मुलुकभित्र काम गरेर खानु विकृति, विदेश जानु संस्कृति ?


श्रम तथा रोजगार मन्त्रीलाई चिठी

प्रकाशित मिति :2020-05-03 10:51:58

माननीय मन्त्री ज्यू,
श्रम तथा रोजगार मन्त्रालय
सिंहदरबार, काठमाडौं

विषयः श्रमिकलाई रोजगारविहीन नबाइयोस्

माननीय मन्त्री ज्यूमा एक श्रमिकको तर्फबाट नमस्कार छ । मन्त्री ज्यू मुलुक अहिले कोरोनाको कहरबाट गुज्रिरहेको छ । यस भाइरसबाट पुरै विश्व नै आक्रान्त भएको बेला हाम्रो देश पनि अछुतो रहेन । र यसबाट जिउज्यान जोगाउन सरकारले चैत्र ११ गतेदेखि लकडाउन गर्यो, र आजको दिनसम्म आइपुग्दा पनि मुलुक लकडाउनमै छ । यो बिचमा सरकारलार्ई नागरिक जोगाउन हम्मे हम्मे परेको महसुस हामिले गरेका छौंं ।

स्वास्थ्य भन्दा ठूलो कुरा अरु के हुन सक्छ र ? यो भाइरस अचानक आयो, र हामी बिना कार्य योजनाको लकडाउनमा बस्नु पर्यो । लकडाउनको पालना सबैले गरेका छन्, छिटपुट घटना बाहेक । तर यही कोरोनाको कहरमा बसेका अधिकाशं व्यक्तिहरूको दिनचर्या बिल्कुलै फरक भएको छ । कोरोनाको भिषण युद्धसँग जुधिरहेको व्यक्तिको पेटलाई पनि लकडाउन गर्न भने सकिदो रहेनछ । दैनिक ज्याला मजदुरी गरेर खाने र होटल रेष्टुरेन्टमा काम गर्ने श्रमिकहरूको अवस्था एकदमै दयनीय छ । यही प्रसँगमा शुक्रबार हामीले १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनायौं । यस वर्षको मजदुर दिवसमा “श्रमिकको स्वास्थ्य, सुरक्षा र रोजगारीको सुनिश्चित गरौं, कोरोना महामारि र बेरोजगारी विरुद्धको संघर्षमा एकवद्ध हौ” नारा रहेको थियो ।

श्रमिकको सवालमा बोल्नु पर्यो भने केवल मे १ मै बोल्नु पर्छ जस्तो लाग्दैन । श्रमिक भनेका देशको अर्थतन्त्रको मेरुदण्ड हुन् । श्रम ऐन २०७४ ले ५ प्रकारको श्रमको व्यवस्था गरेको छ । त्यस मध्ये हामी कहाँ काम गर्ने श्रमिक कुन तहमा, कति काम गर्छन् त्यसको लेखा जोखा पनि छैन । केवल श्रम ऐन भन्यो, यसको रटान लगायो र विदेशी दातृ निकायलाई गुहार्यो, बस् त्यस तर्फमात्र काम भैरहेको छ ।

रसना ढकाल

माननीय मन्त्री ज्यू, मनोरञ्जन क्षेत्र (दोहोरी साँझ र डान्सबार) र रेस्टुरेन्टहरूमा काम गर्ने श्रमिकहरूको बिचल्ली भएको छ । लकडाउनको समयमा सबै होटल रेस्टुरेन्टहरू बन्द भएका कारण त्यहाँ काम गरेर खाने श्रमिकहरूलाई छाक टार्न समेत मुस्किल भएको छ । देश भित्र वा काठमाडौं शहरमा कति वटा मनोरञ्जन क्षेत्र र रेस्टुरेन्ट छन् यस विषयमा नत सरकारसँग आकडा छ, न त सामाजिक संस्थाहरूसँग नै । जब आकडा नै छैन भने यहाँ काम गर्ने श्रमिकहरूको आकडा कहाँबाट हुन्छ र ?

लकडाउनको कहरभित्र बसेको मुलुकले शुक्रबार श्रमिक दिवस आफ्नै तरिकाले मनायो । यसमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले श्रमिकलार्ई दिएको स्थानको चर्चा गर्यौं । श्रमिक भनेको के हो ? कति घण्टा काम गर्नु पर्छ ? काम गरेबापत के कस्ता सुविधाहरू श्रमिकलाई दिइएको छ ? सबै कुराको व्याख्या आइएलओले गरेको छ । तर हामी मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरू न त कहिले आइएओको नजरमा पर्यौं, न त श्रम ऐन २०७४ को । श्रम ऐन २०७४ ले श्रमिकलाई के कस्तो व्यवस्था गरेको छ ? त्यस तर्फ पनि हामी अनभिज्ञ छौं । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक कति हो ? त्यसबारेमा पनि हामी जानकार छैनौंं । हामी जहिले पनि पाखा पारिएको दृष्टिबाट मात्र चर्चामा आयौं । जब सेक्सको कुरा आउँछ, तब अगाडि दोहोर साँझ र डान्सबारको नाम आउँछ । यो क्षेत्रमा काम गर्ने श्रमिकलाई त केवल सेक्स उद्योगको रुपमा स्थापित गरिदियो । हाम्रा सवालहरूलाई सेक्समा गएर व्याख्या गरिदियो र हामी केही बोल्न सकेनौं । किनकी एक महिलामाथि जब उसको चरित्रलाई छोएर कसैले गलत प्रसार गर्छ भने त्यति बेला त्यो महिलाले हिनताबोध गर्छिन् । र उनी आफ्नो पेशाबाट पलायन हुन हुन्छिन् । ठिक त्यस्तै भएको छ, मनोरञ्जन क्षेत्रमा ।

कहिले एक समूह आउँछ, तिमीहरू बेचिएर आएका हौं ? भनेर बेचविखनको डालोमा राखेर हेर्छ त कहिले अर्को समूह आउँछ तिमीहरू जोखिम क्षेत्रमा काम गरेका छौं, सबै ग्राहक खोज्दै जाने त होला नि ? यस्ता शब्दहरूबाट मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरू प्रताडित भएका छौंं । हामीले आफ्नो गुनासो कहाँ पोख्ने ? कुनै प्रशासनले हाम्रो कुरा सुन्दैन । आफूविरुद्धको उजुरी लिएर प्रशासनमा गयौं भने उल्टै पीडितलाई झनै पीडित बनाइदिने तत्वहरू छन् । त्यस्ताको अघि हामीले कुरा राख्नै पाउँदैनौं । फलस्वरुप हामीले काम गर्ने स्थानको परिचय समेत लुकाउनु परेको छ । हामी मनोरञ्जन क्षेत्रमा काम गरेर आफू लगायत परिवार समेत धानेका छौंं । के काम गरेर खानु अपराध हो त मन्त्री ज्यू ? हामी आफ्नो कलाबाट होइन, हामीलाई गलत सोच्ने ती व्यक्तिहरूबाट प्रताडित छौंं । के यो कानूनसम्वत हो त मन्त्री ज्यू ? हामी रातीमा काम गर्छौं । दिनभरि काममा थकान भएका व्यक्ति रात परेपछि हाम्रो स्थानमा मनोरञ्न लिन आउँछन् । कोही गित गाउँछन् त कोही नृत्य गर्छन् । त्यसरी हामीले मनोरञ्जन दिँदै आइरहेका छौंं । तर हाम्रो कामलाई गलत सोचले ओझेलमा पारेको छ ।

सेक्सकै कुरा गर्ने हो भने यो शहरमा लुकीछिपी कुन स्तरका व्यक्ति कहाँ जान्छन्, कोसँग जान्छन् ? त्यसको बारेमा पनि हामीलाई थाहा छ । तर फरक यत्ति हो लुकीछिपी गर्ने व्यक्तिहरूको प्रशासनमा पहुँच पुग्छ भने हामी कला देखाएर जीवन यापन गर्ने व्यक्तिको प्रशासनमा पहुँच पुग्दैन । त्यसैले हामीलाई हेयको दृष्टिले हेरिन्छ ।

हो कानूनमा १८ वर्ष भन्दा मूनिका बालबालिकालाई जोखिमयुक्त काममा लगाउन पाइदैन भन्ने व्यवस्था छ । तर जसको गास टार्ने जोहो छैन, जो गरिबीको चरम कष्टमा छ, त्यस्तो बालबालिका काम नगरेर के स्कुल पढ्न जान्छन् त मन्त्री ज्यू ? मन्त्री ज्यू हामीले सुनेका छौं देशमा परिवर्तन भयो रे । महिलाहरू कहाँबाट कहाँ पुगे रे । तर हामी मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरू कही पुग्न सकेका छैनौंं । देशभित्रका नागरिकले हामीलाई हेर्ने गिद्दे नजरको कारण हामी मुलुकबाट पलायन हुनुपर्ने स्थिती छ र त्यसो हुँदा हामी मध्ये अधिकाशं चेलीबेटी र सोझा दाजुभाइ बेचविखनमा पर्न सक्ने सम्भावना धेरै हुन्छ । आफ्नो गला र कला देखाएर स्वतन्त्रपूर्वक काम गरेर खाने अधिकारको प्रत्याभूत समेत हामीले गर्न पाएका छैनौंं । बजारमा हामी र हाम्रो कामलाई गलत प्रचार गरिदैछ । होटल रेष्टुरेन्टमा काम गर्ने भनेपछि समाज र राज्यबाट दानवको रुपमा व्यवहार भैरहेको छ । मन्त्री ज्यू, तपाइलाई थाहा छ होला दोहोरी साँझ र डान्सबारमा हजारौं श्रम शक्ति कार्यरत छ । लकडाउनको कारण अब यो श्रम शक्ति पलायन हुन बाहेक केही विकल्प छैन । किनकी अधिकाशं मनोरञ्जन क्षेत्र र रेस्टुरेन्ट बन्द छन् । धेरै लगानी गरेर खुलेका यी क्षेत्र अब पूर्ण बन्दको स्थितीमा छन् । सञ्चालकहरूलाई आफ्नो लगानी उठाउन पनि हम्मे हम्मे छ । लकडाउन खुलेपछि हामीलाई हाम्रो काम पाइन्छ कि पाइदैन भन्ने चिन्ता छ । यदि यसो भयो भने हजारौं श्रम शक्ति जोखिममा पर्न सक्छन् ।

मन्त्री ज्यू, दोहोरी साँझ, डान्सबार तथा रेस्टुरेन्टमा काम गर्ने अधिकाश श्रमिकहरूको नागरिकता छैन । कुन अवस्थाबाट ती व्यक्ति काम गर्न आएका छन्, त्यसको लेखाजोखा कोहीसँग छैन । तर लकडाउनको समयमा स्थानीय सरकारले दिने राहतमा नागरिकता चाहिने प्रावधान राखिदियो । जसले गर्दा जसको नागरिकता छैन ती श्रमिकहरू अहिले पनि भोकै बसेका छन् । त्यसतर्पm कस्को ध्यान जान्छ र ? सरोकारवालाको ध्यान त केवल हामीले काम गर्ने स्थलमा मात्रै जाँदो रहेछ । प्रहरी लिएर आएर हामीलाई बिनाकारण पक्राउ गर्न लगाउने ती स्थानीय सरकार र सामाजिक संस्था जो हामीलाई सेक्स उद्योगको रुपमा जबरजस्ती स्थापित गराउन विदेशी दातृ निकायलाई गुहार्दैछन् ।

मन्त्री ज्यू, हामी श्रमिक यही देशका नागरिक हौं । गाउँ घरमा चाडपर्वको बेला गित गाएर मनोरञ्जन लिने हाम्रो संस्कृति छ । तर त्यही संस्कृतिलाई निरन्तरता दिन हामीले दोहोरी साँझ र डान्सबार रोज्छौं भने हामीले विकृती फैलाएको तक्मा यो समाज र राज्यले लगाउँछ । मुलुकभित्र काम गरेर खानु विकृति हो भने वैदेशिक रोजगारीको नाउँमा पलायन हुने के संस्कृति हो त मन्त्री ज्यू ? हो आफ्नो कामलाई आड बनाएर कोही कसैले गलत गरेका छन् भने त्यस्ता व्यक्तिको हामी पक्ष लिन्नौ । किनकी सहीलाई सही र गलतलाई गलत भन्ने संस्कारको विकास हामीले गर्नैै पर्छ । हामी सञ्चार माध्यमको समाचारको विषय त बन्छौं, तर दुःखको कुरा सञ्चार जगतले पनि हाम्रो विपक्षमा जोड दिएर समाचार प्रकाशन गरिदिन्छन् । सबैले चारैतिरबाट किन हामीलाई आक्रमण गरिरहेको छन् त भन्दा हामी रातीमा काम गर्ने महिलालाई कमजोर बनाइयो, जो दिउसो १० देखि ५ बजेसम्म काम गर्छन् उनीहरू बलियो भए ।

मन्त्री ज्यू, एउटै मुलुकका नागरिक हामी तर दुर्भाग्यको कुरा आफ्नै मुलुकमा पाखा पारिएको व्यक्तिको दर्जामा काम गरिरहेका छौं । होइन भने मनोरञ्जन क्षेत्र र रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने श्रमिकहरूको भविष्य अन्धकार हुन बेर लाग्दैन । यो महामारीले देशका उद्योग र पर्यटन क्षेत्र धराशायी भैसके अब बाहिरका पर्यटक पनि देशमा आउने सम्भावना न्यून छ । लकडाउनको कारण अब त हाम्रो काम गर्ने स्थान पनि सुरक्षित भएन । यसको लागि सरकार, स्थानीय सरकार र सरोकारवाला सबैको ध्यान पुग्न आवश्यक छ । श्रमिकको रोजगारी सुनिश्चित भए मात्र हाम्रो नाराले सार्थकता पाउँछ । होइन भने हामी सधै विवादको विषय नै बन्नु पर्ने स्थिती आउँछ । श्रमिकको मानव अधिकार सुनिश्चित गरियोस् अनि मात्र मुलुकमा सम्बृद्धिको उदय हुने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: