निर्वाचित महिलाका उपलब्धीमूलक दिनचर्या


“घरलाई व्यवस्थित बनाउने हामी, देश व्यवस्थित बनाउन सक्छौ”

प्रकाशित मिति :2019-12-04 15:47:09

-पार्वती पाण्डे-

कपिलवस्तु । संघीय व्यवस्थाको कार्यान्वयनसंगै तीन तहका चुनावमार्फत एकैचोटी महिलाको ठूलो संख्या निर्वाचित भयो । संविधानले गरेको व्यवस्था कार्यान्वयनका क्रममा सबै भन्दा धेरै महिला स्थानीय तहमा (४० प्रतिशत) निर्वाचित भए ।

कपिलवस्तु जिल्लामा संघ तर्फको प्रत्यक्ष निर्वाचनमा कुनै पनि महिला निर्वाचित हुन पाएनन् । मुख्य राजनीतिक दलहरूले कपिलवस्तुका ३ वटै क्षेत्रबाट कुनै पनि महिलालाई उम्मेदवार नबनाएका कारण प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी शून्य रह्यो । समानुपातिक तर्फबाट भने संघीय सांसदमा एक जना महिला अमृता अग्रहरी निर्वाचित भइन् ।

प्रदेश सभामा फौजिया नसिम, सुष्मा यादव, माला गोतामे, रुन्धावती शर्मा, रिना बिक र शान्तिदेवी स्वर्णकार गरि ६ जना महिला समानुपातिकबाटै सांसद भए ।

कपिलवस्तु जिल्लाका १० स्थानीय तह मध्ये ९ वटामा महिला उपप्रमुख छन् ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकबाट जितेका जनप्रतिनिधि महिलाको दिनचर्या कसरी बितेको छ त

सुष्मा यादव

प्रदेश सांसद सांसद सुष्मा यादवले निर्वाचित भएपछि आफ्नो पदलाई अवसरका रुपमा लिई लिइन् । नेकपाबाट समानुपातिक सांसद सुष्मा निकै उत्साहका साथ काम गरिरहेको बताउछिन् । विशेष गरि सुशासनका सवालहरूमा विशेष ध्यान दिएको उनले बताइन् । “सांसद भएपछि शुरुमा त चुनौतीका चाङमात्रै देख्न थाले । जे काम गर्न खोजदा पनि समस्या देख्ने । यो रिसाउँछ की, त्यो रिसाउँछ की ? सबैलाई खुशी बनाएर कसरी काम गर्ने भन्ने कुरा दिमागमा खेलिरहन्थ्यो । अहिले ति समस्यालाई अवसरका रुपमा लिएकी छु । अनि काम गर्न पनि सहज भएको छ ।” उनले भनिन्–“अवसर पाएमा महिलाले गर्न नसक्ने केही छैन । जसरी घर परिवार महिलाहरूले राम्रोसँग व्यवस्थापन गर्न सक्छन्, त्यस्तै राजनीतिक जिम्मेवारीलाई पनि त्यसैगरि व्यवस्थापन गर्न सक्छन् । जुन हाम्ले गरिरहेका छौं ।”

प्रदेश सांसद रिना नेपालीले शुरुमा निर्वाचित हुँदा सांसदको भूमिका निकै चुनौतीपूर्ण देखिन् । के होला, कसो होला भन्ने लाग्यो । तर सुझबुझले काम गर्न थालेपछि ति चुनौतीलाई समाधान गर्न सक्ने आत्मबल बढेको अनुभव छ उनीसंग । उनी भन्छिन्, “शुरु शुरुमा भाषण गर्दा के कुरा बोल्ने भनेर निकै रन्थनिन्थे । केही नराम्रो नहोस्, भनेर धेरै सजग हुन्थें । तर पछि बानी पर्दै गयो । समय र सन्दर्भ अनुसार बोल्ने बानीको पनि विकास भो ।”

रिना नेपाली

विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा गएर योजना र निर्णयबारे जानकारी लिन अफ्ठ्यारो लाग्थ्यो शुरुशुरुमा रिनालाई । तर अहिले भने त्यस्तो गाह्रो लाग्दैन । काम गर्न सहज भएको छ । सूचना लिन, निर्णय गर्न र काम गर्न समस्या छैन ।

निर्वाचित भईसकेपछि दुई वर्षको अनुभवले महिलाले गर्न नसक्ने केही छैन भन्ने उनले बुझिसकिन् । “दिएको कामलाई जिम्मेवार तवरले पूरा गर्न, व्यवस्थित गर्न हामी महिलाहरू तल्लिन भएको पुष्टि गरेका छौं” सांसद रीनाले भनिन् । तर घरभित्र र बाहिर दुबै ठाउँको जिम्मेवारीले महिलालाई थिचेको हुन्छ भन्छिन्, रिना । यद्यपि ति जिम्मेवारी वहन गर्दै संघर्ष र उत्साहका साथ जनप्रतिनिधि महिलाहरूले काम गरिरहेको उनको बुझाइ छ ।

नेपाली समाज पितृसत्तात्मक सोचबाट निर्देशित छ । तयही सोचले महिलालाई कमजोर र कम जिम्मेवार देख्छ । हेप्छ । बास्तबिकता त्यस्तो होइन । “पितृसत्तात्मक सोच परिवर्तन नभएसम्म सबैलाई घाटा छ ।” उनी तर्क गर्छिन्,– “पितृसत्तात्मक सोचले महिलालाई मात्रै होइन, समग्र समाजलाई उभो लाग्न दिन्न ।” जुनसुकै पद र जिम्मेवारी पनि महिलाले कुशलतापूर्वक निर्वाह गर्न सक्छन् भन्छिन् रिनी ।

स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिकाबाट उपमेयरमा निर्वाचित शिवकुमारी थारु निर्वाचित उपमेयर मध्येकी चर्चामा आएकी महिला हुन । खुलेर बोल्न सक्ने, तर्क गर्न सक्ने, आँटिली, क्षमतावान महिलाको रुपमा उनलाई चिनिन्छ । उनी नेकपाबाट उपमेयरमा निर्वाचित भइन् । उम्मेदवारको टिकट पाउँदादेखि नै मतदातामा उत्साह छरेकी उनका भाषणले सबै प्रभावित हुन्थे । उनको अनुभव पनि महिलालाई अवसर दिएमा राम्रो काम गर्न सक्छन् भन्ने नै छ । आफूले न्याय सम्पादनसँगै विकास निर्माण, सुशासनमा राम्रो काम गरेको जिकिर शिवकुमारीको छ ।

शिवकुमारी थारु

काम गर्ने दौरानमा थुप्रै समस्या त आउछन् नै । ति समस्यालाई अवसरका रुपमा लिएर काम गर्न सक्नु पर्ने उनको भनाइ छ । आफूले चुनाव अगाडि “मलाई जिताउनुहोस्, पछाडि पारिएका वर्ग र समुदायको हक अधिकार सुनिश्चिताको लागि काम गर्छु” भनेको स्मरण गर्दै उनले भनिन्, “जितेपछि न्यायवाट बिमुख भएका महिलालगायत सम्पूर्ण समुदायका पक्षमा दृढतापूर्वक काम गरिरहेकी छु । लामो राजनीति गर्ने उद्देश्य छ । जनताको मन जित्ने अभिप्रायले काममा खट्छु । “मेरो ठाउँ र मेरा मतदाताको भलाई नै मेरो भलाई हो भन्ने संकल्प बोकेकी छु” शिवकुमारीले भनिन् ।

यता वाणगंगा नगरपालिका वडा नं १ का अध्यक्ष बालकुमारी पन्तलाई पनि जनताका काम गर्न आनन्द लाग्छ । नगरका ११ वटा वडा मध्ये उनले मात्र हो अध्यक्ष बन्ने अवसर प्राप्त गरेको । नेपाली कांग्रेसबाट अध्यक्ष जितेकी उनले भनिन्, “महिलालाई हेर्ने सोचाई मात्र फरक छ । महिलाको अस्तित्वलाई स्वीकार गर्न कठिनाई छ, यद्यपि महिलाले गर्न नसक्ने काम केही छैन । बरु पुरुषभन्दा विश्वासिलो र भरपर्दो तरिकाले काम गरेका छौं ।” आफूले अन्य वडाध्यक्षको तुलनामा राम्रा काम गरेको जिकिर बताइन् उनले । भनिन्, “न्याय जसका लागि आवश्यक छ, उसका लागि काम गर्ने कोसिस गरेकी छु । सकभर विवादरहित वातावरणमा काम गर्छु । चुनौतिलाई महिलाले चिर्न सक्छन्, मात्र अवसरको खाँचो छ,” उनले निकै गौरवका साथ भनिन् ।

विभिन्न तहमा निर्वाचित भएपछि महिला जनप्रतिनिधिलाई अवसर र जिम्मेवारी पनि थपिएका छन् । समाज रुपान्तरणका हरेक क्रियाकलापमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । आर्थिक श्रोत र अवसरमा महिलाको पहुँच बढाउन नीतिगत लविङमा लागि परेका छन् । लैंगिक हिंसा विरुद्धका गतिबिधी र परम्परागत कू–संस्कारप्रति खबरदारी बढाएका छन् । न्याय र कानूनको पक्षमा दृढ भएर उभिएका छन् । जसको कोही छैन, उसैका लागि आवाज उठाएका छन् ।

बालकुमारी पन्त

महिला जनप्रतिनिधिको सबै भन्दा सुन्दर पक्ष के हो भने सांसददेखि मन्त्री हुँदै, मेयर उपमेयरसम्ममा निर्वाचित महिलाहरू संघीय व्यवस्था कार्यान्यनका क्रममा कुनै भ्रष्टाचारमा मुछिएको तथ्य फेला परेको छैन । आचरण विरुद्धका काममा उनीहरूको संलग्नता भएको प्रमाण छैन । अख्तियार र सेवा सुविधाको दुरुपयोग गरेर टिप्पणी हुने र कानूनको दायरामा आउने स्थिती बनेको छैन । यसबाट भन्न सकिन्छ, निर्वाचित महिलाका उपलब्धीमूलक दिनचर्याले महिलाहरू शासन संचालनमा समेत कुशल हुन्छन् ।

(पत्रकार पाण्डे कपिलवस्तुबाट पत्रकारिता गर्नुहुन्छ । )

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: