भान्सामा पुरुष सहभागिताको कुरो


प्रकाशित मिति :2020-03-10 13:46:32

–पशुपती कुँवर–

घरायसी कार्य, बाल बच्चाको लालन पालन र वृद्धवृद्धा स्याहार महिलाको जीवनका महत्वपूर्ण काम हुन् । जुन कामको मूल्य नै नहुदा महिलाहरू आर्थिकरुपमा परनिर्भर छन् । सामाजिकरुपमा बहिष्कृत छन् । र आत्म सम्मानविना बाँचिरहेका छन् ।

महिलाहरूले दैनिक १४ देखि १८ घण्टा काममा ब्यस्त हुनु परेको छ । जो कामको राष्ट्रिय आयमा गणना हुन सकेको छैन । कामको प्रकृतिलाइ हेर्दा वर्तमान समयमा महिलाहरूले तेहोरो भूमिका निभाउँदै आइरहेका छन् । उत्पादनशील काम, प्रजनन् तथा हेरचाह सम्बन्धी काम र सामुदायिक काम ।

अहिले कामकाजी महिलाहरूमाथि बढी दबाब छ । उनीहरूमाथि घर र कार्यालयको दोहोरो जिम्मेवारी छ । दैनिक घरायसी काम, खेतीपातीको काम, बालबच्चा लानपालन, वृद्धवृद्धा हेरचाह र अतिथि सत्कार जस्ता काम महिलाहरूले गर्नु परेको छ । महिला सशक्तिकरणको लागि धेरै प्रयास भएता पनि महिलाहरूको अवस्थामा खासै परिवर्तन आउन नसक्नाको कारण घरायसी झमेलाबाट महिलाहरू बाहिर आउन नसक्नु प्रमुख हो ।

पशुपती कुँवर

घरको काममा जबसम्म पुरुष सहभागी हुन सक्दैनन् तबसम्म महिलाहरू घर बाहिरको काममा सफलता हासिन गर्न सक्दैनन् । महिलाहरूको विकासको बाधक तत्व भनेको घरायसी कार्यबोध नै सबै भन्दा बढि देखिन्छ । घर धन्दाको काम सबै महिलाहरूले गर्नु पर्ने बाध्यता छ । निजामती कर्मचारी, सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत सामाजिक सहजकर्ता होस् या महिला नेता जे सुकै पदमा जुनसुकै जिम्मेवारी निर्वाह गरे पनि अधिकांश महिलाहरूले घरायसी कार्यभार सम्हाल्नै पर्ने महिलाहरूको ठेका जस्तै मानिन्छ ।

छोरीलाई हुर्काउने प्रक्रियादेखि नै घरको सम्पूर्ण काम सिकाइन्छ । न सिके पनि परिवार समाजले सिकाउन बाध्य पार्छ । तर छोरालाई प्राय घरायसी काम गर्न लगाइदैन । त्यसकारण घरको सम्पूर्ण कार्यभार महिलाको जिम्मामा पर्दछ । घर व्यवस्थित पार्नेदेखि लिएर अथिति सत्कार जस्ता कार्यमा महिलाहरू अग्रसर हुनै पर्ने र यस्तो कार्यमा महिलाले केही गल्ति गरे ‘कस्तो महिला’ भनेर नामाकरण गरिन्छ । तर पुरुषहरूले यस्तो कार्यमा बढी चासो देखाए समाजमा खिल्लि उडाउने प्रचलनले गर्दा पुरुषहरू घरायसी कार्यबाट टाढा रहन्छन् । त्यसको प्रत्यक्ष असर महिलाको जीवनमा परेको छ । आज महिला विकासको लागि राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने संविधानिक व्यवस्था हुँदाहुँदै पनि महिलाहरूको अर्थपूर्ण सहभागिता नभएको अवस्था छ ।

कुनै जमानामा महिलाहरूले केवल घरायसी कार्य र बाल बच्चाको लालनपालन जस्ता कार्यमा मात्र ब्यस्त हुनु परेको थियो । अब त्यो जमाना रहेन किनकी महिला र पुरुष दुबैको सहभागिताविना विकास असम्भव छ ।

जसको फलस्वरुप विगतको भन्दा अहिले हरेक क्षेत्रमा महिलाहरूको सहभागिता अभिबृद्धि हँुदै आएको छ । यसरी विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिता बृद्धि हुनु सकारात्मक परिवर्तन हो । महिलाहरूको घर बाहिरको काममा पहँुच बढे पनि घरभित्रको कार्य बोझमा कमी आउन नसक्दा महिलाहरू थप मारमा परेका छन् । जसले गर्दा महिला तथा बालबालिकाको स्वास्थ्यमा असर परिरहेको छ । बाल बच्चालाई दिनु पर्ने जति समय दिन पाएका छैनन् ।

समाज र परिवारलाई प्रजातान्त्रिक प्रक्रियाबाट अगाडि बढाउन र समातामूलक समाजको निमार्ण गर्नको लागि हरेक क्षेत्रमा महिला र पुरुषको सहभागिता अति आवश्यक छ । महिलाहरू संसदमा जान जति आवश्यक छ, त्यति नै पुरुष भान्सामा जान आवश्यक देखिन्छ । घरबाहिर र घरभित्रको हरेक कार्यमा महिला र पुरुष दुवैको सहभागिताविना विकास अपुरो हुन्छ भन्ने कुरा हाम्रा विगतका अनुभवले देखाइ सकेको छ । अबको नयाँ पुस्ताले घरको काम महिलाको मात्र ठेका होइन भन्ने मनन् गर्नु पर्दछ । ‘महिला पुरुष बराबरी, घरायसी काम सराबरी’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्नु पर्छ ।

आमा बुवाले पनि छोरा छोरी दुबैलाई असल मुल्य र मान्यता सिकाउनु पर्दछ । छोरीसरह छोरालाई पनि घरायसी कामको लागि उत्प्रेणा जगाउने, घरको सरसफाई, खाना पकाउने, आफूले खाएको थाल र आफ्ना लुगा आफै धुने, जस्ता काममा सहभागी गराउन पर्छ । जसले गर्दा छोरा पनि छोरीसरह अनुशासन र जिम्मेवारीको बोध गर्दछन् । उनीहरूलाई डाढु पन्यू चलाउन दिनुपर्छ, जसले गर्दा उनीहरूले हँसिया र तरबार चलाउन नसिकुन् । प्रत्येक ब्यक्तिको पहिलो पाठशाला घर परिवार नै हो उसले घर परिवारबाट जस्तो पाठ सिक्छन्, उसको व्यक्तित्व त्यस्तै बन्छ ।

अहिले पनि धेरै मानिस यस्ता छन्, जो आफूले खाना खाएको थाल धुनु परे आफू अपमानित भएको महसुस गर्दछन् । दिनभर लैङ्गिक विभेद भो भनेर भाषण गर्ने तर आफूले खाना खाएको थाल समेत अरुलाई धुन लगाउने कुरा लाजै मर्दो होइन र ? धाल धुने कुरा सानो हो । तर यसले परिवारमा ठूलो विभेद गरेको छ । यही कारणले महिलाको कति कार्यबोझ थपिएको छ भन्ने कुराको कसैले लेखा जोखा राखेको छ ?

अहिलेको आधुनिक र सभ्यताको युगमा यस्तो सानो कुराले गर्दा हामी नेपालीहरू कुन युगमा छौ जस्तो आभास हुन्छ ।

महिला विकासका लागि जति धेरै नीति नियम बने पनि जबसम्म सामन्तबादी चिन्तनमा सकारात्मक परिवर्तन आउन सक्दैन, तबसम्म महिलाले मुक्ति पाउन सक्दैनन् । महिलाहरूलाई एउटै समयमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता छ । जब एउटा महिला आमा बन्छिन् तब उसको सम्पूर्ण समय बच्चाको पालन पोषणमा बित्छ । जसले गर्दा सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रका महिलाको भूमिका साघुरो हुँदै जान्छ । यही कारणले सन्तान जन्माइ सकेपछि महिला काम गर्न सक्दिनन् भनेर विभिन्न अवसरबाट समेत बच्चित गराइन्छ ।

नेपालको संविधान २०७२ को मौलिक हकमा समेत महिलाको प्रजनन् अधिकारको व्यवस्था गरिएको छ । तर व्यवहारिक रुपमा महिलाहरूले धेरै चुनौती बहन गर्नु परिरहेको छ । घरभित्रको काम, सामाजिक, आर्थिक र राजनीतिक काम संगसंगै व्यवस्थापन गर्नु चानचुने कुरो होइन । कामकाजी महिलाहरूले परिवार र काम गर्ने संस्थाबाट थप सेवा र सुविधा पाउन सकेका छैनन् । स्तनपान गराउने समय, बच्चा हेर्ने व्यवस्था जस्ता प्रमुख क्रियाकलापमा सकारात्मक विभेद नगरेसम्म महिलाहरू सामाजिक क्षेत्रमा फ्डको मार्न सक्दैनन् ।
हरेक क्षेत्रमा महिला सहभागिताको कुरो उठे पनि भान्सामा पुरुष सहभागिताको कुरो उठ्न सकेको छैन । महिला घरबाहिर जानका लागि पुरुष घरभित्र आउन सक्ने वातावरणको सृजना गरिनु पर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: