सुन्नुस् त ! सावधान हुनुस् है !


प्रकाशित मिति :2020-05-16 09:47:20

संसारभरिका र खास गरेर नेपालभित्रका प्राणीमात्रको हितका लागि लेखिएको लेख ।

छद्मभेशी कोरोना आफ्ना सिपाहीका साथ हाम्रो देशको सीमाबाट भित्र प्रवेश गरिसकेको छ । अहिले ऊ आफ्ना शिकारको व्यग्र प्रतिक्षामा रहेको समाचार प्राप्त भएको छ ।

तपाई आफू पनि मर्न र आफ्ना परिवार र समुदायको पनि संहार गर्ने अपराधी नै बन्न चाहानुहुन्छ भने त मैले के नै भनौँ र रु तपाईँले मेरो यो लेख पढ्नुको पनि कुनै औचित्य नै छैन । कृपया नपढी दिनु होला । पढ्नु भइहाल्यो नै भने पनि हाँसेर उडाई दिनु होला ।

तपाईँ आफू पनि बाँच्न र आफ्नो परिवार र समुदायलाई आफ्ना कारणले कोरोनाजस्तो घातक महामारीबाट जोगाउन सकौँ भन्ने भावना राख्नु हुन्छ भनेचाहीँ मेरो यस लेखले तपाईँलाई पक्कै पनि केही न केही सहयोग अवश्य गर्ने छ ।

‘मानिसका लागि ज्यानभन्दा ठूलो अरू कुरा केही होइन रहेछ । गएपछि फिर्ता हुन नसक्ने एउटा ज्यान मात्रै रहेछ । अरू जे सुकै गुमे पनि भविष्यमा फिर्ता पाउन सकिने रहेछ । त्यसैले महामारीका बेला हरेकले आफ्नो ज्यानको सुरक्षा गर्नु पर्ने रहेछ । यस्तो बेलामा आफ्नो साथै परिवार र समूदायको पनि ज्यान जोगाउन सहयोग गर्नु नै मानवधर्म पनि हो । त्यसैले यतिबेलाको हाम्रो सबैभन्दा ठूलो धर्म र कर्म पनि ुज्यानुको सुरक्षा नै रहेछ ।’

माथि उल्लिखित कुराहरू विश्वभरि र अझ खास गरेर अमेरिका, बेलायत, इटली, स्विडेन, फ्रान्सजस्ता विकाशित अर्थात् हाम्रा तुलनामा अति धनी मुलुकका जनताले महसुस गरेको कुरा हो । तर यो कुरा हाम्रा लागि पनि लागु हुन्छ । हामीले आफूलाई परेपछि मात्र जान्ने होइन । उनीहरूलाई त पर्यो हामीलाई पनि पर्न सक्छ भनेर हामीले बेलैमा सचेत हुन अति आवश्यक छ ।

सरकारको सूचना वा नियन्त्रणको घेरामा मात्र बस्ने बानी छोडेर सबैले आत्मनियन्त्रणको आदत बनाऔँ । हाम्रो ज्यान सरकारले जोगाउने होइनस आफैले जोगाउनु पर्छ ।

हाम्रो जस्तो गरिब, अव्यवस्थित र प्रायः लोभीपापीहरू नै भएर सरकार बनाइने मुलुकमा सरकारकै जिम्मा सबैथोक छोडिदिँदा हामी भड्खालोमा पनि पर्न सक्छौँ । ठीकै छ सरकारले केही गरी नै हाल्यो भने राम्रो कुरा हो गर्दै जाओस् । जनउपयोगी काम गरेछ भने त्यस्तो सरकारका शासकलाई धन्यवाद पनि भनौँला । तर यस्तो महामारीका बेला हाम्रो लाछी सरकारको मात्र मुख हेरेर बस्यौँ भने अनाहकमा ज्यान जान पनि बेर छैन है । त्यसैले सचेत र सक्षम नागरिकले यसबेला आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने उपक्रममा लाग्नु पर्छ ।

एउटा कुरा हामी सबैले बुझ्न अति जरुरी छ, त्यो के हो भने आजसम्म हामी नेपाली (गोर्खाली) लाई कुनै विदेशीले पछार्न सकेका छैनन् । त्यसैले हामी कुनै विदेशीको गुलाम पनि बन्नु परेको छैन । भलै पछार्न नसकेपछि विदेशीहरूले हाम्रै लोभीपापी नेपाली नेताहरूलाई किनेर हाम्रो देश र हामी जनतालाई प्रहार गराएका भने छन् । सोही प्रहारले देश दिनदिनै घाइते बन्दै गएको पनि देखिरहनु भएको छ । त्यसैकारण यस विदेशी कोरोना कोभिड-१९ पनि विशुद्ध विदेशी शत्रु भएकाले यसलाई हामी नेपालीले पछार्नु पर्छ, पछार्न सक्छौँ । विदेशी दलालहरूसँग सावधान हुँदै हामी नेपाली जनताले एकजुट भएर यस कोभिड कहरलाई पछार्नै पर्छ ।

प्रकृतिसँग जसरी भए पनि मित्रता गरौँ । जीवजन्तु, रूख बिरूवा र खोला नालाको संरक्षण गरौँ । संसारमै मानवजातिले प्रकृतिप्रति बेइमानी गरेका कारणले पनि अहिले समग्र मानवजाति माथि नै यति ठूलो बज्रपात परेको हो । नत्र हेर्नु होस् न, हामी घरभित्र थुनिनासाथ हाम्री प्रकृति कति रमाएर नाचिरहेकी छिन् । अहिलेको विश्वमा हावा स्वच्छ भएको छ । अहिलेको संसारमा आकाश सफा भएको छ । जगतैभरि बोट, विरूवा वृक्षहरू हरिया देखिएका छन् । मानवमा निर्भर शहरी पशुपञ्क्षीबाहेक अन्य पशुपञ्छी पनि हामी मानिसहरू थुनिँदा खुसी भएका छन् । सूर्यको ओजोन तहमा परेको प्वालसमेत टालिएको समाचार आएको छ । ओहो ! हामी मानिसहरूले प्रकृतिको कति दोहन गरेका रहेछौँ ? अहिले कोरोना जताबाट आएको भए पनि यसले एउटा गतिलो सन्देश चाहिँ दिँदैछ- ‘ए मनुवा हो! यतिले पनि चेतेनौ भने र प्रकृतिको दोहोनै गरिराख्यौ भने अर्को पटक हावामा नै फैलिने भाइरस पठाउने छु।’

यतिबेला यदि कसैसँग गाडधन छ भने सोको प्रयोग गरेर पूण्य कमाउने अवसर यही हो । यसबेला निर्धा र असहाय भएका प्राणीमात्रको सहयोग गरेर ओरत्रमात्र होइन परत्र समेत सपार्ने मौका नगुमाउँ ।

तपाईँहरू अधर्मीबाहेक जुनसुकै धर्म मान्नु हुन्छ ती सबैले परमात्माप्रति एक मिनेटका लागि भए पनि धन्यवादी हुने गर्नुस् । अब त थाहा पाइसक्नु भयो होला विज्ञानका विराट मिसाईल र अथाह पैसाले पनि फेला पार्न नसक्ने शत्रुले मानिसलाई कसरी पछार्दो रहेछ ?

यदि तपाईँहरू कोही कुनै ज्यानै लिनसक्ने कुलत (चुरोट–बिँडी, जाँड–रक्सी, – गाँजाभाङ, अफिम–चरस आदि कुनै पनि प्रकारका) मा पर्नु भएको छ भने यो समय तपाईँलाई बाँच्ने मौका दिन आएको छ भन्ने बुझ्नुस् । किनभने यतिबेला यदि तपाईँमा यी कुलत बाँकी रहे भने तपाईँको ज्यान रहने टुङ्गो छैन तर तपाईँले यो मौकाको सदुपयोग गरेर ती ज्यान लिने कुलतबाट मुक्ति लिन सक्नु हुन्छ । अनि नजिकैका दिनहरूमा तपाईँको सुन्दर र प्रभुत्वशाली भविष्यले तपाईँलाई नै पर्खिरहेको हुनेछ ।

यसबेला घरमा सबैजना बस्नुभएको छ । घरमा काम सघाउने मानिस पनि आउन मिल्दैन । यस्तो परिस्थितिमा घरका सबै सदस्यले कामको भागबण्डा गर्नुस् । एउटै व्यक्तिलाई (खास गरेर महिलालाई फर्माइस् गरेर खाना पकाउन, भाँडा माझ्न, लुगा धुनजस्ता सम्पूर्ण घरेलु काम लगाउने पुरूषवर्ग लक्षित)कामको बोझ नदिनुस् । रमाएर घरको काम सबैले मिलेर गर्नुस् र घरलाई मन्दिरजस्तो बनाउनुस् । यसले आपसी प्रेमको अभिवृद्धिसमेत भएर सम्बन्ध सुदृढसमेत हुनेछ ।

कोरोनासँगको युद्ध जित्ने हतियार

अबका दिनहरूमा हामीले कोरोनासँगको युद्ध जित्नका लागि निम्नलिखित हतियार प्रयोग गर्नु पर्नेछ ।

शङ्का

हामी कोरोनाको सङ्क्रमणपूर्वका दिनहरूमा ‘शङ्कालु हुनु हुँदैन, शङ्काले लङ्का हान्छ’ जस्ता कुरा गर्दथ्यौँ । तर अहिले हामीले घरबाहिर गएको र घरबाहिरबाट घरमा प्रवेश गर्ने जो सुकैलाई पनि “यो व्यक्ति ‘कोरोनाधारक’ (यसले अदृष्यरहने कोरोना बोकेर ल्याएको) हुन सक्छ” भनेर उक्त व्यक्तिलाई शङ्का गर्नै पर्छ । आफू पनि घरबाहिर निस्किनासाथ जताततै ‘कोरोना मसँगै सल्किन यहाँ पनि हुनसक्छ, त्यहाँ पनि हुनसक्छ, योसँग पनि हुनसक्छ, त्यो सँग पनि हुनसक्छ’ भनेर सबै व्यक्ति र स्थान तथा बस्तुहरूलाई शङ्काका दृष्टिले हेर्नै पर्छ ।

साहस

शङ्का गरेर डराएमा कोरोना टाँसिन पनि सक्छ, कोरोनाले लखेट्न सक्छ, लाग्दै नलागेको कोरोनाको अत्यासले नै डरछेरूवालाई मार्न पनि सक्छ । त्यसै हामी सबैले साहसको अश्त्र धारण गर्नैपर्छ ।

सतर्कता

हामीले शङ्का गरेर साहसका साथ सतर्कता अपनाउनु पर्छ । एकदमै सार्थक तरिकाले सतर्कता अपनाउनु पर्छ ।

सुरक्षा

कसरी सुरक्षित हुने हो भन्ने कुरा हृदयङ्गम गरेर हरेक तरिकाले कोरोनाबाट बच्ने सुरक्षा नीति अवलम्बन गर्नु पर्छ । त्यसका लागि उचीत खानपानका साथै रहनसहनमा पूर्ण सतर्कता अपनाउनु पर्छ ।

स्वास्थ्य

कोरोनाबाट बच्न व्यक्ति पूर्ण स्वस्थ्य हुनाका साथै माथिल्लो स्तरको प्राणशक्ति आर्जनको प्रयत्न गर्नु पर्छ । सकेसम्म प्राणशक्ति अभिवृद्धि गर्ने किसिमका खानेकुराहरू खाने गर्नुपर्छ । नियम, आसन, प्राणायाम, ध्यानादी गरेर यौगिक जीवन शैली अपनाउने आदत बसाल्नु पर्छ ।

कोरोना कोभिद–१९ यतिबेलाको विश्वमाझ फैलिएको विराट कहर हो । साना राष्ट्रका तुलनामा ठूला राष्ट्रहरूले यस ‘जीवविज्ञान युद्ध’मा ठूलो क्षति बेहोरिसकेका र अझै बेहोरिरहेका पनि छन् ।

अहिले विश्वमै मानिसहरू आआफ्नो र आफ्ना परिवारको ज्यान जोगाउने उपक्रममा रहेका देखिन्छन् ।

संसारमै प्रकृतिको मनोरम राजधानीका रूपमा विख्यात हाम्रो नेपालका हामी वासिन्दाले हाम्रै अदुरदर्शी र लोभीपापी नेतृत्वका कारण देशको प्रकृति नै तहस नहस पारेका छौँ । प्रकृतिलाई विनास पार्दै लगिएको पनि मौन भएर हेर्ने हामी नेपाली जनता पनि त्यस अपराधमा अछुतो छैनौँ ।

अझै पनि हामीले समय नगुमाई आफ्नो मुलुकको प्रकृति जोगाउने प्रयत्न गर्न सक्छौँ ।

हाम्रा सन्तानहरूका लागि सुरक्षित पृथ्वी जिम्मा लाउनका लागि हामीले प्रकृतिको सुरक्षा अनिवार्य गर्नु पर्छ । अथाह सम्पत्तिको आर्जनले मात्र मानवलाई ज्यान दिन सक्तैन भन्ने पाठ कोरोनाले विश्वभरि नै पढाइरहेको छ । आफ्ना सन्तानलाई माया गर्ने अभिभावकले सन्तानका लागि धनार्जन नगरिदिँदा पनि उसले भविष्यमा आफैँ आर्जन गर्न सक्ने छ । तर उसको जीवनका लागि अपरिहार्य रहने प्रकृतिको सुरक्षा र संरक्षण गरिदिनु अभिभावकीय धर्म रहेछ ।

कोरोनासँग जोगिने केही उपायहरू

केही विदेशी स्वास्थ्य संस्थाहरूले समेत कोरोनाबाट जोगिएर स्वस्थ्य र सुरक्षित हुनका लागि थरिथरिका सूचना जारी गरेका छन् । ती अङ्ग्रेजी भाषामा रहेका सूचनात्मक सुत्रहरूलाई समेत मैले तपाईँहरूका लागि नेपालीभाषामा अनुवाद गरेर प्रेशित गरेको छु ।
– अनिवार्य अवस्थामा बाहेक दुई वर्षसम्म विदेश यात्राको योजना स्थगित गरौँ ।
– न्यूनतम एक वर्षसम्म आफ्नो भान्साबाहिर पाकेका खानेकुरा नखाऔँ ।
–  विवा- ह, व्रतबन्ध वा कुनै पनि धेरै मानिसहरू भेला हुने कुनै पनि सभा समारोहहरूको सकभर आयोजना नगरौँ । सकेसम्म त्यस्ता आयोजनाहरूमा सहभागिता पनि नगरौँ ।
– अत्यावश्यक नभई घरबाहिर घुमडुल नगरौँ ।
– एक वर्षसम्म भीडभाड हुने ठाउँमा जाने काम गर्दै नगरौँ ।
– समाजिक दूरी कायम गर्नमा कटिबद्ध होऔँ ।
– रूघाखोकी लागेका मानिसबाट टाढा रहौँ । आफूलाई रुघाखोकी लागेको छ भने ‘अरूलाई सर्न सक्छ’ भनेर तुरून्त मास्क लगाउने र रुघा निकोपार्नका लागि बेसार पानी पर्याप्त मात्रामा खाने गरौँ। तातो पानी पर्याप्तमात्रमा खाइरहने गरौँ ।
स्मरण राख्नु होला प्राणशक्ति (Immune) कमजोर हुनेलाई नै कोरोनाले पछार्ने हो । र रुघाखोकी लामो समयसम्म लाग्नाले प्राणशक्तिमा कमजोर हुन्छ । त्यसैले कोरोना बेगरको रुघाखोकीको वेवास्था गर्नु भो भने पनि तपाईँलाई कोरोनाले शिकार बनाउन सक्छ ।
– परिवारबाहिरका व्यक्तसँग भेट्नुपर्दा मास्कको प्रयोग गर्न नछोडौँ ।
– आफ्ना सवारी साधनहरूको प्रदुषण मापदण्ड अनिवार्य जाँच गराऔँ । भीडभाडमा वा पार्किङस्थलमा राखिएको गाडीलाई घरमा ल्याएर घाम लाग्ने ठाउँमा राखौँ अथवा सफा गरौँ ।
अति आवश्यक भएमा मात्र नीजि सवारी साधनको प्रयोग गरौँ । शहरको सवारी चाप व्यवस्थापनमा मद्धत पुर्याएर आफ्नै स्वास्थ्य संवर्धन गरौँ ।
– तपाईँका ओरिपरि भीड जम्मा नगर्नु होस् ।
– सक्नुहुन्छ भने केही समयसम्म शाकाहारी भोजनलाई प्राथमिकतामा दिनु होस् ।
– न्यूनतम छ महिनाका लागि सिनेमा, पार्टी, मल तथा भीडभाड हुने बजार वा हाट जान बन्द गरौँ । बजारमा किनमेलमा जाँदा समाजिक दूरी कायम राख्न कटिबद्ध बनौँ ।
– प्राणशक्ति अभिवृद्धि गर्नमा कटिबद्ध होऔँ । सोही अनुरुपका खानापिनालाई प्राथमिकतामा राखौँ ।
– सकभर कपाल काट्ने सेलुन अथवा ब्युटी पार्लर नजाऔँ । परिवारमा एक अर्काको सहयोग लिएर कपाल काट्ने व्यवस्था गरौँ । जाने वाध्यता नै भएमा सतर्कता अपनाएर सुरक्षित हुने कोशिश गरौँ ।
– बेकारका भेटघाटमा नलागौँ । सतर्क भएर सकेसम्म सामाजिक दूरी कायम राख्दै सुरक्षित हुने कोशिशमा रहौँ ।
– कोरोनाको संत्राश समाप्त भएको छैन । यसले तपाईँ हामीलाई जुनसुकै बेला पनि समात्न सक्छ। यसको संक्रमण अहिले तुरून्तै समाप्त हुने संभावना पनि देखिएको छैन । त्यसैले आगामी लामो समयसम्म हामीले सजग रहनु पर्छ भन्ने कुरा नबिर्सौँ ।
– घर बाहिर जाँदा घडी, सिक्री,पेटी, औँठीजन्य कुनै पनि मेटल प्रयोग भएका सामाग्री प्रयोग नगरौँ । सकेसम्म थोरै संख्यामा र अति आवश्यकीय बस्तुमात्र आफ्ना साथमा लिएर हिडौँ । घर फर्किनासाथ घरका कुनै पनि बस्तुहरूसँग संसर्ग नगरी आफू र आफ्ना साथमा लगिएका ती सबै बस्तुबाट संक्रमण निवारणका लागि साबुनपानी वा सेनेटाइजरद्वारा सफा पारौँ ।
– घरबाहिर जाँदा रूमाल नबोकौँ । सेनेटाइजर र टिस्यु पेपरको प्रयोग गरौँ । रूमाल बोकिन्छ भने घरमा पस्नासाथ साबुनपानीले धोइहाल्ने आदत बसालौँ ।
– घर बाहिरबाट घरभित्र प्रवेश गर्दा जुत्ता बाहिरै राख्ने गरौँ ।
– बाहिरबाट घरमा आउनासाथ सर्वप्रथम हात खुट्टा साबुन पानीले धोएरमात्र घरभित्र प्रवेश गरौँ । बाहिर लगाएका कपडाहरूको घरका अन्य कुनै व्यक्ति वा बस्तुसँग संसर्ग नगरी तुरून्तै धुने अथवा घाममा सुकाउने व्यवस्था गरौँ ।
– यदि संक्रमित व्यक्ति अथवा आफ्नो सुरक्षित परिवारका सदस्यबाहेकका व्यक्तिसँग संसर्ग भएको शङ्का लागेको छ भने तुरून्तै साबुन र तातो पानीले नुहाई हालौँ ।
– चिसो पेय पदार्थ र आइसक्रिम नखाऔँ ।
– बेला बखतमा तातो पानी, चिया, काँढा पानी अथवा तातो सुप पिउने गरौँ ।

नोट

– अहिले कोरोना कोभिड – १९ सँग लडाईँ गर्न यी सावधानी अपनाऔँ । तर यी कार्यहरूलाई आफ्नो जीवनशैलीकै अभिन्न अङ्ग बनाउन सके भविष्यमा फेरि फेरि कोरोना वा अरू कुनै प्रकारको पनि भाइरसले हामीलाई सताउने छैन । यति उपाय अवलम्वन गर्नु भयो भने कोरोना कोभिड – १९ हाम्रो देशबाट निर्मुल हुनेछ ।
यसप्रकारको जीवनशैली नै मानवोचित हो । आगामी दिनमा हामीले सदा सर्वदा यस प्रकारको जीवनशैली अपनाउन सके फेरि फेरि दोहोरिएर पनि आउनसक्ने मानवका लागि घातक अन्य कुनै पनि प्रकारका भाइरसलाई हामीले प्रवेशद्वारमै पछार्न सक्छौँ ।
– यति लामो गन्थन पढ्न तपाईँलाई झर्को पनि लागेको हुनसक्छ । तर तपाईँका ज्यानको मूल्यका अघिल्तिर यस लेखनलाई झर्को नमानी पढेर गुन्दै जीवनशैलीमा गाभेर फाइदा लिनु होला ।

विशेष कुरा

यति सावधानीमा बस्दाबस्दै पनि अपवाद भएर कथंकदाचित तपाईँमा कोरोनाका किरा सल्किहाले भने पनि तपाईँले साहस र सतर्कताका साथ आफ्नै घरमा पूर्ण आत्मनियन्त्रण (Home  Quarantine) मा बसेरै घरेलु जडीबुटीका साथ सामान्य सिटामोल (Paracitamol) खाएर नै यस रोगलाई निको पार्न सक्नु हुनेछ ।

© इन्दिरा प्रसाई

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: