भ्यालेनटाईन डे, साकुरा र तिम्रो मेरो कथामा मारिया सानहरू


कथा

प्रकाशित मिति :2019-11-19 13:36:53

आज फेरि माघे झरी पर्‍यो । भर्खर अस्ती मात्र त हो पुसे झरी परेको । लागेको थियो अब चिसो खत्तम, गर्मी सुरु । धत् फेरि प¥यो त पानी । उहुहु जाडो त के सारो हौ । थिरथिराउँदै म सिरकभित्र गुटमुटिएँ । आफू मात्र स्वतन्त्र पत्रकार, बेतलवी काम गर्ने श्रमजीवि । त्यसैले धेरै जिम्मेवारी भएता पनि काम सकाउन त्यति सारो हतारो छैन । तर काम चोर र अल्छे भने म होईन है ।

हो आज भ्यालेनटाईन डे । प्रेमीहरूले एक अर्कासंग प्रेम साट्ने र मन परेकालाई प्रेम प्रस्ताव राख्ने दिन । अचेल किन हो यस्ता प्रेममय दिवसहरूका बारेमा मलाई खासै चाँसो हुदैन । बिहानदेखि परेको झरी न मेरो लागि रोमान्स बनेको छ, नत खास नै । बरू यी यस्ता दिनहरू म बिर्सन खोज्छु, बिर्सेको राम्रो लाग्छ भनम् ।

हो यस्तै झरीलो दिन थियो, म हिसाईबाट काम छोडेर तिम्रामा आउँदा । चुमा डेढ घण्टा ट्रेन कुरे पश्चात म खुवानामा हाम्रो अर्पाटतिर हानिएँ । मन एकोहोरो थियो । केही खुशी र दुःखका भाव उतार चढावमा म विगतका जापान बसाईका सुख दुःखलाई हिसाब किताबमा जोड्दै थिएँ । रातको आठ बज्दै थियो, झम्झम् पानीमा सेकी खामेयामा हुँदै ट्रेन हुँइकिरहेको, कानमा हेडफोनमा गुञ्जी रहेको गीत, ‘तिमीलाई म भुल्न सक्दिन, जहाँ जाउँ तिम्रो याद आईरहन्छ, मेरो नेपाल मेरो नेपाल….।’

हो रुझिलो रातमा मलाई मेरो नेपालको सम्झनाले निकै अत्यायो । लाखौंको कमाई र सुविधा सम्पन्न यो सुकिलो देश मलाई खासै आकर्षक लागेन र गन्तव्य बन्न सकेन । लाखौं नेपालीसहितको यो आप्रवास मात्र मेरो लागि कर्मथलो बन्यो, तर जीवनको ध्यय र गन्तव्य बन्न सकेन । किन किन यो मन संधै नेपाली नै बन्ने गर्छ मेरो । म मात्र होइन, सबै नेपाली आप्रवासीहरूका आँखा र हृदयमा म नेपालको बासना देख्ने गर्छु । विशेष परदेशका मानवताविहीन भाकाहरूमा नेपाली माटोको हरहराउँदो वासनाले अधिकाँस नेपालीहरू हुरुक्क भएको देख्छु । नेपालमा हुँदा विकासको नाममा पनि भूगोल र जाति विशेषको गन्धमा रुमल्लिएका जमात पनि किन हो परदेशमा त एक अर्काका पुरुक जस्तै बन्छन्, हुन्छन् । शायद आफ्नोपन र आफ्नोको भावना जगाउन, हुर्कन एकपटक परदेशी माटोमा विदेशी गाईजिन हुँदाको दुःख बेहोर्न पर्ने नै हो कि, सोच्न आउछ कैले कैले । राजु लामाका देश भक्तिका गीतमा बहकिँदै लामबद्ध ट्रेनहरूको आगमन र त्यसको प्रकाशले झरीका पानीहरूमा परेका झिल्कामा भिज्दै ट्रेन हुँइकिरह्यो ।

ओहो अब त अठार दिन बाँकी मेरो नेपाल फर्किने । किन्नु त खासै छैन । तर नानीहरूका लागि कपडा फाटा लिन बाँकी नै छ । कपडा सम्झिने बितिक्कै मलाई मारियाको याद आयो । काम छोडेर आउँदा मेरो हातमा तीन मान राख्दै, खोदोमोनाका वके ? भन्दै अंगालो हालेकी थिईन, नचाहेर पनि मेरा नयन द्रवित बने । मारिया सान ।

हो मारिया उनको नाम । थर केहो थाहा छैन, चासोको विषय नि बनेन कहिले । आमा जापानीज बुबा ब्राजिलका । दोश्रो विश्व युद्धमा लाखौंका संख्यामा जापानीजहरू विस्थापित बने । युद्धको मारमा विस्थापितका लर्कोमा मारियाकी आमा पनि परिन ब्राजिलतिर । अहिले युद्ध सकिएको पनि आठ दशक भइसक्यो । जापानमा विकास तिव्र गतिमा उकालिएपछि द्वन्द्वका कारण विस्थापित आफ्ना नागरिकलाई जापान फर्काउन र विकास कार्य उद्योग धन्दामा सघाउन नागरिकलाई स्वतन्त्र रुपमा आफ्नो देश आवत्जावत् गर्न खुल्ला वातावरण दिने गरेको छ । त्यसैले त थुप्रै मारियाहरू आफ्नो थातथलो फर्किदै देश विकासमा सघाउँदै छन् । देश क्रमस उँभो लाग्दै छ ।

मारियाका कथाहरू सम्झिरहँदा मेरो मन अनायासै अमिलो बन्यो । नेपालको दश वर्षे सशस्त्र द्वन्द्वको मारमा मारिया जस्तै लाखौंका संख्यामा परदेशिएका नेपाली चेलीहरूका बारेमा मेरो नेपालका नेताहरूलाई भने यो नजीर उल्टो बनेको छ । अहिले सुन्छु, द्वन्द्व सल्टिएको १२ वर्ष बितिसक्दा पनि नेपाल सरकार जापान लगायत तेश्रो राष्ट्रमा आफ्ना नागरिक श्रमिकका रुपमा भर्ना गर्न गराउँन तँछाड मछाड गर्दैको स्थितिमा छ । त्यसमा पनि नातागोता आफन्त इष्टमित्र, साली साला कार्यकर्ता क–कसका भागमा पुग्ने हो वा होईन मात्रैको चिन्ता । आम पहुँचविहीन नेपाली हेरेको हे¥यै । धन्य नेपाल ! धन्य नेताका नीति ! आखिर नीति नै त रहेछ, कोइ अर्काको देश बनाएर पेट पाल्छ, कोइ अर्काको पेट पालेर देश बनाउँछ । फरक नीति र सोचकै त रहेछ नि ।

हो मारिया तिनै विस्थापितकी छोरी । उमेरले पचास टेकेकी भए पनि खान्की र स्वस्थ्य जीवन शैलीले होला उनी भर्खर ३५ टेकेजस्ती । अग्लो र गोरो वर्णको शरीर । हमेसा काममा दरिइरहने । सफा चिटिक्क परेर बस्ने, उज्यालो हँसिली, फरासिली मारिया । हाम्रा टीम लिडर । काममा एक दम अनुशासित । उनी हामीलाई हरेक दिन काम शुरु गर्नु भन्दा अगाडिको व्यायाम पश्चात् सम्झाउँथिन्, सम्झ यो तिम्रो कम्पनी हो । यो तिम्रो काम हो । यो बिग्रे मेरो काम बिग्रन्छ, मलाई घाटा हुन्छ । मेरो कम्पनी डुब्छ, यस्तै यस्तै । हामी मनमनै त्यस्तै दोहो¥याउँथ्यौं । त्यसैले होला हामी श्रमिकहरू कम्पनीको कामलाई बडो प्रेमपूर्वक सल्टाउँथ्यौं । बिग्री हाले नडराई सजाय खान तयार हुन्थ्यौं । काम बिग्रदा कहिले गाली मात्र गर्थे, कहिले सजाय पनि पाईन्थ्यो । यो नियम सबैमा लागु हुन्थ्यो के जापानीज, के गाईजीन (विदेशी) । सबैलाई एउटै नियम एउटै सजाय । अनि कहिले कम्पनीलाई नाफा हुँदा मिठाईका बक्सा आउथे । नभए कम्तीमा जुस ओच्या वा कफी । जे होस् काम गर्ने वातावरणमा आफ्नोपन थियो । कामको बोझ जति भए पनि मालिक र मजदुरको भावना र दुरी नरहँदा कामको थकाई भुलिन्थ्यो पनि । मारियाको काम गराई र उर्जा देख्दा गजब लाग्थ्यो ।

म गर्वका साथ श्रीमानसंग प्रेम साट्थें । शायद चारियाचाहिँ मरेर बाँच्दै बाँच्नका लागि मर्दै प्रेम साट्थिन् । बिचरी ! दिनभर खाइसाको काम पश्चात म श्रीमान्संग दुःख सुख बाँड्थें । उनलेचाहिँ कहिले आफ्ना दुःख दर्द साट्न सक्दिनन् । न त कथित प्रेमीसंग, न कामदारसंग । जसले उनलाई प्रेमिकाको दर्जा भन्दा माथि कहिल्यै राख्दैन र राख्ने आँट पनि गर्दैन ।

बिचरी मारिया ! सन्तान नभएकै कारण पतिबाट परित्याग गरिएकी । मारियाका आफ्नै कथा छन्, व्यथा छन् । उनका प्रेमी एजेरुका कथा पनि कम मार्मिक छैनन् । आमाद्वारा परित्याग गरिएका एंजेरु (एंजेल)सडक बालकका रुपमा हुर्किए । टुरिष्ट भिसामा जापान भित्रिएका एजेरु मारियासंगको प्रेममा यतैका बने । भिसा छैन, बिहे गर्न मारिया मान्दैन । शायद पहिलो पतिको परित्यागले गहिरिएको मारियाको घाउ अझै पुरिएको छैन । किन बिहे नगरेको भन्दा भन्छिन् “हामी संगै त छौं, बिहे किन गर्नु प¥यो ?” मारियाको दुःख मिसिएको चिसो जवाफ ।

दुई वर्ष जापान बसाईमा थुप्रै मारिया भेटिए । ती मध्य केही नेपाली थिए त केही विदेशी । तर ब्राजिल र जापानीको रगतको सम्मिश्रित यो मारिया मेरो मनमा गहिरिएर बसिन् । उनी मेरी आमा थिईन् एक हिसाबले । मारिया फगत कसैकी प्रेमिका । कसैकी उधारो मन बहलाउने साथी । कामदार महिला स्वदेशी होस् वा विदेशी सबैका काउन्सुलर उनी । म मनमनै दुःखी बन्थे, उनको जीवनलाई मनन् गर्दै । कहिलेकसो भावुक बन्थें, आखिर म पनि त महिला थिएँ, परदेशिन बाध्य पारिएका र परेका मध्य ।

म गर्वका साथ श्रीमानसंग प्रेम साट्थें । शायद चारियाचाहिँ मरेर बाँच्दै बाँच्नका लागि मर्दै प्रेम साट्थिन् । बिचरी ! दिनभर खाइसाको काम पश्चात म श्रीमान्संग दुःख सुख बाँड्थें । उनलेचाहिँ कहिले आफ्ना दुःख दर्द साट्न सक्दिनन् । न त कथित प्रेमीसंग, न कामदारसंग । जसले उनलाई प्रेमिकाको दर्जा भन्दा माथि कहिल्यै राख्दैन र राख्ने आँट पनि गर्दैन ।

सेप्टेम्बरको साँझ म काम सक्न हतारमा थिएँ । घडीमा कतिबेला पाँच बज्ला हेर्दै हतार हतार सामान समेट्दै गर्दा मारिया दगुर्दै आईन् र भनिन्, ‘ताईफु आउदै छ । ट्रेन स्टेशन बन्द छ । तिमी यतै आफ्नो कोठामा बस । अपार्ट नफर्क’ मारियाको उर्दी । कामदारहरू मध्य म मात्र खाइसा भन्दा दुई घण्टा ट्रेनबाट पर बस्थें । मारियाको उर्दीले मेरो मन अमिलो बन्यो । दिनभरीको कामको थकानपछि बल्ल श्रीमानसंग सुख दुःख साटासाट हुन्थे हाम्रा । विदेशमै भए पनि बिहानको चियादेखि खाजा खानासम्मकोे व्यवस्था गरेर हिँड्ने मेरो नेपालदेखिको दिन चर्या । कामको थकाईले खाने समेत मन नगरेर सुत्ने उनको बानीले मलाई सारो पिरोल्थ्यो । त्यसमाथि दिनको एक पल्ट नेपालमै छोडेका नानीहरूसंग बाबु आमा संगै बसेर बात मार्ने । उनीहरूका मिठा तिता कुरा सुन्ने, सुनाउने हामी बुढाबढीको दिन चर्यामाथि ताइफुले तगारो लाउँदा नरमाईलो बन्यो मन । मन नलागी नलागी म खाईसाको मेरो कोठामा छिरें । पल्लो कोठाकी बहिनीले माया गरेर खान बोलाईन् । गुन्द्रुक, सिन्कीको झोल, भात, सुंगुरको मासु । हरहराउँदो नेपाली घिउसहित भात पस्किदिइन् । मन अपार्टतिरै थियो, श्रीमान तिरै थियो । मन नलागी नलागी गाँस टिपेर म सुत्नतिर लागें ।

कतिबेला खुवाना पुग्यो पत्तै भएन । केही मन अमिलो त केही खुसी मिश्रीत भावसहित अपार्ट पुगें म । खोई किन हो नेपाल फर्किने दिन नजिकै होला महेशले मलाई अधिक समय दिन खोजेको महशुस गरें । उनी त कोठामा पहिले नै पुगेर खाना बनाउँदै रहेछन् । मलाई देखेर बोलें “आज वातासीमा सेल रैछ । नानीहरूका लागि राम्रा राम्रा कपडा छन् । सपिंग जाने होइन ?” अ हेरम् खाना खाएपछि मुड् कस्तो हुन्छ । हातको झोला भूइँमा राख्दै जवाफ दिएँ मैले ।

राती सुत्ने बेला किन हो फेरि मारियालाई सम्झिएँ । त्यो रात म कति बेला निदाएँ पत्तै पाइन । मारिया सान मारिया सान ……कसैको आत्तिएको आवाजले म बिउँझिएँ । आवाज माथिको कोठाबाट सम्झनाको थियो । अर्ध निद्रामा म हतपत्त उठें । तर ढोकामा पुगेर ढोका खोल्न हात लम्काएंँ तर खोल्ने हिम्मत भएन र अडिएँ । पल्लो कोठाबाट मारिया हत्तपत्त निस्केको सुनियो । आवाज कोई पुरुष र मारियाको थियो । एक छिन कोसंग मारियाको जापानी भाषामा भनाभन् भएको सुनियो । करीब १० मिनेटको गलफत्ती पछि को हो लड्खडाउँदै भ¥याङ्गबाट झरेको सुनियो । लगत्तै मोटर स्टार्ट भयो र हुँइकियो । म बिस्तारै हिम्मत गर्दै मारियालाई फोन गर्न फोन लिन टेबलतिर लम्किदै थिएँ । मेरो कोठाको ढोका ढक्ढकायो मारियाले । “कोपिला सान हायाक” …..। किन होला ? मैले सशंकित हुँदै ढोका खोलें । मारिया संगै थरथराई रहेकी सम्झना मारियाको अंगालोमा थिईन् । सानी नानी जस्तै डर र त्रासमा थिइन् सम्झना । तर किन ? तिमी यसलाई (सम्झनालाई) एक छिन समात त । भन्दै मारियाले कसैलाई फोन गरिन् ।

होइन किन नसुतेर टोलाइरा ? महेशले आँखा मिच्दै अचम्म मान्दै हेर्दै बोल्यो मसंग । परदेशी भूमीमा कतिपय घटनाहरू श्रीमानलाई भनि रहन पनि सकिन्न । आफ्नो देशमा व्यवहार मिलाउन परदेसिंदा कतिपय अप्ठ्यारा परिस्थितिहरू आईपर्छन् । कामको तनाव, सहकर्मीहरूसंगको लफडा । सबैसंग जुझ्दै काम सकेर दुई घण्टा रेल र साईकल हुँदै घर पुग्दा आँत हुरुक्कै भई सकेको हुन्छ । त्यसैले पनि होला घर पुगेर फेरि दिन भरको तनाव महेश सामु पोखेर रहेको रातलाई पनि संगीन बनाउने कतै मन हुँदैन पनि ।

बिस्तारै डराउँदै सम्झना कोठाभित्र छिरिन् । उनी घुँक्क घुँक्क रोई रहेकि थिइन् । ‘के भो खासमा ?’ मैले सोधें । ‘काम मात्र गरेर नपुग्ने, हामीलाई के सम्झेको यो मालिकले । शरीर बेच्न परे त बम्बै जान्थें नि बेचिन । किन लाखौं खर्च गरेर आउँथ्यौं र दिज्यु’ आफ्नो अनुहार हत्केलाले छोप्दै भक्कानिइन् सम्झना । एउटा महिलाका तेश्रो नेत्र पनि हुन्छ । मलाई परिस्थिति बुझन् समय लागेन । हुन त जापानीहरू महिलाहरूलाई निकै सम्मान गर्छन् । खाईसामा लैंगिक हिंसाको नामसम्म हुँदैन जापानमा । बरु संगै काम गरेका सहकर्मी र सह देशीहरूबाट पीडित हुनु पर्छ नेपाली लगायतका गाईजीन महिलाले ।

सम्झना हो उसको नाम । घर पश्चिम नेपाल । अहेब पढ्न काठमाडौं छिरेकी । माओवादी द्वन्द्व चुलेको नेपालको राजनैतिक अवस्थामा गामदेखि भागेर काठमाडौं पढ्न बसेकी । गाउँका कयौं साथी माओवादीतिर लागे । भेउ नपाउँदा आफ्नो डेरासम्म बास माग्दै आएका माओवादी साथी र दिनहुँ जस्तो सशस्त्रले शंका लागे घर घरमा आई खोतल्ने त्रसित माहोल । त्यसमाथि काठमाडौंको थेग्नै मुिस्कल महंगाई । गाउँबाट आमाले पठाएको साग, गुन्द्रुकका सुकुटी, मकै, कोदाको आटो र घर भाडा र केही नीजि खर्चलाई पठाइएको खर्चले पाहुना पाल्न कम्ता मुस्किल थिएन सम्झनालाई । सम्झना मात्र किन र ? काठमाडौंको महंगाइमा पढेर केही गर्न बसेका हरेक डेरावालको नियति र कथा यस्तै त हो । अझ बिरामी बनेर काठमाडौं जचाउन आएका पाहुनालाई अस्पताल धाईदिने र उस्तै परे कुरुवासमेत बसिदिनु पर्ने बाध्यता । काम परेर सहयोग गर्न नसकेको अवस्थामा गाम घर फर्केर ‘फलानाका छोरा, बुहारी, छोरीले त पानी पो बारुला झैं गरे गाँठे’ भन्दै कुरा काटेकासम्म सुन्न पर्ने विवशता छ–काठमाडौं बाहिरका डेरावालहरूलाई । अझ घरबेटी उस्तै विवेकहिन परेमा खानु पर्ने खप्की बेग्लै । शायद यी यस्तै कारण हुनु पर्छ सम्झनाहरू अहेबको लोभ लाग्दो भविश्य छोडेर परदेसिनुको ।

मलाई त्यति मात्र थाहा छ । अरु सोध्ने कुरा पनि भएन । व्यक्तिगत जीवन र ठाउँ ठहर सोध्ने परिपाटी छैन विदेशमा । त्यो रातभर सम्झना सुतिनन् । मैले पनि उकुसमुकुसमै रात बिताएँ । निद्रा लाग्ला जस्तो हुन्थ्यो तर छिनछिनमा सम्झनाको झस्काइले म ब्यूँझि हाल्ने । आमाको काख र बाबुको सुरक्षाबाट टाढिएर बिदेसिनु परेका सम्झनाहरू जस्ता किशारीहरूका रात शायद यसरी नै झस्केर बित्दो हो, जहाँ पनि र जहिले पनि ।

दिनभर खाइसामा जोतिएर रातमा एकछिन् एजेरुहरूसंग स्नेह बाँडेर जिउने मारियाहरूको मन हुदैन, र मन हुनु पनि हुदैन । मात्र मेसिनसंग जुधिरहने भएरै होला मारियाहरू मात्र फगत मेसिन जस्तै । अनि मनविहीन मारियाहरूमा फेरि पनि मन र विवेक हुने गर्छ सम्झनाहरूका लागि, तर फेरि आफ्नो लागि मात्र फगत मेसिन मन ।

भोली पल्ट खाइसामा कम्पनी मालिक नआएको अनुमान् मैले मेरो काम गर्ने छेउका कोठामा मालिकको खाली कुर्सी देखेर ठम्याएँ । सम्झना अपार्ट मै सुतिरहिन् । मारियाले किन हो त्यो दिन हामीलाई केही निर्देशन पनि दिइनन् । काम शुरु हुन नियमित गरिने व्यायाम र निर्देशन केही भएन । कामको बीचमा मारियाले मलाई कानमा खुसुक्क भनिन् । “कसैलाई केही नभन्नु, म पनि काम छोड्दै छु है, अब नगर्ने यता ।” शायद आफ्ना कामदार महिलामाथि मालिकले गरेको दुव्र्यवहारले निकै दुःखी थिईन् मारिया । त्यो मारिया जसलाई हरेक श्रमिकहरू एजेरुसंग लिभिंग टुगेडर गरेकै विषयलाई जोडेर चरित्रहिन भन्थे । हो मारियाले काम त छोडिनन् । तर सम्झनामाथि भएको दुव्र्यवहार विरुद्ध कम्पनी मालिकको खुलेरै विरोध गरिन् । मारिया जो आफै पीडित थिइन्, श्रीमान् र समाजबाट । तर कसैको आत्म सम्मानका लागि लडिन् । मारियाले मात्र महिला भएकैले लडिदिइन्, स्वदेशी वा विदेशी उनलाई मतलब भएन । त्यसपछिका दिनहरूमा के कस्ता घटना घटे थाहा भएन । म नेपाल फर्कें आफ्ना नानीहरूका लागि । तर जबसम्म बसें मारिया सानको गर्विलो काखमा आत्म सम्मान जोगाउँदै आफ्नो देश र परिवारका लागि आर्थिक जोहो गर्ने अवसर प्राप्त गरें । साधुवाद मारिया सान् ।

आज भ्यालेन्टाइन डे फेरि । पक्कै साकुराका फूलका कोपिला पलाउँदै होलान् जापानमा । महिला अधिकारका लागि सरोकार राख्ने कुनै संगठनसंग पनि आवद्ध छैनन् मारियाहरू । तर आफू मरेर बाँचीरहेका मारियाहरू सम्झनाहरूका सुख दुःखमा सधै बलियो खम्बा बन्ने गर्छन् । तर मारियाहरूका आफ्नै कथा कहिले लेखिदैनन् । न त खोजी हुन्छ मारियाहरूको कसैबाट ।

दिनभर खाइसामा जोतिएर रातमा एकछिन् एजेरुहरूसंग स्नेह बाँडेर जिउने मारियाहरूको मन हुदैन, र मन हुनु पनि हुदैन । मात्र मेसिनसंग जुधिरहने भएरै होला मारियाहरू मात्र फगत मेसिन जस्तै । अनि मनविहीन मारियाहरूमा फेरि पनि मन र विवेक हुने गर्छ सम्झनाहरूका लागि, तर फेरि आफ्नो लागि मात्र फगत मेसिन मन ।

कहिलेकाहीँ लाग्छ संसारमा सबैभन्दा दुःखी प्राणी महिला । विगतका राज्य सत्ताले आम जनताका भावना र माग सम्बोधन नगरेकै कारण उब्जेको दश वर्षे द्वन्द्व नहुँदो हो त सम्झनाहरूले विदेसिन बाध्य हुनु पर्थेन । अनि कहिले लाग्छ, सशस्त्र द्वन्द्वको अवसानको यो चौध वर्ष पछि पनि राज्य संयन्त्रले महिलाहरूका लागि एउटा लोभ लाग्दो व्यवसायको खाका किन कोर्दैन । अझैं किन वैदेशिक रोजगारलाई प्रोत्साहन गर्छ यो सरकार र राज्य संयन्त्र ? ‘पाले पुन्य मारे पाप’ को कसम खाएर भित्र्याएकी आफ्नी श्रीमतीलाई पैसा कै लागि किन विदेसिन बाध्य पार्छन् श्रीमान्हरू ? अनि कहिले लाग्छ, महिलाहरूलाई सोधुम् किन आफ्ना काखका नानीहरूका आँखाभरी बलिन्द्र आँसु बनाएर आफ्नो घरवारीलाई अलपत्र पारी दुई पैसा कमाउनकै लागि विदेशिन बाध्य छौ ? तिमीहरू मध्य कोइकोइ मात्र सम्झना जस्ता भाग्यमानी हुन सक्छन्, जसले मारियाहरूको स्नेह र बलियो छहारी पाउन सक्छौ । आफै जलेर प्रकाश दिने मैनबत्ती जस्ता मारियाहरू यो संसारमा धेरै कम हुन्छन्, हेक्का राख्नु । डोजो मारिया सान । आनाता किरेइ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: