कोरोना बोल्यो- ‘हे मनुवा’


प्रकाशित मिति :2020-03-28 15:34:43

-इन्दिरा प्रसाई-

आधारातमा आकाशमा औँसी भरिएको छ
टिम्टिमाउँदो उज्यालोमा
ढ्याङ् ढ्याङ् ढ्याङ्
ठाङ् ठ्याङ् ठाङ्
धामी उफ्रिँदैछ ।

‘हेर् मनुवा हेर्
तेरो अहङ्कार हेर्
अब तेरो सर्वनास हेर् !’

मध्यरातमा
ढ्याङ्ग्रो ठटाएको आवाज सुनिँदैछ
स्याल र हुचिलको हुइँहुइँ
झाँक्रो फिँजाएको धामी नाच्दैछ
मनुवा झोक्राएर
लम्पसार विरामीको विचल्ली हेर्दैछ ।

‘लौ परमेश्वरी !
सत्यसत्य बोली देऊ
लागोपागो छोडी देऊ
जे चाहिन्छ लैजाऊ
मेरो मनुवा छोडी देऊ
लौ परमेश्वरी !’

ढ्याङ् ढ्याङ् ढ्याङ्
ठाङ् ठ्याङ् ठाङ्
धामी उफ्रिँदैछ ।

‘जङ्गल नासिछस्
खोला नाला सबै दुषित पारिछस्
पहाड कन्दरा सबै सखाप छन्
धुवैँधुवाँले आकाश ढाकिछस्
हेर् मनुवा हेर्
अब आफ्नै सर्वनास हेर् !’

धामी नाच्दैछ
थाल ठटाँउदैछ
चोपेर सेउला खड्कुँलोमा भत्भति पाकेको पानीमा
मदौरोको नाङ्गो डाढमा पार्दै थियो
झ्याम् झ्याम् !

‘लौ परमेश्वरी
माफी देऊ
एक पल्टलाई
अज्ञानी मनुवा हामी
रख्खे गर !
मनुवाले धेरै दुक्ख पायो
लागोपागो भगाई देऊ
लौ परमेश्वरी !’

निन्याउरी स्वास्नी
बेहोसीकी आमा
विचल्लीका छोरा छोरी
कालरात्रीमा
झाँक्री बाका सामुन्ने
आशाको दियो बालेर
बसिरहेछन्
आस्थाको जीवन रूँगिरहेछन् ।

ढ्याङ् ढ्याङ् ढ्याङ्
ठाङ् ठ्याङ् ठाङ्
झ्याम् झ्याम् झ्याम् !
खड्कुँलोमा चोपलेर सेउला
मदौरोका ढाडमा हान्दै
धामी झम्टिँदैछ ।

‘हेर् मनुवा हेर्
तेरा ओरिपरि
घरैघर हेर्
खोई तैँले खाने
अन्न फल्ने खेत
खलिहान खोई
कता छ हेर्
धुवाँले ढाकेको आकाश मात्रै छ हेर् !

एइ~ मनुवा!
मनुवामार्ने खेल तैँ मनुवाले पो खेलेको र’छ
जताततै मनुवाको सर्वनास गरेको र’छ !
हेर् मनुवा हेर्
मनुवाका
सासभरि धुलोधुवाँ लागेको र’छ
मनुवाका तनमा बनको देउता लाग्या र’छ
मनुवाको मनमा मनकै देउता लाग्या र’छ
खोला नालामा गुहुमुत बगाएपछि
अहो ! मदौरोका छातीमा दुर्गन्ध भरिएको र’छ
मदौरोका मांशपिण्डमा
विषादी नै विषादी भरिएको र’छ
मनुवाका नसानसामा फोहोर पानी बगेको र’छ
मनुवाको आत्मामा
कुकर्मको भण्डारा लागेको र’छ
हेर् मनुवा हेर्
मनुवालाई मनुवाकै अपराध लागेको र’छ !’

धामी उफ्रेर चिच्याएर
कामिरहेको छ ।
ढ्याङ्ग्रो एकैछिन बिसाएको छ ।

‘लौ परमेश्वरी
मेरो मनुवा छोडी देऊ
जे भाक् भन्छौ त्यही भाक्छु
जे चाहिन्छ भन्छौ त्यही दिन्छु
गल्ति भ’कै हो
लागोपागो मिल्क्याई देऊ
मेरो मनुवा छोडी देऊ
परमेश्वरी सत्तेसत्ते
जे भाक भन्छौ त्यही भाक्छु
मेरो मनुवा छोडी देऊ!

धामी उफ्रिँन थालेको छ
ढ्याङ् ढ्याङ् ढ्याङ
ठाङ् ठ्याङ् ठाङ् !

‘आफ्नै अहङ्कार लागेको र’छ
परकितिको सराप परेको र’छ
थुक्क मनुवा !
मनुख्खे भएर मनुख्खे घात गरेको र’छ
सुनका मोरको लोभमा परेर
मनुख्खेकै लागि बमगोला र बारूद थापेको र’छ
मनुख्खे भएर मनुख्यै नासेको र’छ
मनुख्खे भएर मनुख्यै भाकेको र’छ
धिक्कार छ मनुख्खे तँलाई
मनुख्खै नास्ने किरा बनाको र’छ
हेर् मनुवा हेर्
तेरो मनुवा हेर्
ठूली बजै रिसाकी रै’छिन्
ढ्याङ् ढ्याङ् ढ्याङ्
ठाङ् ठ्याङ् ठाङ् !

‘हे परमेश्वरी रख्खे गर
हे परमेश्वरी
मेरो छोरोको
रख्खे गर रख्खे गर !’

उसकी आमा होसमा आएकी छिन्
धामीसँग छोराको जीवन माग्दै छिन् ।

हेर् मनुवा हेर्
खोलानालामा रछान नमिसा अब
वनजङ्गलको रख्खे गर मनुवा
रूख बिरूवा रोपिहाल मनुवा
आकाशमा धुवाँ नमिसा है अब
खानामा विषादी कहिल्यै नहाल्नु बुझिस्
अब गोली र वारूद नपढ्का बाबै
अणु र परमाणु नखेलाएस् अब कहिल्यै
मनुवा नास्ने किरा नबना है
अब पनि मनुवाले मनुवा चिनिनस् भने
लाखे है !
अहङ्कारको वादल फाँडिनस् भने अब पनि
नत्र छैन है मनुवा
अब हुँदैन मनुवा
ठूली बजै मनाउनु पर्छ
ठूलै भाग पन्साउनु पर्छ ।

धामीको शरणमा परेको छ मनुवा
धामीको अनुशरण गर्दैछ मनुवा
बरो मदौरो अलिकति चटपटाएको छ
भरखरै मनुवाले अलिकति तातो माड घुटुक्क पारेको छ
त्यसैले आशाको दियो भने निभेको छैन
रात सकिनै लागेको छ ।
उज्यालो हुने बेला भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: