विपद्, ‘फ्रण्टलाइनर’ र सामाजिक मनोविज्ञान


प्रकाशित मिति :2020-05-22 10:50:20

–निमा काफ्ले–

विश्वलाई कोभिड–१९ अर्थात कोरोना भाइरसले चिन्तित तुल्याइरहँदा मेरो देश पनि यसको चपेटामा फस्दै गइरहेको छ । जान्ने बुझ्ने भएदेखि राजनीतिक बन्दाबन्दी देखेको मैले यस प्रकारको बन्दाबन्दीमा परिएला भनेर साँच्चै कहिल्यै कल्पनासम्म गरेको थिइँन । हुन त मेरो पुस्तामा चर्चित बनेको हैजा, एड्स, इबोला, जस्ता प्राणघातक रोगका बारेमा समाज चिन्तित बन्दै गर्दा मैले खासै यस विषयमा गम्भीर भएर कहिल्यै सोचिन भन्दा पनि हुन्छ । तर पछिल्लो समय आएको यो संक्रमणले संसार हल्लाउँदा सगरमाथाको देशको नागरिक म फेरि धरातलमै रहेर सोच्न बाध्य छु र गम्भीर पनि भएकी छु ।

पेशागत जिम्मेवारी र दायित्वले फरक अवस्थामा पुर्‍याउने गर्छ । उस्तै खालको नभए पनि यो पेशागत जिम्मेवारीका क्रममा मानवसिर्जित वा प्राकृतिक विविध खालका विपत्तिहरू झेलिएको भने अवश्य छ । रहरले सुरु गरेको मेरो पत्रकारितामा विभिन्न उताव चढाव आए । सम्झना धमिलो छ– बुटवलमा एउटा महत्वपूर्ण तालिममा सहभागि हुन महेन्द्रनगरबाट गाडि रिजर्भ गरेर विभिन्न जिल्लाका पत्रकार महिलालाई लिएर आउने उत्तरदायित्वसँगै हिँडिएको त्यो दिन थरुहट आन्दोलनले तराइ तातेको थियो । विभिन्न अवरोधलाई छिचोल्दै बाटोमा श्रीमान्बाट खुकुरी प्रहार भएर छटपटिएकी एक जना महिलाले सवारी साधन नपाउँदा बाटोमै प्राण त्याग्नुपर्ने अवस्थामा हामीले कोहलपुर अस्पताल पुर्‍याएका थियौं । त्यसपछि अगाडि बढेका हामी फेरि बुटवल पुग्नुभन्दा केही किलोमिटर वर हामी सवार गाडीमा मट्टीतेल छर्किएर आगो लगाउने प्रयास र त्यसबेला हामी कसरी एम्बुलेन्समा चढेर पुगेका थियौं भन्ने घटनाले बेला बेला झस्काइरहन्छ ।

एउटा समूह अराजक भए पनि अर्काे सामाजिक एकताकै कारण हामीले ज्यान जोगाएका थियौं । खैर यस्तो समयमा किन यी सम्झना भन्ने पनि होला । तर सामाजिक एकतामा जोड दिन खोजेको मात्रै हो । यस्ता घटना प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । तर समयले यस्तो कठिन परिस्थितिमा ल्याइदिएको छ । यस्तो रोगको चपेटामा छौं कि पहिले आफ्नो बारेमा सोच्नुपर्ने । कसैलाइ गाह्रो–साह्रो भयो भन्यो कि सहयोगको हात अगाडि बढाउनु भन्दा पहिले सोच्नु पर्ने । कोरोना भाइरसको संक्रमणमा अग्रभागमा खटिएर काम गर्ने सम्पूर्णप्रति साँच्चै नमन गर्न मन लाग्छ । जसले आफ्नो बारेमा दोस्रो पटक सोच्छ, पहिले संक्रमितको । र यस्तै अग्रभागमा रहेर काम गर्ने मध्येमा हामी सञ्चारकर्मी पनि हौं जसमा समाजलाई सूसुचित गर्ने ठूलो जिम्मेवारी छ । झन् अहिले त विहानै आँखा उघार्दै गर्दा बिरामी कति बढे, मृत्यु भयो कि भएन भनेर सञ्चार जगतमा आँखा डुलाउनेका लागि समाचार तयार गर्न चारै प्रहर खटिएका सञ्चारकर्मीको दायित्व अझै बढेको हो कि भन्ने पनि भान भएको छ ।

निमा काफ्ले

नेपाल टेलिभिजनसँगको आबद्धतालाई गर्वको विषय मान्दै जस्तोसुकै अप्ठेरोमा पनि काम गर्छु भन्ने मेरो अठोट यो समयमा धरमराउने त कुरै भएन । घरका सबै सदस्य होम क्वारेनटाइनमा बसेको बेला म अरुलाई सूसुचित गराउने जिम्मेवारी बोकेर कार्यालय आउँदै गर्दा लाग्छ– भाइरस मेरो वरिपरि घुमिरहेको छ र जुनसुकै बेला प्रहार गर्न सक्छ । अरुको समाचार बनाउँदा बनाउँदै म आफैं समाचार बन्न सक्छु । यसले चिन्तित बन्दै गरेको मेरो ध्यान बेलुका कार्यक्रममा के पस्कने भन्ने गरिएका छलफलले झस्काउँछ र म सबै फेरि बिर्सिन्छु अनि फेरि आफ्नो जिम्मेवारीमा केन्द्रित हुन्छु । सायद म जस्ता देशैभरका १२ सय पत्रकार महिलाहरू यही सोच्नुहुन्छ होला । र तपाईंहरू जस्तै कामबाट थाकेर घर पुग्दा भाइरसको बोझ मनमा लिइ घरमा भएका साना छोरा–छोरी वा परिवारका सदस्यलाई कतै मेरो कारण रोग सर्ने त हैन भनेर सोच्ने गर्छु ।

दिनभरीको दौडधुपमा बिर्सिएको सबै डर घरका सदस्यको केही आशंका बीचको न्यानो स्वागतले फेरि बिर्सिन बाध्य बनाउँछ । सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत यस्तो विपतको बेलामा अग्रभागमा खट्नेहरूका आफ्नै पीडा छन् । आफ्नै घरमा बस्नेहरूका लागि त परिवारको सहमतिमा कार्यस्थलको जिम्मेवारी बहन गर्न सजिलो होला तर भाडामा बस्नेको कुन अवस्था छ सोच्नसम्म पनि सकिन्न । थुप्रै सञ्चारकर्मी साथीहरूलाई घरबेटीले उनीहरूको हिँडडुल गर्ने क्षेत्रभित्र नजानलाई दोश्रो लकडाउन लगाइदिएका छन् । माथिल्लो तल्ला, कौशी जान नपाउने गरि आफ्नो कारण सिँगै परिवार पीडामै राखेर पनि पेशागत जिम्मेवारी बहन गरिहेका ‘फ्रण्ट लाइनर’हरूका पीडा असीमित छन् ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका उस्तै समस्या छन् । हाम्रो सामाजिक परिवेश, कोरोना भाइरसको संक्रमणको गति र यसको स्वभावका कारण आम फ्रण्टलाइनरहरू पलपल खुकुरीको धारमा टेक्दै यात्रा गरिरहे जस्ता देखिन्छन् । यस्तो अवस्थामा पनि कर्तव्य पथमा अविचलित भएर लाग्नेलाई जति सम्मान गरे पनि कम नै हुन्छ । सिंगो मानवजातिको अस्तित्वमाथि नै प्रहार भइरहेको यो अवस्थामा सकारात्मक सोच, सिर्जनात्मक व्यवहार र उच्च मनोवल नै सबैभन्दा उत्तम हतियार बन्ने देखिएको छ ।

संसारका सर्वेसर्वा धनाढ्यहरू, एक से एक विकसित देशहरू र आविष्कारले दुनियाँलाई चकित पारेका विश्व महाशक्तिहरू आज कोरोनाको कहरमा थुनिएका छन् । सिंगो मानवजातिमाथि आक्रमणको एक एक निशाना लगाइरहेको कोरोना भाइरसका कारण आज मान्छेसँग मान्छे डराउनुपर्ने अवस्था आएको छ । आफैंसँग डराउनुपर्ने अवस्था आउनु भन्दा ठूलो भयावह विषय के हुन सक्ला र ? आफ्नै हातसँग डराएर पञ्जा लगाउनु परेको छ । मास्कले थुनिएर निस्कनु परेको छ । प्रकृतिले यो भन्दा ठूलो सजाय मान्छेलाई दिने ठाउँ नै छैन । तर मानव विवेक र व्यवहारले नै कोरोनालाई जितेर अगाडि बढ्नुपर्ने अवस्था छ ।

आज सूचना र प्रविधिको युगले सारा विश्व हत्केलामा आइपुगेको यस्तो अवस्थामा जिन्दगीको यतिञ्जेलसम्म गर्न नसकेका, समय नपाएका कति धेरै अलपत्र विषयहरू हुन सक्छन् । ती विषयहरूलाई टुंगोमा पुर्‍याउने समयको रुपमा लकडाउनलाई प्रयोग गर्न सकिन्छ । त्यसतर्फ पनि सोच्न जरुरी हुन्छ ।

हरेक विपत्तिहरू र समस्याहरू कुनै न कुनै विकल्प, सम्भावना र अवसरहरू लिएर आएका हुन्छन् । हरेक सिक्काको दुई वटा पाटो हुन्छ भने जस्तै वा रात सँगै दिन हुन्छ भने जस्तै कोरोना कहरसँगै सिंगो विश्वलाई सम्भावनाको नयाँ शिराबाट हेर्ने अवसर पनि मानव समुदायमा छ । मानव समुदायले आफूलाई सुधार्ने, सिंगार्ने, सजाउने र नयाँ रुपमा प्रस्तुत हुने विकल्प छ । यो अवस्थालाई अवसरमा रुपान्तरण गर्ने समयको रुपमा उपयोग गर्न जरुरी छ । युद्धको एउटा समय जति बेला कमजोर भएर लुक्नुपर्छ, त्यो समयलाई आत्मवल भएको सेनाले शक्ति सञ्चय र सैन्य रणनीति निर्माणको समयका रुपमा रुपान्तरण गर्न सक्छ । त्यस्तै मौका कोरोनाभाइरसले मानव समुदायलाई दिएको छ ।

नयाँ आविष्कार गर्ने सोचहरूको पर्याप्त मन्थन गर्नका लागि समय निर्माण भएको छ । फ्रण्ट लाइनरहरूबाट जोखिम महसुस गर्ने परिवार र समाजका अन्य सदस्यहरू मात्रैले यसलाई वैकल्पिक ढंगले सोचेर नयाँ सिर्जनात्मकतातिर लैजाने हो भने मात्रै कति नयाँ सिर्जना हुन्छन्, कल्पना गरौं त । आज सूचना र प्रविधिको युगले सारा विश्व हत्केलामा आइपुगेको यस्तो अवस्थामा जिन्दगीको यतिञ्जेलसम्म गर्न नसकेका, समय नपाएका कति धेरै अलपत्र विषयहरू हुन सक्छन् । ती विषयहरूलाई टुंगोमा पुर्‍याउने समयको रुपमा लकडाउनलाई प्रयोग गर्न सकिन्छ । त्यसतर्फ पनि सोच्न जरुरी हुन्छ ।

विगतका घटनाहरू सम्झँदै लेखन सुरुआतको प्रसंग उठाइएको थियो । तर आज लकडाउनका सन्दर्भमा पनि हामी अत्यावश्यकीय सेवामा हिँडिरहेकाहरूलाई अनावश्यक खानतलासी र चेकजाँच गरेर हुर्मत लिनेहरू देखिरहनु परेको छ । सडकहरू छेकेर, रुख मुढाहरू तेस्र्याएर आवागमन रोक्ने काम भइरहेका छन् । अत्यावश्यकीय सेवा प्रवाहको कर्तव्य निर्वाह गर्न हिँडेकाहरूलाई बदनाम गर्दै आफ्ना स्वार्थका कामहरूलाई फ्रण्टलाइनरको परिचयको आवरणमा भइरहेका छन् । कोभिड–१९ को प्रकोपले सारा विश्वलाई धन, आविष्कार, सेना, हतियार भन्दा पनि ठूलो मानवता विवेक र कर्तव्य हुन्छ भन्ने सिकाइरहेका बेला विकृत मानसिकता भएकाहरूको मानसिकतामा अलिकति भए पनि सुधार आओस् । पारिवारीक र सामाजिक सद्भावको अनुभव गर्न नपाएकाहरूलाई सामाजिक र पारिवारिक सद्भाव र कर्तव्यको अनुभूती गराओस् । र नयाँ ढंगले सोच्न बाध्य हाम्रा मनोविज्ञानहरूमा सुधार ल्याउन कोरोना भाइरस एउटा कोशेढुंगा साबित होस् । बन्दाबन्दी सिर्जनात्मक फड्को मार्न शक्ति सञ्चयको समय बनोस्, शुभकामना ।

(काफ्ले नेपाल टेलीभिजनमा कार्यरत सञ्चारकर्मी हुनुहुन्छ । )

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: