श्रीमती बिना बाँच्ने आँट किन नगर्ने ?


प्रकाशित मिति :2020-03-10 12:36:42

–बिजु कँडेल–

केही महिना अगाडिको कुरा हो । अफिसको काम विशेषले गर्दा त्यस दिन म अलि ढिला घर पुगेको थिएँ । घर पुग्दा मेरो छिमेकीको घर छेउको बाटोमा पार्किङ्ग केही बाक्लिएको थियो । चहल पहल पनि अघिपछिको भन्दा अलि बढी नै थियो । त्यो घरको छिमेकी दिदी एक हप्ताको लागि बुटवल जान्छु भन्नु भएको थियो । दिदीको आफ्नै काम थियो रे बुटवलमा ।

दिदी नभएको बेला घरमा अलि बढी घुँईचो देखेर केही परेछ कि भनेर म अलि झसङ्ग पनि भएँ । म घरको गेटभित्र छिर्नै लाग्दै थिएँ । छिमेकी दाई र उहाँको साथीसँग टुप्लुक्क भेट भयो । मैले पनि सोधि हाले ‘के छ दाई घरमा आज त निकै चहलपहल देख्दैछु ?’ दाई मौन बस्नुभयो । उत्तर उहाको साथीले दिनुभयो । ‘आज उहाँको श्रीमती बुटवल माईत जानुभयो । त्यसैले यसो साथीभाईसँग बसेर रमाईलो गरेको !’ मैले ए भने । बढी बोल्न उचित ठानिन । सरासर आफ्नो घरभित्र छिरे ।

घरको गेट त मैले राम्रैसँग लगाए । तर दाईको साथीले दिएको उत्तरले मलाई राम्रोसँग बस्न दिएन । मलाई कताकता चसक्क भयो । आज श्रीमती माईत गएको दिन उहाँलाई यत्रो उत्सव मनाउनुपर्ने । लोग्ने मानिसलाई श्रीमती यस्तो बोझ पो हुँदो रहेछ । मेरो मनमा धेरै प्रश्नहरू खेल्न थाले । छिमेकी दाई आफै पनि कामको सिलसिलामा धेरै चोटी घरबाहिर जानु भएको मैले देखेको छु । तर उहाँ गएको खुशीयालीमा दिदीले आफ्ना साथी बोलाएर रमाईलो गरेको मैले देखेकी छैन ।

यो त मैले प्रत्यक्ष देखेको एउटा सानो घटना थियो । तर सामाजिक संजालमा श्रीमती हुँदाको क्षण र नहुँदाको क्षण, बाहिरका केटीहरू त लजालु हुन्छन् । तर घरभित्रकै श्रीमतीचाहिँ किन यती कर्कसा ? बाहिर त मसँग सबै डराउछन् । तर घरमा आएरचाहिँ म श्रीमती सँग डराउनुपर्ने । आदि ईत्यादी व्यंग्यात्मक र श्रीमती बोझकै रुपमा रहेको भन्ने आभास हुने खालका पोष्टहरू त दैनिकजसो देखी नै रहन्छन् । योबाहेक नेपाली चलचित्र, टेलिश्रृंखला र संचार माध्यमबाट प्रसारण हुने बिज्ञापन आदिले पनि यस कुरालाई अलि बढी नै स्थान दिएको पाईन्छ । चलचित्र छक्का पञ्जाका कलाकार बुद्धिबहादुर तामाङ्गलाई त उनको साथीहरूले जोइटिंग्रे अर्थात ‘जेटी’ नै संज्ञा दिएका छन् ।
सामान्यतया हाम्रो परिवेशमा श्रीमान्् घर छोडेर केही दिनको लागि बाहिर जाँदै छन् भने श्रीमतीहरूले उसलाई कति साह्रो याद गरिरहेका हुन्छन् । आफ्नो श्रीमान्लाई मन पर्ने खानेकुरा पाक्दा सम्झिएर फोन गर्छन् । उ आउने दिन गन्दै औंला भाँचेर बस्छन् । र उसलाई मन पर्ने परिकार बनाएर उसको स्वागत गरिरहेका हुन्छन् ।

यसरी बुझ्दा यो सम्बन्ध एकदम जटिल र सोचनीय छ । जब एउटा श्रीमान्ले श्रीमती घरमा नभएको दिन निकै स्वतन्त्र महसुस गरी साथी भाई जम्मा पारेर ह्विस्की पिउनाई रमालो मान्छ भने एउटी श्रीमती श्रीमान्सँगै बसेर चिया पिउन पाउँदालाई रमाईलो मान्छे ।

मैले बा ‘भन्ठाने’ कि भन्ने सोचेर केही केटा र केटी साथीलाई प्रश्न गरेँ । के साँच्चिकै श्रीमती नभएको बेलामा तिमीहरू स्वतन्त्र महसुस गर्दछौ ? उनीहरूले हाँस्दै जवाफ दिए, ‘त्यस्तो त हैन । तर किचकिच कम हुन्छ ।’ अनि मैले फेरि प्रतिप्रश्न गरें, ‘के विषयसँग सम्बन्धित किचकिच हो त्यो ?’ उनीहरूको उत्तर थियो, ‘त्यस्तै त होनी किन अबेर गरेको ? कोसँग बसेको त्यस्तै त्यस्तै !’

त्यसो भए त्यो किचकिच केका लागि हो ? कसका लागि किन गरिएको हो ? धेरै नपिउनुस् । रातिसम्म घरबाहिर नबस्नुस् । शरीरको ख्याल गर्नुस् । बिरामी पर्नु होला भन्ने किचकिच के श्रीमतीले आफ्नो स्वार्थको लागि गरेकी हुन् । वा श्रीमान्को हितको लागि ? र मेरा केटी साथीहरूको निष्कर्ष पनि त्यही आयो ‘साथीसँग बसेर ह्विस्की पिउनु भन्दा श्रीमान्सँग बसेर चिया पिउँदा खुशी दोब्बर हुन्छ ।’

अनि मलाई लाग्यो श्रीमती घरमा नभएको बेला स्वतन्त्र महसुस गर्ने र बोझको रुपमा हेर्ने केटा मान्छेहरूले पुरै जिन्दगी श्रीमतीविना बिताउने आँटचाहिँ किन गर्दैनन् ?

श्रीमतीको मृत्यु पश्चात चाँडै अर्को बिहे गर्ने केही व्यक्तिहरू उदारणका रुपमा आए पनि नचिनिएका सामान्य मानिसहरू धेरै छन् समाजमा । जसले श्रीमतीको मृत्यु वा सम्बन्ध विच्छेद पछि तुरुन्तै अर्को विवाह गरिहालेका हुन्छन् । तिनीहरू फेरि किन सकिएको बोझ अर्को पटक उठाउन तयार हुन्छन् ? किन जोड्न खोज्छन् अर्को नाता ? किन उठाउन खोज्छन् अर्को बोझ ? अर्को किचकिच ?

हाम्रो समाजलाई राम्रोसँग नियालेर हेर्यो भने कतिपय महिलाहरू विवाह नै नगरी कुनै पुरुषको साथविना आफ्नो पाखुरा र पौरखले बाँचिरहेका छन् । बाँच्नकै लागी उनीहरूलाई कुनै पुरुषको आवश्यकता परेको छैन ।

अर्को कुरा श्रीमान्को मृत्यु भएपछि विधवा महिलाको बिल्ला भिरेरै पनि आफ्नो परिवार सम्हालेर बसिरहेकै छन् । तर यही समाजका पुरुषहरूलाई हेर्ने हो भने कुनै कारणवस् श्रीमतीको मृत्यु भयो भने उनीहरू केही महिना त के केही दिन पनि बित्न नपाउँदै अर्को श्रीमतीको खोजीमा हुन्छन् र बिहे पनि गरिहाल्छन् ।

श्रीमतीको मृत्यु पश्चात चाँडै अर्को बिहे गर्ने केही व्यक्तिहरू उदारणका रुपमा आए पनि नचिनिएका सामान्य मानिसहरू धेरै छन् समाजमा । जसले श्रीमतीको मृत्यु वा सम्बन्ध विच्छेद पछि तुरुन्तै अर्को विवाह गरिहालेका हुन्छन् । तिनीहरू फेरि किन सकिएको बोझ अर्को पटक उठाउन तयार हुन्छन् ? किन जोड्न खोज्छन् अर्को नाता ? किन उठाउन खोज्छन् अर्को बोझ ? अर्को किचकिच ?

यो सबै कुराहरूलाई राम्रोसँग विष्लेषण गर्दै जाने हो भने पितृसत्तात्मक सामाजिक संरचनाले महिलालाई दिएको कमजोर स्थानले निम्त्याएको कारण यस्ता घटनाहरू देखिएको भन्न सकिन्छ ।

श्रीमतीलाई एउटा जीवनसाथी भन्दा पनि घरमा काम गर्ने बेतलवी कामदारको दर्जामा हेरिने पितृसत्तावादी मनस्थीतिले गर्दा नै श्रीमतीहरू बद्नाम छन् ।

सम्बन्धलाई बुझ्न नसक्दा एकको अनुपस्थितिमा खुसी मनाउनु पर्ने दिन आउँछ भने सम्बन्धलाई सधैँका लागि बन्द गर्ने हिम्मत गर्न सक्नु पर्छ । र श्रीमतीले गरेको अनुरोध र ख्याललाई बोझ ठान्ने प्रत्येक पुरुषले जिन्दगी भर विवाह नगरी स्वतन्त्र जीवन बिताउने आँट गर्नु पर्छ ।

(लेखक अधिकारकर्मी हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: