महिला दुःखी हुने देश समृद्ध हुन्छ ?


प्रकाशित मिति :2019-11-24 12:28:05

–(ममतावाली)
हि–(हिम्मतवाली)
ला–(लाज राख्ने, इज्जत राख्ने)

अरुको खुशीमा आफूलाई बिर्सिने व्यक्ति, सारा जीवन अरुको खुशीका लागि समर्पित गरिदिने र श्रीमान्, सासूससुरा, छोराछोरी लगायत परिवारका सबै सदस्यको चाहाना अनुसार चल्ने मान्छे हुन्– महिला । तर यीनलाई भने युगले कोल्टे फेरिसक्दा महिलाको परम्परागत भूमिकाबाटै मुक्त हुने छुट छैन । न त आधुनिकतालाई पछ्याउने हक । तर पनि जस्तोसुकै महान् कार्य गर्नुस्, परिवारदेखि समाजसम्मबाट प्रशंसाको साँटो आरोप र प्रत्यारोमात्रै ‘कोसेली’ स्वरुप प्राप्त गरिरहेका हुन्छन् ।

बाजुराको परिप्रेक्षमा पनि यस्तै हो । देशकै दुर्गम जिल्लाभित्र पर्ने बाजुरामा महिलाको अवस्थामा हिजोभन्दा आज सुधार भएको छ, तर हुनुपर्ने जति हैन । महिलाहरूले नेतृत्व लिनु हुँदैन भन्ने मान्यता कायम छ । यसले महिलाले गरेका जुनसुकै महान् कार्यको मुल्याङ्कन नै नगरेको प्रष्ट बुझ्न सकिन्छ । यसका बाबजुत पनि नेतृत्व गरिरहेका महिलाहरूको चरित्रका कुरा गरिन्छ । को–कोसंग अनावश्यक रुपमा नाम जोडिइन्छ । जसको निकै चर्चा र परिचर्चा हुने गरेको पाइन्छ । जसका कारण महिला पनि आफैलाई कमजोर ठान्न बाध्य भएको सहजै बुझ्न र देख्न सकिन्छ ।

महिलाले गरेको काम दिगो हुँदैन भन्ने साँघुरो सोच महिला प्रगतिको बाधक छ । यदि कुनै पनि ठाउँमा महिलाले नेतृत्व लिन चाहेमा ‘बैकिनी बुड्याउली, बाख्रो बटालो’ (महिलाहरूले समाजमा नेतृत्व गर्नु र बाख्रो(पोथी) ले बथानमा नेतृत्व गर्नु एउटै हो) भन्ने उखान सुनाइन्छ । जसले गर्दा म पनि गर्न सक्छु भन्ने जोस, जाँगर र हिम्मत बोकेर अगाडि बढ्न खोज्ने महिलालाई हतोत्साहित पारिन्छ । दुर्गममा बसेर घरपरिवार, मेलापात, गाइबस्तु र खेतीपातीको काम सकेर गरेको काममा समाजका अगुवाहरूले घुसाइदिएको यो एक शब्दले नारीको पुरै संसार भङ्ग गरिदिएको हुन्छ ।

कतिपय समाजमा त अहिले पनि महिलाको अगुवाईमा बैठक बस्नु हुन्न, महिलाले गरेका निर्णयहरू मान्न हुँदैनन् भन्ने मान्यता छ । महिलाका निर्णय मान्नुपर्दा पुरुषले आफ्नो पुरुषत्व गुमेको महसूस गर्छन् । महिलाहरूलाई विश्वास गरेपछि कुनै पनि काम दिगो र दरिलो बन्दैन र धोका पाइन्छ भनेर बुढापाकाको मुखबाट सजिलै सुन्न पाइन्छ । जसले गर्दा कतिपय ठाउँमा महिलाहरूले साहसका साथ गरेका काम बालुवामा पानी खन्याएझैँ भएका छन् ।

सामाजिक रुपमै महिला तिरस्कृत

बाजुरामा त महिलाहरूलाई सामाजिक रुपमा पनि तिरस्कृत हुनु परेको छ । बाजुराका महिलाहरू महिनावारी भएको बेला आफ्नो घरभित्रसमेत बस्न पाउँदैनन् । महिला, किशोरीहरूको मानव अधिकार नै समाजले खोसिदिएको अवस्था छ । महिला तथा किशोरीहरू महिनावारी हुनु नियमित प्राकृतिक प्रकृया हो भन्ने कुरालाई जति बुझाए पनि नबुझ्ने समाजमा यसलाई परम्परासंग जोडिन्छ र महिलालाई अधिकारबाट बञ्चित गरिन्छ ।

महिनावारी भएको बेला अहिले पनि बाजुरा जिल्लाका कतिपय स्थानमा ५ दिनसम्म घरभन्दा टाढाको गोढमा राख्ने, बुको खाना (सादा खाना) दिने, दूध, दही पोषिलो खानेकुरा नदिने, मठमन्दिरमा जान पूजाआजा गर्न नमिल्ने र बुढापाकाहरूलाई महिनावारी भएको बेला छुन नमिल्ने जस्ता रुढिवादी मान्यता छ । यो परम्पराले महिलाहरू राम्रा अवसरबाट बञ्चित मात्रै छैनन्, शारीरिक रुपमा कमजोर र कुपिषित पनि छन् ।

महिनावारी भएको बेला घर बाहिरको चिसो गोठमा राखिएको हुन्छ । बर्खायामको मुसलधारे पानी होस् या हिउँदमासको मुटु बिझाउने चिसो, घरबाहिरको चिसो गोठ महिलाको अप्ठ्यारोको सहयात्री बनेको हुन्छ । आफूलाई मन लागेको बेला हिँड्न, खान, बस्न नपाइने यो समयमा टाढाको जंगलबाट घाँसपात, दाउरा, स्याउला, खेतीपातीको काम भने गर्न लगाइन्छ, गर्नुपर्छ । जसले गर्दा महिला तथा किशोरीहरूमा म नै कमजोर रहेछु भन्ने भान भएको हुन्छ ।

महिला सृजनाको संसार हुन् । महिला बीना संसार सम्भव छैन । त्यसकारण महिलालाई हेपेर, दबाएर, हतोत्साहित बनाएर न घरमा शान्ति हुन्छ न समाजमा । जसका कारण देश नै प्रगतिबाट पछि धकेलिन्छ । ‘महिला र पुरुष एक रथका दुई पांग्रा हुन्’ भन्दै गर्दा महिलालाई दोस्रो दर्जाकै नागरिक ठान्ने परिपाटीले देशले ठूलो मूल्य चुकाउनु परिरहेको छ । किनकी महिलाले गरेका र गर्न खोजेका कामहरूको कदर र सम्मान नहुँदा त्यसको असर देशको विकासमा परिरहेको हुन्छ । यो कुरालाई सबैले मनन् गर्नुपर्छ ।

कुल जनसंख्याको आधा भन्दा बढी संख्यामा रहेका महिलाहरूलाई अब हेपेर, दबाएर, डराएर समाज अगाडि बढ्दैन । उनीहरूलाई हौसला दिनुपर्छ । तिमी पनि गर्न सक्छौं भन्ने आत्मविश्वास जगाइदिनु पर्छ र तिमीले गरेको काम राम्रो हो, अझैं राम्रो गर भन्ने प्रेरणा दिनपर्छ । त्यसो हुँदा मात्रै सबै क्षेत्रमा महिला–पुरुष दुबैको समान सहभागिता हुन्छ । देशको अर्थतन्त्र बलियो बनाउन र सामाजिक उत्तरदायित्व बहन गर्न दुबै जिम्मेवार हुन्छन् । यसो हुँदा देशकै भाग्य चम्किन्छ । अनि हामी सुखी हुन्छौं, देश समृद्ध हुन्छ । नत्र भने महिला दुःखी हुने देश कसरी समृद्ध हुन्छ ?

(संगीता बाजुरामा रहेको रेडियो पौरखीमा कार्यरत संचारकर्मी हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: