सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान


प्रकाशित मिति :2020-04-03 13:12:51

घटना नम्बर एक

ए बा, के यताउता गरेको ? रक्सी खानु भएको छ ? त्यो पनि महिला सिटमा बस्ने ? कस्तो मान्छे हो, शुद्धि हराएको । (युवतीको छुद्र बचन पछि बसभित्रका यात्रु सबै चुप लागे)

ती युवतीको बचनप्रति असह्य हुँदै छेउमा बसेका ७५ वर्ष माथिका जस्ता लाग्ने वृद्ध भन्छन्, ‘नानी वृद्ध हुँदैमा रक्सी खाएको हुन्छ र ? अनि तिमीले महिला सिटमा बसेको भन्यौ । महिला सिट कस्ता व्यक्तिको लागि हो मलाई राम्ररी थाहा छ । तिमीले बताउनु पर्दैन । अनुशासन सिकेकी छैनौं ? तिम्रो घरमा यही सिकाउँछन् ? आफूभन्दा ठूलोसँग तिम्रो बोल्ने तरिका यही हो ? नत्र गएर घर र कलेजमा भन – हामीलाई बोल्ने तरिका सिकाइ दिनु भनेर । वृद्धले पनि झोक्किदै यति भनेपछि उनी चुपचाप लागिन् । नराम्रो जवाफ पाउँदा उनको मुख रातो भैसकेको थियो ।

त्यतिकैमा ती युवतीको कुराप्रति रुष्ट हुँदै एकजना यात्रुले पनि पछाडिबाट कराउँदै भने,–नानी तिमी हेर्दा पढेलेखेको देखिन्छेउ । तर तिमीले संस्कार पाएकी रहिनछ्यौ । दुःख लाग्यो तिमी जस्ता युवा पुस्ताबाट अपमानित हुँदा । तिमी भन्दा हजारौ भोटो हामीले उधार्यौ । तर आफ्नो सन्तानलार्ई अरुलार्ई अपमान गर्ने पाठ सिकाएनौ । सभ्य भएर बोल । होइन भने अपमान गरेको आरोपमा प्रहरीमा जान नपरोस् ।

एक युवती र ज्येष्ठ नागरिक बिचको यो भनाभनले एकछिन बसभित्रको माहौल अर्कै भयो । सबैले आपसमा कुरा गर्न थाले । चालक र सहचालकले आरक्षण सिट जस्को लागि हो उही बसौ भने । यति भन्दै गाडी हिँड्यो ।

घटना नम्बर दुइ

सडकको पेटीमा एकसुरमा हिँडदै गरेका वृद्धलाई ठेलेर अघि पुराउँदै एक युवा भन्छन्, ‘कस्तो बुढो होला । सडकमा कसरी हिँडनु पर्छ थाहा पनि नभएको ।’ वृद्ध बा भन्छन्, ‘आहा क्या राम्रो संस्कार रहेछ बाबुकये त । घाटीमा टाइ त छ । बोलीमा अंग्रेजी शब्द छ । तर व्यवहारिक शिक्षा खोई ? धेरै खुशी लाग्यो तिमी जस्तो युवा देखेर । राम्रो शब्द बोल्यौ बाबु । आज हामीलाई बोलेको शब्द भोली तिम्रा सन्तानले तिमी माथि प्रयोग गर्लान्, होस गर । यति भनेर वृद्ध बा आफ्नो बाटो लागे ।

माथि प्रस्तुत घटना छुट्टाछुटै स्थानका हुन् । एक सार्वजनिक यातायात र अर्को सार्वजनिक स्थान । स्थान जहाँ भए पनि यस्तो अपमान ज्येष्ठ नागरिकहरु माथि भैरहेको छ । घर परिवारबाट अपमानजनक व्यवहार खेप्दै आइरहेका ज्येष्ठ नागरिकहरु सार्वजनिक यातायात र सार्वजनिक स्थानमासमेत अपमानित हुनु परेको छ । जुन एकदमै दुःखद् कुरा हो । समाजका पाका व्यक्तिलाई हेलाको ध्ययले हेर्ने हाम्रो सोचमा परिवर्तन कहिले आउला ?

रसना ढकाल

जीवनको चक्र नै जन्मिएपछि मृत्यु भन्ने बुझिन्छ । तर जीवनमा बाल्यकाल, युवा अवस्था र वृद्ध अवस्था तीनटा काल खण्डहरुको मिश्रण हुन्छ । त्यस कालखण्डमा एक दमै जटिल अवस्था भनेको वृद्ध अवस्था हुन्छ । किनकी यो अवस्थामा घरका सदस्य कोही पनि साथमा बस्न खोज्दैनन् । कसरी होस् छुटकारा पाउँ भन्ने सोच हुन्छ । जताततै यस्तो दर्दनाक स्थिती हामी देख्न पाउँछौ । अझ वृद्ध आश्रममा गएर कुनै आमा बुवासँग कुरा गर्यौं भने त झनै कहालीलाग्दा काहानी सुन्न पाइन्छ ।

एकदिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको कार्यकक्ष सिंहदरबारमा १०÷१२ जना ज्येष्ठ नागरिकको समूह गएर आफूहरु छोराबुहारीबाट अपमानित भएको र छोराछोरीको कमाइको १० प्रतिशत महिनामा आमाबुवालार्ई दिने कानूनले भनेता पनि आफूहरुले गुनासो पोखे ।

छोरा बुहारीले हामीले आफ्नो तलबबाट १० प्रतिशत तिमीलाई दिएका छौं नि ! त्यसैबाट पेट पाल । हामी पाल्न सक्दैनौ जस्ता दुरबचन बोलेको कुरा उनीहरुले मन्त्री समक्ष राखे । यसको जवाफमा मन्त्रीले ज्येष्ठ नागरिकले आफूमाथि भएको घटना प्रहरीमा उजुरी गरेपछि सिधै परिवारका सदस्य कारवाहिमा पर्ने सुझाए । र यसको विरुद्धमा कानून कै आवश्कता रहेको मन्त्रीको जिकीर भयो । आखिर किन गरिन्छ त अपमान ज्येष्ठ नागरिक माथि ? कारण जे सकुनै भएता पनि ज्येष्ठ नागरिकप्रतिको सम्मानको कुरालाई हामीले बिर्सनु हुन्न ।

सार्वजनिक स्थानमा एक युवा अवस्थाको व्यक्ति अपमानित भएको भए शायद उसले आफ्नो अपमानको बदला लिन प्रहरीमा उजुरी हाल्न जान्थ्यो होला । तर त्यहाँ वृद्धको सवाल छ । हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन उमेरमा हिँडिरहेका छन्, त्यो उमेर मायाले भरिएको उमेर हो । ज्येष्ठ नागरिक माथि भएको अपमानलाई अभद्र व्यवहारको मुद्दा पनि चल्छ । तर आफू माथि अपमान भएको कुरा अत्यन्त कमै ज्येष्ठ नागरिकले भन्छन् ।

काठमाडौंकये कालिमाटीमा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कोही पनि ज्येष्ठ नागरिकले घर परिवार वा बाहिर कतैबाट अपमानित भएर उजुरी दिन नआएको प्रहरी निरीक्षक ज्ञान मञ्जरी शर्माले बताए ।

सार्वजनिक यातायातमा महिला, अशक्त र ज्येष्ठ नागरिक भनेर आरक्षण सिटको व्यवस्था भएको छ । तर ती स्थान जसको लागि हो उनीहरुले पाएका छन् त ? एकपटक सबै स्थानमा खोजी गर्दै हिँड्यौ भने वास्तविकता थाहा हुन्छ । आरक्षण सिट पनि बलियाले नै हडपेका हुन्छन् । यहाँ कुरा आरक्षणको होइन, हाम्रो आँखामा ज्येष्ठ नागरिकप्रतीको व्यवहार कस्तो छ, त्यो कुराले प्राथमिकता पाउँछ । सार्वजनिक यातायातमा आरक्षण दिएर मात्र हुदैन । ज्येष्ठ नागरिकप्रतिको सदभाव स्वतः नै आउनु पर्छ ।

शहरका अधिकाशं स्थानहरुमा लेखिएको छ ज्येष्ठ नागरिकप्रति दया होइन, सम्मान गरौं । घरदेखि बाहिर स्थानसम्म उनीहरुलाई सम्मान गरौं । लेखिएको यो शब्द व्यवहारिक कुरा हो । लेखेर, देखेर आफूमा परिवर्तन आउनु पर्ने विषय नै होइन । तर बद्लिदो समयमा परिवार–परिवार बीच बढेको दुरी, घर परिवारको बीचमा मरेको आत्मियताको शिकार भैरहेको छन्, ज्येष्ठ नागरिक । उनीहरुले आफ्नो सन्तानमा भविश्य देखेका हुन्छन् । तर सन्तानले भविश्य त परकै कुरा, वर्तमानमा नै अपमान गर्छन् । यो सत्य हो, यसलाई नकार्न सकिदैन ।

हरेक व्यक्तिको जीवनको अन्तिम क्षण भनेको वृद्धा अवस्था हो त्यो अवस्था सबैले पार गर्नु पर्छ । यो जीवन चक्र हो ।

वृद्धावस्था एक यस्तो अवस्था हो जहाँ एक व्यक्तिले आफ्नो जीवनको लामो छण घर परिवार सबैको हेरविचारमा बिताएको हुन्छ । एक घर बनाउन उसले आफ्नो जीवनको महत्वपूर्ण समय बिताउछ । घरका सदस्यहरुलार्ई काबिल बनाएर उनीहरुको सुनौलो भविश्य सुनिश्चित गर्छ । तर आजका दिनसम्म पुग्दा तिनै जीवन दाताहरु नयाँ पुस्ताको हेपाइ र अपमान सहन बाध्य छन् ।

एक बालक बामे सर्दै गरेको देखेपछि जो कोहीले पनि कति राम्रो बच्चा भनेर काखमा लिन्छन् । वा माया गर्छनत् । र त्यही बालक जीवनको उतरार्धमा आइपुग्दा वृद्ध हुन्छ । त्यतिबेला उसलाई सहारा दिने कोही हुदैन । कति वृद्धवृद्धाहरुका लागि तिरस्कार, अपहेलना, विभेद, मानसिक पीडा शारीरिक हिंसा लगायतका दुःख, कष्ट दैनिकी जस्तो बनिदिन्छ । तर पनि आफूमाथि भएको विभेद उपर प्रहरी निकायसम्म ज्येष्ठ नागरिक पुग्दैनन् । किनकी आखिर सन्तान न हो । सन्तानको सुख संसारको सबैभन्दा ठूलो सुख हो भन्ने कुरालार्ई उनीहरुले बुझेका हुन्छन् । सन्तानले लाखांै दुरबचन बोलेता पनि आमाबुवाले मेरो सन्तान भनेकै हुन्छन् ।

मानिसलाई ज्ञानी, गुणवान बनाउने शिक्षाले नै हो भन्ने एकथरीको मानसिकता होला । अर्को थरी घरमा पाएको संस्कार नै मान्छे ज्ञानी र गुणवान हुन्छ भन्छन् । हुनत यो दुवै कुरा आपसमा महत्वपूर्ण छ । किनकी व्यक्तिलाई शिक्षा पनि चाहिन्छ र घर पनि चाहिन्छ । व्यक्तिको पहिलो पाठशाला भनेको उसको घर हो । घर भनेको व्यक्तिको जीवनको महत्वपूर्ण स्थान हो । घरको चिनारी एक परिवारमा हुन्छ । यसभित्र परिवारले सन्तानलाई कस्तो संस्कार दिएका छन् भन्ने कुरा देखाउँछ । भने स्कुल कलेजमा लिइने शिक्षा किताबी शिक्षा हो जो अरुले लेखेर हामीले पढ्छौ र आफ्नो जीवनमा पनि त्यस्तै उतार्न खोज्छौ । त्यसैबाट पाएको प्रमाणपत्रको आधारमा भविश्यको खोजी गर्छौ । हाम्रो शिक्षाको फरक यही निर छ । आधुनिक समाजमा घरबाट सन्तानले पाउनु पर्ने शिक्षा एकदमै खस्किदै गएको छ । किनकी आजभोली परिवारका लागि कोहीसँग समय नै हुन्न । सबैको दैनिक जीवन व्यस्त छ । परिवारमा दुरी बढेको छ । अनि कहाँबाट कसले असल शिक्षा पाउनु ? व्यक्तिको पहिलो पाठशाला घर भनेर चिनिने स्थानमा व्यवहारिक शिक्षाको एकदमै खाँचो महसूस भइरहेको छ । त्यसमाथि ज्येष्ठ नागरिकलार्ई दिइने स्थान त झनै महत्वपूर्ण हुन्छ । आफ्ना हजुरबुवा हजुरआमासँग हुर्केका बच्चाहरुको लक्षण र एकल परिवारमा हुर्केका बच्चाहरुको लक्षणमा धेरै फरक हुन्छ ।

मानव अधिकार सबैको अधिकार हो । यो अधिकारले पहिला सम्मानको कुरा गर्छ । जब मैलै अरुलार्ई सम्मान गर्न सक्दिन भने अरुबाट मैले सम्मान पाउँछु भन्ने नै हुदैन । कोही व्यक्तिले पनि गर्न नहुने काम अपमान हो । तर आजभोली अपमान शब्द यति साझा भैसेको छ कि यो शब्दको शिकार नभएको शायदै कोही नहोला । त्यसैले यस शब्दलार्ई सम्मानमा बदल्न व्यवहारिक शिक्षाको खाचो छ । स्कुलका कक्षा कक्षाहरुमा पनि ज्येष्ठ नागरिकप्रति सम्मान बारे बहस चलाउन आवश्यक देखिन्छ । घरबाट व्यवहारिक शिक्षा भएन भने स्कुलबाट यस्तो शिक्षा जान जरुरी देखिन्छ ।

नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक सम्बन्धी व्यवस्था गरेको छ । त्यस अन्तर्गत ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा समाजिक सुरक्षाको हक हुनेछ भनेर किटान गरेको छ ।

यसैगरी ज्येष्ठ नागरिक ऐन २०६३ पनि हामीसँग छ । प्रयाप्त कानूनहरु हुदाँ हुदै पनि ज्येष्ठ नागरिकहरु घर देखि बाहिरसम्म प्रताडित भएको देखिन्छ । कानून कार्यान्वयनको पक्षमा जानकारीको पनि अज्ञानताको कुरा आउँछ । त्यसैले ज्येष्ठ नागरिकलाई आफ्नो हक अधिकार र अपमानित भएको खण्डमा कहाँ जाने कस्लाई भन्ने जानकारी गर्नु, गराउनु आवश्यक छ । ज्येष्ठ नागरिकलाई अपमान होइन, सम्मान गरौं । किनकी ज्येष्ठ नागरिकले हाम्रो जस्तो उमेर अब पाउदैनन् । तर हामी उहाँहरुको उमेरमा पुग्ने निश्चित छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: