कृषिलाई हेला गर्दाको परिणाम


प्रकाशित मिति :2020-05-05 17:10:34

एक वर्ष अघिको कुरो हो । अछाम जिल्लाको साँफेबगर नगरपालिको एयपोर्ट बजारमा एउटा ब्याउने गाई छाडारुपमा छोडिएको थियो । मानिसहरू गाईलाई जता गए पनि लखेटिरहेका थिए । गाईको जिउडाल राम्रो थियो । हेर्दा राम्रै मालिकले पालेको जस्तो थियो । गाई कहिले खेतबारीमा पस्थ्यो, कहिले बजारभित्र । बजारमा पसले र बाटो हिँड्ने मान्छेले लखट्थे । गाईको जाने ठाउँ पनि त कतै थिएन । निकै भौतारिरहन्थ्यो ।

कसैको बारीमा गयो त्यहीबाट लखेटिन्थ्यो । यताउता चारैतिरबाट लखेटिएपछि फेरि बजार क्षेत्रमै आइपुग्थ्यो । मान्छेको निर्मम कुटाईले गाईको शरीर रक्तात्मे थियो । शरीरभर घाउ नै घाउ थिए । गर्भावस्थाको गाई आराम र स्याहार पाउने ठाउँमा उल्टै कुटाई र लखेटाई पाइरहेको थियो ।

छिपेखोलामा थुप्रै महिलाहरू गिट्टी कुटिरहेका थिए । गिट्टी कुटिरहेकी एक जना महिलालाई मैले ‘दिदी यो गाईलाई पाल्नुस् न । गाई ब्याउने पनि छ । दूध पनि खान मिल्ने । दूध बिक्री गरेर राम्रो आम्दानी पनि हुन्छ’ भनें । ती महिलाले गाई पाल्नु भन्दा त दूध किनेर खाइन्छ भनिन् । मैले किनेर खान पनि त पैसा चाहिन्छ । त्यसैमा किनेको दूध राम्रो पनि हुन्न । दिन भर ढुङ्गा जम्मा गरेर, गिट्टी फोडेर आएको पैसाले किनेर खानु भन्दा त गाई पाल्यो दूध पनि खान पाइने । दूध बिक्री गरेर राम्रो आम्दानी पनि हुन्छ भने । कृषि गरेर खानु भन्दा दिनभर गिट्टी फुटायो, त्यही गिट्टी बेचेर सानो तिनो खर्च चलिहाल्छ । कसले दुःख गरोस् भन्दै ती दिदी खोलातिर लागिन् । त्यहाँ उनी जस्तै अरु महिला र पुरुष पनि थिए खोलामा । कसैले त्यो गाईको वास्ता गरेनन् ।

पशुपती कुँवर

अधिकाशं महिलाहरूको जीवन गुजाराको माध्यम नै त्यही गिट्टी भएको छ । कतिपय खेतीपातीको काम छोडर गिट्टी फुटाउने र ज्याला मजदुरीको काम गरिरहेका छन् । भने कोही पेट गुजाराको अन्य कुनै विकल्प नभएर पनि मजदुरी गरिरहेका छन् ।

कोरोनाको कारण देश पुरै लकडाउनमा छ । नेपालमात्र होइन विश्व बजार नै ठप्प छ । जसको कारण दैनिक मजदुरी गरेर खाने वर्ग यति बेला भोक्कै बस्नु पर्ने बाध्यता आएको छ । हाम्रो जस्तो कृषि प्रधान देशमा लकडाउन भएको एक हप्ता नबित्दै गाउँ शहर सबैतिर न्यून आर्थिक अवस्थाका मान्छेलाई भोकमरीको समस्या भएको समाचार आए । घरको आगनमै भएको जमिन बाँझो राख्ने र कृषिको काम गर्ने मान्छेलाई तल्लो स्तरको ठान्ने सोचको उपज हो यो भोकमरी । बरु मजदुरी गर्न तयार, भारत लगायत विदेशी भूमिमा रातदिन पसिना चुहाउन तयार तर आफ्नै खेतबारीमा हलो जोत्न, कुटो कोदालो समात्न हिनतावोध मान्ने सोचका कारण खेतबारी बाँझैं छन् । मान्छे भोको बस्न बाध्य छन् । तसर्थ संकटको यो समयमा कृषि पेशाको महत्व कोरोनाले राम्ररी बुझाइदिएको छ ।

मलाई सम्झना छ, म सानी थिएँ । मेरो घरमा आफ्नै जग्गा जमिनको उब्जनीले वर्षभरि खान पुग्दैन थियो । मुस्किलले ६ महिना पुग्थ्यो खान । बाँकी ६ महिना बजारबाट चामल किनेर खानु पर्ने बाध्यता थियो । त्यो चामल पनि सजिलै किन्न त कहाँ पाउनु र । अहिलेको जस्तो बजारको विकास र विस्तार भएको थिएन । चामलको लागि नेपाल खाद्य संस्थानमा लाइन लाग्नु पर्ने । त्यो पनि किरा लागेका, डल्लो परेका, गन्हाइसकेका चामल हुन्थे । चामल लिन हामी बजार जान्थ्यौं । चामल बोकेर आउँदा बाटोमा कोही चिनेजानेको नभेटिए हुन्थ्यो जस्तो लाग्थ्यो । बाटोमा कोही चिनेको भेटिहाले पनि चामल किनेर ल्याएको भन्न सारै लाज लाग्थ्यो । कयौं पटक मैले पनि बाटोमा चिनेको ब्यक्तिले के हो यो बोकेको भनेर सोध्दा अरु नै सामान भनेर ढाटेकी थिएँ । घरमा पनि कोही पाहुना आए आमाले जोगाएर राखेको घरको चामल पकाउनु हुन्थ्यो । त्यही घरको चामलको भात खान पनि कोही पाहुना आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो मलाई ।

त्यो बेला राम्रो उब्जनी हुने खेत थिएन हाम्रो । माटो कम, ढुंगा बढी भएको केही पाखो जग्गा थियो । त्यस्तोमा के उब्जनी हुनु । वर्षभरी खाने अनाज फल्थेन । गाउँमा पनि हाम्रो परिवारलाई बेसार गरि खानेका परिवार भनेर जमिनदारहरूले हेप्थे । आफ्नो जमिनको उब्जनी गरेर खान नपुग्नेले के ठूलो कुरो गर्नु भनेर आमालाई भनेको शब्द अहिलेसम्म मलाई सम्झना छ । यही भएर होला म चामल किन्न बजार जानु पर्दा अपराध गर्न गए जस्तै लाथ्यो । अर्काको खेत अधिया गर्नलाई पनि खेत नपाउने । तर अहिले गाँउमा खेतीयोग्य जनि प्रशस्त छन् । तर खेती लगाउने मानिस छैनन् । अधियाको कुरो त पर छोडौं, त्यत्तिकै कमाएर खाउ भन्दा पनि खेती गर्ने मान्छे कोही छैन ।

अधिकाशं मानिसहरू बसाई सराई गरेर तराई झरिसके । जसरी भए पनि गाउँबाट शहर झर्ने प्रबृत्ति बढेको बढ्यै छ । तराईमा आधा कट्ठा, एक कट्ठामा खुम्चिएर बस्न मान्छे राजी छ तर पहाडमा बसेर नंग्रा खियाउन मञ्जुर छैन । खेतीपातीको कामम नगर्ने, बजारमा बस्ने, गाईवस्तु नपाल्ने, दूध दही किनेर खाने मान्छे ठूलै हो भन्ने गलत सोचको विकास भएको छ । तर गाउँमा बसेर हलो छोड्न नसकेकय मानिसलाई प्रगति गर्न नसकेर गाउँ छाड्न सकेन भन्दै हेपिन्छ ।

पहिले किनेर खानेलाई गरिब भनि हेला गरिन्थ्यो । अहिले जसले किनेर खायो उही धनी । गाउँमा दशौं, बिसौं रोपनी, विगाहा जमिन हुने मानिस शहरको एक कोठे जिन्दगीमा रमाएको बहाना गरिरहेको छ । छत र कौशीको एउटा गमलामा एक बोट खुर्सानी, दुई तीन बोट साग रोपेर कृषि खेतीको मजाक उडाइरहँदा हामी नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सक्छौ त ?

कृषि नै उत्तम पेशा हो । कृषि गरि खानेलाई हेला होइन, सम्मान गर्न सबैले सिक्नै पर्छ । कृषिमा उन्नति गरेका मुलुकको उच्च आर्थिक बृद्धिदर हेरेर पाठ सिक्न पर्दछ । यसका लागि चिनिया विकास ढाँचालाई लिन सक्छांै । नेपाल जस्तो विकासशील राष्ट्रहरूले विकास के, कसरी गर्ने भन्ने सवालमा बृहत किसिमको बहस, विकासको निती र कृषि उत्पादनमा वृद्धिका लागि नवीनतम् प्रविधिको प्रयोग गरेर देशमा बेरोजगारहरूलाई रोजगारीको अवसर सिर्जना गर्दै गरिबी निवारण गरि कुल ग्रार्हस्थ उत्पादनमा बृद्धि गरेर राष्ट्रलाई विकासको मार्गमा अगाडि बढाउन सकिन्छ ।

परिश्रमले मात्र देश बन्छ । तुरुन्तै हातमा पैसा आउने श्रमले तत्कालको समस्या त समाधान गर्छ तर दीर्घकालिन होइन भन्ने कुरा आज विश्वलाई कोरोनाले सन्देश दिएको छ । खेतीपातीको काम छोडेर ज्याला मजदुरीको काम रोजेका मानिस आज भोकले मर्नु पर्ने अवस्था छ । पैसा होइन, ठूलो अनाज हो । आफ्नो बारीको उब्जेको अनाज अमृत समान हुन्छ भन्ने सन्देश यो देशले विश्वलाई पुर्याउनु पर्छ ।

कोरोनाले विश्वकै अर्थतन्त्र लामो समयसम्म उठ्न नसक्ने गरि थचारेको अवस्थामा नेपालको अर्थतन्त्र अपबाद हुन् सक्दैन । बिदेशमा काम गर्न गएका र पढ्न गएका धेरै नेपालीहरू फर्कने संकेत देखा परिसकेका छन् । यो अवस्थामा विशेषगरि न्यून आर्थिक अवस्थाका मानिस गरिबीको मारमा बढी पर्छन् नै । यो अवस्थालाई सम्बोधन गर्न नेपाल सरकारले अहिले नै विशेष कदम चाल्न जरुरी देखिन्छ । संचार माध्यमबाट मौसम अनुसारको तरकारी खेती लगाउने तरिकाहरू बारे जानकारी दिने, किसानको सहज पहुँच हुने ठाउँमा बिउँबिजन पुर्याउने, खेतबारी नभएकालाई लिजवा सामूहिक खेती गर्ने ब्यबस्था सिर्जना गर्ने, कृषिमा राम्रो गर्नेलाई पुरस्कार आदिको व्यवस्था गरेर खेती तथा कृषिमा आधारित उद्यम गर्न प्रेरित गर्नु पर्दछ ।

खेतीपाती आज निर्णय गरेर भोलि गर्न सकिने बिषय होइन । तसर्थ स्थानीय स्तरमा नै आत्मनिर्भर हुनसक्ने प्रणालीको विकास गर्न अल्पकालीन र दिर्घकालीन योजनाहरु कोरोना व्यवस्थापन प्रणालीभित्रै समाबेश गरि कृषि मन्त्रालयले सहजीकरण गर्नसक्यो भने सम्भावित आर्थिक असहजतालाई सम्बोधन गर्न सकिने कुरामा दुइमत छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: