विद्या भट्टराईः ‘आँशुको व्यापार’को आरोपलाई जनमतबाटै जवाफ


प्रकाशित मिति :2019-12-03 13:55:24

-जमुना वर्षा शर्मा-

पोखरा । वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिइन् ।

राष्ट्रिय चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भट्टराई प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४ सय ३ मतान्तरले विजय हासिल गरेर राजनीतिमा आफ्नो पकड देखाइन् ।

दिवङ्गत नेता रवीन्द्र अधिकारीका जीवनसँगीनी भएकाले पनि उनीप्रतिको चासो उत्तिकै थियो । राजनीतिक पृष्ठभूमिका आधारमा उनी राजनीतिमा आउनुपर्छ भन्ने जमात पनि बाक्लै थियो, त्यही भावनालाई नेकपाले मनन् गरेर टिकट दियो । जब नेकपाको कास्की जिल्ला कमिटीले उनलाई एकमात्र उम्मेदवारका रुपमा नाम सिफारिस ग¥यो, तब उनीमाथि पार्टीभित्रैबाट रोक्न प्रयास नभएको होइन ।

नेता भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाका एक अभियानकर्मी अधिकारीले विकास र समृद्धिका लागि साँचेका सपना तथा आफ्ना योजनालाई पूरा गर्दै जनताको आफूमाथिको आशा र भरोसा टुट्न नदिएर राजनीतिक यात्रामा अघि बढ्ने बताइन् ।

विद्या भट्टराई

भट्टराईले कहीँ कतै एक थोपा आँसु झारेर मत मागिनन् । पीडाका ती तमाम अवस्था बिर्सन खोजे पनि उनका अगाडि मतदाता रवीन्द्रलाई सम्झेर भक्कानिन्थे तर उनले आफूलाई सम्हालिन् र मतदातालाई निडर भएर सम्झाइन् ।

आरोप प्रत्यारोपमा नउत्रिएर राजनीतिक संस्कारको उच्चतम उदाहरण प्रस्तुत गरिन् । विद्या भट्टराईले आफ्ना पति अधिकारीको मृत्युपछि कुनै पदको लोभले राजनीतिमा प्रवेश गरेकी कदापि थिइनन् । एउटा बाध्यता थियो । आम जनताको चाहना थियो ।

वि.सं २०२९ कात्तिक २९ मा काठमाडौँमा जन्मिएकी भट्टराईमा सानै उमेरमा राजनीतिक चेत थियो । उनी ७ कक्षा पढ्दा नै अनेरास्ववियुमा आबद्ध भइन् । वि.सं २०४२ मा पशुपति मित्र मावि, चावहिल काठमाडौँमा ७ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियुले आयोजना गरेको सरसफाइ आन्दोलन, हाजिरीजवाफ, वक्तृृत्वकला, वृक्षरोपण आदिमा सहभागी भएर उनले आफ्नो राजनीतिक यात्रा शुरु गरिन् ।

वि.सं २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भइन् । अखिल नेपाल महिला संघको जिल्ला समिति काठमाडौँमा कोषाध्यक्ष हुँदै तत्कालीन नेकपा (एमाले)को सङ्गठित सदस्यका रुपमा राजनीतिक यात्रामा अघि बढिन् ।

वि.सं २०४८ मा अनेरास्ववियु राष्ट्रिय परिषद्मा निर्वाचित भएकी विद्या १८ वर्षकै उमेरमा एमाले वडा कमिटी सदस्यसमेत बनिन् । नेविसंघको वर्चस्व रहेको पद्मकन्या क्याम्पसमा २०४९ सालमा स्ववियु सभापतिमा उम्मेदवार बनिन् । वि.सं २०५० बाट अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा क्रियाशील हुँदै २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव भइन् । पार्टीको सिद्धान्त र विचारबाट निरन्तर अघि बढ्दै जाँदा एमालेका जुझारु युवा नेता अधिकारीसँग उनको निकटता बढ्यो । साथीभाइको शुभेच्छा र विचारको निकटताले रवीन्द्र र विद्यालाई जीवनमा पनि एक हुन प्रेरित गर्‍यो र २०५६ साल असार २६ गते वैवाहिक जीवन प्रारम्भ भयो ।

प्राज्ञिक र तार्किक क्षमताका रुपमा परिचित उनी चुनावी अभियानमा घरदैलोमा पुग्दा लोकप्रिय उम्मेदवारका रुपमा स्थापित हुन सफल भइन् । उनको राजनीतिमा पुनरागमनले धेरै महिलालाई राजनीतिमा ऊर्जा थपेको देखिन्छ ।

रवीन्द्रको राजनीतिक गतिशीलतालाई उचाइ दिन र परिवारलाई व्यवस्थापन गर्ने थप जिम्मेवारी बहन गर्न उनी पर्दा पछाडिबाट राजनीति सहायोगीका रुपमा भूमिका निर्वाह गरिन् । वि.सं २०५८ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन शुरु गरेकी भट्टराई पछिल्लो समय त्रिविमा उपप्राध्यापक थिइन् ।

समाजशास्त्रमा एमफिल गरेकी भट्टराईले त्रिविमा समाजशास्त्रका सिद्धान्त र विकासका सिद्धान्तको अध्यापन गराउँदै आएकी थिइन् । राजनीतिक चेत समाजको गहिरो अध्ययनले प्राध्यापन पेशामा राजीनामा दिएर राजनीतिमा पुनरागमन गरिन् ।

प्राज्ञिक र तार्किक क्षमताका रुपमा परिचित उनी चुनावी अभियानमा घरदैलोमा पुग्दा लोकप्रिय उम्मेदवारका रुपमा स्थापित हुन सफल भइन् । उनको राजनीतिमा पुनरागमनले धेरै महिलालाई राजनीतिमा ऊर्जा थपेको देखिन्छ । अहिले विद्याले जीत हासिल पारेको यस क्षेत्रमा रवीन्द्रले पहिलो संविधानसभा २०६४ र दोस्रो संविधानसभा २०७० र आम निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचन २०७४ सालमा जितेर ह्याट्रिक गरेका थिए ।

रवीन्द्रको उत्तराधिकारीका रुपमा चुनावी मैदानमा होमिएकी भट्टराईले रवीन्द्रको विरासतलाई जोगाउँदै विजय यात्रा जारी राख्न सफल भइन् । वि.सं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको निधनले शोकमा रहेकी भट्टराईले शोकलाई शक्तिमा बदले आम कस्केलीको चाहनालाई स्वीकार्दै चुनावमा होमिइन् र विजयी हासिल गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बन्दाबन्दीः सम्बन्ध प्रगाढ बनाउने अवसर – मनोविद्, विपिन थापा

यस्तो बेलामा विशेष गरि मनमा आत्महत्याको सोचहरू आउने लक्ष्णहरू पनि देखिन्छ ।

हेलिन बोलेकको अनशनको २८८ औं दिनमा निधन

टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं

सिमानामा क्वारेन्टाइन

-बिमला खड्का- मलाई लाग्थ्यो सङ्कट मडारिएको बेला कसैले सम्झिने छ -जस्तो कि सरकार !

महिला र बालिकालाई हिंसाबाट बचाउन सरकारलाई सुझावसहित अपिल

–महिला खबर– ललितपुर । कोरोना भाइरसको दुष्प्रभावबाट बच्न भएको बन्दाबन्दिमा महिला र बालिकालाई हिंसा एवं

लकडाउन र ‘धर्ती’ हिंसा

देबका के.सी यही मौकामा महिला हिंसाका घटनाहरू भने अकल्पनीय तरिकाले बढेको बढ्यै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: