साबित्री थापाः एउटा चुपचाप संघर्ष


प्रकाशित मिति :2019-11-20 17:28:38

-बिमला तुम्खेवा-

सावित्री थापा, नेपालको महिला आन्दोलनमा एक हस्ताक्षर । पचास वर्षदेखि महिला अधिकारको क्षेत्रमा निरन्तर क्रियाशील उनी केही गर्न चाहानेका लागि प्रेरणाकी प्रतिमूर्ति पनि ।

महिलाहरू घरबाट बाहिर निस्कन पाउन कहाँ सम्भव थियो र, त्यो बेला । महिलाले उच्च शिक्षा हासिल गर्नुलाई ठूलै उपलब्धी मानिन्थ्यो । छोरीलाई पढाउदै नपढाउने त्यो बेलामा आफ्नो नाम लेख्न सिके त भैहाल्यो नि भनिन्थ्यो । केही गरेर महिलाहरूले पढे भने दिउँसोको जागिर गर्नसम्म छुट हुन्थ्यो । अनि त्यस्तो जमानामा एउटा महिलालाई सामाजिक क्षेत्र रोज्नु सहज थियो होला त ? अहँ फलामकै चिउरा चपाउनुसरह भन्दा हुने ।

छोरी भनेको अर्काकै घरको भित्ता टाल्ने जात हो भन्ने सामाजिक मान्यताका बावजुद पनि साबित्रीलेचाहिँ पढ्न पाइन् । त्यसर्थमा उनी निकै भाग्यमानी महिला । त्यसका लागि बुबाको साथ र हौसला महत्वपूर्ण रह्यो । जसले गर्दा उनलाई सामाजिक क्षेत्रमा आउन सहज भयो ।

वि.स. २००९ सालमा पहिलोपटक नगरपालिका गठन भएपछि बुबा गोविन्दहरी जङ्गम भक्तपुर जिल्लाको पहिलो नगर प्रमुख भए । आमा जमुना जङ्गमचाहिँ गृहिणी । दुई आमामध्ये साबित्रीचाहिँ जेठीपट्टीको पहिलो सन्तान । १० जना दाजुभाई । त्यसैले उनले सानै उमेरमा ठूलो जिम्मेवारी ब्यहोर्नु पर्यो ।

६० वर्ष अघि काठमाडौं उपत्यकामा आजको जस्तो धुलो र धुवाँ थिएन, शान्त गाउँ जस्तै थियो काठमाडौं । घरहरू निकै पातला थिए । पुसको महिनामा पुरै हिउँ पर्ने । सिंहदरबार वरिपरी खेतैखेत । बाटो वरिपरी लहरै रोपिएका रुखहरूले साँच्चिकै सुन्दर देखिन्थ्यो काठमाडौं । सडकमा हिँड्दा बेग्लै आनन्द । बानेश्वरबाट डिल्लीबजार पढ्न आउदा खेतको आलीको गोरेटो बाटो हुँदै आउनु जानु पथ्र्यो । सडकमा एकदमै पातला, त्यो पनि राणा र शाहहरूका मात्र मोटर देखिन्थे । रेडियो त हुने खानेको घरमा मात्रै । यो, त्यो बेलाको कुरा हो जुनबेला साबित्री थापा भक्तपुरबाट उच्च शिक्षाको निम्ति काठमाडौं बानेश्वरको घरमा आईन्, जहाँ उनकी कान्छी आमा बस्थिन् । भक्तपुरबाट काठमाडौं आउन दिन बित्थ्यो । थापा पढ्नकै लागि आएकी थिईन्, काठमाडौं ।

भाईमध्ये भरत जङ्गम उनको मिल्ने साथी । अर्को भाई दिपक जङ्गम पनि नेपालको नाम चलेकै संगीतकार । श्रीमान् भोलामानसिंह थापा जमानाको राजनीतिज्ञ । पछि बन मन्त्रीसम्म भए । दुई सन्तान छोरा सुदिपसिंह थापा र छोरी भावना थापा दुबै व्यवस्थित छन् । दुबैतिर गरेर चार नातिनातिना ।

२०२० सालमा राजनीति शास्त्रमा स्नातकोत्तर गरेपछि २०३६ सालमा कानूनतर्फ स्नातक गरिन् थापाले । २०१८ देखि २० सालसम्म राजनीति शास्त्र संघ त्रिभुवन विश्वविद्यालयको उपाध्यक्ष हुँदै अध्यक्ष भएर काम गरेको अनुभव छ उनीसँग । थापाले राजनीति शास्त्रमा एम.ए गर्दा नेपालमा औलामा मात्र गन्न सकिने महिलाहरू थिए । त्यसमा पनि कम उमेरमा एम.ए पास गर्ने थापा नै पहिलो महिला हुन् ।

कलेज पढ्न आउदा जाँदा फलानाको छोरी हो भनेर नचिन्ने त अत्यन्तै कम थिए । २० सालपछि २०३६ सालमा कानूनतर्फ त्रि.बि बाट स्नातक गरिसक्दा उच्च पदमा आउन सरकारले गरेको आग्रहलाई पटकपटक लत्याइन् उनले । बरु सामाजिक क्षेत्रमा लागिन् । यो निर्णय आफैसँगको निकै ठूलो च्यालेन्ज थियो । सरकारी सेवामा गएको भए आज नेपालको पहिलो सचिव थापा नै हुने थिईन् । यो कुराचाहिँ उनले भनेकी होइनन्, उनकी समकालिन् साथी अग्रणी महिला अधिकारकर्मी तथा नेता कमल राणाले भनेकी हुन् ।

थापा भन्छिन् “तर केही गुनासो छैन । जरुरी त्यो बेला महिलाकै क्षेत्रमा काम गर्नुपर्ने थियो ।” करिअरको सुरुका दिन साझामा वेलफेयर अफिसर हुँदै साझा स्वास्थ सेवा प्रालिको महाप्रबन्धक भइन् (२०३७ देखि ४२ सम्म) उनी । उनकै संलग्नतामा तत्कालिन गृह पञ्चायत मन्त्रालय अन्तरगत समाज कल्याण शाखा स्थापना भयो । जसको प्रमुख थापा भइन् । सोही शाखा पछि आएर महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा परिणत भयो ।

यस्तै शरणार्थी बसोबास, दैवी प्रकोप तथा उद्वार कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्रमुखमा रहेर काम गरेका अनेकौ अनुभव छन् उनीसँग । उहाँकै पालामा बसेका तिब्बती शरणार्थी अहिले पनि एकान्तकुनामा छन् । त्यस्तै साझा केन्द्रीय बोर्डमा २०४२ देखि ४८ सम्म पहिलो महिलासदस्य सचिवको रुपमा काम गरिन् । महिला तथा बिकास केन्द्रमा २०३८ सम्म संस्थापक संचालक तथा कार्यकारी निर्देशक र २०५४ देखि २०५८ सम्म महिला बाल तथा सामुदायिक विकास केन्द्रमा अध्यक्ष लगायत अन्य धेरै संस्थामार्फत सामाजिक क्षेत्रहरूमा उनले पुर्याएको योगदान र संघर्षका कथा आज पनि गुमनाम छ ।

महिला र बालबालिकाको क्षेत्रमा काम गरेकै कारण उनले अन्तर्राष्ट्रियस्तरमा भएका विभिन्न गोष्ठि तथा सेमिनारहरूमा पनि भाग लिने अवसर पाइन् । यस क्रममा उनी अमेरिका, हङकङ, पोल्याण्ड, श्रीलंका, इण्डोनेसिया, बंगलादेश, पाकिस्तान र भारत लगायत दर्जनौं देश पुगिसकेकी छन् ।

अंगुरबाबा जोशी, कमल राणा, सहाना प्रधान लगायत अग्रणी महिलासँगको लामो सहकार्यको अनुभव पनि छ उनीसँग । अत्यन्तै शान्त स्वभाव र मिलनसार व्यवहारकी थापा साहित्यमा पनि कलम चलाउँछिन् । उनका कविता संग्रह, संस्मरण लगायत नौ ओटा कृति प्रकाशित भइसकेका छन् । ति कृतिको ईतिहासमा कुनै दिन पक्कै मुल्यांकन होला ।

भगवत् गीतामाथी आफ्नै विश्लेषणात्मक अभिव्यक्ति र पुनरव्याख्यासहित त्रिवेणी खन्डकाव्य पनि लेखेकी छिन् उनले । “हामी जुन समयमा यो क्षेत्रमा आयौं, उसबेला विश्वमा नै महिलाको सरोकारको मुद्दालाई कसरी स्थापित गर्ने भन्ने ठूलो चुनौती थियो । अहिलेजस्तो डोनर र अन्तर्राष्ट्रिय परियोजनाहरू थिएनन् । हामीले काम गर्दा ईच्छा शक्तीको बलमा काम गथ्र्यौ । धेरै ठूलो ईनर्जी थियो”, उनले विगत सम्झिइन् ।

उनको बुझाइमा यो पाँच दशकमा आएको सबै भन्दा ठूलो परिवर्तन छोरीलाई समान शिक्षा दिनुपर्छ भन्ने सोचको विकास भयो । यो जागरणप्रति जति नै धन्यवाद भन्दा पनि कम हुने उनी बताउँछिन् । “हामीले थालेको अभियानको सबै भन्दा ठूलो सफलता यही होˮ उनले भनिन्, “अब अर्को चरणको सफलता प्राप्तिको निम्ति अग्रणी महिलाहरू पार्टी र दल भन्दा माथि उठेर महिलाको मुद्दामा एक भए परिमाण अझै छिटो र उत्कृष्ट आउछ ।ˮ यो समय महिलाले काम गरेर आफ्नो क्षमता देखाउने हो भन्छिन्, उनी । “संसारभरि अबको युद्व महिला र पुरुषबीचको असमान शक्ती सन्तुलनबीच हुनेछ, महिला माथी भएको विभेदका विरुद्ध हुनेछ” थापाले भनिन् ।

थापा शान्ति आश्रम, जेष्ठ नागरिक सेवा संस्थानको संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक हुन् । हाल महिला सुरक्षा दवाब समूहको अध्यक्ष पदमा रहेर काम गरिरहेकी थापामा यो उमेरमा पनि त्यतिकै जोश छ, जागर छ । ७६ वर्षको उमेरमा पनि अनुहारमा चमक र शरीरमा उर्जा हुनुको रहस्य के त ? उनले प्रष्ट्याइन्, “हरेक बिहान एक घन्टा पूजापाठ गर्छु । सकारात्मक विचार बोकेकी छु । यसले मान्छेलाई तनाबमुक्त बनाउछ ।ˮ

देश र समाजका लागि यति धेरै भूमिका अनि जिम्मेवारी निर्वाह गरेकी साबित्रीले आफ्ना लागिचाहिँ कसैसँग केही मागिनन् त ? प्रश्न खस्न नपाउँदै उनले सम्झिइन्, “मलाई न पद चाहिएको, न पावर । अनि किन माग्नु ?ˮ उनले उल्टै प्रश्न छोडिन् ।

महिला अधिकारको क्षेत्रमा यति लामो समयदेखि काम गरिरहेकी उनी महिला तथा बालिकामाथि भइरहेका बलात्कारका घटना सुन्दा हृदयबाटै दुःखी हुन्छिन् । “अझ बालिकामाथीको बलात्कार सुन्दा त धेरै डिस्टब हुन्छु । यो भन्दा विभत्स घटना अरु के हुन सक्छ र ?” प्रश्नसहित केही पल मौन रहिन् उनी ।

६ वर्षकी बालिका बलात्कारको घटनाले जन्माएको हो, महिला सुरक्षा दवाव समूहलाई । सम्पत्तिमा महिलाको समान अधिकार, जनसंख्याको आधारमा राजनीतिमा महिला सहभागिता, सत्ता संरचना र निर्णायक तहमा महिला सहभागिता हुनैपर्छ भन्ने दवाव समूहका प्रमुख एजेन्डा थिए । यी मध्ये केही त कार्यान्वयन पनि भए । “म जिउँदै हुँदा यी सब देख्न पाएँ, निकै खुशी छुˮ उनको अनुहारका खुशीमा रेखाहरू देखिए ।

देश र समाजका लागि यति धेरै भूमिका अनि जिम्मेवारी निर्वाह गरेकी साबित्रीले आफ्ना लागिचाहिँ कसैसँग केही मागिनन् त ? प्रश्न खस्न नपाउँदै उनले सम्झिइन्, “मलाई न पद चाहिएको, न पावर । अनि किन माग्नु ?ˮ उनले उल्टै प्रश्न छोडिन् । तर परिवारको सहयोगचाहिँ उनलाई मिलेकै हो, जुन संजोग भन्नुपर्छ । उबेला पनि घरमै पढाउने मास्टर थिए उनलाई । तर त्यो बेलाका छोरीहरू उनीजस्तै भाग्यमानी त कहाँ हुनु र ? कसमेत चिन्न पाउदैनथे ।

छोराछोरी हुर्काउदै, घर व्यवहार एक्लैले थामिन् । अहिले श्रीमान्लाई अल्जाईमर (बिर्सने रोग) छ । सेन्सलेस भएकै नौ वर्ष भयो । आफ्नै शरीरलाई साथ र सहयोग चाहिने यो उमेरमा अर्को एउटा ज्यानका लागि खटिरहनु पर्दाको विवशता उनैलाई थाहा होला । तर पनि जीवनसाथीको पीडालाई आत्मसात गरेकी उनले कुनै खालको झर्को व्यक्त गरिनन् ।

दुःख नदेखाउने, सधैं हाँसिरहने साबित्रीलेचाहिँ कहिल्यै दुःख भोगिनन् त ? जिज्ञासामा उनले थपिन्, “त्यस्तो त कहाँ सम्भव हुनु र । मेरो जीवन पनि राजकुमारीको लोक कथाभन्दा त कहाँ कम छ र ? कतिपय कुराहरू भने मान्छेले मरेर जाँदा सँगै लिएर जानुपर्दोरहेछ ।” यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: