उपमेयरमा हारेपछि परिवारको कुटपिटदेखि चौबिस घण्टा थुनिँदाको श्रृंखला


प्रकाशित मिति :2019-12-24 15:49:47

सप्तरी । इन्जिनियर श्रीमान् । सदरमुकाममै तीन तल्ले पक्की घर । आफू पनि स्नातक पढेकी उनी भन्छिन्, “सासूको चाहना थियो मेरो पहिलो सन्तान छोरा होस् । त्यस्तै भयो पनि ।” अनि उनलाई लाग्थ्यो म भन्दा भाग्यमानी कोही छैन । असाध्यै माया गर्ने श्रीमान् र त्यो भन्दा स्नेह गर्ने सासूससुरा । आफ्नै व्यापार, श्रीमान्को सरकारी जागिर । माइतीमा पनि आमा बुबालाई लाग्थ्यो मेरो छोरी भन्दा खुशी कोही छैन । उनीप्रति अति नै गर्व र प्रेम थियो उनको परिवारलाई ।

साल २०७४ को स्थानीय निर्वाचनमा एउटा दलबाट उपमेयरको टिकट पाइन् उनले । चुनाव हारेपछि जीवनका सबै खुशीहरू वर्षात्को भेल झै बगेर गए । आउने दिनका राम्रा क्षणहरू सबै नराम्रोमा परिणत भए । चुनाव हारेपछि जीवनमा लागेको कालो बादल फाट्छ या फाट्दैन, कुनै शुभ संकेत देखेकी छैनन् उनले ।

चुनावपछि श्रीमती, बुहारी ठूलो पदमा पुग्छे । पैसाको कमी त तीन पुस्तासम्म रहँदैन । परिवारको प्रतिष्ठा बढ्ने, सम्पति बढ्ने उच्च महत्वकांक्षी सपना रहेछ उनको परिवारको । तर त्यसो हुन सकेन । दुर्भाग्यवस् उनले हारिन् । अनि परिवारले देखेको सपना पनि साकार हुने कुरै भएन ।

ललिता साह

“यस्ता अनावश्यक सपना देख्नुभएको रहेछ उहाँहरूले । त्यसैले चुनावको परिणाम नआउदासम्म साथ दिनुभो । जब मत परिणाम सार्वजनिक भयो अनि खोसियो सबै खुशी” उनले निकै मन दुखाएर भनिन्, “चुनावी हारको नतिजाले यति धेरै अपहेलित र सहाराविहीन हुन्छु भन्ने कल्पनै गरेको थिइन ।” नेपाली समाजमा एउटी महिला जो परिवारको समर्थन वा असमर्थनका बाबजुद राजनीतिमा प्रवेश गर्छिन्, उनले चुनावी हार जीतको परिणामका आधारमा मुल्य चुकाउनु पर्ने हुँदोरहेछ । उनले पनि आफ्नो चुनावी हारको मुल्य यसरी चुकाउनु पर्यो कि, जसको कुनै लेखाजोखा नै छैन ।

“उपमेयरको टिकट पाउनुअघिको जीवन सम्झिन्छु । श्रीमान्, सासूससुराको माया र स्नेहले आँखा रसाउछन् । एउटा चुनावी हारले जिन्दगी नै तहस नहस बनाइदियो” उनी थप्छिन्, “चुनाव हारेर ठूलो अपराध गरेको अपराधी झै महसुस गराइएको छ । घर न घाटको भएकी छु ।”

ठूलो नेता बन्ने रे । देश चलाउने रे । कही नभएको सपना देख्नेवाली । नेतासंग दिनरात दैलो दैलो पसेर आएकी महिलाको के भर ! चाहियो भने एकछिन मै अर्की घर सम्भाल्ने आइहाल्छिन् । परिवार, छिमेकी र आफन्तबाटै यसरी नै बर्सिरहन्छन्, तानाहरू उनीमाथि ।

“इन्जिनियर छोरा छँदैछ, केको रोइलो । तँ चुनावै लड र महान् नेता बन्दै गर । मलाई र यो परिवारलाई तेरो काम छैन । तँबाट जन्मेको छोरो तेरो नभइ मेरो खान्दानको चिराग हो । हामी पाली हाल्छौं । त्यसै पनि तँ जस्तालाई बच्चाको चिन्ता कहाँ हुन्छ र ? तँ राजनीतिमै ठिक छस्, घर र बच्चाको लागि होइन” उनका सासूसुराले दिनरात भनिरहने शब्द हुन् यी । “आफ्नै परिवारको घोचाइ र मेरो सुनाईमा यसरी बितिरहेका छन् मेरा पीडादायी दिनहरू” उनले बर्बर आँशु झारिन् ।

“चुनाव हारेपछिका तीन वर्ष । यो अवधिमा कमसे कम तीन सय पल्ट मलाई मेरै मनले भन्यो ‘तिमी अब मरे हुन्छ । के का लागि बाँचिरहेको ?’ अनि कति दिन त आत्महत्याको प्रयाससमेत गरें । तर मर्न सकिन ।” उनले आफूलाई पटक पटक आत्म हतयाको विचार आउने गरेको बताइन् । यसो भनिरहँदा पनि उनमा जीवनप्रति निराशा झल्किन्थ्यो ।

उनले भोगेको पीडाको सिलसिला यतिमा मात्रै सकिन्न । भर्खरै सासू बितिन् । तर सासूको मृत्यु हुनुको दोष पनि उनैमाथि थोपरियो । उनले चुनाव हारेपछि चुनाव लड्दा खर्च भएको पैंसाको चिन्ताले सासूको मृत्यु भएको हो भन्ने आरोप लाग्यो ।

अब उनलाई पार्टीको काममा हिँड्ने अनुमति छैन । केही गरेर उनी पार्टीको काममा हिँडेको थाहा पाए भने श्रीमान्ले २४ घण्टा थुनेर राख्दिन्छन् । घाँटी त कति पटक थिचियो थिचियो । कुटपिट सहनु त दैनिकी जस्तै । एक दिन चौबिस घण्टा कोठाभित्र थुनिएपछि अब मार्छन् भन्ने लागेर उनले एक जना अधिकारकर्मी साथी र प्रहरीलाईसमेत फोन गरिन् । तर थाहा पाए उल्टै बाँच्न दिन्नन् भन्ने लागेर फेरि फोन गरेर झूठो बोलेको बताइन् । त्यसो भनेपछि प्रहरी पनि आउनु परेन, साथी पनि ।

उनको भनाइ अनुसार यदि चुनाव लड्दा खर्च भएको पैंसा उनको आफ्नै कमाई हुन्थ्यो भने यति अन्याय सहनु पर्थेन । हार ब्यहोर्नु परेको चुनावमा श्रीमान् र परिवारको पैंसा खर्च भएकै कारण उनले यो हदसम्मको पीडा पाइन् । “आफ्नाको त कुरै नगरौं, छिमेकीले समेत घोचपेच गर्छन् । तिमीले त सम्पति मात्रै बर्बाद गरिनौं, सबैको नाक काट्यौ भन्छन्” उनले सुनाइन् ।

आँखिर उनले यो सबै सहेर बस्नुको कारणचाहिँ के त ? बारम्बार प्रश्न गरेपछि उनले भनिन्, “श्रीमान् र परिवारसंग विद्रोह गरेर म जानेचाहिँ कहाँ ? समाजले के भन्छ ? मेरो पीडा कसले बुझ्छ ? तीन वर्षको छोराले बाबाको कुरामा विश्वास गरेर ममीले मलाई माया गर्नुहुन्न भन्छ । फेरि म घर छोडेर गएँ भनें, पछि उसले मलाई के सोच्ला ?” यही डर र अविश्वासले उनी यातनाका बीच त्यही घरमा शरण लिइरहेकी छन् । उनलाई आफ्नो अस्तित्व नै बोध छैन । दिनरातको कचकच र कुटाइ सहँदा सहँदा थिलोथिलो भएको कमजोर शरीर लिएर आफ्नै श्रीमान् र परिवारका विरुद्ध बोल्न कत्ति पनि हिम्मत जुटाउन सकेकी छैनन् उनले ।

फेरि पार्टी अध्यक्षले पनि तपाईंलाई एकपटक फेरि मौका दिन्छौं भनेका छन् रे । त्यही भएर फेरि कुनै चुनावमा उम्मेदवार बन्ने, जित्ने र राजनीतिमार्फत आफूजस्ता दुःखी पीडितका लागि काम गर्ने ठूलो सपना सजाएर बसिरहेकी छन् उनी । “अनि लुकीछिपी भएरै पनि कहिलेकसो पार्टीको काममा हिँड्छु” उनले पार्टी र राजनीतिप्रतिको आस भरोसा बाँकी नै रहेको प्रष्ट्याइन् ।

उनको भनाइ अनुसार यदि चुनाव लड्दा खर्च भएको पैंसा उनको आफ्नै कमाई हुन्थ्यो भने यति अन्याय सहनु पर्थेन । हार ब्यहोर्नु परेको चुनावमा श्रीमान् र परिवारको पैंसा खर्च भएकै कारण उनले यो हदसम्मको पीडा पाइन् । “आफ्नाको त कुरै नगरौं, छिमेकीले समेत घोचपेच गर्छन् । तिमीले त सम्पति मात्रै बर्बाद गरिनौं, सबैको नाक काट्यौ भन्छन्” उनले सुनाइन् ।

“एकातिर घर व्यवहार सम्हाल्नु पर्ने । पार्टीमा पनि सबै ठिकठाक भएर बस्नुपर्ने । नत्र भने न घरको, न पार्टीको । महिला पनि मान्छे हुन्, सबै कुरा ठिकठाक मात्रै बनाइरहन त कसरी सक्लान् र ?” सप्तरी हनुमान नगरपालिकाकी उपप्रमुख सरिता सिपलियाको अनुभव छ, “उहाँ(माथिकी महिला पात्र) ले हारेका कारण यतिसम्म पीडा भोग्नुभएछ । निकै दुःख लाग्यो । म त जितेर पनि जितको महसुस गर्न पाएको छैन” उनले भनिन् । सम्पतिमाथि आफ्नो पहुँच नहुँदा महिलाले व्यहोर्नु पर्ने यावत् समस्यालाई नजिकबाट बुझेकी सरिता यदि महिलाको ठाउँमा कुनै पुरुषले चुनाव हार्दा केही फरक नपर्ने बताउँछिन् । कारण चुनावमा लागेको खर्च श्रीमतीकै कमाइ भए पनि पुरुषलाई केही फरक पर्दैन । न त चुनाव हारेका कारण कुनै श्रीमान्ले श्रीमतीको यातना पाउँछ, न त हेलाको पात्र भएर बाँच्नुपर्छ ।

राजविराज नगरपालिकाकी उपमेयर साधना झा विवाहित महिलाका लागि चुनावी हार निकै लज्जा र पीडाको विषय हुने गरेको बताउँछिन् ।

पुरुषका परिवारले चुनावमा उम्मेदवार हुनु र खर्च गर्नुलाई उसको अधिकार र जायज सम्झिन्छ । तर एउटा बुहारी (महिला) को परिवारले उसलाई राजनीति गर्ने छुट दिनु, चुनावमा उम्मेदवार बनाउनु र उसका लागि खर्च गर्नु बालुवामा पानी हाल्नुसरह ठान्छ । साधनाको बुझाइमा यस्तै सोचका कारण चुनाव हारेपछि आफ्नैबाट, आफ्नै घरमा पासो फिँजाइन्छ महिलालाई । आँखिर यो कहिलेसम्म ?

(पत्रकार साह सप्तरीबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

लकडाउनमा बालबालिका माथि हुने हिंसा र अभिभावकको भूमिका

-विष्णु माया पौडेल- सन् २०१९ को अन्त्यतिर ची बाट शुरू भएको कोरोना भाइरस कोभिड १९ ले

सहकारी दिवसमा कोरोना नियन्त्रण केन्द्रको स्थापना

-महिला खबर- ललितपुर । आज ६३ औं राष्ट्रिय सहकारी दिवस । औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: