देशभित्रै यसरी बेचिन्छन् महिला


प्रकाशित मिति :2019-11-22 11:46:34

-लक्ष्मी बस्नेत-

विगतमा यौनधन्दाका लागि नेपाली महिला तथा बालिकाहरू भारतमा बेचिने प्रवृत्ति अहिले देशकै मुख्य शहरहरूमा सरेको छ। यहाँका होटल, डान्सबार, खाजाघर, गेस्टहाउस लगायतले उनीहरूलाई बलपूर्वक यौन व्यवसायमा धकेल्ने क्रम बढ्दो छ।

भारतको पञ्जाबमा काम गर्न भन्दै हिंडेकी कपिलवस्तुकी १६ वर्षीया दलित बालिका गत जेठमा कपिलवस्तुस्थित कृष्णनगर नाकामा भेटिइन् ।

उनलाई एक संस्थाका प्रतिनिधिले प्रहरीसँगको समन्वयमा फर्काए । सोधखोज गर्दा उनी बुटवल उपमहानगरपालिका–११ स्थित एक होटलमा चार महीनासम्म बाध्यात्मक यौन व्यवसाय गरेर भागेको पत्तो लाग्यो ।

होटलमा काम लगाइदिने आश्वासनपछि फुपू मार्फत पुगेकी उनलाई बन्धक बनाएर यौन कार्यमा लगाइएको थियो । होटल संचालक दम्पती चेतबहादुर कुँवर र मीनाकुमारीलाई यतिवेला मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दायर गरेर पुर्पक्षका लागि थुनामा राखिएको छ ।

काठमाडौंको गोंगबुस्थित एक गेस्टहाउसले कर्मचारी चाहिएको भन्दै विज्ञापन निकाल्यो । रोजगारी पाइने आशामा गएका महिला र किशोरीहरूले काम त पाए, तर गेस्टहाउस सञ्चालकले समयक्रममा उनीहरूलाई यौन व्यवसाय गर्न बाध्य पारे । पछि एक गैरसरकारी संस्थाले उनीहरूलाई उद्धार गरेपछि गेस्टहाउस सञ्चालक विरुद्धको मुद्दा अहिले काठमाडौं जिल्ला अदालत पुगेको छ ।

सुनसरी इनरुवाका तीन बालिकाले स्थानीय एक होटलमा खाना पकाउने, भाँडा माझ्ने काम पाए । होटल सञ्चालकले विस्तारै उनीहरूलाई भित्रपट्टिको गोप्य घरमा राखेर यौन व्यवसायमा लगाउन थाले ।

एकदिन तीमध्येकी १७ वर्षीया बालिका भागेर प्रहरीकहाँ पुगेपछि अन्य दुई जनाको पनि उद्धार भयो । होटल संचालक विरुद्ध मानव बेचबिखन तथा शरीर बन्धक अन्तर्गत मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

यी घटनाले काठमाडौं सहित देशका मुख्य शहरी क्षेत्रमा होटल, गेस्टहाउसका नाममा यौन व्यवसाय चलाइने गरेको देखाउँछ । अझ्, राजमार्ग नजिकका कतिपय खाजाघर र साना होटलहरू यौन धन्दाको ‘अखडा’ नै बनेको प्रहरीको छापाका क्रममा पाइएको छ । यी ठाउँहरूमा महिला तथा किशोरीहरूलाई लगेर यौन कार्यमा बाध्य पार्ने गरिएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गोविन्द थपलिया गाउँघरबाट सोझासिधा महिलारकिशोरीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर शहर–बजारका होटल–रेस्टुरेन्टमा ल्याउने प्रवृत्ति बढेको बताउँछन् । “होटलहरूले पहिले अरू नै काम भनेर राख्ने र अन्ततः यौन व्यवसायमा लगाउने गरेको देखिन्छ”, उनी भन्छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७६’ का अनुसार, नेपालमा महिलारबालबालिका सहित करीब ३५ हजार जना बेचबिखनमा परेका छन् भने बेचबिखनको जोखिममा १५ लाख छन् ।

माध्यम नातेदार र साथीसँगी नै

मानव बेचबिखन, ओसारपसार तथा बन्धक बनाउने घटनाका पीडितमध्ये अधिकांशले मुद्दा नै हाल्दैनन् । एकातिर, बेचबिखनको मुद्दामा प्रमाण पुर्‍याउन गाह्रो हुने र अर्कातिर काम पाइने लोभमा आफन्त वा चिनेजानेकै व्यक्ति मार्फत गएका हुनाले पीडितहरू मुद्दा हाल्न हच्किने गरेका छन् । महिलाको हकहितका लागि कार्यरत संघसंस्थाको पहलमा केही मुद्दा मात्र दर्ता हुने गरेका छन् ।

२०७४ सालमा भएको एक अध्ययन अनुसार, ‘मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र’ भनिने होटल, डान्सबार आदिमा साथीभाइरनातेदारको माध्यमबाट प्रवेश गर्नेको संख्या सबैभन्दा धेरै देखिएको थियो ।

शक्ति समूह, महिलाका निम्ति महिला मञ्च, स्वतन्त्रता अभियान नेपाल लगायत आधा दर्जन संस्थाले अध्ययनका क्रममा समेटेका ५०४ (७० प्रतिशत महिलारबालिका सहित) जनामध्ये ८८ प्रतिशत १८ देखि ३५ वर्ष उमेरका थिए । यो उमेर समूहले यस क्षेत्रमा महिला श्रमिकहरूको सीप र क्षमताभन्दा पनि रूप र यौवनलाई प्राथमिकतामा राखेको देखाउँछ ।

सिन्धुपाल्चोककी रितु तिनैमध्येकी हुन् । दोहोरी गीत गाउने सोख भएकी उनले कामको खोजीमा आधा दर्जन जति दोहोरी साँझ् रेस्टुरेन्ट चहारिन् । तर उनमा शारीरिक खोट देखाएर फर्काइयो ।

“दोहोरी गाउँछु भनेर जाँदा संचालकहरूले तिमी मोटी छौ, अनुहारभरि डण्डीफोर भएकाले ग्राहकहरूले बोलाउँदैनन् भने”, अहिले बागबजारस्थित दोहोरी साँझमा कार्यरत उनी भन्छिन्, “कलाकारको समेत शारीरिक आकर्षण खोजिने कुराले अधिकांश दोहोरी साँझ पनि यौन व्यवसायकै अखडा रहेको देखिन्छ ।” गाउने रहर र कमाइको बाध्यताले दोहोरीमा काम गरेकी उनी ग्राहकबाट जोगिनै गाह्रो पर्ने बताउँछिन् ।

यौन व्यवसायमा लाग्न बाध्य महिला र बालिकाहरूमध्ये कतिपय त परिवारकै सदस्य र श्रीमान्कै कारण यो पेशामा आइपुगेका छन् । चितवनकी एक १४ वर्षीया किशोरी गाउँमै प्रेमविवाह गरेर काठमाडौं आइन् र श्रीमानसँगै गेस्टहाउसमा काम गर्न थालिन् ।

तर गेस्ट हाउसभित्रको अतिरिक्त ‘कमाउ धन्दा’ ले लोभिएका श्रीमान्ले उनका लागि ‘ग्राहक’ खोजेर बलजफ्ती यौन कार्यमा लगाउन थाले ।

महीनावारी हुँदा मात्र होइन, सात महीनासम्मको गर्भावस्थामा समेत ग्राहकसँग जान बाध्य पारेको उनी सुनाउँछिन् । “बच्चा जन्मिएपछि पनि यौन व्यवसायका लागि पठाउँथे, नमाने पिट्थे”, उनी भन्छिन् ।

सन् २०१३ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्प्याट इन्टरन्याशनलले गरेको अध्ययनले होटल, डान्सबार आदि क्षेत्रमा २५ हजार महिला तथा बालिका कार्यरत रहेको र यौन व्यवसाय गर्न दबाब दिने गरेको निष्कर्ष निकालेको थियो ।

सन् २०१३ देखि २०१६ सम्ममा विभिन्न गैरसरकारी संस्थाले करीब १३०० बालिकालाई यौनशोषणबाट छुटाएर संरक्षण गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने स्विट्जरल्यान्डको संस्था टीडीएचले जनाएको छ ।

बाध्यतामा धकेलिएर देहव्यापारमा लाग्नेहरू मात्र होइन, यसलाई रोजाइकै पेशा बनाउनेहरू पनि धेरै छन् । आफू यो क्षेत्रमा आइसकेपछि अरूलाई काम पाइन्छ भनेर गाउँबाट बोलाउने र एजेन्ट बनेर विभिन्न होटल, रेस्टुरेन्टमा पठाउनेहरू पनि उत्तिकै छन् ।

पेशेवर यौनकर्मीहरूले घर र फ्ल्याट नै भाडामा लिएर व्यवसाय चलाउने गरेका छन् । नुवाकोटकी १८ वर्षीया एक युवतीले अर्की साथीसँग मिलेर काठमाडौंमा एक घर भाडामा लिएकी छन् । घरधनी नबस्ने भएकाले उनी ‘ग्राहक’ लाई निर्धक्क त्यहीं बोलाउँछिन् ।

आफ्नै गाउँका पाँच जना बहिनी ल्याएर रोजीरोटीका लागि यही काममा लगाइदिएको उनी सुनाउँछिन् । “आफैंले व्यवसाय चलाउँदा बढी स्वतन्त्र होइन्छ” उनी भन्छिन्, “साहुकोमा चाहिं बाध्यता हुन्छ ।”

माइती नेपालमा कार्यरत अधिवक्ता उमा तामाङले काठमाडौंमा अनुगमनका क्रममा यौन व्यवसायको विकराल अवस्था देखेकी छन् । उनको भनाइमा काठमाडौंका विभिन्न ठाउँ देहव्यापारको हिसाबले भारतका ‘रेडलाइट एरिया’ जस्तै बनिसकेका छन् ।

काठमाडौंको कोटेश्वर र जडीबुटीका घरहरूमै देहव्यापार चलाएको भेटिएको बताउँदै उनी भन्छिन्, “धुम्बाराही क्षेत्रतिर भने फ्ल्याट लिएरै व्यवसाय गर्नेहरू बढेका छन् । कतै चाहिं सटरमा किराना पसल खोलेर भित्र यौन व्यवसाय चलाएको भेटियो ।”

खाजाघर वा साना होटलको नाममा त्यही घरको माथिल्लो तला वा छुट्टै घरमा यौन धन्दा चलाएको समेत भेटिएको पनि तामाङ बताउँछिन् ।

ब्युटीपार्लर र हेयर सैलुनहरू पनि यो व्यवसायमा सम्पर्क सूत्र बनेको पाइएको छ । गौशालाका होटल र गेस्टहाउसहरूमा भारतीय महिलाहरू समेत भेटिएको र उनीहरूले आफ्नै इच्छाले यो काम गरेको बताएको तामाङको भनाइ छ ।

स्थानीय सरकार, प्रशासन र यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले अनुगमन बढाएपछि यौन व्यवसाय चलाउनेहरूले नयाँ–नयाँ उपाय अपनाउने गरेका छन् ।

यौनशोषणमा परेका बालिकारकिशोरीहरूको क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको संस्था ‘चेन्ज नेपाल’ की वर्षा लुइँटेल भन्छिन्, “होटल, खाजाघरहरूमा अनुगमनमा जाँदा पहिले जसरी महिलाहरू भेटिंदैनन् । होटलहरूले यौनकर्मी महिला र ग्राहकहरूको फोन नम्बर राखेर एजेन्टको काम मात्र गर्न थालेका छन् ।”

भयावह आन्तरिक बेचबिखन

शक्ति समूह लगायतका ६ वटा संस्थाले गरेको ‘मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरूको न्यायमा पहुँच र श्रम अवस्था अध्ययन, २०७४’ ले होटल र रेस्टुरेन्टमा काम गर्ने श्रमिकलाई यौनशोषणसँगै श्रमशोषण पनि गरिने निष्कर्ष निकालेको छ ।

अध्ययन अनुसार, देशभर ‘मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र’ मा काम गर्ने महिला र पुरुष सहित करीब ६० हजार श्रमिकमध्ये आधाले मासिक पारिश्रमिक रु.४ हजारदेखि रु.८ हजारसम्म मात्र पाउँछन् । उनीहरूलाई ‘ग्राहकबाट टिप्स र कमिसन पाइने’ लोभ देखाएर पारिश्रमिक थोरै दिइन्छ ।

राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७६’ का अनुसार, नेपालमा महिलारबालबालिका सहित करीब ३५ हजार जना बेचबिखनमा परेका छन् भने बेचबिखनको जोखिममा १५ लाख छन् ।

प्रतिवेदनले ‘मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र’ मा कार्यरत १६ हजार महिला तथा बालबालिका बेचबिखनको जोखिममा रहेको अनुमान गरेको छ ।

तर, ओसारपसार र बेचबिखनको समग्र तथ्याङ्कमा देशभित्रको आन्तरिक बेचबिखनको तथ्याङ्क आयोगसँग छैन । आयोगकी मानवअधिकार अधिकृत यशोदा बञ्जाडे यस क्षेत्रमा कति कार्यरत छन्, कति जोखिममा छन् भनेर आयोगले अध्ययन गर्न नसकेको स्वीकार्छिन् ।

अन्तर्राष्ट्रिय गैरनाफामूलक सङ्गठन द फ्रिडम फण्ड र न्यू एराले गरेको ‘काठमाडौंको वयस्क मनोरञ्जन क्षेत्रमा नाबालिगको अवस्था २०१९’ का अनुसार रेस्टुरेन्ट, डान्सबार, मसाज पार्लर जस्ता १२०० भन्दा बढी ठाउँमा काम गरिरहेका ५० हजारभन्दा बढी कामदारमध्ये ८० प्रतिशत महिला छन् । तीमध्ये ६८ प्रतिशतले कार्यस्थलमा यौनशोषणको वातावरण भएको बताएको अध्ययनमा उल्लेख छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरमा आर्थिक वर्ष २०७४/७५ मा मात्रै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका सात वटा मुद्दा दर्ता भएका छन् । यी सबै मुद्दा होटलरगेस्टहाउस संचालक विरुद्ध परेका छन् ।

विभिन्न तथ्याङ्कले बेचबिखन सीमापार भन्दा नेपालभित्रै बढी भएको देखाएको छ । यद्यपि प्रहरीमा परेका मानव बेचबिखनका जाहेरीहरू आन्तरिक वा सीमापार बेचबिखन भन्ने नखुट्याई एकमुष्ट राख्ने गरिएको छ ।

देशभित्र हुने बेचबिखन केही मात्रामा घरेलु काम तथा ईंट्टाभट्टाको मजदूरीका हुने गरेको पाइए पनि प्रहरीको जाहेरी हेर्दा अधिकांश यौन व्यवसायकै लागि प्रयोग भएको महिलारबालिकाहरूको अधिकारका लागि कार्यरत संस्था छोरी की अध्यक्ष हीरा दाहाल बताउँछिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७५’ ले आर्थिक वर्ष २०७४/७५ मा आन्तरिक, सीमापार, तेस्रो मुलुकमा गरी बेचबिखन तथा ओसारपसारका ५४६ वटा घटना भएको र त्यसमध्ये ४२७ घटनामा महिला पीडित भएको सार्वजनिक गरेको छ । त्यसमा आन्तरिक बेचबिखनमा परेका महिलारबालिकाको संख्या सबैभन्दा बढी छ । (हे.इन्फो)

मन्त्रालय, मानवअधिकार आयोग र महिलारबालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका अनुसार आन्तरिक रूपमा भइरहेको बेचबिखन सबैभन्दा बढी मनोरञ्जन क्षेत्रमा भएको देखिन्छ । घरेलु श्रमका लागि भनेर पनि बालिकाहरूको ओसारपसार हुने गरेको छ ।

यद्यपि आन्तरिक बेचबिखन कहाँ कसरी भइरहेको छ भन्ने समग्र अनुसन्धान भएको छैन । यस्तै, कानूनको कार्यान्वयन नहुँदा र मनोरञ्जन क्षेत्रबारे कानून नबन्दा आन्तरिक बेचबिखनका घटना नियन्त्रण हुनसकेको छैन ।

एकीकृत कानून नहुँदा समस्या

यौन व्यवसाय गराउनेमाथि ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ अनुसार कारबाही हुने गरेको छ । यही ऐनले यस मुद्दालाई पहिलो पटक सरकारवादी मुद्दा बनाएको हो ।

कानूनले १८ वर्षमुनिका बालिकासँगको यौन सम्बन्धलाई दण्डनीय मानेको छ । तर, होटल, गेस्टहाउस आदिमा काम गर्ने श्रमिकहरू १८ वर्षमुनिका उल्लेख्य संख्यामा रहेको र तिनलाई यौन व्यवसायमा लगाइएको गैरसरकारी संस्थाहरूको अध्ययनमै देखिएको छ ।

बालबालिकामाथि हुने यौनशोषणलाई बालअधिकार महासन्धि, विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, राष्ट्रसंघीय निकाय युनिसेफ लगायतले परिभाषित गरेका छन् । तर नेपालले होटल, डान्सबार आदि क्षेत्रको लागि छुट्टै कानून बनाएको छैन ।

होटल, डान्सबार आदि क्षेत्रमा भएका कानूनी व्यवस्थाका विषयमा अध्ययन गरिरहेका काठमाडौं स्कूल अफ लका सहप्राध्यापक कपिल अर्याल एउटै कानून नहुँदा र कार्यान्वयन गर्ने निकाय नतोकिएकै कारण यो व्यवसायमा यौनशोषण एवं श्रमशोषण भइरहेको बताउँछन् ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ (३) ले बाल यौनशोषण गर्ने वा गराउने, वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने लगायतलाई बाल यौन दुव्र्यवहार मान्दै त्यसलाई दण्डनीय भनेको छ । यस्तै, श्रम ऐन, २०७४ ले यस प्रकारको कामलाई निकृष्ट मानेको छ ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ ले पनि कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गर्नुलाई दण्डनीय मानेको छ । संविधानको मौलिक हक अन्तर्गत धारा २९ को ३ र ४ मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा (बँधुवा) बनाउन तथा इच्छा विपरीत काममा लगाउन नपाइने उल्लेख छ ।

त्यस्तै, धारा ३४ (१) ले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने भनेको छ भने धारा ३८ को महिलाको हक अन्तर्गत उपधारा (३) मा महिला विरुद्ध कुनै शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक र अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने र गरिए दण्डनीय र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने उल्लेख छ ।

धारा ३९ को बालबालिकाको हकको उपधारा ४ र ५ ले कुनै पनि बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाइने र गैरकानूनी ओसारपसार गर्न वा बन्धक राख्न नपाइने भनेको छ ।

श्रम ऐनमा पनि जबर्जस्ती श्रम निषेध र दण्डनीय बनाइएको छ । यस्तै, कार्यस्थलमा हुने यौन दुव्र्यवहार (निवारण) ऐन पनि कार्यान्वयनमा छ । तर भएका कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा बेचबिखन र शोषणको समस्या नियन्त्रण बाहिर रहेको जानकारहरू बताउँछन् ।

मनोरञ्जन क्षेत्रका श्रमिकको अवस्था सम्बन्धी अध्ययन गरेका मिलन धरेल भन्छन्, “भएका कानूनको कार्यान्वयन फितलो हुँदा मनोरञ्जन तथा सत्कार सेवाका क्षेत्रमा महिलारबालिका श्रमिकहरू जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् ।” सर्वोच्च अदालतले होटल लगायतको क्षेत्रमा यौन उत्पीडन हुने ठहर गरेको ११ वर्ष पुग्दैछ ।

यस क्षेत्रका श्रमिकहरूको सुरक्षाका लागि २०६२ सालमा परेको रिटमाथि तत्कालीन न्यायाधीशहरू बलराम केसी र कल्याण श्रेष्ठको इजलासले मनोरञ्जन क्षेत्रका श्रमिक महिलाहरूले असुरक्षित अवस्थामा काम गरिरहेकाले नियमनका लागि कानून बनाउनुपर्ने आवश्यकता औंल्याएको थियो ।

यस्तो कानून बनाउन समय लाग्ने भएकाले सर्वोच्चबाट ‘श्रमजीवी महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्सबार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण निर्देशिका, २०६५’ जारी गरिएको थियो ।

रिट निवेदकमध्येका एक, अधिवक्ता राजु चापागाईं भन्छन्, “यस व्यवसायमा सहज पहुँच र कुनै शैक्षिक योग्यता वा सीप नभए पनि काम पाउने भएकाले महिलाहरूको संख्या बढ्दो छ, यसैकारण जोखिममा पर्नेको संख्या पनि थपिंदो छ ।” यस क्षेत्रमा चुनौती बढ्दै गएकाले छुट्टै ऐन वा श्रम ऐन अन्तर्गत नियमावली बनाउन जरूरी भइसकेको उनी बताउँछन् ।

‘स्थानीय सरकार चनाखो बन्नुपर्छ’

थममाया थापा, तत्कालीन मन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक

महिला तथा बालबालिका बेचबिखनको जोखिम न्यूनीकरणका लागि स्थानीय तहको भूमिका प्रभावकारी हुने भएकाले अब स्थानीय सरकारहरू नै अग्रसर हुनुपर्छ । बेचबिखनको जोखिम बढी भएका जिल्ला र स्थानीय तहसँग मन्त्रालयले नै समन्वय गर्छ ।

सबैभन्दा पहिला वडा सरकारले आफ्नो ठाउँका नागरिक कहाँ छन्, कहाँ जान्छन्, कुन परिवारका सदस्यहरू कहाँ कस्तो अवस्थामा छन् भन्ने विस्तृत अध्ययन गर्नुपर्छ । स्थानीय तहले सबै वडालाई यस्तो विवरण संकलनको जिम्मा दिएर लगत तयार पार्नुपर्छ ।

मनोरञ्जन भनिएको क्षेत्रमा हुने महिला र बालबालिकाको ओसारपसार र प्रयोग, यौनशोषण, यौन व्यवसायबारे स्थानीय सरकारले नै नियमित अनुगमन र कारबाही गर्नुपर्छ ।

अर्को कुरा, जोखिममा पर्न सक्ने संभावित समूहका लागि स्थानीय क्षेत्रमै जीविकोपार्जनको व्यवस्था मिलाउनुपर्छ । जनचेतनामूलक कार्यक्रम व्यापक पार्नुपर्छ । यस्तै, अनलाइन सामाजिक सञ्जालको प्रयोगबारे पनि सचेतना आवश्यक देखिएको छ ।

किनकि, केही वर्षयता महिला तथा बालिकाहरू फस्ने जोखिमपूर्ण माध्यम यही सामाजिक सञ्जाल नै बनेको छ । सामाजिक सञ्जाल । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन गर्नुपर्ने देखिएकाले यसबारे सरोकारवाला पक्षहरूसँग छलफलको तयारी भइरहेको छ । साभार : हिमाल खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: