पत्रकारको आफ्नै खुशी हुदैन रहेछ


प्रकाशित मिति :2020-05-19 13:58:03

शोबिता रिसाल/गीता चिमोरिया

आज लकडाउन अर्थात् बन्दाबन्दीको ५७ औं दिन । विश्व महामारी बनेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले ०७६ चैत्र ११ गतेबाट लकडाउन शुरु गरेको हो । सुरुआती अवस्थामा नेपालमा कोरोना भाइरसको महामारी आउनै नदिने गरि योजना बनाएर काम गरेको सरकारकारले दाबी गरे पनि आजको दिनसम्म आइपुग्दा नेपालमा ३ सय ८७ जना सङ्क्रमित भएका छन् । अनि यसबाट हुने मृत्युदर शून्यमा नै कायम गर्ने सरकारको चाहना पनि पूरा भएन । दुःखका साथ भन्नुपर्छ, कोरोना भाइरस (कोभिड १९) का कारण दुई जना नेपालीको मृत्यु भइसकेको छ ।

कोभिड १९ कै कारण चलायमान विश्वको गति रोकिएको छ । देशमात्रै होइन । विश्व नै रोकिएको छ, एउटै बिन्दुमा । शहरहरू बन्द छन् । कलकारखाना र उद्योगहरूमा ताल्चा लागेको छ । अस्पतालहरू बिरामीले भरिएका छन् । मानिसहरूको दैनिकी पूरै फेरिएको छ । एक किसिमले भन्ने हो भने, यतिखेर मानिसहरू फुर्सदिला भएका छन् । तर त्यो फुर्सद, सबैको भागमा छैन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको दैनिकी र बेफुर्सदीको चाप झन् बढेको छ ।

त्यसो त नेपालमा कोभिड १९ को सङ्क्रमण नआउँदा पनि हामी पत्रकार काम गरिरहेकै थियांै । अझै यो विपद्को समयमा थप जिम्मेवार, कर्तव्यनिष्ट भएर काम गर्ने मौका मिलेको छ ।

शोबिता रिसाल

चैत १० गते सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत ११ गतेबाट लागु हुनेगरी देशव्यापी लकडाउन गर्ने निर्णय ग¥यो । सामुदायिक सूचना नेटवर्क सीआईएनबाट प्रसारण हुने साझा खबरमा ‘भोलिदेखि देशव्यापी लकडाउन हुने, अत्याआवश्यक बाहेकका सवारी नचल्ने’ ब्रेकिङ हालेर समाचार कक्षमा झर्दा साथीहरूको अन्यौलता सुरु भएको थियो । भोलिदेखि कसरी काम गर्ने ? कार्यालय कसरी आउने ? नियमित तरिकाले समाचार र कार्यक्रमहरू प्रस्तुत गर्ने कि, केही भिन्न गर्ने ?

यसै पनि पत्रकारिता पेशामा छिनछिनमा महत्वपूर्ण निर्णय गर्नुपर्ने हुन्छ । र, छिनमै गरेको त्यो निर्णय कालान्तरमा सत्य साबित हुने खालको पनि हुनुपर्छ । भोलिपल्ट बिहान ६ बजेबाट लकडाउन सुरू हुने भएकाले ६ बज्नु अघि नै समाचार कक्षका सबैजना कार्यालयमा आइसकेका थियौं । उसो त बिहानी सत्रमा काम गर्नेहरू अरूबेला पनि बिहान ५ बजे नै कार्यालय आइसकेका हुन्छौं ।

६ बजेको साझा खबर सकेर समाचार कक्षको आकस्मिक बैठक बसेर हामीले त्यही दिनबाट कार्यालयमै बसेर काम गर्ने निधो ग¥यांै । किनकी नेपालका लागि लकडाउन नयाँ अनुभव भए पनि चीनसहितको विश्वका अरु देशको गतिबिधि हेरेर हामी बुझ्न सक्थ्यांै, लकडाउन भनेको जो जहाँ छ, त्यहीं सुरक्षित बस्नु हो । चलायमान हुनु होइन ।

अनि चैत ११ गते बिहानैबाट सुरु भयो, पत्रकारिता जीवनको नयाँ अनुभव । सीआईएनले नियमित भन्दा बाहेकका २ वटा समाचार बुलेटिन थप्यो । कोरोना भाइरसबाट बच्नको लागि अपनाउने उपाय र सरकारको भूमिकाका बारेमा कुरा गर्ने कार्यक्रम थपियो, जीवनरक्षा । दुईवटा कार्यक्रम र दुईवटा समाचार बुलेटिन थपिएपछि स्वभाविक रुपमा कामको चाप बढ्ने नै भयो ।

गीता चिमोरिया

केही महिनाअघि देखि नै हामीले नोबेल कोरोना भाइरसको समाचार पढिरहेका थियौं । तर त्यो समाचार ‘विदेशको खबर’मा पढ्थ्यौं, जतिबेला भाइरस चीनमा मात्रै देखिएको थियो । “फेरि नयाँ भाइरसको संक्रमण देखिएछ” भन्नेसम्म कुरा हुन्थ्यो । तर त्यतिबेला हामीमा यस्तो चिन्ता थिएन, जति चिन्ता अहिले भइरहेको छ ।

विस्तारै वैज्ञानिक खोज/अनुसन्धानका खबरहरू आउन थाले, विश्वका अन्य देशमा पनि भाइरस फैलनसक्ने खबरसँगै चिन्ता बढ्दै गयो । चिन्ता मात्रै बढेन, भाइरसको संक्रमण पनि बढ्दै गयो । कोरोना भाइरसको संक्रमण देखिने मुलुकहरूको तालिकामा संख्या थपिंदै गयो । नेपालमा भाइरस आउँछ कि आउँदैन ? भन्ने तर्क बितर्कका बीच अन्ततः भाइरसले नेपाललाई पनि छोडेन ।

सुरुआती अवस्थामा नेपालमा कोरोनासङ्क्रमित त्यति देखिएनन्, जसरी हिजोआज बिरामीहरूको ग्राफ निरन्तर उकालो लागेको छ । सुरुआती समयमा कोरोना भाइरस के हो र यसबाट कसरी बच्ने ? भन्नेमा केन्द्रीत भएका समाचार साम्रगीहरू लकडाउनको एक हप्ता कट्दा मजदुर र राहतमा केन्द्रीत भए ।

आफूले मान्दै आएको दशंै, तिहार जस्ता महत्वपूर्ण चाडमा त परिवारको साथमा नहुने हामीलाई देशको यो विषम् परिस्थितिमा सूचना प्रवाह गर्न खटिनमा मनखत लागेन । देश विदेशका समाचार देशविदेशमै सुनाउनु रमाइलोसँगै चुनौतीको विषय पनि हो । त्यसैमाथी अत्यन्तै नयाँ परिस्थितिका बीच ।

लकडाउन थपिंदै गर्दा मानिसहरूको चिन्ता र दिक्दारी पनि थपिंदै गयो । असन्तुष्टि बढ्दै गयो । मानिसहरूमा निराशा थपियो । मजदुरहरू रूँदै पैदलै घर फर्किए । कतिले खानै पाएनौं भनेर फोन गरे । जुन आजसम्म पनि गरिरहन्छन् । कयौं स्रोताका गुनासो सम्बन्धित निकायमा भनेर समाधान गरियो । कैयौंलाई राहत उपलब्ध गराउन रेडियोबाटै पहल गरियो । यो बीचमा सयौं समाचार लेखियो, पढियो । हजारौं मजदुरका कुरा गरियो । आज भने एकैछिन् आफ्नै कुरा गर्न मन लाग्यो ।

दैनिक सयौं मानिसका आवाज आइभीआरमार्फत् कम्प्युटरमा रेकर्ड हुन्छ, उनीहरूले रेकर्ड गरेका मनका पीडा/समस्या र अप्ठ्यारा हामी बिहान, दिउँसो र साँझ गरेर पालैसँग सुन्छौं । त्यही कामको चापबाट थोरै समय निकालेर आजभने आफ्नै कुरा तपाईंहरूलाई सुनाउन खोज्दैछौं ।

भनिहाल्यौं नि, विपद् बाजा बजाएर आउँदैन । अचानक आएको महामारी र यस्तो महामारीका बीचमा पनि अग्र भागमा नै रहेर भूमिका निर्वाह गर्नुपर्ने पेशा, पत्रकारिता । तर पेशागत जिम्मेवारी निभाउँदा आफ्ना व्यक्तिगत इच्छा र चाहनालाई दबाउनुपर्ने रहेछ । यो समयमा कार्यालयले टेलिफोनबाटै सूचना संकलन गर्ने सुविधा दिएको छ । तर कुनै न कुनै हिसाबले मानिसहरूसँग नभेटी नहुने रहेछ । सबै जनालाई घरभित्रै सुरक्षित बस्नुस् भनिरहँदा आफू भने असुरक्षित रुपले हिड्नुपर्ने बाध्यता पनि । कुन समयमा आफैं पनि सङ्क्रमित भइएला कि भन्ने डर पनि उत्तिकै हुने । देशका ५ जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । पत्रकारहरूलाई कोरोना लाग्दा आफ्नै घरको सदस्यलाई सङ्क्रमण भएजस्तो लाग्ने रहेछ ।

स्वास्थ्यकर्मीलाई नै नपुगेको व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) पत्रकारसम्म आइपुग्ने कुरै भएन । माग्न पनि अप्ठेरो । फेरि फिल्डमा गएर समाचार रिर्पोटिङ् नगरी पनि भएन । व्यवसायिक धर्म निर्वाह गर्दा यो समयमा पत्रकारले मानसिक समस्या खुब झेले । हामीले पनि झेल्यौं । र, पनि खास गुनासो छैन । किनकी पत्रकारिता, जीन्दगीमा आउने हर समस्या झेल्ने प्रतिबद्धतासहित रोजिएको पेशा हो । काठमाडौंमा बसेर देशभरका नागरिकमा सूचना प्रवाह गरिरहँदा लाग्छ, हामी व्यवसायिक मात्रै होइन, मानवीय धर्म पनि निभाइरहेका छौं ।

महामारीको बीचमा काम गर्दै गर्दा व्यक्तिगतसँगै केही व्यवसायिक अप्ठ्यारोहरू पनि भोग्नु प¥यो । खासगरी महामारी र यसले उब्जाएका असहज परिस्थिति अनि यो सँग सम्बन्धित शब्दहरूका कारण पनि द्विविधा उत्पन भएको छ । लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, पीपीइ, सिल, आरडीटी परीक्षण, पीसीआर जस्ता शब्दहरूलाई कसरी नेपालीकरण गर्ने र अंग्रेजी नजानेका मानिसलाई पनि बुझाउने भन्ने विषय थप चुनौतीको विषय बनेको छ । रेडियोमा त झन् झट्ट एकैपटक सुन्दा बुझिने खालका शब्द प्रयोग गर्नुपर्दछ । यस्ता शब्दहरूलाई कसरी बुझिनेगरी प्रस्तुत गर्ने ? मिडियालाई गाइडलाइन नहुँदा हामी जस्तै सायद धेरै पत्रकारलाई अन्यौल भएको हुनुपर्छ ।

यो अफ्ठ्यारो समयमा देशभरका पत्रकार महिलाहरू सक्रिय रुपमा काम गरिरहेका छन् । असहज स्थितिमा पनि स्वास्थ्य जोखिममा पारेर नागरिकलाई निरन्तर सूचना दिइरहने नेपाली पत्रकारहरूको यो काम एउटा इतिहास बनेको छ । अनि यस्तो समयमा बिहानदेखि साँझैसम्म निरन्तर खटिएर काम गर्दै एउटा इतिहास बनाउन पाएकोमा गर्व पनि छ । अन्य समयमा सामान्यतया ८ घण्टा हुने कार्य समय बढेर अहिले १७ घण्टा पुगेको छ । निरन्तर घरमा बस्दा मानिसहरूले बार/गते बिर्सिएजस्तै हामीले साप्ताहिक बिदा बिर्सिसकेका छौं । र ‘अफिस आवर’ पनि ।

साथीभाइ र श्रोताहरूको फोन/म्यासेज । अनि फोन र म्यासेजमा आउने कस्तो छ तिमीलाई, आफ्नो पनि ख्याल गर, सुरक्षित बस, अफिसमा खानपान र बसाइ राम्रो छ नि ? धन्यवाद, सुरक्षित बस्नुस् है, आफ्नो पनि ख्याल गर्नुस्, तपाईहरूले राम्रो गरिरहनुभएको छ, अझै राम्रो गर्नुस्, आफू पनि बाहिर नडुल्नुहोला, सुरक्षित भएर काम गर्नुस्, पत्रकार झन् जोखिममा छन्, फिल्डमा नजानुस्, जस्ता सन्देशहरूले अफिस क्वारेन्टाइनमै बसेर दैनिक घण्टौं काम गर्दा लागेको थकाइ, डेडलाइनको प्रेसर हराइदिन्छ । थाकेको शरीर र ती सन्देशहरूले भरिदिएको खुशी लिएर हामी कार्यालयमै मिठो निन्द्रा निदाउँछौं । र, भोलि बिहानै उठेर फेरि सुरु हुन्छ, उस्तै कर्म । समाचार, रिपोर्ट, बाइट, अन्तरवार्ता र कार्यक्रम ।

यसअघिका धेरै विपद्हरूमा काम गरेको अनुभव भए पनि कोभिड १९ संक्रमण र यसपछिको परिस्थितिमा काम गर्नु हाम्रा लागि नयाँ अनुभव हो । विशेषतः पत्रकारले मानिसहरूको नजिक पुगेर, उनीहरूको दुःख सुनेर, दुःखै बोल्ने हो । तर परिस्थिति यस्तो आइदियो, हरेक एक मानिस अर्को मानिसँग डराउँदै टाढा हुनुपरेको छ । हामी पनि सकेसम्म मानिसहरूबाट भौतिक रुपमा टाढा भएर बढिभन्दा बढि टेलिफोन र इन्टरनेटलाई प्रयोग गर्दै काम गरिहेका छौं ।

चाहेको भए, हामीले पनि अन्य धेरै सञ्चार माध्यमहरू जस्तै कार्यक्रमहरू बन्द गर्न सक्थ्यौं, समाचारहरू घटाउन सक्थ्यौं । तर हामीले त्यसो गरेनौं । यसमा दुईवटा कारण छ, एक त नागरिकको दुःखमा सँगै नभएको हामी के का लागि ? त्यसैले छिटो र सत्य सूचना दिनुपर्छ भन्ने निष्कर्ष रह्यो । विपद्का बेला रेडियो मानिसको सबैभन्दा नजिकको भरपर्दो साथी हो । यो हामीले भनेको होइन, अध्ययन्हरूले देखाएको हो । अर्को, हामीले काठमाडौंमा रहेर, सयौं रेडियोमा रहेका हजारौं रेडियोकर्मीलाई विपद्का बेला सुरक्षित रहेर सूचना संकलन र संप्रेषणका लागि खटिनुपर्छ भनेर प्रेरित गर्नुपर्ने थियो । त्यही काम अहिले हामी गरिहेका छौं ।

धेरै पत्रकार महिला घरमा सानो नानी छोडेर काममा खटिएका छन् । मिलेसम्म कतिले घरैबाट काम गरिरहेका छन् । यो बेला महिलालाई घर, बालबच्चा, परिवारसँगै सुरक्षित भएर सूचना संकलन र सम्प्रेषण गर्नुपर्ने जिम्मेवारी छ । अब लकडाउन कहिलेसम्म लब्याउनुपर्ने हुन्छ, कोरोना भाइरसको महामारी कहिलेबाट सकिन्छ ? अनि जीन्दगी कहिलेबाट सहज हुन्छ ? हालको परिस्थिति हेर्दा यो विषयको आँकलन गर्न सकिने अवस्था छैन । अहिलेसम्म त पत्रकारहरूले आफ्नो धर्म निर्वाह गरिरहेका छन् । तर यही अवस्था महिनौ लम्बियो भने के पत्रकारले यसै गरि काम गर्न सक्लान् ? यसतर्फ पत्रकारहरूको हकहितका लागि काम गर्ने संस्थादेखि सरकार सम्मले सोच्नुपर्ने अवस्था आएको छ ।

समाचार संकलनमा खटिएकै क्रममा कोरोना सङ्क्रमित भएका पत्रकारलाई सरकारले के सहयोग गर्ने ? त्यो भन्दा पनि अघि, अग्रभागमा खटिने पत्रकारहरूको सुरक्षाको लागि सरकारले के गर्नुपर्छ ? सरकारको सहयोगको लागि पत्रकार महासंघ लगायत सरोकारवाला संघ, संस्थाले कसरी पहल गर्नुपर्छ ? छलफल गर्न ढिलाइ गर्नुहुदैन । हरेक महाविपद्का सूचक पनि हुन् । तर देशभर सक्रिय रुपमा पत्रकारिता गरिरहेका पत्रकार र त्यस मध्येका पत्रकार महिलाहरू विपद् पछिको विकासको पखाईसम्म धैर्य गर्न सक्लान् ? कि अफ्ठेरो झेल्न नसकेर बीचमा नै बाटो बदल्लान् ? यसमा आजैदेखि गम्भीर छलफल हुन जरुरी छ । अर्को कुरा, महामारीले अर्थतन्त्रमा परेको असरले सञ्चार संस्थाहरूमा पनि असर पारेको छ । जसरी अन्य क्षेत्रमा लाखौं मानिस बेरोजगार बनेका छन्, त्यसरी नै धेरै पत्रकारको जागिर गुम्ने सम्भावना छ, गुमेको छ । उनीहरूको बारेमा कसले सोचिदिने ? नीतिगत रुपमा नै पत्रकारहरूको लागि यस्तो व्यवस्था गरियोस्, जसले गर्दा पत्रकारले आफ्नो पेशामा गर्व गर्दै पत्रकारिता पेशालाई रुचीको पेशा बनाउन सकुन् ।

आफ्नो अनुभव सुनाउन खोजेको भन्दाभन्दै हाम्रो यो कुरा पढ्दैगर्दा तपाईलाई व्यक्तिगत कम र व्यवसायिक ज्यादा लाग्यो होला । अर्थात् आफ्नो अनुभव भन्दा पनि हामीले कामको अनुभव बढी सुनायौं । पत्रकारको व्यक्तिगत जीवन नहुने होइन । पत्रकारको पनि व्यक्तिगत जीवन हुन्छ । घरपरिवार र आफन्त हुन्छन् । उस्तै चिन्ता गर्ने आमाबुवा, सोधिखोजी गर्ने दाजुदिदी, घरमा कुरिरहने बालबच्चा हुन्छन् । तर परिवार र आफन्त हरेक समय हाम्रो प्राथमिकतामा नपर्ने रहेछन् । न खुशीको हरेक क्षण सँगै बिताउन पाइने, न त दुःखको समय सँगै रहन । अधिकांश समयमा खबर सुनेर/सुनाएरै चित्त बुझाउनुपर्ने । एकप्रकारले भन्नुपर्दा, पत्रकारको आफ्नै खुशी हुदैन रहेछ । हामीले लेख्दै/पढ्दै गरेको समाचार सुखद् छ कि दुःखद्, यसमै हाम्रो खुशी निर्धारण हुँदोरहेछ । संक्रमितको संख्या नथपिएको, सरकारहरूले राम्रा निर्णय गरेका, नागरिकका सफलताका कथाहरू सुनाउन पाएको दिन समाचार सकेर स्टुडियोबाट समाचार कक्षमा झर्दैगर्दा हाम्रो अनुहार उज्यालो हुन्छ । दुःखका कथाहरू सुनाएका दिन, निन्याउरो । तपाईहरूको सुख र दुःखले हाम्रो खुशी र पीडा निर्धारण हुन्छ ।

व्यक्तिगत र व्यवसायिक जीवनको अझै धेरै अनुभवहरू छन्, जुन विस्तारै लेख्दै जाउँला । अहिलेचाहिँ जाँदाजाँदै, हामी कामसँगै आफ्नो व्यक्तिगत स्वास्थ्य र सुरक्षासँग पनि उत्तिकै चिन्तित छौं । कोरोनाबाट बच्दैगर्दा अन्य समस्या नहोस् भनेर सचेत पनि । बिहान थोरै समय निकालेर खेल खेल्ने, शारीरिक अभ्यासहरू गर्ने । समयमा खाजा, खाना । प्रसस्त पानी पिउने । शरीरलाई आवश्यक आराम, स्वस्थ आहारमा पनि ध्यान दिइरहेका छौं । घरबाहिर निस्कन नपाए पनि कामको प्रेसर कम गर्न साँझबिहान आँगन, बंगैचा र छतमा घुम्ने । साथीभाइसँग गफगाफ गर्ने र रमाइलो गर्ने गर्छौं । बन्दाबन्दीको पालना गर्दैगर्दा यसअघिको जस्तो दैनिकी नभए पनि हामीले दैनिक कामहरूलाई पूर्ण रुपमा बन्द गर्न भने हुँदैन । यी नियमहरू अरुलाई सिकाइरहँदा हामी आफैंले पनि पालना गरिरहेका छौं ।

तपाई पनि कामसँगै आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् । आफू रहे न संसार रहने हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: