चुनावी प्रतिवद्धता पुरा गर्दै जनप्रतिनिधि महिला


प्रकाशित मिति :2019-12-19 20:08:27

-पूजा पन्थी-

बुटवल । रेखा पोखरेल अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा बस्छिन् । उनी सरकारी शिक्षक हुन् । कार्यबाहक प्रधानाध्यापक पनि । प्रधानाध्यापकको जिम्मेवारीका कारण विद्यालयसंग सम्बन्धित काम लिएर उनलाई स्थानीय निकाय तथा सरकारी कार्यालयमा दैनिक जस्तै जानु पर्ने बाध्यता छ । अधिकार प्राप्त स्थानीय सरकार गठन हुनुभन्दा अगाडि देखिनै कार्यबाहक प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै आएकी पोखरेलसंग स्थानीय सरकारको दुबै अवस्थाको अनुभव छ । उनी भन्छिन्, –“स्थानीय निकायमा महिला जनप्रतिनीधिको उपस्थितिले काममा सहज भएको छ । यो अवस्था पहिले निकै कम थियो ।”

यस्तै अनुभव छ कपिलवस्तु बुद्धभूमि नगरपालिकाकी रेनुका काफ्लेको पनि । काफ्ले गृहिणी हुन् । गृहिणी भएका कारण पारिवारिक काममै उनी धेरै समय ब्यस्त हुनु पर्छ । घरको कामबाट समय निकाल्दै सिलाई कटाई सिकेकी उनले त्यो सिकाईलाई आम्दानीको श्रोत बनाइरहेकी छन् । यो अवसर आफूले स्थानीय निकायमा महिला जनप्रतिनिधि भएका कारण प्राप्त गरेको उनले बताइन् ।

कुमारी बराल गौतम

यी दुई महिला संविधानसभाबाट संविधान निमार्ण भएपछि स्थानीय तहमा जनप्रतिनिधिका रुपमा महिलाहरूको अनिवार्य उपस्थितिले महिला सशक्तिकरण एवम् महिलालाई काम गर्न सहज भएको अनुभूति दिलाउने उदाहरणीय पात्र हुन् । स्थानीय महिलाहरूलाई काम विशेषले स्थानीय निकायमा जाँदा जनप्रतिनिधिको रुपमा महिला पाउदा आफ्ना समस्या राख्न काम गराउन सहज भएको छ । यस्तै जनप्रतिनिधिलाई पनि महिलाको समस्या बुझ्न र योजना बनाउन मौका मिलेको छ ।

महिलाले मात्रै होइन, महिला जनप्रतिनिधि आएसंगै महिलाको मात्र नभइ अन्य क्षेत्रमा पनि धेरै कामहरू भएको सर्वसाधारणहरूको अनुभव छ ।

देशमा ३ तहको निर्वाचन भयो । निर्वाचनमा उम्मेदवार बनेका महिला जनप्रतिनिधि आफ्ना दलमार्फत चुनावी घोषणापत्रहरू बनाएर मतदाता सामु पुगे । आज तिनै एजेन्डा उनीहरूका लागि काम गर्ने प्रमुख मार्ग निर्देश बनेका छन् । र काम गर्दै जाँदा आएका नयाँ–नयाँ विषयमा चाजोपाजो मिलाउन दिनरात कस्सिएर लागेका छन् ।

प्रदेश ५ को कान्छो जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्ष हुन्– कुमारी बराल गौतम । उनमा जनताको काम गर्ने हुटहुटी छ । निर्वाचनका बेला आफूले उठाएका मुद्दा र गरेका प्रतिवद्धता पुरा गर्ने काममा सफलता मिलेको दावी गरिन् उनले । भन्छिन्, “चुनावमा धेरै महत्वकांक्षी योजनाहरू राखिन । स्थानीय जनताका अपेक्षा बारे राम्रो जानकारी रहेको हुँदा जितिसकेपछि काम गर्न सजिलो भयो । मेरो कामबाट जनता खुशी छन् ।” खानेपानी, सडक, शिक्षा, कृषि र स्वास्थ्य जस्ता विषयमा केन्द्रित विकास निर्माणका काम भएको उनले बताईन् ।

आफू महिला भएकोले महिलाको पक्षमा र उनीहरूले उठाएका मुद्दामा संवेदनशील हुने गरेको कुमारीले बताइन् । सेवाग्राही महिलालाई पनि आफूसंग काम गर्न सहज भएको महसुस गरेको उनको अनुभव छ । महिलामाथि हुने अन्याय र हिंसाका घटना उजागर हुने डरले त्यसमा कमी आएको दावी उनको छ । “अध्यक्षकोमा यो खबर पुगेपछि उहाँले छोड्नुहुन्न भन्ने बुझाइ छ जनतामा । यसैले पनि महिला हिंसाका घटना विगतको तुलनामा कम भएको अनुभूति गरेकी छु” उनले सुनाइन् ।

गुमादेवी आचार्य

रुपन्देहीको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य आफूले चुनावमा गरेका र सम्झेसम्मका सबै एजेन्डाहरू अधिकांस पुरा गरेको दावी गर्छिन् ।

निर्वाचनको समयमा विकास निर्माणसंगै महिला सशक्तिकरण र अधिकार संरक्षणमा काम गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै त्यसलाई योजनाबद्ध रुपमा अगाडि सारेको गुमादेवी बताउछिन् । उनले महिलाको पक्षमा विशेष एजेन्डा ल्याएको बताइन् ।

आफ्नै पहलमा बुटवललाई लैंगिक हिंसा मुक्त नगर बनाउने रणनीति तयार भएको, बुटवलले महिलाको लागि विशेषगरि उपप्रमुख उद्यमशिलता कार्यक्रम अन्तरगत २ सय बढी महिलाले सिपमूलक तालिम दिलाएको, उपप्रमुखसंग मातृत्व संरक्षण कार्यक्रम गरी महिला तथा बालबालिकाको ज्यान जाने खतरालाई न्यूनिकरण गरेको, आधारभूत विद्यालयमा बालिकालाई निःशुल्क दिवा खाजाको व्यवस्था गरेको, महिलाहरू घरेलु हिंसामा नपरुन भनेर स्थानीय तवरबाटै न्यायको व्यवस्थालाई चुस्तदुरुस्त बनाएको आचार्यको भनाई छ ।

न्यायिक समितिको संयोजकसमेत रहेकी आचार्यले न्यायिक समितिलाई प्रभावकारी बनाउदै समितिबाट धेरै पुराना मुद्दाको किनारा लगाउन सकेको बताइन् । “महिलाहरू महिला जनप्रतिनिधि भएको ठाउँमा सहज रुपमा आफ्ना पिरमर्का राख्न सक्ने हुँदा उनीहरूको हामीप्रति निकै भरोशा रहेको छ,” उनले भनिन् ।

आचार्यका अनुसार वुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्ष ०७६\०७७ मा १७ वटा मुद्दा दर्ता भए । ३ वटा मुद्दा टुंगिएका छन् । बाँकी १४ मुद्दा इजलास नबसेका कारण फस्र्यौट हुन बाँकी छन् । उनका अनुसार श्रीमानले खान– लगाउन नदिएको, अंश वण्डा, लेनदेन, जग्गा जमिनमा ठगी प्रकृतिका मुद्दाहरू छन् ।

मिरा थारु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका उपप्रमुख पदमा निर्वाचित मिरा थारुले निर्वाचनमा आफूले जिते पीडितको न्यायको लागि काम गर्ने प्रतिवद्धता गरेकी थिइन् । महिलाका समस्यालाई न्यायिक समितिबाट समाधान गर्न पाएकोमा खुशी छन् उनी ।

चुनावमा जनताको मन जित्न महिलामाथि हुने हिंसा विरुद्ध कडा कानून निर्माण गरेर काम गर्ने, महिलाको क्षमता अभिवृद्धिसंगै उनीहरूका लागि सिपमूलक काम सृजना गर्ने, पालिकाभित्रको विकास निर्माण, भौतिक पूर्वाधार लगायतका विषय केन्द्रित गरेर चुनावी एजेन्डा बनाएकी थिइन् । उनले अहिलेसम्म आफूले ५० प्रतिशत एजेण्डाहरू पुरा गरिसकेको दावी गरिन् ।

खानेपानी, सडक, शिक्षा, कृषि र स्वास्थ्य जस्ता विषयमा केन्द्रित गरेर विकास निर्माणको कुरा गरेको उनले बताइन् । महिलालाई अगाडि बढाउने खालका कामहरू गरे पनि त्यो पर्याप्त नभएको उनले स्वीकार गरिन् ।

आगामी दिनमा पनि महिलाहरूको आर्थिक तथा सामाजिक विकासको लागि सिप विकास, आय आर्जन, क्षमता विकास, लैंगिक समानता, नेतृत्व विकास जस्ता कार्यक्रम सञ्चालन गरिने उनको प्रतिवद्धता छ । उनकै पहलमा दाहिजो प्रथा तथा बालविवाह अन्त्यको लागि चेतनामूलक कार्यक्रम गर्ने, महिला सशक्तिकरणका लागि विविध कार्यक्रम संचालन गर्ने लगायतका योजनाहरू तयार पारिएको छ । जसको लागि पालिकाले ६० लाख बढिको रकम छुट्याएको उनले जानकारी दिइन् ।

दाङको तुल्सीपुर नगरपालिकाकी कार्यपालिका सदस्य जानका रेग्मीले आफ्ना चुनावी एजेन्डालाई सबै पुरा गरेको बताइन् । विकास निर्माण, भौतिक पूर्वाधार विकास, महिला सशक्तिकरण, सुकुम्बासीलाई लालपुर्जा वितरण लगायतका मुख्य चुनावी एजेन्डा लगभग पुरा गरेको र केही पुरा हुने लाइनमा रहेको रेग्मीको भनाई छ ।

जानका रेग्मी

आफू महिला भएकै कारण नगरपालिकामा सेवा लिन आउने महिलाहरूको आवश्यकतालाई मध्यनजर गरेर स्तनपान कक्षको व्यवस्था गरेको उनले बताइन् । पाँच हजार सुत्केरी भत्ता, बालबालिकालाई न्यानो कपडा वितरण, स्मार्ट छोरी कार्यक्रम लगायतका काम पनि आफ्नै पहलमा भइरहेको रेग्मीको भनाई छ ।

यस्तै विद्यालयमा निःशुल्क प्याड वितरण गर्ने योजना बनाईसकेकोले काम थाल्ने चरणमा रहेको उनले बताईन् । भ्रूण हत्यालाई न्युनिकरण गर्न चालु आर्थिक वर्ष साउन १ गतेदेखि छोरी जन्माउनेलाई मासिक १ सयको दरले २० वर्ष नपुग्नजेलसम्म खातामा पैंसा राख्ने व्यवस्था नगरपालिकाले गरेको छ । यसले बालविवाह रोक्न मद्यत पुग्ने उनको विश्वास छ ।

आफूले महिलाका विषयमा उठाएका कुराको सुनुवाई भए पनि बजेट छुट्टयाउदा भने कञ्जुस्याँई हुने गरेको उनले गुनासो छ ।

तारा पौडेल

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेलले आफ्ना बाचाअनुसारका काम गरिरहेको र केही पुरा हुन बाँकी रहेको बताइन् । जिल्लाकै विकट ठाउँमा भएको कारणले विकास निर्माणका कामहरू बिस्तारै गरिरहेको बताउँदै उनले आफ्ना चुनावी एजेण्डालाई लक्षित गरेर खानेपानी, बिजुली, सडक निर्माण र महिला हिंसा विरुद्ध काम गरिरहेको बताईन् ।

महिलाको आर्यआर्जन बढाई उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मैनबत्ती, साबुन, सर्फ, अगरबत्ती बनाउने सिपमूलक तालिम प्रदान गरेको जानकारी दिइन् ।

अधिवक्ता हेमा न्यौपाने स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता भएपछि केही सकारात्मक पहल भएको र त्यसको असर देखा पर्न थालेको बताउछिन् ।

नेतृत्वदायी पदमा महिला पुग्नु र नपुग्नुमा धेरै अन्तर हुने भन्दै उनले महिला जनप्रतिनिधिहरु जनतासंग चुनावताका गरेका प्रतिवद्धता पुरा गर्ने बाटोमै रहेको देखिएको न्यौपानेको बुझाइ छ ।

चुनाव जितेर खारिएका धेरै पुरुष जनप्रतिनिधि भन्दा महिला जनप्रतिनिधिहरु नयाँ भएका कारण केही राम्रो गर्ने जोस जाँगर हुने भएकाले पनि आफ्नो प्रतिवद्धता अनुसार नै अगाडि बढिरहेका छन् भन्छिन् अधिवक्ता न्यौपाने । यद्यपि ५ नम्बर प्रदेशमा न्यायिक समिति अझैं प्रभावकारी हुन नसकेको तर्क उनको छ । भन्छिन्, “महिलासंग जोडिएका घरेलु हिंसा, सम्बन्ध बिच्छेद, मानो चामलका समस्याहरू अझैं पनि जिल्ला अदालतसम्म आउन छाडेका छैनन् । यस्तो हुनुको पछाडि न्यायिक समितिको संयोजक महिला हुनु र महिलालाई समाजले सहजै विश्वास नगर्नु हो ।” महिला नेतृत्वप्रति समाजले पूर्ण विश्वास गर्ने हो भने अहिलेका जनप्रतिनिधि महिलामा पनि हिम्मत बढ्ने र दोस्रो पुस्ताका महिलाको लागि पनि मार्ग निर्देश हुने उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: