सधैं पुरुषलाई भोट हाल्नु पर्दा मन खिन्न


प्रकाशित मिति :2019-12-08 17:46:18

-निरा गौतम-

रुपन्देही । अर्घाखाँची मरेङकी मनकला आचार्यले अहिलेसम्म आठ चरणका निर्वाचनमा मतदान गरिन् । प्रतिनिधि सभाका लागि ०४१, ०५१ र ०५६ सालमा भएको निर्वाचन र संविधान सभाको निर्वाचनमा मरेङमै मतदान गरेकी उनले रुपन्देही बसाई सराई पछि संविधान सभाको दोस्रो निर्वाचन २०७०, प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन ०७४ र स्थानीय तहको निर्वाचनमा पनि मतदान गरिन् ।

आफ्नो जीवनको ७७ वर्षे यात्रामा उनले मतदान गरेर थुप्रै प्रतिनिधि विजयी बनाईन् । तर अहिलेसम्म एउटा मात्रै महिला उम्मेद्वारलाई मतदान गरेको उनलाई स्मरण छ । “कतिलाई भोट हालियो गनेर साध्य छैन, हामीले भोट हालेर जितेका कहाँ पुगे । तर हामी महिलाका समस्या जहाँको तही छन् ।ˮ उनले भनिन्, “महिलालाई जिताएर पठाएको भए बरु केही फरक पथ्र्यो की !” उनले मतदान गरेका सबै प्रतिनिधिले चुनाबमा जितेका छन् ।

रुपन्देहीको बेलबास १३ की ५५ वर्षीया गिता खनाललाई पनि चुनावका बेला सधै पुरुष उम्मेदवारलाई मात्रै भोट हाल्नुपर्दा मन खुशी हुदैन । पुरुषको भन्दा लामो लाईनमा बसेर मत खसाल्दा पनि एक जना महिला उम्मेदवारलाई भोट हाल्न नपाउँदाको असन्तुष्टि उनको अनुहारमा प्रष्ट देखिन्थ्यो ।

पुरुषभन्दा महिला मतदाताकै संख्या बढी भएकाले सामान्यतः निर्वाचन जित्न पुरुषको भन्दा महिला मतदाताको भोट महत्वपूर्ण मानिन्छ । तर हरेक चुनावमा निर्णायक मानिने महिला मतदाताले मुलुकका अधिकांश निर्वाचन क्षेत्रमा महिलालाई नै मतदान गर्न पाउने वातावरण भने बनेको छैन ।

मतदान गर्ने लाईनमा महिलाको संख्या धेरै हुने तर उम्मेदवारहरू अधिकांश पुरुष हुँदा महिला मतदाता खुशी हुदैनन् । “महिलाले महिलालाई भोट हाल्न नपाएपछि भोट दिन पनि के जानु जस्तो लाग्छ, तर भोटै नदिदा पनि अरुले के भन्लान् भन्ने सोचेर मतदान स्थलमा जाने गरेकी छु,” रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १० की मञ्जु ढकाल भन्छिन् ।

पुरुषसरह महिलाले पनि समान अधिकार र अवसर पाउनुपर्छ भन्ने आवाज सभादेखि सदनसम्म पटक–पटक उठ्ने गरेको छ । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रावधान र नीति बने पनि प्रभावकारी कार्यान्वयन नहुदा राजनीतिक क्षेत्रमा महिलाहरू उपेक्षामा पर्ने गरेका छन् ।

महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि सिडको धारा–७ ले महिलाको मतदान गर्न पाउने, निर्वाचनका लागि योग्य हुने, सार्वजनिक पद धारण गर्ने, नीति निर्माणमा संलग्न हुने तथा संघ संगठनमा सहभागी हुने समान अधिकार दिएको छ । विश्व महिला सम्मेलनद्वारा पारित बेइजिङ कार्ययोजनाले निर्णायक स्थानमा महिला प्रतिनिधित्वको आवाज उठाएको छ ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को महिला, शान्ति र सुरक्षासम्बन्धी प्रस्ताव नंं. १३२५ ले सदस्य राष्ट्रहरूलाई सबै तहका निर्णायक तहमा महिलाको प्रतिनिधित्व बढाउन आह्वान गरेको छ ।

सन् २०११ मा भएको संयुक्त राष्ट्र संघीय साधारणसभाले पनि ‘महिलाको राजनीतिक सहभागितासम्बन्धी संकल्प प्रस्ताव पारित गर्दै समानता, दिगो विकास, शान्ति र लोकतन्त्रको उपलब्धिका लागि नीति निर्माणका सबै तहमा पुरुषसरह महिलाको पनि समान सक्रिय सहभागिता अत्यावश्यक छ’ भन्ने तथ्यमा जोड दिएको छ । तर, यति धेरै प्रयत्न हुँदाहुँदै पनि यिनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न तह र निकायमा महिलाको सहभागिता तथा प्रतिनिधित्व कमजोर छ भन्छिन्, गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा । संविधानमा महिलाको सहभागिताको विषयले प्रबेश पाए पनि राजनितक दलहरूले प्राथमिकता नदिएका कारण प्रमुख पदमा महिलाको अर्थपूर्ण सहभागिता हुन नसकेको उनको भनाइ छ ।

राजनीतिक दलको नेतृत्वले महिलाको नेतृत्व विकास गर्ने योजना नबनाउनु, महिलाप्रति अविश्वास कायमै राख्नु र आफूले पाएको अवसर महिलाले नै सदुपयोग गर्न नसक्नु लगायतका कारणले महिलाहरू पछि पर्ने गरेको नेताहरू बताउँछन् ।

निर्वाचित पदहरूमासमेत महिलाको प्रतिनिधित्व कम भएकाले राजनीतिक दलदेखि निर्वाचन आयोगसम्मले सार्वजनिक नीतिहरूमा महिलाको सरोकारलाई उचित ढंगले समेट्नुपर्ने उपाध्यक्ष शर्माको सुझाव छ ।

राजनीतिक दलको नेतृत्वले महिलाको नेतृत्व विकास गर्ने योजना नबनाउनु, महिलाप्रति अविश्वास कायमै राख्नु र आफूले पाएको अवसर महिलाले नै सदुपयोग गर्न नसक्नु लगायतका कारणले महिलाहरू पछि पर्ने गरेको नेताहरू बताउँछन् । महिलाहरूले जिम्मेवारी कुशलतापूर्बक जिम्मेवारी बहन गर्न सक्छु भन्ने आँट र आत्मबिश्वास बढाउन जरुरी छ भन्छन्, नेपाल कम्युनिष्ट पार्टी प्रदेश सभाका सचेतक भूमिश्वर ढकाल ।

दलहरूले राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि गर्न महिलाहरूलाई प्रशिक्षण गर्ने तथा क्षमता विकासका प्याकेज बनाएर समाज रुपान्तरणका विभिन्न चरणमा जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ । राजनीतिमा महिला सहभागिताको विषय अहिले चर्चामा रहेकाले आगामी निर्वाचनमा भने यसको सकारात्मक नतिजा देखिने उनको अपेक्षा छ ।

नेपाली समाजमा अझैं पनि पितृसतात्मक सोच छ । अझै पनि महिलालाई विकासको मूलधारमा ल्याउन सकिएको छैन । उनीहरूलाई सशक्तीकरण गराएर सबै क्षेत्रमा अगाडि बढाउन सके मात्र समृद्ध मुलुक निर्माण गर्न सकिन्छ भन्छिन्, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका सचेतक निर्मला क्षेत्री ।

“देश विकासमा महिला र पुरुषको समान भूमिका हुनुपर्छ । महिलाहरू पनि आफैं प्रत्यक्षमा उठ्न कस्सिएको पाइँदैन ,महिलामा आत्मविश्वासको कमीले गर्दा पनि प्रत्यक्षमा उम्मवारी दिएका छैनन् ।” क्षेत्री भन्छिन्, संविधानमा लेखेर आएको कुरा पनि दाबी गर्न नसक्ने महिलाको कमजोरी भएकाले पार्टीका नेताहरूले नदिए पनि दाबी गर्न छोड्न हुदैन ।” महिलालाई हेर्ने दृष्टिकोण पार्टी नेतृत्वबाटै फेरिनुपर्ने उनको भनाइ छ ।

प्रदेश ५ बाट प्रतिनिधि सभामा दुइ जना महिला छन् । प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्य मध्ये ३३ जना महिला छन् । जसमा ३० जना समानुपातिक निर्वाचन प्रणालीबाट आएका हुन् । प्रदेश सरकारमा एक जना महिलाको सहभागिता छ ।

नेपाली राजनीतिमा महिलाहरूको योगदान २००७ साल भन्दा अगाडिबाटै हो । देशमा भएका हरेक राजनैतिक परिर्वतनका आन्दोलनमा महिला अगाडि छन् । हरेक पटक हुने राजनीतिक निर्वाचनमा पनि प्रचार–प्रसारदेखि हरेक काममा महिला अगाडि देखिएका हुन्छन् । सहभागितामा पुरुषको भन्दा कुनै कमी छैन, तर जिम्मेवारी दिने कुरामा दलहरूले धेरै कन्जुस्याँई गर्ने गरेको महिला नेताहरूको गुनासो छ । “हामी काम गर्न सक्षम छौ भनेर दललाई घच्घच्याउन जरुरी छ,ˮ प्रदेश सभा सदस्य दिपा विक भन्छिन्, “अब महिलाको सम्भावना छ । समान सहभागिताका लागि आवाज उठाउनुपर्छ ।” महिलाले पनि गर्न सक्छन् भन्ने भावनाको विकास गराउनुपर्ने आवश्यक रहेको उनको भनाइ छ । अबको निर्वाचनमा प्रत्यक्षतर्फ नै धेरै महिलालाई सहभागी बनाउन उनको सुझाव छ ।

प्रदेश ५ बाट प्रतिनिधि सभामा दुइ जना महिला छन् । प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्य मध्ये ३३ जना महिला छन् । जसमा ३० जना समानुपातिक निर्वाचन प्रणालीबाट आएका हुन् । प्रदेश सरकारमा एक जना महिलाको सहभागिता छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार प्रदेश नं ५ मा २७ लाख ४० हजार ८ सय ६७ जना मतदाता छन् । ती मध्य १३ लाख ६३ हजार ६५ जना महिला मतदाताको संख्या छ भने १३ लाख ७७ हजार ७ सय ९५ जन पुरुष मतदाता छन् । प्रदेशमा यौनिक तथा अल्पसंख्यक समुदायका मतदाताको संख्या २७ छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निमित्त प्रमुख बाबुराम आचार्यका अनुसार जिल्लामा ५ लाख २२ हजार ६सय २२ जना मतदाता छन् जसमध्ये २ लाख ७० हजार ३९ पुरुष मतदाता र २ लाख ५२ हजार ५ सय ५७ महिला मतदाता रहेका छन् । जिल्लामा यौनिक तथा अल्पसंख्यक समुदायका मतदाताको संख्या ६ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

एक हप्ता अघि सकिएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ११ वटा, प्रदेशसभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यको लागि २० वटा राजनीतिक दल सहभागी भए । उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने जम्मा ३ सय ३३ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेद्वार ८४ जना रहेका छन् । उम्मेद्वारमध्ये २ सय ५३ पुरुष र ८४ जना मात्रै महिला थिए ।

(पत्रकार गौतम रुपन्देहीबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: