगरपालिकामा ३ सय ८२, ढकारी गाउँपालिकामा ७ सय ५४, तुर्माखाद गाउँपालिकामा ४ सय ४९, मेल्लेख गाउँपालिकामा ४ सय २७, रामारोस गाउँपालिकामा २ सय ७२, चौरपाटी गाउँपालिकामा ८ सय ५३, बान्नीगढी जयगढ गाउँपालिकामा ५ सय २९ छाउगोठ गरी जम्मा ५ हजार ८ सय ४३ छाउगोठ भत्काइएका छन् ।

(पत्रकार ढुंगाना कान्तिपुर दैनिकका अछाम समाचारदाता हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: