मध्यपान तथा लागु औषध प्रयोगकर्ता र कोभिड-१९


प्रकाशित मिति :2020-05-22 17:50:05

कुनै पनि प्राकृतिक तथा रसायनिक पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पारि प्रयोगकर्ताको भावना तथा सोचमा परिवर्तन ल्याउने औषधि नै लागु औषध हो ।

रक्सी र अन्य भावना परिवर्तन गर्ने ड्रग्सको लत जैविक, चिकित्सा, वंशाणुगत वा सामाजिक समस्या हो । यी समस्याहरूको उपचार गर्न सकिन्छ । यदि समयमै उपचार प्राप्त भएमा कुनै पनि किसिमको जटिल समस्या उत्पन्न हुन सक्दैन ।

आजको युगमा जनसंख्याको एक ठूलो अंश फरक किसिमका डरलाग्दा लागु औषधहरू जस्तै, क्याफिन, बेन्जोडियाजेपाइन, ट्रयांकुलाइजर ड्रग्स, गाँजा, चरेश अनियमित तरिकाले प्रयोग गर्दै आइरहेको छ । यो एक जटिल समस्या हो । जसले जीवनमा विभिन्न किसिमका मानसिक, शारीरिक, सामाजिक, कानूनी समस्याहरू निम्त्याइ रहेको छ ।

त्यसैगरि लागु औषध सेवनले मानिसको भावना, सोच, व्यवहारमा गहिरो असर पार्दछ । जसको कारण सेवनकर्ताहरूले जानीजानी वा अनजानमा अरुलाई धम्की दिने, चोरी गर्ने, बलात्कार गर्ने, हत्या गर्ने, सामाजिक असन्तुलन पैदा गर्ने, विभिन्न पारिवारिक तथा सामाजिक समस्या निम्त्याउने र अन्तिममा आफै मृत्युको मुखमा पुग्न सक्ने वातावरण सृजना गरिदिन्छन् ।

मेरो सम्पर्कमा आएका एक जना लागु औषध प्रयोगकर्ताका अनुसार जब उनी लागु औषध प्रयोग गर्थे, उनी अस्वाभाविक व्यवहार गर्न थाल्थे । उनमा अनेक खालका अपराध गर्ने भावना आउथे । त्यसको असर यति गहिरोसम्म पुग्यो कि, उनको श्रीमतीसंगको सम्बन्ध बिग्रदै गयो । र अन्तमा सम्बन्ध विच्छेद नै भयो ।

बिपिन थापा

जब मान्छे लागु औषधको लतमा पर्छन्, तब उनीहरू आफ्नो वसमा हुदैनन् । चाहेर पनि त्यो लतबाट छुटकारा पाउन सक्दैनन् । हरेक पटक लागु औषध प्रयोग गरिसकेपछि अबबाट म छोड्छु, कहिल्यै खान्न भन्ने स्वयम् प्रतिवद्धता गर्छन् । तर सक्दैनन् । किनकी उनीहरू नशाको दलदलमा फसिसकेका हुन्छन् । आफूलाई नियन्त्रण गर्नै सक्दैनन् ।

मदिरा, गाँजा, चरेश, भाङ, धतुरो, कोकिन, अफिम, मर्फिन, एलएसडी, मेथाडन जस्ता लागु औषध प्रयोग गर्ने मान्छेको न कुनै उमेर छ, न त जात र वर्ग नै । सबै उमेर, जात, वर्ग र पेशाका मान्छेमा यो लत छ । साथी वा आफन्तबाट कौतुहलता मेटाउन, साथीको दबाब वा सामाजिक सांस्कृतिक कारणले मान्छेहरू लागु औषधको लतमा पर्ने गरेका छन् ।

अनियमित तरिकाले लागु औषध प्रयोग गर्नु रोग हो । अझ भन्नुपर्दा मस्तिष्कको जटिल रोग हो । जसको लतमा परेको मान्छेलाई अत्यन्तै तलतल हुने हुँदा जस्तोसुकै नराम्रो परिणाम भोग्नु परे पनि प्रयोग गर्नै पर्ने बाध्यता यो रोगको प्रमुख लक्षण हो । तर नेपालमा भने यसलाई रोगको रुपमा बुझ्न थालिएको छैन । रोग हो भन्ने थाहा नहुदा उपचार गर्ने कुरै उठ्दैन । त्यसो हुँदा जब मान्छे लागु औषधको अनियमित तरिकाले प्रयोग गर्न थाल्छ, उ आफूले आफैलाई सक्नतिर हुन्छ । आफू मर्ने अवस्थामा छु भन्ने जान्दाजान्दै पनि उसले लागु औषध प्रयोग गर्नबाट आफूलाई रोक्न सक्दैन । र अन्ततः प्रयोगकर्ताको ज्यानै गएका थुप्रै उदाहरणहरू हाम्रै वरिपरि छन् ।

त्यस्तै आफ्नो कोही आफन्त, छोराछोरी वा नातागोता लागु औषध प्रयोगकर्ता छन् भने उसलाई उपचारमार्फत छुटकारा दिलाउन पर्छ भन्ने कुरा धेरैले बुझेकै छैनन् । बरु लागु औषध प्रयोग गरेको भन्दै उसलाई गाली गर्ने, कुटपिट गर्ने, थुनेर राख्ने लगायतका अमानवीय काम गर्न हामी लालायित हुन्छौं । तर उपचारमार्फत यसबाट मुक्ति दिलाउने काममा लाग्दैनौं । जसका कारण लागु औषध प्रयोगकर्तामा हिन भावना जागृत भई प्रतिसोधको भावना जाग्छ र विभिन्न खालका अपराध गर्न थाल्छन् । यस्तै कतिपय लागु औषध दुर्व्यसनीले अन्तमा आत्महत्या गरेका उदाहरण पनि थुप्रै छन् ।

कसरी उपचार गर्ने

लागु औषध दुर्व्यसनीको उपचार नेपालमै हुन्छ । तर राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न नसक्नुचाहिँ विडम्बना छ ।

लागु औषध दुर्व्यसन मस्तिष्कको रोग हो । यसैले यसको उपचार पनि पुनस्र्थापना केन्द्रमा राखेर, परामर्श दिएर, औषधि र थेरापीमार्फत गरिन्छ । र दीर्घखालको उपचार गर्नुपर्ने आवश्यकताका व्यक्तिलाई मनोवैज्ञानिक परामर्श, १२ स्टेप, एए मिटिङ, सीबीटी थेरापी लगायत सिपमूलक तालिमहरू प्रदान गर्नुपर्ने हुन्छ ।

यस्तै लागु औषध दुव्र्यसनबाट मुक्त गराउने समय सबैको एउटै खालको नहुन सक्छ । उपचार कति लामो समयसम्म हुन्छ भन्ने कुरा व्यक्तिको मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य र इच्छाशक्तिमा भर पर्छ । सामान्यतयाः उपचारको अवधि ३ देखि १२ महिनासम्मको हुन सक्छ । केही थेरापी कक्षाहरूमा घरका सदस्यहरूले पनि भाग लिनु पर्ने हुन सक्छ ।

बन्दाबन्दी र लागु औषध

महामारी नियन्त्रण र रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीको यो समय लागु औषध प्रयोगकर्ताका लागि सुनौलो अवसर बन्न सक्ने सम्भावनाहरू थुप्रै छन् । अनियमित रुपमा लागु औषध प्रयोग गर्दैै आएका मान्छेहरूले यो बेला सहजै रुपमा यसबाट मुक्ति पाउन सक्छन् । किनभने घरबाट सजिलै निस्कने वातावरण छैन । आफूले प्रयोग गर्ने लागु औषध किन्न त्यति सजिलो पनि छैन । र लागु औषध प्रयोग गर्ने भएका कारण परिवारसंग बिग्रेको सम्बन्ध घरबाट निस्कने अवस्था नभएपछि बिस्तारै सुधार्ने मौका पनि छ । जसले गर्दा उनीहरूले आफन्तबाट माया र सुरक्षाको अनुभूति गर्न सक्छन् ।

यदि तपाईंको परिवारमा कोही लागु औषध प्रयोगकर्ता हुनुहुन्छ भने उसलाई पुनर्जीवन दिन तपाईंको लागि बन्दाबन्दी महत्वपूर्ण अवसर बन्न सक्छ । उसले विगतमा के गर्यो, के गरेन भन्ने कुरा बिर्सेर अब उसले जीवनलाई कसरी सुन्दर बनाउन सक्छ भन्नेतिर ध्यान दिनु भो भने उ परिवर्तन अवश्य हुन्छ । त्यसकारण उसका विगतका नराम्रा कुराहरू नकोट्याइदिनुस् । उसलाई हिनतावोध हुने कुरा नगरिदिनुस् । त्यसका लागि थप यी कुराहरू गर्न सकिन्छ,

– घर र परिवारप्रतिको माया जगाइदिनुस् ।
– घरका ससाना काममा सहभागी गराउनुस् ।
– विभिन्न रचनात्मक एवम् जीवनपोगी पुस्तक पढन् दिनुस् ।
– राम्रा खाले चलचित्रहरू संगै बसेर हेरिदिनुस् ।
– दुर्व्यसनमा फसेका साथीहरूसंगको सम्बन्ध भुलाउनका लागि सकारात्मक भावना भएका आफन्त, साथीभाई, परामर्शदाता एवम् सहयोगी व्यक्ति वा संस्थाका मान्छेसंग सम्पर्क बढाइदिनुस् ।
– परामर्शदाता तथा मनोचिकित्सहरूसंग टेलिथेरापीद्वारा परामर्श दिनुस् ।
– योग अभ्यास, ध्यान, व्यायाममा लगाइदिनुस् ।
– राहत वितरण वा अन्य स्वय्सेवक कार्यमा संलग्न भई अरुको सेवामा खट्ने मौका दिनुस् ।
– अनावश्यक समाचार र सामाजिक संजालका सबै कुरामा ध्यान दिने तर्फ नलाग्न दिनुस् ।
– म हरेक दिन नयाँ काम गर्छु भन्ने सोचको विकास गरिदिनुस् ।
– सकारात्मक काममा लागेका मान्छेहरूसंग भर्चुअल बैठक गर्ने प्रेरणा दिनुस् ।
– एक्लै बस्ने, मनमा कुरा खेलाइरहने अवस्थाको निगरानी गरि सकेसम्म उसलाई एक्लै बसेर टोलाउने अवस्था नदिनुस् ।

अभिभावक वा स्वय् दुव्र्यसनीले यति कुरामा ध्यान दिएन भने लकडाउन अर्को अभिसाप बन्ने खतरा छ । दुव्र्यसनी केही गरि पहिलेकै तरिकाले घरमा नबस्ने, साथीहरूसंगै लुकिछिपी बस्ने, लागु औषध किन्न मदिरा पाइने भट्टीहरूमा जाने हो भने महामारी फैलने र नियन्त्रणभन्दा बाहिर जाने खतरा ठूलो छ ।

लकडाउनमा आफ्नै घरभित्र बस्ने र अरुको सम्पर्कमा जाँदै नजानु पर्ने अवस्थामा दिनदिनै साथीहरूसंग भेट्ने, जमघट गर्ने, लागु औषध प्रयोग गर्ने गर्दा व्यक्ती स्वयम् मात्रै होइन, उसको परिवार पनि जोखिममा पर्न सक्छ ।

लागु औषध प्रयोग गर्ने व्यक्ति जस्तोसुकै जोखिम मोलेर भए पनि किन्न तयार हुने हुँदा उसलाई यतिबेला थप असुरक्षा हुन सक्छ । जस्तै सुईको माध्यमबाट लागु औषध प्रयोग गर्ने व्यक्तिले हरेकपटक नयाँ सुई नपाउन सक्छ । किनकी अहिले जताततै सुई किन्न सक्ने अवस्था छैन । त्यसका लागि धेरै जनाले एउटै सुई प्रयोग गर्न सक्छन् । त्यसबाट एचआईभी, हेपाटाइटिस बी वा अरु सरुवा रोग लाग्ने खतरा हुन्छ ।

यस्तै लागु औषध प्रयोगकर्ता आफैले पनि उपचारका लागि आग्रह गरिरहेका छन् । लकडाउन शुरु भएपछि फोनबाटै परामर्श र तालिम दिनुपर्ने अवस्थाका ६० जनासंग अहिले म नियमित सम्पर्कमा छु । भनेपछि यो समस्या कति ठूलो छ भन्ने कुरा आँकलन गर्न सकिन्छ ।

यस्तै अहिले लागु औषध प्रयोगकर्ता घरबाट हरेक दिन निस्कने वातावरण भयो भने लागु औषध प्रयोग गर्नबाट उसले आफूलाई रोक्न सक्दैन । त्यसका लागि उसले लागु औषध किन्ने पैंसाको जोहो गर्न साथीभाईको लहलहैमा चोरी, डकैटी गर्न सक्छ । र अपराधको दलदलमा फस्न सक्छ ।

लकडाउन शुरु भइसकेपछि दुई महिनाको अवधिमा मलाई फोन, इमेल र सामाजिक सञ्जालमार्फत करिब ३ सय जनाको समस्या आयो । लागु औषध प्रयोगकर्ताले साथीहरू घरमै ल्याउने, घरमै लागु औषध प्रयोग गर्ने, साथीभाईसंग गएर दुई तीन दिनसम्म हराइदिने, घरमा होहल्ला गर्ने, बाहिर डुल्न जाने लगायतका समस्या धेरै अभिभावकका छन् । यसो हुँदा एक त लागु औषधको नशा वा नपाएको झोकमा आफ्नै छोराछोरीले मार्लान् भन्ने पीर, अर्कातर्फ उनीहरू घर छोडेर जाँदा कोरोना भित्र्याउलान् भन्ने डर । यी र यस्तै पीडासहित आउने अभिभावकहरू यतिबेला पनि उनीहरूलाई उपचार दिन चाहान्छन् । तर लकडाउनका कारण त्यो सम्भव छैन ।

यति मात्रै होइन, लकडाउनमा कहिल्यै लागु औषध प्रयोग नगरेको मान्छे पनि लागु औषधको प्रयोग गर्न थालेका छन् । जाने ठाउँ कतै नभएपछि छोरा वा बाउले ल्याएको लागु औषध परिवारकै अर्को सदस्यले पनि प्रयोग गरेका घटना आइरहेका छन् ।

यस्तै लागु औषध प्रयोगकर्ता आफैले पनि उपचारका लागि आग्रह गरिरहेका छन् । लकडाउन शुरु भएपछि फोनबाटै परामर्श र तालिम दिनुपर्ने अवस्थाका ६० जनासंग अहिले म नियमित सम्पर्कमा छु । भनेपछि यो समस्या कति ठूलो छ भन्ने कुरा आँकलन गर्न सकिन्छ ।

लागु औषध दुर्व्यसन नियन्त्रणका लागि यदि राज्यले बेलैमा सोचेन र उचित उपचार र पुनस्र्थापनाका कार्यक्रमहरू संचालन गरेन भने महामारी भन्दा ठूलो समस्या यही हुनेवाला छ ।

(थापा आसरा सुधार केन्द्र रानीबारी, काठमाडौंमा मनोविद् तथा परामर्शदाता र ओरेन्ट कलेजमा अध्यापकको रुपमा कार्यरत छन् ।)

बन्दाबन्दीः सम्बन्ध प्रगाढ बनाउने अवसर – मनोविद्, विपिन थापा

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: