निर्वाचनः महिलालाई घरबाट निस्किने अवसर


प्रकाशित मिति :2019-12-08 17:23:16

-सुनिता बराल-

महोत्तरी । पञ्चायत कालदेखि नै घरबाट ननिस्किने तराई भेगका महिला अहिले घरबाट निस्कन थालेका छन् । संविधान र राज्यले प्रदान गरेको अधिकार प्रयोग गर्दै महिलाहरू राज्यका हरेक तहमा संलग्न हुन थालेका छन् । देश संघिय संरचनामा गएपछि भएको तीन तहको निर्वाचनले तराई मधेशका धेरै महिलालाई घरबाट बाहिर निस्किने मौका मिलेको महिला अगुवाहरू बताउछन् ।

निर्वाचनमा पहिले भोट खसाल्न लुकेर एक्लै एक्लै जानुपर्ने दिन सम्झिन्छिन्, नन्दी महतो । महोत्तरी जिल्लाको बलवा नगरपालिका ८ धमौरा घर भएकी महतोलाई जीवनमा साथीहरूको हुल बाँधेर भोट खसाल्न जान पाहिएला भन्ने लागेकै थिएन ।

गत मंसिर १४ गतेमात्रै सम्पन्न उपनिर्वाचनमा १० जनाको समूहमा जन्ती जान हिँडेझै लस्करै लागेर भोट खसाल्न जाँदा नन्दीले जुग नै फेरिएको जस्तो महशुस भएको भन्दै खुशी व्यक्त गरिन् ।

पिपरा गाउँपालिका ५ सोहर्वाकि नुरजहान खातुन पनि अब महिलाले पुरुषलाई मात्रै भोट हाल्ने दिन गएको बताउछिन् । महिला नै निर्वाचनमा उठ्ने, महिला नै भोट माग्न हिाड्ने, चुनावमा जित्ने पनि महिला र महिलाको नेतृत्व पनि महिला नै गर्ने हुँदा अब महिलाले थिचोमिचो सहने दिन गएको भन्दै महिला घरबाट निस्कनु पर्ने समय आएको खातुन बताउछिन् ।

उपनिर्वाचनमा मात्रै महोत्तरीमा ८ हजार ४ सय १६ महिला उत्साहित हुँदै मतदान गर्न घरबाट निस्के । सोहि निर्वाचनमा ७ हजार ४ सय ४३ पुरुष मतदाता मतदानमा सहभागि भए । यो हेर्दा महिला नै बढी मतदानमा सहभागी भएको प्रष्ट हुन्छ ।

रबिता चौधरी

महोत्तरी जिल्लामा ३ लाख ३१ हजार ६ सय ५१ कुल मतदाता छन् । जसमा १ लाख ७८ हजार ५ सय ४८ पुरुष र १ लाख ५३ हजार १ सय २ महिला मतदाता छन् ।

निर्वाचनमा महिलाका लागि बोल्ने र अधिकार दिलाउँने महिला नै आजभोलि उम्मेदवार बन्न थालेपछि मतदानमा महिलाको सहभागिता बढ्न थालेको अन्तरपार्टी महिला संघकी अध्यक्ष खिनामाया पराजुली बताउछिन् ।

महिलालाई टिकट पाउनै मुस्किल

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय हाल (राष्ट्रिय सभाकी उपाध्यक्ष) शशिकला दाहालले २०६४ र ०७० को संविधान सभाको निर्वाचनमा जनमोर्चा र तत्कालिन एकिकृत माओवादीले प्रत्यक्ष टिकट नदिएपछि २ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा बर्दिवास नगरपालिकाको मेयर पदका लागि दावी गरिन् । तर पार्टीका नेताहरूले महिलालाई उपमेयरसम्म मात्र बनाउन सकिने बताए ।

महोत्तरीमा गएको तीनै तहको निर्वाचनमा लामो समयदेखि राजनीतिमै होमिएका महिलालाई स्थानीय तहको प्रमुख पदमासमेत पार्टीले टिकट दिन मानेन ।

शारदा देवी थापा

गत मंसिर १४ गतेसम्पन्न उपनिर्वाचनमा महोत्तरी जिल्लामा ४ पदका लागि ४६ जना उम्मेदवार थिए । पिपरा गाउँपालिकाको अध्यक्षका लागि मात्रै २० जनाको उम्मेदवारी पऱ्यो । जसमा ३ जना महिला मैदानमै उत्रिए ।

गाउँपालिकालाई विकासको बाटोमा अघि बढाउने अठोटसहित निर्वाचनमा होमिएकी राष्ट्रिय जनता पार्टीकी रबिता कुमारी चौधरीले सबैको साथ र हौसल्ला हुँदाहुँदै पनि हार बेहोर्न परेपछि अझै पनि पुरुषमा महिलाहरू कमजोर नै हुन्छन् भन्ने सोच नहटेको बताउछिन् । जसका कारण महिलालाई निर्वाचनमा टिकट लिनदेखि चुनाव जित्नसम्म मुस्किल हुने गरेको उनले बताईन् ।

महिलालाई प्रमुख पदमा टिकट दिन नमान्दा कतिपय महिला राजनीतिबाटै पछि हटे । निर्वाचनमा जनताको प्रत्यक्ष मत पाएर निर्वाचित हुने सपना पूरा नभएपछि राजनीतिप्रति वितृष्णा पलाएको महिलाको चित्त बुझाउन पार्टीले समानुपातिक कोटामा सांसद बनाउने सपना बाँढेर थुमथुमाउने गरेको महिला राजनीतिज्ञको आरोप छ ।

निर्वाचन पछि पाएको उपलब्धि

मेयर पदमा टिकट नपाएपछि तत्कालिन माओवादी केन्द्रबाट राष्ट्रिय सभामा लैजाने आश्वासन पाएकी हाल (राष्ट्रिय सभाकि उपाध्यक्ष) शशिकला दाहाल नभन्दै अन्तत: राष्ट्रिय सभाकी उपाध्यक्ष पदकी उम्मेदवार बनिन् र प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भईन् । निर्वाचित भएपछि थप पदको अपेक्षा दाहाललाई नभए पनि तत्कालिन् माओवादी केन्द्रले उनलाई नै उपाध्यक्षको उम्मेदवार बनायो ।

नेपाली कांग्रेसकी विन्दाकुमारी आलेसँग प्रतिस्पर्धा गरेर उनले ४५ मत प्राप्त गरि विजयी पनि भईन् । अहिले पदमा हुँदा आफूलाई पार्टी र देशको लागि गरेको योगदानको कदर भए झै लागेको दाहाल बताउछिन् ।

आफू पनि महिला भएकाले महिलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा आफू सधैँ चनाखो रहेको र महिला अधिकारका लागि बोल्न र नीति नियम बनाउन सकिने ठाउँमा पुग्नु नै आफ्नो राजनीतिक उपलब्धि भएको दाहालले बताईन् ।

शशिकला दाहाल

महोत्तरी क्षेत्र नं १ क बाट तत्कालिन् एमालेबाट प्रदेश सभा सदस्यका लागि टिकट पाएकी सारदा देवी थापालाई निर्वाचनमा जित हाँसिल गर्न फलामको चिउरा चपाएझैं भएको थियो । टिकट पाउनदेखि निर्वाचनसम्म गरेको सङ्घर्ष जीवनमै अन्त कहिल्यै गर्नुनपरेको उनले अनुभव सुनाइन् । निर्वाचनपछि जति महिला निर्वाचित भए त्यो नै समग्र महिलाका लागि ठूलो उपलब्धि हो भन्ने उनलाई लागेको छ ।

उनी निर्वाचित महिलाले नै महिलालाई थप अघि बढाउन सहयोग गर्नुपर्छ भन्छिन् । महिलाको समस्या देख्ने र भोग्ने फरक कुरा भएकाले पुरुष समस्या मात्रै देख्ने पात्र हो भन्छिन् उनी । पुरुषले महिलाको समस्या बुझ्न नसक्ने हुँदा महिलाको पीडा बुझ्न अझै धेरै सक्षम महिला निर्वाचित भएर राज्यको नीति नियम बनाउने ठाउँमा पुग्नु पर्ने थापा बताउछिन् ।

अहिले ३३ प्रतिशत अनिवार्य गरिएपछि राज्यको नीति नियम बनाउने ठाउँमा धेरै महिला चूलो चौका छोडेर पुगेका उनको भनाई छ ।

महोत्तरी जिल्लाबाट अहिले राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दाहाल, प्रतिनिधि सभामा ईन्दु शर्मा, प्रदेशमा सभामा रानी शर्मा, सुरिता साह, सारदा देवी थापा, मन्जु कुमारी यादव, अलका झा, मन्जु यादव, बबिता महतो, डा.रिना र स्थानीय तहमा ३ सयभन्दा बढी महिला निर्वाचित हुनु निर्वाचनले महिलाको जीवनमा ल्याएको उपलब्धि हो भन्ने महिला नेताहरूको भनाई छ ।

निर्वाचित महिलाका पनि पीडा

महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहमा धेरै स्थानीय तहभित्र प्रमुख र उपप्रमुख बीच विवाद छ । औरही नगरपालिका की उपमेयर रेणु झा आफ्ना कुरा सुनवाई नै नहुँदा काम गर्न गाहे भएको बताउछिन् । नगरपालिका तथा गाउँपालिकामा उपप्रमुख महिलाका कुरा सुनुवाई नभएको भन्दै विभिन्न स्थानीय तहमा पटक–पटक प्रमुख र उपप्रमुखको झगडाले जनताको काम प्रभावित बन्दै आएको छ ।

प्रदेश सभामा पनि आफ्ना कुराहरू सुनुवाई नहुने गरेको प्रदेश सांसद मन्जु यादवले बताईन् ।

अझै पनि पुरुषको सत्ता चलाउने शैलि परिवर्तन नभएको निर्वाचित महिलाहरूको गुनासो छ । प्रदेश सभा सदस्य सारदादेवी थापाले महिला सांसदका प्रश्न संसदमा जवाफ दिनै जरुरी नठानिरहेका कारण अवसरहरूका बिचमा पनि महिलाका पीडा कम नभएको बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलाको अवस्था उकास्न मन्त्रीको आग्रह

तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

उदयपुर कटारी घर भई भक्तपुर सानोठिमी बस्ने दाहाल बा.२ ख ९३२४ नम्बरको बस चालक हुन्

बसभित्रै युवतीको कपालमा विर्य स्खलन गर्ने युवक पक्राउ

–महिला खबर– ललितपुर । हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय सार्कीले अपराध स्वीकार

‘डा. शिवमायाको अडानले हाम्रो शिर उच्च बनायो’

–महिला खबर– भेलाले अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धी बिषयका बारेमा गम्भीर छलफलसमेत गरेको अधिकारकर्मी शरु

बलात्कारीलाई १२ वर्ष कैद सजाय

–महिला खबर– ललितपुर । महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: