मनोरञ्जन क्षेत्र समयमै संचालन नभए २० हजार महिला रोजागारविहीन हुने


प्रकाशित मिति :2020-05-01 13:28:50

कोरोनाको प्रभाव यतिखेर विश्वभरी नै साझा समस्याको रुपमा रहेको छ । संसारभरी जम्मा ३२ लाख ३२ हजार ४ सय ९० संक्रमित भई २ लाख २८ हजार ५ सय ५३ ले मृत्युवरण गरेको पछिल्लो तथ्यांकले देखाउछ । करीव २० लाखको हाराहारीमा जीवनका लागि संघर्षरत छन् । नेपालको सन्दर्भमा ५७ जनामा कोरोना भाइरस देखिएको छ ।

नेपाल सरकारले पनि कोरोनाबाट संक्रमित हुनबाट जोगाउनकोे चैत्र ११ गतेबाट गरेको लकडाउन जारी छ । लकडाउनले देशका सम्पूर्ण क्षेत्रमा असर पुर्याईरहेको छ । त्यस्ता क्षेत्रहरू मध्ये मनोरञ्जन क्षेत्र पनि एक हो ।

मनोरञ्जन क्षेत्र कोराना आउनुभन्दा अगावै पनि राज्यको खासै ध्यान पुग्न नसकेको क्षेत्र हो । लकडाउन पछि अन्य क्षेत्रजस्तै मनोरञ्जन क्षेत्रका श्रमिकहरूको काम बन्द हुनु त स्वाभाविक नै हो । तर के उनीहरूलाई लकडाउनको समयमा आफ्नो कार्यस्थलबाट तलव प्राप्त हुन्छ त ? के उनीहरूलाई राहत दिने काम मनोरञ्जन व्यवसायिहरूले गरिरहेका छन्, वा राज्यबाट राहत दिलाउने काममा पहल गरेका छन् ? के लकडाउन खुलेपछि मनोरञ्जन क्षेत्र खुलिहाल्ने अवस्था छ ? यदि खोल्ने अवस्था भएन भने मनोरञ्जन क्षेत्रका श्रमिकहरूको अवस्था कस्तो होला ? उनीहरूको रोजगारीको विकल्प के हुन सक्छ ? र राज्यले यस्तो बिकल्प खोज्न कस्तो भूमिका खेल्नुपर्ने हुन्छ ? जस्ता अनगिन्ती प्रश्नहरू यतिखेर हामी सामु तेर्सिएका छन्, जुन अनुत्तरित छन् । यी विषयहरूको अहिले नै छलफल गरेर समयमा बिकल्प निकाल्न नसकिएमा महिला तथा किशोरीहरूमाथि घरेलु हिंसा, यौन शोषण तथा मानव बेचविखनको जोखिम बढ्ने सम्भावना पनि त्यत्तिकै छ ।

हिरा दाहाल

उनी (गोपनियताका कारण नाम उल्लेख छैन) ललितपुरको एउटा दोहोरी रेष्टुरेन्टमा गित गाउने काम गर्छिन् । लक डाउन सुरु हुँदा उनले २ महिना अगाडिदेखिको तलव पाएकी थिईनन् । साहुले चैत्र ७ गते तलव दिने प्रतिवद्धता गरेका थिए । तर दुर्भाग्य चैत्र ६ बाट नै उनको काम बन्द भयो । काम बन्द भए पनि तलव पाईएला कि भनेर आशा गर्दै साहुलाई बेलाबेलामा फोन गर्दै थिईन् । तर चैत्र ११ बाट लकडाउन सुरु भएपछि त्यो सम्भावना पनि रहेन । लक डाउन सुरु हुनु अगाबै आर्थिक समस्या झेलिरहेकी उनलाई लकडाउनले हातमुख जोड्न धौ धौ बनाएको छ । लकडाउनको समयको तलव पाउने कुरामा उनी कत्ति पनि आशावादी छैनन् । ‘काम गरेर तलव नदिने साहुले काम नगरेको बेलाको पैंसा दिन्छन् त ?’ उनको प्रश्न छ ।

हुन त नेपाल सरकारले सरकारी तथा नीजि क्षेत्र सवै ठाउँमा कर्मचारीहरूलाई सार्वजनिक बिदासरह मानेर तलव दिनु भनेर बारम्बार सूचना प्रशारण गरिरहेको छ । तर मनोरञ्जन क्षेत्रका श्रमिकहरू मालिकले तलव दिन्छन भनेर विश्वस्त छैनन् ।

काठमाडौंको एक डान्सबारमा वेटरको काम गर्ने एक युवतीका अनुसार काम गर्ने ठाउँमा एउटा गिलास फुट्दा तलव काटिन्छ । एकदिन बिरामी हुँदासमेत बिदा पाइदैन । बिरामी अवस्थामा काममा जान सकिएन भने त्यो दिनको पैंसा काटिन्छ । अनि यसरी काममै नगई घर बस्दा त कसले तलव देलान् र ? व्यवसाय कहिल्यै बन्द नहुँदा त वर्षौदेखि काम गर्ने श्रमिकले तोकिएको समयभन्दा एक घण्टा ढिलो पुग्न पाउदैनन्, एक दिन बिदा पाउदैनन्, जुन दिन काममा जान सक्दैनन्, त्यो दिनको पैंसा पाउदैनन् भने महिनौंसम्म लकडाउन भएको अवस्थामा तलव पाउने सम्भावना अत्यन्तै अस्वाभाविक लाग्छ उनीहरुलाई ।

मनोरञ्जन क्षेत्रका श्रमिक महिलाहरूको अधिकारको लागि काम गर्ने संघ संस्थाहरूको संजाल “अधिकारको लागि अभियानकी अध्यक्ष मधु गुरुङ मनोरञ्जन क्षेत्रमा कार्यरत कतिपय महिलाहरूलाई लक डाउन हुनु अगाडि महिनाकै तलव नदिएको बताउँछिन् । काम गरेको महिनाको तलव नपाईरहेको अवस्थामा लकडाउनको तलव पाईने कुरामा श्रमिकहरू आशावादी छैनन् । अहिले मनोरञ्जन क्षेत्रम काम गर्ने श्रमिक महिलाहरूलाई खानाको व्यवस्था गर्न एकदम गाह्रो छ । कहिले खाद्यान्नको अभाव त कहिले ग्यास अनि कोठाभाडा तिर्ने समस्या आईरहेका छन् ।

लक डाउन कहिलेसम्म लम्बिने हो भन्ने अवस्था नै अन्योलपूर्ण भईरहेको अवस्थामा मनोरञ्जन क्षेत्र कहिलेबाट पूर्ण रुपले संचालन होला भनेर अहिले यकिन गर्न सकिने अवस्था छैन । तर देशको अवस्था, कोरोनाले विश्वभर पारेको असर हेर्दा र विश्वभरी बढ्न सक्ने बेरोजगारीको सम्भावनाले गर्दा मनोरञ्जन क्षेत्र पनि तुरुन्त खुलिहाल्ने अवस्था देखिंदैन ।

ठमेलमा मसाज पार्लरमा काम गर्छिन् उनी । लक डाउन भएपछि बल्लतल्ल काठ्माडौंबाट उनी आफ्नो गाउँ पुगिन् । उनका साहुले ‘तत्काल मसाज पार्लर नखुल्न सक्छ । लकडाउन खुले पनि बिदेशीको चहलपहल बढेपछि मात्र मसाज पार्लर खुल्न सक्ने र त्यसपछि मात्र काममा आउनु’ भनेर फोनमा जानकारी दिएका छन् । साहुको कुराले उनी अब के गरेर जिवीका चलाउने भन्ने तनावमा छिन् । साहुको भनाईबाट यो कुरा प्रष्ट छ कि लक डाउन खुले पनि कम्तीमा ६ महिना व्यवसाय राम्ररी संचालन हुने अवस्था छैन ।

यसरी मनोरञ्जन व्यवसाय समयमै संचालन हुन नसकेमा झण्डै २० हजार श्रमिक महिलाहरू रोजगारविहीन हुनेछन् । उनीहरूसंग न त बैकल्पिक सिप नै छ, न त शिक्षा नै । यस क्षेत्रमा गरिएका विभिन्न अध्ययनले के देखाएका छन् भने यस क्षेत्रमा प्रवेश गर्ने धेरै जसो महिला तथा किशोरीहरू घरेलु हिंसाबाट पीडित भई अन्य बिकल्प नभएपछि कामको खोजिमा आईपुगेका हुन् । लकडाउन सुरु भएपछि गाउँ फर्केका श्रमिक महिलाहरू पुनःहिंसामा परेका छैनन् भन्न सकिने अवस्था छैन भने यदि उनीहरूको लािग रोजगारीको बिकल्प नहुने हो भने घरेलु हिंसा बढ्ने सम्भावना सजिलै देखिन्छ । त्योसंगै बैकल्पिक रोजगार खोज्नै पर्ने उनीहरूको बाध्यताको कसैले फाईदा उठाएर यौन शोषण र मानव बेचविखनको जोखिमपूर्ण अवस्थामा पुग्ने परिस्थिती बढ्ने अवस्था टड्कारो देखिन्छ ।

मनोरञ्जनन क्षेत्रमा कार्यरत महिला श्रमिहरूको जीवनमा आउन सक्ने नकारात्मक अवस्थाहरूलाई राज्यले बेलैमा संवोधन गर्नुपर्ने आवश्यकता रहेको छ । हाल कतिपय महिलाहरू गाउँ फर्केका हुनाले स्थानीय सरकारले सुरुदेखी नै स्थानीय स्तरमा महिला तथा किशोरीहरूको लागि व्यवसायिक सिप तालीमहरू, व्यवसाय संचालनमा सहयोग र स्थानीय स्तरमै रोजगारी दिलाउनको लागि पहल सुरु गर्नुपर्ने आवश्यकता देखिन्छ । महिला तथा किशोरीहरूलाई घरमा हिंसारहित वातावरणमा बाँच्ने अवस्था सिर्जना गर्नको लागि पनि स्थानीय सरकारको त्यतिकै भूमिका छ । हिंसा पीडित लाई तत्काल न्याय दिने खालका व्यवस्था र पीडकलाई सजाय त प्रमुख कार्य नै भए भने महिलाहरूलाई हिंसारहित वातावारणको सिर्जना गर्नका लागि वडा वडामा निगरानी समिती र आवश्यकता अनुसार मनोविमर्शकर्ताको उपलब्धता गराउनु जरुरी देखिन्छ ।

त्यसैगरी काठ्माडौंमा रहेका श्रमिक महिलाहरूको लागि लकडाउन खुलिसकेपछि पनि केही महिनाको लागि राज्यले राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । राहतको साथसाथै व्यवसायिक सिपहरू, तालिम तथा व्यवसाय संचालन र रोजगारमा आवद्ध गराउने खालका प्याकेजको योजना बेलैमा सुरु गर्न जरुरी छ ।

मनोरञ्जन क्षेत्रका श्रमिक महिलाहरूको रोजगारसहितको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सबै तहबाट उत्तिक्कै पहलको आवश्यकता छ । मनोरञ्जन क्षेत्रमा कार्यरत संघ संस्था तथा संचार माध्यमबाटसमेत यो विषयलाई संवेदनशिलताका साथ उठाएर राज्यलाई समयमै झक्झकाउन सके पक्कै पनि श्रमिक महिलाहरूलाई न्याय दिलाउन सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: