महिलाको भागमा कमजोर निर्वाचन क्षेत्र


प्रकाशित मिति :2019-11-28 11:04:35

-अमृता अनमोल-

बुटवल । रुपन्देहीको मर्चवार क्षेत्र कम्युनिष्ट पार्टीकै लागि सबैभन्दा कमजोर क्षेत्र हो । त्यही क्षेत्रबाट साविक एमालेले २ पटकसम्म नेता महिलालाई उम्मेदवार बनायो । ०५६ को प्रतिनिधि सभा र ०७० सालको दोस्रो संविधानसभाको चुनाबमा पम्फावती खनालले टिकट पाइन् । खनाललाई साविक निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष चुनाब लड्ने मौका मिल्यो । तर, जित्ने आशै थिएन । ‘पार्टीको स्थायी संगठन नै थिएन । उमेरवारी होस् भन्ने हिसाबले मात्रै मलाई तोकिएको थियो,’ पम्फावतीले भनिन्, ‘पार्टीले बलीको बोका मात्रै बनाएको थियो । तर पनि हरेश खाइनन् । चुनाब लडें र चुनाबको अनुभव बटुलें ।’ पम्फा हाल नेकपा जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिवको भूमिकामा छन् । घुम्टो नओढी बाहिर ननिस्कने मर्चवार क्षेत्रमा गएर १८ वर्षसम्म काम गरेकी पम्फावतीले पछिल्ला चुनावमा भने अवसर पाइनन् । ‘स्थानीय तह वा प्रदेशसम्म भएको भए पनि जित्ने सम्भावना हुन्थ्यो,’ उनले भनिन् ,‘तर सम्भावना देखिएको स्थानमा उम्मेदवारछनोटमै परिएन ।’

बुटवल उपमहानगर ११ कांग्रेसको सबैभन्दा कमजोर क्षेत्र हो । त्यही कमजोर क्षेत्रमा सावित्रा टण्डनले वडा अध्यक्षको टिकट पाइन् । उद्योग र व्यवसायमा राम्रो छवि बनाएकी उनी उम्मेदवार छनोट भएकै दिनदेखि दत्तचित्र भएर खटिन् । पार्टीले आश गरेभन्दा धेरै मत ल्याइन् । तर चुनाब जित्न सकिनन् । ‘कम्युनिष्टको गढ भएको क्षेत्रमा एउटा पुरुष प्रतिस्पर्धीले भन्दा धेरै मत तानें,’ उनले भनिन् , ‘जित्न नसके पनि आफ्नो क्षमता देखाउने अवसर पाएँ । त्यसमै चित्त बुझाएकी छु ।’

राष्ट्रिय जनमोर्चाकी भानु जीसीले पछिल्लो प्रतिनिधिसभाको चुनावमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिइन् । उनको क्षेत्रबाट तत्कालिन एमाले उपमहासचिव घनश्याम भुसाल प्रतिस्पर्धामा थिए । चुनाव जित्ने सम्भावना नै थिएन । तैपनि पार्टीले उठ्नुपर्छ भनेपछि उनी उम्मेदवार बनिन् । ‘आफूले चुनाब नजिते पनि समानुपातिकमा पार्टीलाई भोट तान्ने आशामा चुनावी मैदानमा उत्रिएकी थिएँ,’ उनले भनिन्, ‘तर महिला उम्मेदवार भएकै कारण प्रचारप्रसारदेखि मतगणनासम्म पार्टीभित्रैबाट थुप्रै असहयोग भोग्नुपयो ।’

पम्फा, सावित्रा र भानु त उदाहरण मात्रै हुन् । हरेक पार्टीमा जित्न सक्ने क्षेत्र पुरुषकै प्राथमिकतामा पर्छन् । महिलालाई टिकट दिनुपरे पार्टीको पकट क्षेत्र कम भएको क्षेत्रमा मात्रै दिइने नेता महिलाहरूको गुनासो छ ।

नेकपा प्रदेश ५ को सचिवालय सदस्य साबित्रा अर्यालले महिलालाई कोटा पुऱ्याउन मात्रै उठाउने चलनले उम्मेदवार बन्ने तर चुनाब जित्ने अवस्था नभएको बताइन् । ‘केही क्षेत्र सबै पार्टीबाट महिलामात्रै लड्ने बनाउनुपर्छ,’ उनले भनिन्, ‘यसो भएमा नेता महिला प्रतिस्पर्धामा उत्रन सक्ने थिए । जित्ने सत प्रतिशत सम्भावना पनि हुने थियो ।’

नेपालको संविधानले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । तर त्यही नीति बनाउने राजनीतिक पार्टीभित्रै महिलाको कमजोर स्थिति छ । नेतृत्व तथा केन्द्रिय तहमा मात्र होइन पार्टीका जिल्ला तथा स्थानीय कमिटीमा समेत उक्त संख्या पुगेको छैन । पार्टीभित्र बलियो पकट बनाउन नसक्दा धेरै नेता महिला उपयोग मात्रै भएका छन् । यहीं कारण राजनीतिक शक्ति र सक्तामा महिलाको स्थान कमजोर रहेको उनीहरूको दुखेसो छ । ‘कसलाई शक्ति र सत्तामा पुऱ्याउने भन्ने निर्णय गर्ने पार्टीले हो,’ कांग्रेस नेता तथा प्रदेशसभा सदस्य रमा अर्यालले भनिन्, ‘पार्टीभित्रै महिलाको ३३ प्रतिशत आरक्षण सुरक्षीत नहुँदा पार्टीको नेतृत्व तहमा पुग्न, पहुँच बढाउन र शक्ति तथा सत्तामा जान समस्या भएको छ ।’ पार्टीभित्र आन्तरिक लडाइँ नलड्दासम्म पाटीभित्र महिलाको पकट बलियो बनाउन र नेता महिलाप्रतिको दृष्टिकोण फेर्न नसकिने उनले बताइन् ।

नेता महिलाहरू शक्ति, सक्ता र सम्पत्ति हातमा नहुँदा आफूहरू खुम्चनु परेको बताउछन् । यहीं कारण राजनीतिमा सहभागिता राम्रो भए पनि नेतृत्व तहमा जान र पहुँच बढाउन नसकेको उनीहरूको दुखेसो छ । उनीहरूका भनाइमा पुरुष नेताहरूले चुनावी बहस सुरु हुादादेखि नै प्रभाव देखाउन र बलियो क्षेत्रमा टिकट लिन अभ्यास थाल्छन् । महिलाहरू त्यसो गर्दैनन् । त्यसो नगरेकै कारण चुनावी प्रक्रियामा महिलालाई पछाडि पारिन्छन् । भरसक टिकट दिनै कन्जुसाई गरिन्छ । टिकट पाए कमजोर क्षेत्रमा पारिन्छ । उपसभामुख कृष्णी थारुले नेता महिला आफ्नो क्षमता देखाउने अवसरबाट समेत बञ्चित भएको बताइन् ।

रुपन्देहीको मणिग्राममा निर्वाचन आयोग र संचारिका समूह नेपालले राजनीतिज्ञ महिलाहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी नेता महिलाहरू ।

नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राधाकुमारी ज्ञवालीले वडादेखि केन्द्रसम्म महिलालाई नेता नमान्ने र नेतृत्व दिन नखोज्ने परिपाटिले थिचिएको बताइन् । ‘नेतृत्वकर्ताको मगजमा महिलाहरूलाई नीरिह देख्ने पितृसत्तात्मक सोच, व्यवहार र क्रियाकलाप छ,’ उनले भनिन्, ‘यसले महिलालाई नेता स्वीकार गर्नै दिएको छैन ।’ पितृसत्ताको यही असरले व्यक्ति, घरपरिवार, समाज, दल र राज्यलाई नै प्रभावित गरेको उनले बताइन् । ‘महिलालाई भोग्या देख्ने संस्कृति बदले मात्रै नेता महिलाको अस्तित्व रहने छ । त्यसका लागि भेदभाव सहने होइन, पार्टीभित्रै खुलेर छलफल गर्ने र विरोध गर्ने संस्कार बसाल्नुपर्ने छ,’ नेता ज्ञवालीले भनिन्, ‘यसले मात्रै पार्टीभित्रको मुल्यांकन र निर्वाचन प्रक्रियामा महिलाकोको सहभागिता बदल्न सकिन्छ ।’ तल्लो तहका नेता कार्यकर्ताबाटै विरोधका आवाज आए माथिल्लो तहका नेताहरूले नीति बदल्न सक्ने उनले बताइन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल लैंगिकता तथा सामाजिक समावेशीकरणको नीति अनुसार महिलाले पाएको अवसरलाई शक्तिमा बदल्न सक्नुपर्छ भन्छिन् । ‘महिला कमजोर हुन्छन् भन्ने पितृसत्तात्मक सोच र व्यवहार चिर्न हामी हाम्रा कमजोरी सुधारौं । हरेक नयाँ कुरा सिक्ने/सिकाउने, जिम्मेवारी लिने र पूरा गर्ने गरौं,’ उनले भनिन्, ‘यसले पितृसत्तात्मक सोच हटाउन र नेता महिलालाई सबल बन्न सहयोग पुग्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पेशाबाट पेट पालिनुपर्छ

-वसन्ती बास्तोला- जनआन्दोलन, माओवादी द्वन्द्व, नेपाल बन्द सबैबेला काम गराउनको लागि विकल्प देख्ने सञ्चालक संकटमा तलबको

बजेटमा महिला (पूर्ण पाठसहित)

-महिला खबर- महिलाको भूमिमाथिको अधिकार र स्वामित्व बढाउन प्रदेश र स्थानीय तहको समन्वयमा महिलाको नाममा जग्गाको

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर

हाल नेपालमा ५२ हजारको हाराहारीमा स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् ।

सामाजिक सुरक्षा भत्ताको निरन्तरता

यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: