एक सादगी राजनीतिज्ञ– अन्तरी तिती


प्रकाशित मिति :2020-01-09 17:53:03

–विमला तुम्खेवा–

‘मान्छेलाई श्रम गर्दा जस्तो सुन्दर केही गर्दा देखिदैन ।’ यसो भनिरहँदा स्वयम् श्रममा लीन भैरहेकी हुन्छिन्, प्रदेश नम्बर एक प्रदेशसभा सदस्य कृष्णकुमारी राई । घरका सदस्यहरू कोही हङकङको आइडिवाल, कोही युकेको लाउरे, कोही हेडमास्टर, कोही वकिल, कोही सांसद, कोही मेयर । औसत नेपाली समाज अनुसार उनलाई भौतिक श्रमको आवश्यकता छैन । तर उनको दर्शन श्रमसँग जोडिएको हुनाले उनी आफ्नै सादगीमा रमाउँछिन् ।

आफ्नो चोक र घरमा भने उनी अन्तरी तिती भनेर चिन्छन् । यो विशेषण राई भाषामा सानो बैनीले ठूलो दिदीलाई गर्छ । आमरुपमा नेताको छवि जनताको नजरमा कस्तो छ ? भन्दा धेरैले नकारात्मक प्रतिक्रिया दिन्छन् तर कृष्णकुमारी राईको प्रसङ्गमा यो लागू हुदैन ।

ग्रामीण महिला जस्तै साधारण पहिरन । प्राय लुङ्गी र भेस्ट अनि बढीमा दुई सयको लोतीवाल चप्पल । आफ्ना जनतासंग सधैं सम्पर्कमा रहनको निम्ति जम्मा पन्ह्र सयको माइक्रोम्याक्स मोबाइल फोन । त्यो पनि पुरानो भैसकेको छ ।

कृष्णकुमारी राई ।                      तस्वीरः भुपेन्द्र तिम्सिना

पछाडि लगेर बनाईएको कपालको जुरो । श्रृङ्गार बिनाको सादा गहुँ गोरो अनुहार । हामीले देखिरहने, सभा समारोहमा भेटिने अन्य सांसदहरू भन्दा नितान्त फरक जीवन जिउने तरिका । पूरै नेन्सल मन्डेला स्टाईल ।

जन्म खोटाङ रतन्छा वार्ड नम्बर ५ साल्मे गाउँ । बुबा अधम बहादुर राई । आमा अपरलक्ष्मी राईको चार छोरा र आठ छोरी मध्ये छोरीतिर अन्तरी । त्यसकारण उनलाई अन्तरी तिती भनेर चिनिन्छ ।

अन्तरी तितीका बाउ बाजे नै राजनीतिमा सक्रिय । नजिकबाट नेपाली राजनीतिलाई बुझी सुनी आइन् उनी । तर आजको राजनीतिक प्रणालीप्रति एक सय असी डिग्रीको अन्तरले राईको बिमति छ । आफ्नै पार्टीभित्रको बेथितिप्रति उनी भन्छिन्, “जनताले चाहेको कम्युनिजम र सपना यस्तो थिएन । उसबेला राजा फालेपछि सबै समस्या सकिन्छ जस्तो लाग्थ्यो । तर फेरि अरु राजाहरू जन्मदा रहेछन् ।ˮ तितीको बुझाईमा अझै नेपाली राजनीतिको उमेर परिपक्व भैसकेको छैन । आशावादी हुनुपर्छ । यसो भनिरहँदा भुटेको मकै खाँदै घरमा भेट्न आएका जनतालाई सोध्दै थिईन् “के समस्या भएर आउनुभयो ?ˮ

तस्वीरः भुपेन्द्र तिम्सिना

स्कुल र कलेज जीवन हुँदै यो चारदशक लामो राजनीतिक जीवनमा स्थानीय जनताले कृष्ण कुमारी राईलाई सांसद भन्दा पनि बढी आफ्नो अभिभावकको रुपमा चिनेका छन् । गाउँमा मर्दा होस् कि बिहे पर्दा जस्तोसुकै अप्ठ्यारो र साह्रो गाह्रोमा रातदिन नभनी जनतासँगै हुन्छिन् । कतिपय अवस्थामा उनलाई बोलाईरहनु पनि पर्दैन । सुनेपछि आफै दगुरी हाल्ने ।

उनी बारे बनेका किस्सा त कतिसम्म भने बिरामीलाई कुरिरहँदा बिरामीसँगै बेडमुनि कार्टुन ओछ्याएर बिताएको रातहरू हिसाब गरेर साध्य छैन । यसरी कुर्दा आफू निदाई हाले बिरामीलाई सानो छडी राखिदिएर अप्ठ्यारो परे त्यही छडीले कोट्याएर उठाउनु है भन्दै बिताएका रातको संस्मरणलाई आफैले भने कहिले कतै उल्लेख गरिनन् । बरु उनको यो सादा जीवनशैली धेरैको निम्ति प्रेरणा भएको छ । कतिले आफ्नो हैसियत थाहा नभएको प्रतिक्रिया पनि दिन्छन् र भन्छन्, “कस्तो सांसद भएर पनि यस्तो भएर हिँडेको ।ˮ तर अन्तरी तितीलाई आफूमाथिको सबै हसीमजाक आम लाग्छ र भन्छिन्, “जनताको के दोष ? नेताले नै त्यस्तै सिकाएका छन् ।ˮ

अरु नेताहरूले उनीबाट सिक्नु पर्ने कुराहरू धेरै छन् । काठमाडौंमा हुने ठूलठूला सभा समारोहमा झुक्किएर मात्र पुग्छिन् उनी । जिल्लामै पनि अति जरुरी मिटिङ र जानै पर्ने समारोहमा मात्र भेटिन्छन् । नत्र त बिहान उठेदेखि राती नसुतेसम्म जनताकै समस्या समाधान गर्न लागि परिरहेको देखिन्छन् ।

तस्वीरः भुपेन्द्र तिम्सिना

२०५३ सालमै महेन्द्र मोरङ्ग क्याम्पसबाट इतिहासमा एम.ए पास हुन् उनी । पीएचडी गर्ने रहर छ । तर ठेगान छैन । जनताको काम गर्दागर्दै समय नै नपुग्ने कुराको सिलसिला व्यक्त गरिन् ।

प्रदेश सभामा भूमिसुधार सामाजिक सुरक्षा, स्थानीय प्राकृतिक स्रोत व्यवस्थापन र परिचालन लगायतका नीति निर्माण गर्नेमा उनको महत्वपूर्ण भूमिका छ । स्वयम् बुबा सामाजिक कार्यकर्ता । पंचायतकालमा माईला दाजु समदत्त राई उपाध्यक्ष । सायद यही र यस्तै कारण र पारिवारिक परिवेशले हुनसक्छ, अन्तरी तितीको यति लामो राजनीतिक जीवनमा भ्रष्टाचारको दाग छैन । हुन पनि सक्दैन भन्छन्, उनलाई चिन्ने जान्नेहरू ।

पहिलो र दोस्रो संविधानसभाको चुनावमा समानुपातिक तर्फको सूचीमा रहे पनि पैसा र शक्तिको उन्मादमा रुमल्लिएको राजनीतिले उनलाई सभासद बनाएन । पार्टीभित्र पनि कहिले आफूले केही नमागेको एउटा जिउँदो उदाहरण हुन्, –अन्तरी । उनको बिचारमा नेता भनेको त जनताको सुरक्षाको चौकीदार हो । राजनीतिक जीवनको यति लामो समयमा उनले जम्मा जम्मी बुझेको यति हो । तर यसरी कति नेताले सोच्छन् यो समयमा ?

पार्टीले ईमान्दार र क्षमतावान कार्यकर्तालाई किनाराकृत गरेको उनलाई चित्त बुझेको छैन । जनताको सेवा गर्नु साधारण काम होइन । लोभ र घृणाबाट जो कोही नेता माथि उठ्न जरुरी छ । पार्टीभित्र राम्रो भन्दा पनि हाम्रो मान्छे हेरिने कारणले हिजोको दिनमा ज्यानको प्रवाह नगरि जनताका लागि संघर्ष गरेकाहरू आज गुमनाम जीवन बाँचिरहेछन् । यो आफ्नो मात्र पार्टीमा होईन, सबै पार्टीको समस्या भएको उनको बुझाइ छ । त्यसमा पनि महिलालाई अझ गाह्रो छ ।

राजनीतिक जीवनको यति लामो समयमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई जम्मा दुईपटक मात्र भेटेकी छन् उनले । भेट हुँदा के छ ? भन्नु हुन्थ्यो । म सबै ठिक छ भन्थे । यति नै हो ।

तस्वीरः भुपेन्द्र तिम्सिना

विश्व राजनीतिमा राम्रै ज्ञान छ । राजनीतिमा आउनु अघि सपना त शिक्षक बन्ने थियो । तर त्यो रहर राजनीतिको चापमा त्यसै सेलाउदै गयो । करिअरको सुरुका दिनहरूमा टोल र आफन्तका छोराछोरी भेला गरेर फ्रिमा टियुसन पढाई दिन्थिन् । हरेक दिन बिहान चार बजे उठेर तातो पानी खाएपछि टोल छेउको चौक झाडु लगाउनु दिनचर्या नै हो उनको ।

मान्छेको भाग्य शिक्षाले मात्र बदल्न सक्छ भन्ने कुरा जन्मदै घर परिवारमा सुन्दै आइन् उनले । यही कारणले पनि हुनसक्छ, सबैलाई पढ्नुपर्छ भन्न छुटाउदिनन् उनी । अनुभव र उमेर बढ्दै जाँदा अनि समाज देश र राजनीतिलाई गहिरिएर बुझ्दै जाँदा खास समस्या त मानिसको चरित्रमा हुँदोरहेछ भन्ने ठम्याई छ–कृष्ण कुमारी राईको ।
उनको आदर्श नेता नेल्सन मन्डेला हुन् । अनि लेखकचाहिँ पारिजात ।

दुईदशक अघि र अहिलेको अवस्थामा त्यसो त धेरै परिवर्तन आईसकेको छ । राजनीतिमा यतिका धेरै महिलाको सहभागिता बढेको छ । स्थानीय तहमा चालिस प्रतिशत महिलाको सहभागिता छ । देशले राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश पाईसकेको छ । यो हाम्रो सफलता हो । आउने दस बर्ष पछि महिलाको निम्ति यो राम्रो संकेत हो । जबसम्म महिलाहरू आर्थिकरुपमा सक्षम हुन सक्दैनन्, तबसम्म महिलाको जीवनमा आर्थिक परिर्वतन हुदैन भन्ने बुझाइ छ उनको । भन्छिन्, “जब मान्छेको चेतनाले पशुत्वको अन्त्य गर्नेछ, तबमात्रै समाजवाद र समानता सम्भव छ ।ˮ यसो भनिरहँदा उनको अनुहारमा एक किसिमको दृढ भावना झल्कन्थो । अन्तिममा सोधेको प्रश्नको उत्तर थियो “यो जुनीमा बिहे गर्दिन होला ।ˮ यसो भन्दा फेरि अनुहारमा उज्यालो छायोे ।

थाहा छैन, सिमोन दि वोउवारको जीवन दर्शनबाट पो उनी प्रेरित हुन् कि शायद !

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

मकवानपुर । आफ्नी श्रीमतीको हत्या आरोपमा हेटौंडा उपमहानगरपालिका–१८ दियावतीका यज्ञराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ

राजसंस्था भन्दा पितृसत्ता धेरै बलियोः डा. शिवमाया तुम्बाहाङ्फे

‘हामी सबै मिलेर राजसंस्था सहजैसंग फाल्यौं । तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: