भक्तपुर १ ‘ख’ उपनिर्वाचनः महिला मतदातामा उत्साह नै छैन


प्रकाशित मिति :2019-11-27 20:39:06

-लक्ष्मी पौडेल-

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ की ५० वर्षीया शुलोचना थापाले यही मंसिर १४ गते भक्तपुर १ ख बाट प्रदेश सभा सदस्यलाई भोट दिदैँ छिन् । उनको क्षेत्रका सांसद हरिशरण लामिछानेको निधन भएपछि हुन लागेको निर्वाचनमा १९ जना उम्मेदवार छन् । तर थापालाई आफ्नो क्षेत्रका उम्मेदवार को को छन् ? कस्ता छन् भन्ने थाहा छैन । ‘चुनावमा उठेका त तिनै एमाले, काँग्रेस, नेपाल मजदु किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नै हुन् । यत्ति कुरा थाहा छ । तर महिला त उठेका छैनन्’ थापाले भनिन् ।

भक्तपुरको निर्वाचनमा यसपटक ३ जना महिला उम्मेदवार छन् । तर मतदातालाई भने प्रमुख केही पार्टीबाहेक अरु उम्मेदवारबारे थाहा छैन । त्यतीमात्र होईन, थापाले भोट दिन इच्छाएका पार्टी पनि सिमित छन् । ‘पहिला पहिला दिने गरेको पनि हो । यसपटक अलि चिनेकै स्थानीय नेता नै छन् । यी पार्टीका यिनै मध्ये एउटालाई दिन्छु’ उनले प्रष्ट्याइन् ।

आफ्नो क्षेत्रको सामान्य विकास चाहाने थापामात्र होईन, यहाँका अधिकांस मतदाता आफूले भोट दिएका नेताले काम नै गरिहाल्छन् भन्ने विश्वास गर्दैनन् । जसलाई भोट दिए पनि के फरक पर्छ र ? भन्ने ठान्छन् । बिग्रेको बाटो बनाउन, गाउँमा पानीको सुबिधा दिन, स्वास्थ्य चौकीको बदलामा अस्पताल बनाउन र गाउँमा एम्बुलेन्सको सुबिधा पु¥याउन नेताहरूले काम गर्दैनन् । भोट मात्रदिने त हो नि ! भन्ने ठानेका छन्, मतदाताले ।

‘म त यसपाली भोट दिन्न भनेको बुहारीले दिनपर्छ भनेकी छिन् । त्यसैले उसैले दिन्छे, जसलाई दिन्छे दिन्छे ।’ उमेरले ७५ वर्ष लागेकी धना थापाले भनिन् । थापालाई आफ्ना बेरोजगार छोरा बु्हारीलाई जागिर र विदेश भएको कान्छो छोरा घरमै आईदिए हुन्थ्यो भन्ने छ । ‘नेताले जितेर के गर्छन् र ? भोट माग्दा हात जोड्छन् । आमा भन्छन् । भोट हालेपछि सकियो । पिठ्युँ फर्काउछन् । मेरा छोरा बुहारीले काम पाउँदैनन् । कान्छो विदेशबाट आउँदैन । आएर यहाँ काम दिन्नन्’ धनाले गुनासो पोखिन् ।

चुनावको मुखमा चाँगुनारायण ५ मा पुग्दा अधिकांस महिला घरधन्दा र गाई गोठालोमै व्यस्त थिए । चुनावमा भोट कस्लाई दिने भन्नेमा महिलाहरूले त्यति गमेका छैनन् । उनीहरू अघिल्ला वर्ष जुन चुनाव चिन्हमा भोट दिदैँ आएका छन्, त्यही चुनाव चिन्हमा भोट दिने सोचमा छन् । न त महिलाहरू यसपटकको चुनावमा को को उठेका छन् भनेर घर सल्लाह नै गर्छन् ।

खेतमा आलुमा उकेरा लगाउँदै गर्दा भेटिएकी निरु पौडेलले अघिल्लो चुनावमा जसलाई भोट दिएको हो, उसैलाई दिने बताइन् । ‘श्रीमान केही दिनलाई बाहिर जानुभएको छ । छोराछोरीसँग सल्लाह पनि हुन्न । अरु पार्टीका उम्मेदवार को उठेका छन् भन्ने नि थाहा छैन’ निरुले भनिन् ।

महिला उम्मेदवार पुग्दैनन् मतदाता समक्ष

‘महिला छन् र ? महिला भनेर मात्र भएन । उठेकै थाहा छैन । कसलाई भोट दिनु’ शुलोचना थापाले आफ्नो क्षेत्रमा महिला उम्मेदवार उठेकै भए पनि भोट नदिने बताइन् । चिनेको पार्टीको महिला उठेको भए उनले भोट दिन्थिन् । तर नचिनेका महिला, नचिनेका पार्टी, नचिनेको चुनाव चिन्ह । महिला उम्मेदवार पनि उठेका छन् नि ! भनेर भन्दा उनले ‘महिला भनेरमात्र भएन नि !’ भन्ने जवाफ दिइन् ।

भक्तपुर १ ख मा संगिता पौडेल आचार्य, सुजाता देउजा र सुमना कार्की उम्मेदवार महिला हुन् । उनीहरूले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । तर यहाँका मतदातालाई यी उम्मेदवारबारे थाहा पनि छैन । महिला उम्मेदवारले भोट माग्न नआएको स्थानीय सम्झना बानियाँले बताइन् ।

उम्मेदवारसँग कुनै आसा नै छैन

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएर प्रचारप्रसार गरिरहेका छन् । उनीहरूले जनताका आसा र अपेक्षालाई आफ्ना घोषणा पत्रमा समावेश गरेर पूरा गर्ने प्रतिबद्धतासहित भोट मागिरहेका छन् । तर मतदातालाई दलका यस्ता कुराले छुन सकेको छैन । खेतबारी र घरधन्दामा व्यस्त रहेका महिला मतदातालाई यो चुनावमा जित्ने सांसदबाट त्यती ठूलो आसा पनि छैन । ‘बाटो बिग्रेको छ, बनाईदिए त हुने नि । पानी छैन । अस्पताल छैन । यस्तै साना कुरा त हो नि हामीलाई चाहिएको । गर्नेले गर्दैनन् । आस पनि छैन’ स्थानीय रेखा पौडेलले भनिन् ।

गाउँमा भोट माग्न पुगेका नेताहरूले केन्द्रका ठूला नेताले झैँ ठूला ठूला कुरा भने गर्छन् । ‘गाउँमा नेता त छन् नि, ठूला ठूला कुरा गर्छन् । कुरा मात्रै गर्छन् । रेल ल्याउने कुरा गर्छन् । गाउँमा बाटो छैन । रेल त के हो के हो ?’ उनले शंकासहितको अविश्वास व्यक्त गरिन् ।

कुल ४५ हजार १५ मतदाता रहेको यस क्षेत्रमा २३ हजार ८० महिला मतदाता छन् । चुनावमा निर्णायक मतका हकदार महिलामा चुनावका बेला नेताहरूले भन्छन् मात्र, काम गर्दैनन् भन्ने नराम्रो छाप परेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: