हिंसापीडितको चौतारी बन्दै सेफ हाउस


प्रकाशित मिति :2020-06-13 18:56:24

–निमेन्द्र शाही–

बाजुरा । आफूमाथि भइरहेको हिंसाबाट मुक्त हुने विकल्प नदेख्दा सहेरै बसेका महिलाले पीडा फुकाउने चौतारी र न्यायका लागि अगाडि बढ्ने गोरेटो भेटेका छन् । लैंगिक हिंसामा परेका महिला तथा बालिकाको पुनस्र्थापनाका लागि बाजुरामा सुरक्षित आवास गृह (सेफ हाउस) संचालन भएपछि हिंसापीडितलाई न्याय खोज्ने आँट आउन थालेको हो । अंगे्रजी वर्ष सन् २०१९ मा मात्रै ९३ जना र चालु वर्ष सन् २०२० मा १७ जना महिला सेफ हाउसकै सहयोगमा कानूनी अधिकारका लागि अघि बढेका छन् ।

फागुन महिनाको पहिलो साता सदरमुकामको बडिमालिका नगरपालिकाको पञ्जिकरण शाखामा एक छिन् हल्ला खल्ली मच्चियो । केही महिला, सो फाँटका कर्मचारी र एक दुई पुरुषको भनाभन भएको आवाजले कार्यालयको काम गर्ने वातावरण बिथोलियो । सबैको ध्यान हल्ला भएको फाँटमा गयो । एक महिला रुँदै आफ्नो आक्रोस पोखिरहेकी थिइन्, “यतिका वर्ष तेरो घरमा नौकर भएँ । छोराछोरी भए । अहिलेसम्म नागरिकता दिइनस् । कसका छोराछोरी हुन् यी ? छोराछोरीलाई नागरिकता बनाई दिनु पर्दैन ?” बडिमालिका नगरपालिका –९ कि ३४ वर्षीया राजु पाध्याय थिइन् उनी । श्रीमान्बाट घरेलु हिंसा सहदै आएकी उनी आफू र छोराछोरीलाई नागरिकता बनाइदिनु पर्ने माग गर्दै नगरपालिका पुगेकी थिइन् । उनका श्रीमान्ले अर्को विवाह गरेका कारण उनलाई दुःख दिने र विवाह दर्ता नगरी हालसम्म नागरिकता समेत नदिएकोे पीडा उनी त्यहाँ पोखिरहेकी थिइन् ।

पाध्याय एक हप्ता अगाडि आफ्नो समस्यासहित सेफ हाउस पुगेकी थिइन् । त्यहाँका कर्मचारीले उनलाई परामर्श गरेसंगै उनले न्यायको बाटो ढक्ढक्याउन वडा कार्यालय र नगरपालिकामा आफ्नो कुरा राख्न पुगेकी हुन् । १८ वर्ष अगाडि बिष्णु पाध्यायसंग विवाह गरेकी उनका दुई छोरा र दुई छोरी छन् । राजुसंग विवाह गरेको केही वर्षपछि उनका श्रीमान्ले दोस्रो विवाह गर्दा पाध्यायको घरमा अशान्ति छाएको हो ।

नागरिकता नभएका कारण बैंकमा खाता खोल्न नपाएको, सरकारी सेवा सुविधा लिन नपाएपछि उनले श्रीमान्लाई पटक–पटक नागरिकता बनाई दिन अनुरोध गर्दा उल्टै हिंसा सहनु परेको बताइन् । ‘सेफ हाउसले मजस्ता महिलाको न्यायका लागि बोलिदिन्छ भन्ने थाहा पाएर यहाँ आएकी हुँ’ उनले भनिन् ।

अहिले सेफ हाउसकै सहयोगमा वडा कार्यालयमा उनको विवाह दर्ता भएको छ । विवाह दर्ताको आधारमा वडाले नै नागरिकताको सिफारिस बनाइदिएपछि जिल्ला प्रशासन कार्यालय बाजुराबाट नागरिकता पाएकी छन् । नागरिकता पाइसकेपछि उनले भनिन्, ‘मेरो जीवनमा यति धेरै खुशी कहिल्यै भएकी थिइन् । मेरो जित भएको जस्तो लागेको छ ।’

पाध्यायले दुईपटक भएका संविधानसभाको निर्वाचन, स्थानीय निर्वाच र प्रदेशसभाको निर्वाचनमा नागरिकता नभएकै कारण मत हाल्न नपाएको पीडा पोखिन् । ‘जेठानी देउरानी भोट हाल्न जान्थे । म मतदान केन्द्रमा पनि गइन । रमिता हेर्न मात्रै के जानु । गइन कहिल्यै ।’ उनले भनिन्, ‘नागरिकताकै कारण गाउँमा गठन हुने आमा समूह, सहकारीका समूहमा पनि भाग लिन पाउन्नथें । धेरै दुःख लाग्थ्यो त्यो बेला ।’

जिल्लाकै त्रिबेणी नगरपालिका–४ कि २५ वर्षीया शारदा साउँदले १८ वर्षको उमेरमा दल साउँदसंग प्रेम विवाह गरिन् । विहे भएको लामो समयसम्म पनि उनीबाट सन्तान भएन । अनि घर कलहको बिउ नै त्यही विषय बन्यो । उनले नागरिकता बनाइदिन भन्दा छोराछोरी पाउन नसक्नेलाई किन नागरिकता चाहियो भन्दै श्रीमान्ले बनाउन मानेनन् ।

अहिले सेफ हाउसकै सहयोगमा वडा कार्यालयमा उनको विवाह दर्ता भएको छ । विवाह दर्ताको आधारमा वडाले नै नागरिकताको सिफारिस बनाइदिएपछि जिल्ला प्रशासन कार्यालय बाजुराबाट नागरिकता पाएकी छन् । नागरिकता पाइसकेपछि उनले भनिन्, ‘मेरो जीवनमा यति धेरै खुशी कहिल्यै भएकी थिइन् । मेरो जित भएको जस्तो लागेको छ ।’

शारदा पनि समस्याको पोको बोकेर सेफ हाउस पुगिन् । त्यहाँबाट उनका श्रीमान्लाई छलफलका लागि बोलाइयो र विवाह दर्तामा सहमत गराईयो । सेफ हाउसकी सचिब रुपमणी शाहले उनी सम्पर्कमा आएको २२ दिनपछि नागरिकतासहित घर फर्किएको बताइन् ।

अहिले शारदा श्रीमान्कै घरमा छिन् । पहिले भन्दा सासूससुरालेसमेत माया दिन थालेका छन् । उनीसंग सल्लाह गरेरै श्रीमान् रोजगारीको लागि भारत गएका छन् । ‘विवाहको सात वर्ष पछि हामी कानूनी रुपमा वैवाहिक बन्धनमा बाँधिएका छौं, ।’ शारदाले खुशी हुँदै भनिन् ।

मंसिर २० गते बुढीगंगा नगरपालिका–९ कि ३५ वर्षीया नामसरा सेराला पनि श्रीमान्ले आफ्नो विवाह दर्ता गर्न नमानेको निबेदन ल्याएर सदरमुकाम पुगिन् । एक छोराकी आमा उनलाई कुनै कानूनी कुरा थाहा थिएन । श्रीमान्को एकोहोरो हप्कीदप्की मात्रै खेप्नु परेपछि विवाह दर्ता नहुँदा नागरिकता नपाएको र अन्य कानूनी अधिकारसमेत लिन नसकेको थाहा पाएपछि सेफ हाउसबाट कानूनी परामर्श दिइयो । त्यसपछि उनले विवाह दर्ता र नागरिकताको प्रमाण पत्र एक साथ पाएकी छन् ।

गएको कार्तिक १८ गते बुढीगंगा नगरपालिकाकी एक महिला आफू काम गरिरहेको सदरमुकाम मार्तडीस्थित चितवन होटलमा साहुको संलग्नतामा आफू बलात्कृत भएको पीडासहित सेफ हाउसमा पुगिन् । सेफ हाउसले जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरेर उनको मुद्दा अहिले जिल्ला अदालत बाजुरामा चलिरहेको छ ।

सेफ हाउसले सन् २०१९ र २० मा सेफ हाउसमा आएका एस सय १० जना महिलाहरूलाई सेवा दिएको छ । न्यायको पहल गरिदिन भन्दै सेफ हाउसमा आउने महिलाहरू मध्ये सबै भन्दा बढी स्रोत र साधनबाट बञ्चित भएका महिला छन् । यसका साथै जबरजस्ती करण, यौनजन्य हिंसा, मानसिक हिंसा, कुटपिट, बालविवाह, वैवाहिक बलात्कार, शारीरिक समस्याका कारण हुने हिंसा र गाली बेइज्जतीको निवेदन बोकेर महिलाहरू आएको सेफ हाउसकी सचिव रुपमणी शाहले बताइन् ।

सन् २०१९

स्रोत साधनबाट बन्चित ३८
जबर जस्ती करणी १३
यौनजन्य हिंसा ४
मानसिक हिंसा १५
कुटपिट १२
बाल विवाह २
बहु विवाह ५
वैवाहिक बलत्कार २
शारीक समस्याका कारण हिंसा १
गाली बेइजती १

सन् २०२०

स्रोत साधनबाट बन्चित ६
जबर जस्ती करणी –
यौनजन्य हिंसा –
मानसिक हिंसा –
कुटपिट १
बालविवाह १
बहुविवाह ९
वैवाहिक बलात्कार –
शारीक समस्याका कारण हिंसा –
गाली बेइज्जती –

(सेफ हाउस बाजुरामा आएका मुद्दा । स्रोतः सेफ हाउस)

इन्सेकका जिल्ला प्रतिनिधी पदमबहादुर सिंहले जिल्लामा सेफ हाउस संचालन भएपछि सहाराविहीन, हिंसापीडित महिला तथा बालिकालाई निकै सहयोग मिलेको बताए । ‘विगतमा कुनै हिंसापीडित महिलाको तत्काल उद्धार गर्नुपर्यो भने कहाँ राख्ने भन्ने समस्या पहिलो हुन्थ्यो । अहिले त्यो समस्या टरेको छ ।’ सिंहले भने, ‘उद्धार गरिएका, घर निकाला भएका, कानूनी न्यायका लागि परिवार र समाजसंग लड्नुपर्ने महिलाहरूको ओत लाग्ने र भरोसाको केन्द्र नै सेफ हाउस भएको छ ।’

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरीक्षक (इनेस्पेक्टर) दानबहादुर रोकायाले प्रहरीमा आएका, वेवारिसे, सहाराविहीन महिला तथा बालिकालाई सेफ हाउसमा राख्ने गरेको बताए । ‘प्रहरी आफ्नै सेफ हाउस छैन । प्रहरी कार्यालयमै राख्दा हिरासतमा राखेको आरोप लाग्ने । त्यस्ता महिला आएपछि कहाँ राख्नेत, पहिला निकै समस्या थियो । अहिले निकै राहत मिलेको छ ।’

सेफ हाउसका कानूनी सल्लाहकार जनक बोहराले अन्यायमा परेर सेवा लिन आउने महिलाहरूको समस्या राम्ररी बुझेर उनलाई के कस्तो न्याय चाहिएको हो, प्रहरी र अधिकारकर्मीको सहयोगमा सेफ हाउसले त्यसका लागि समन्वय गर्दै कानूनी न्याय दिलाउन पुलको काम गर्दै आएको बताए ।

प्रमुख जिल्ला अधिकारी समिर भण्डारी घरभित्रकै मान्छेबाट हिंसामा परेका महिलाहरू पीडकविरुद्ध बोल्दा घरबारविहीन हुनुपरेको बताउँछन् । जसका विरुद्ध बोल्नु पर्ने हो, प्राय उ नै घरको ठूलो मान्छे हुने भएकाले पीडितले मुख खोल्दैनन् । न्यायका लागि अघि बढ्दैनन् । त्यसो हुँदा हिंसा लुकिरहेको थियो । ‘अहिले जिल्लामा सेफ हाउस संचालन भएपछि हिंसापीडित महिलामा हिम्मत आएको छ ।’ प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘हिंसाविरुद्ध बोल्दा घर छोड्न परे पनि सेफ हाउस छ भन्ने मनोबल महिलामा बढेको छ ।’

जिल्लामा पछिल्लो समय न्यायका लागि आवाज उठाउने लैंगिक हिंसापीडितको संख्या बढ्दै छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा चालु आर्थिक वर्ष २०७६/०७७ मा मात्रै लैंगिक हिंसाविरुद्ध २८ निवेदन तथा उजूरी परेका छन् । जसमध्ये २२ घटना जिल्ला प्रहरीमै मिलापत्र भएका छन् भने बाँकी कानूनी प्रकृयामै छन् ।

यस्तै जिल्ला अदालत बाजुरामा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका मुद्दाहरू

जवरजस्तीकरण १६
सम्वन्ध विछेद २२
बाल विवाह ३
बहुविवाह २
नाता कायम १
माना चामल १

२०७६\७७ मा दर्ता भएका मुद्दाहरू
जवरजस्ती करणी २
सम्बन्ध विच्छेद ४
जवरजस्ती करणी उद्योग ३
बाल यौन दुव्र्यवहार १
हाड नाता करणी २
माना चामल १
२०७३ जेठ ४ गते तत्कालीन महिला विकास अधिकृत कमला शाहीको अध्यक्षतामा सेफ हाउस संचालक समिति गठन गरी भाडामा घर लिएर सदरमुकाम मार्तडीमा सेफ हाउस शुरु भएको थियो ।

देश संघीय संरचनामा गएपछि महिला विकास कार्यालय खारेज हुँदा अहिले प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा सेफ हाउस संचालन छ । २०७५ सालमा तत्कालीन जिल्ला विकास समितीको सहयोगमा सेफ हाउसको भवन निर्माण गरिएको थियो ।

सेफ हाउसले न्यायका लागि आउने पीडित महिलालाई बाटो खर्च, लुगा कपडा, खान बस्न, उपचार सेवा, परामर्श सेवा र कानूनी परामर्श सेवा दिदै आएको छ । यद्यपि यो सेवा प्रयाप्त नभएको सेफ हाउसकी सचिव रुपमणी शाहको भनाइ छ । सेफ हाउसमा खान बस्नका लागि रकम अभाव छ । आश्रय लिइरहेका पीडितको संख्या बढ्दै जाँदा बस्ने कोठाको अभाव भइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: