निमुखाको शिकार: बाल यौनदुराचारीको दृष्टि नेपालतिर


प्रकाशित मिति :2019-11-18 15:11:31

-जनकराज सापकोटा-

‘नेपालमा ६०० बालगृहमा १५ हजारजति बालबालिका छन् र यहाँ बालगृह एउटा उद्योगकै रूपमा विकास भएको छ । यिनले पर्याप्त छानबिनविना स्वयंसेवक राख्ने हुँदा बालबालिकालाई दुव्र्यवहार गर्न खुल्ला छाडिदिएको अवस्था छ ।’

२३ असार २०७६ मा काभ्रे जिल्ला अदालतमा नयाँ चहलपहल थियो । नयाँ दिल्लीस्थित क्यानाडेली उच्च आयोगका ‘मिनिष्टर काउन्सेलर’ अमान्डा स्ट्रोहन तथा महावाणिज्यदूत भेरोनिक देशहाईस न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासमा उपस्थित थिए ।उनीहरूलाई इजलासमा उपस्थित हुने व्यवस्था मिलाइदिन दिल्लीस्थित क्यानाडेली दूतावासले १८ असार २०७६ मा परराष्ट्र मन्त्रालयलाई ‘कूटनीतिक नोट’ नै लेखेको थियो ।

उच्च कूटनीतिक अधिकारीहरूको उपस्थिति यसकारण पनि अर्थपूर्ण थियो कि, उक्त दिन इजलासमा बाल यौन दुराचारमा मुछिएका क्यानाडेली नागरिक पिटर डलग्लिसको मुद्दाको सुनुवाइ हु“दैथियो ।

क्यानाडा सरकारले नागरिकलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान पाएका र तीन वटा अनररी डक्टरेटको उपाधि पाएका डलग्लिस सन् १९९८ मा संसारका दश प्रतिभाशाली युवाको रूपमा जुनियर च्याम्बर इन्टरनेशनलको छनोटमा पनि परेका थिए ।

स्ट्रिट किड्स इन्टरनेशनल नामक संस्था खोलेर युद्ध–पीडित र सडक बालबालिकाको हक–अधिकारको क्षेत्रमा काम गर्दै आएका पिटरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २४ चैत २०७४ मा काभ्रेको मण्डन देउपुर नगरपालिका–१ को एउटा घरबाट दुई बालबालिकासहित पक्राउ गरेको थियो । काभ्रे जिल्ला अदालतले उनलाईबाल यौन दुराचारको कसुरमा ९वर्ष जेल सजाय गर्ने फैसला ग¥यो ।

यो कुनै नौलो घटना थिएन । यसअघि पनि नेपाल प्रहरीले थुप्रै विदेशी बाल यौन दुराचारीलाई पक्राउ गरेर कानूनी कठघरामा उभ्याएको थियो । प्रहरीका अनुसार, २०७५ सालमा मात्रै ६ विदेशी र एक नेपाली गरेर सात जनालाई बाल यौन दुराचारको आरोपमा पक्राउ गरिएको थियो । जसमा फ्रान्सका तीन, नेदरल्याण्ड, भारत, अमेरिका र नेपालका एक–एकजना थिए । प्रहरीका अनुसार, २०७५ सालमा मात्रै बाल यौन दुराचारको शिकार भएका २५ पीडित बालकलाई मनोसामाजिक परामर्श दिइएको थियो र पुनस्र्थापना गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका भनाइमा, आर्थिक वर्ष २०७३र७४ देखि २०७५र७६ सम्म दुईवर्षमा नेपालमा १२ विदेशी र उनीहरूका दुई सहयोगी बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका थिए । उनीहरूको कुकर्मबाट ३३ जना बालबालिका पीडित भएको देखिन्छ ।

पछिल्ला यी विवरणहरूबाटबाल यौन दुराचारीहरूका आँखा नेपालमा पर्दै गएको छनक पाइन्छ । संयुक्त राष्ट्रसंघको मानव बेचबिखन विरुद्धको कार्यदल ९एन्टी ट्राफिकिङ टास्क टिम० मा काम गरेकी अमेरिकी नागरिक लोरी ह्याण्डरहान ईमेल संवादमा भन्छिन्, “यौन दुराचारीहरूले नेपालतिर आँखा लगाउनुमा नेपालको अपराध अनुसन्धान, अभियोजन र सुनुवाइ गर्ने न्यायिक प्रणालीका कमजोरी पनि उत्तिकै जिम्मेवार छन् ।”

बेलायतदेखि नेपालसम्म

५ माघ २०७५ मा कालीमाटीको एउटा‘अपार्टमेन्ट’बाट बेलायती नागरिक रोबर्ट कोल पक्राउ परे । उनी ५ पुस २०७५ मा आफ्ना साथी जेन डिरेक स्कटसँग काठमाडौं आएका थिए । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानले यी दुवै बालबालिकालाई सहयोग गर्ने नाममा यौन दुराचारको अपराध गर्न काठमाडौं छिरेका थिए । तर,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छापा मार्नुअघि नै जेनले नेपाल छाडिसकेका थिए । प्रहरीले इयान र जेनका सहयोगी १९ वर्षीय भारतीय नागरिक अजय पोद्दारलाई पनि पक्राउ गरेको थियो ।

पक्राउलगत्तै ब्यूरोले इयानको पृष्ठभूमि बुझ्न बेलायती प्रहरीसमक्ष सम्पर्क ग¥यो ।बेलायती प्रहरीको अपराध अनुसन्धान निकाय नेशनल क्राइम एजेन्सीले दिल्लीस्थित ब्रिटिश हाई कमिसन मार्फत नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोलाई इयान र जेनको पृष्ठभूमि सहितको सूचना पठाइदियो । प्राप्त ती गोप्य विवरणहरूका अनुसार,‘इयान र जेन दुवैबेलायतमा पनि बाल यौन दुराचारको अनुसन्धानमा तानिएका व्यक्ति थिए र उनीहरूकोबाल यौन दुराचारको यात्रा नेपालदेखि भारतसम्म फैलिएको’ थियो ।

नेशनल क्राइम एजेन्सीका अनुसार,इयानको स्काइप म्यासेज अनुसन्धान गर्दा उनले नेपालमा रहेका किशोरहरूलाई केही सूचना पठाएको देखिन्छ । एजेन्सीले नेपाल प्रहरीलाई लेखेको पत्रमा,इयान र जेन दुवैको बदनियत रहेको रशंका गर्ने ठाउँ छ । एजेन्सीकै अर्को एक सूचना अनुसार, १४ माघ २०७३ मा बेलायतको एउटा अदालतले बालबालिकाको अश्लील तस्वीर इन्टरनेटमा राखेको आरोपमा इयानमाथि छानबिन समेत गरेको पनि देखिन्छ ।

एजेन्सीले नेपाल प्रहरीलाई दिएको एउटा सूचनाले इयानको अर्को कर्तुत पनि सार्वजनिक गर्छ । जसअनुसार, इयानको सम्बन्ध फ्रेन्च नागरिक फिलिप जेरार्डसँग पनि देखिन्छ । जेरार्डबाल यौन दुराचार र यौनशोषणको अभियोगमाअहिले फ्रान्सको जेलमा छन् । उनीहरूको चिनजान संयोग मात्रै नहुनसक्छ । किनकि जेरार्डमाथिको एउटा अभियोग नेपाली बालबालिकालाई यौनशोषण गरेको भन्ने पनि छ ।

काठमाडौंमा इयान पक्राउ परेपछि नेशनल क्राइम एजेन्सीले बेलायतको उनको घरमा छापा मारेर ९७ वटा विद्युतीय सामान सिलबन्दी गरेको थियो । जसमा डिजिटल मिडिया, मोबाइल फोन, ट्याब्लेट, कम्प्युटर, हार्ड ड्राइभ, मेमोरी कार्डथिए । २ फागुन २०७५ मा काठमाडौं जिल्ला अदालतले इयानलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । अहिले उनी जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा छन् । अहिले पनि उनी थुनामै छन् ।

पटक–पटक नेपाल

अर्को घटना छ २२ चैत २०७४ को । त्यस दिनप्रहरी परिसर काठमाडौंले ३२ वर्षीय अमेरिकन नागरिक वल्फ प्राइसलाई पक्राउ ग¥यो । उनी चन्द्रागिरि नगरपालिका–८ भकुन्डेचौरस्थित एउटा घर भाडामा लिएर बसेका थिए । गतिविधि शंकास्पद रहेको भनेर स्थानीयले उजुरी दिएपछि प्रहरीले वल्फ बसेको घरमा छापा मारेको थियो ।

प्रहरीले उनको कोठाबाट गाँजा, कण्डमहरू, निद्रा लाग्ने औषधि मात्रै बरामद गरेन, १९ र १२ वर्षीया दुई किशोरी अनि १२ वर्ष हाराहारीका एक किशोरलाई उद्धार गरेर संरक्षण केन्द्रमा पठायो ।

अमेरिकाको क्यालिफोर्नियाका वल्फ १२ वर्षदेखि नेपाल आउ–जाउ गरिरहेका थिए । अध्यागमन विभागबाट प्राप्त जानकारीका अनुसार, १७ पुस २०७४ मा तीनदिने पर्यटक भिसामा नेपाल आएर फर्केका वल्फ लगत्तै २२ फागुन २०७४ मा ९० दिने पर्यटक भिसामा दोस्रो पटक नेपाल आएका थिए ।

वल्फको फ्ल्याटबाट उद्धार गरिएकी १२ वर्षीया किशोरीले प्रहरीमा बयान दिंदा वल्फले आफूहरूलाई कहिले चुरोट त कहिले रक्सी किन्न पठाउने, आफूसँगै बस्ने एक दिदी नुहाएको फोटो खिच्ने, उनका संवेदनशील अंग मुसार्ने गरेको जानकारी दिएकी थिइन् । उनले भनेकी थिइन्, “गाँजा र रक्सी खाएको बेला काखमा राख्थे । शरीर मालिस गर्न लगाउँथे । किचनमा लगेर मुख र खुट्टा धुन लगाउँथे ।”

वल्फ विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले न्यून सजाय र नाममात्रको जरिवाना गर्ने फैसला ग¥यो । ६ भदौ २०७५ मा न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले लागूऔषध मुद्दामा दुई हजार रुपैयाँ जरिवाना र एक महीना कैद, बाल यौन दुराचारको कसुरमा चार महीना कैद र तीन हजार रुपैयाँ जरिवाना गर्ने फैसला ग¥यो ।

२२ चैत २०७४ देखि थुनामा रहेको वल्फ अदालतको फैसला लगत्तै कैद सजाय भुक्तान गरेर ७ भदौ २०७५ मा छुटे र अमेरिका फर्किए । अध्यागमन विभागको सिफारिशमा गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर उनलाई १० वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यस्ता उदाहरण अरु पनि छन् । नेपालमा बाल यौन दुराचार गरेको आरोपमा प्रतिबन्धित भएका वल्फ मात्रै होईनन् । ४ पुस २०७१ मा पुल्चोकबाट पक्राउ परेका क्यानेडियन नागरिक अर्नेस्ट फेनविक म्याकइन्टोनस चार बर्ष दुई महिना कैद सजाय भुक्तान गरेर २५ भदौ २०७५ मा थुनामुक्त भए । लगत्तै ६ असोज २०७५ मा गृह मन्त्रालयले सचिव स्तरिय निर्णय गरेर उनलाई नेपाल प्रवेशमा ७ बर्षको प्रतिबन्ध लगायो । बाल यौन दुराचारकै आरोपमा २५ पुस २०७४ मा पक्राउ परेका जर्मन नागरिक हान्स जुर्गान गुस्ताभ धाम पनि १ बर्ष ३ महिना कैद भुक्तान गरेर छुटेलगत्तै ११ बैशाख २०७६ मा गृह मन्त्रालयले सचिवस्तरिय निर्णय गरेर उनलाई सात बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

नेपालमा कसुर, विदेशमा सजाय

क्यानाडेली प्रहरीले २० पुस २०७५ मा टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६२ वर्षीय क्यानाडेली नागरिक पाउल म्याकर्थीलाई पक्राउ ग¥यो । काठमाडौं गोकर्णेश्वरस्थित चाइल्ड हेभन नामक बाल आश्रममा स्वयंसेवकको रूपमा काम गरेर फर्केलगत्तै उनी पक्राउ परेका थिए ।

बारम्बार नेपाल आउजाउ गर्ने पाउलको ल्यापटप र हाड ड्राइभबाट त्यहाँको प्रहरीले बालबालिकाका अश्लील तस्वीर र भिडियोहरू भेट्टाएको थियो । अनुसन्धानपछि पाउललाई १६ वर्षमुनिका पाँच बालकमाथि यौन दुराचार गरेको अभियोग लगाइयो ।क्यानाडेली प्रहरीले त्यहाँकोसीबीसी न्यूजलाई बताएअनुसार, पाउलको यौन दुराचारमा परेका ती पाँचैजना बालक नेपाली थिए ।

सीबीसी न्यूजका अनुसार, पाउल चाइल्ड हेभन इन्टरनेशनल नामक कल्याणकारी गैरसरकारी संस्थाका दातामध्ये एक थिए । उक्त संस्थाले नेपाल, बङ्गलादेश, भारत र चीनको तिब्बतमा बालबालिकाका निम्ति ‘सेल्टर हाउस’ चलाउने गरेको छ । संस्थाको वेबसाइट अनुसार,उनले सन् १९९२ देखि नेपालमा काम गर्न थालेको देखिन्छ ।

उनले केयर क्यानाडा, वल्र्ड युनिभर्सिटी सर्भिस अफ क्यानाडा र वल्र्ड बैंक जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए । नेपाल आएका बेला पाउल कर्णेश्वरको चाइल्ड हेभनकै सेल्टरमा बस्थे । तर, क्यानाडेली प्रहरीले उनीबाट यौन दुराचार खेपेकाहरू सोही सेल्टरमा आश्रय लिइरहेका बालबालिका हुन् वा अरू नै कोही हुन् भन्नेबारे केही खुलाएको छैन ।

पछिल्लो समय पाउलको नेपाल आउजाउ बाक्लिएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार,२०१७ मार्चयता मात्रै पाउलतीन पटक नेपाल आएर फर्किएका थिए । २९ फागुन २०७३ मानेपाल आएका उनी तीन महीना बसेर ३० जेठ २०७४ मा फर्किएका थिए । त्यसलगत्तै उनी ११ असोजमा आएर ९४ दिन बसेर १४ पुसमाफर्केको देखिन्छ । १७ पुसमानेपाल आएका पाउल ६ दिन बसेर २४ पुसमाफर्केको देखिन्छ ।

कल्याणकारी गैरसरकारी संस्था चाइल्ड हेभन इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक बोनी क्याप्पसिजनेले पाउल लामो समयदेखि संस्थाको एक दाता रहेको पुष्टि गरेका छन् । पाउलको गिरफ्तारी पछिसीबीसी न्यूजसँग कुरा गर्दै उनले भनेका थिए, “हामीसँग रहँदा उनीबाट कहिल्यै न बाल यौन दुराचारीको जस्तो व्यवहार देख्यौं न त्यसको कुनै संकेत नै पायौं । उनी त्यस्ता मान्छे होइनन् कि भन्ने लाग्छ । म आशा गर्छु यो आरोप झूटो होस् ।”

पाउल पक्राउ सम्बन्धमा १४ माघ २०७५ मा भारतस्थित क्यानाडेली उच्च आयोगले अनौपचारिक रूपमा नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी गराएको थियो । जानकारी पाए लगत्तै शाखाले घटनामा पीडित बालबालिका पत्ता लगाउन र थप अनुसन्धान गर्न प्रहरी संरचनाभित्र पत्राचार गरेको थियो ।नेपाल प्रहरीको इन्टरपोल शाखाका एसपी उमेश जोशीले पाउलको बाल यौन दुराचारमा नेपाली बालबालिका पीडित भएको पुष्टि भएको बताए पनिविस्तृत विवरण दिन मानेनन् ।

पाउलले काठमाडांैमा रहेको बालबालिका सम्बन्धी काम गर्ने गैरसरकारी संस्था ‘चाइल्ड हेभन इन्टरनेशनल’ लाई ६ वर्षअघि केही रकम सहयोग गरेका थिए । सो संस्थाले गोकर्णेश्वरमा रहेको ग्रीन तारा हेभन स्कूललाई पूर्वाधार निर्माण गर्न सहयोग गरेको छ । विद्यालयका प्रधानाध्यापक प्रकाश नगरकोटी भन्छन्,“नेपालमा छँदा पाउल एक–डेढ महीनाको अन्तरमा आइतवारे बिदाको दिन स्कूल आउँथे ।विद्यालयमा पढ्ने बालबालिकालाई समूहमा लिएर वेला–वेला घुमाउन पनि लैजान्थे । तर त्यस्तो केही गरेको भन्ने चाहिंसुनेनौं ।” नगरकोटीले भने, “घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र क्यानाडाको ओट्वा प्रहरी दुवैलाई भएसम्मको सूचना दिएर सहयोग गरिरहेका छौं ।”

‘घाउ नकोट्याउनुस्’स् पीडित

बाल यौन दुराचारको अपराधमा नेपालबाट कुनै उपायले उम्किए पनि अभियुक्तले आफ्नै मुलुकमा सजाय भोगेको एउटा पुरानो उदाहरण पनि छ । यो चर्चित घटना केलाउन २०६४ सालमा पुग्नुपर्छ । त्यतिवेला जिल्ला प्रहरी कार्यालय चितवनले सौराहाबाट ५७ वर्षीय अष्ट्रेलियन नागरिक जियोफ्रे जोन प्रिग्गेलाई पक्राउ गरेको थियो ।

बालबालिकाको सेवा गर्ने भन्दै नेपाल बसेका प्रिग्गेलाई पक्राउ गर्न खटिएका थिए, त्यतिवेलाका इन्स्पेक्टर रवीन्द्रबहादुर सिंह । हाल प्रहरी प्रधान कार्यालयको सचिवालयमा कार्यरत डीएसपी सिंहले सुनाए अनुसार त्यतिवेला बाल यौन दुराचार सम्बन्धी कानून थिएन । प्रहरीले उनीमाथि सार्वजनिक अपराधमा मुद्दा चलायो । उनी सामान्य धरौटी बुझाएर छुटे । त्यसवेलाको घटना सम्झिंदै डीएसपी रवीन्द्र भन्छन्, “धेरैका निम्ति बाल यौन दुराचार नयाँ विषय थियो । जियोफ्रेले कमजोर कानूनको फाइदा उठाए ।”

तर घटना सामसुम भएन । डीएसपी सिंहका अनुसार, तत्कालीन दिल्लीस्थित अष्ट्रेलियन उच्च आयोग का कानून सहचारी काठमाडौं आएर अदालतबाट छुटेलगत्तै जियोफ्रेलाई अष्ट्रेलिया लगेका थिए । नेपालमा घटेको सो घटनामाथि अष्ट्रेलियन प्रहरीले समेत अनुसन्धान गरेको थियो ।

घटनाबारे बयान दिन अष्ट्रेलियन सरकारकै खर्चमा चार जना पीडित बालक अष्ट्रेलिया गएका थिए । मुद्दाको अनुसन्धान गरिरहेका तत्कालीन प्रहरी निरीक्षक रवीन्द्रलाई पनि अष्ट्रेलियन सरकारले घटनाबारे बुझ्न लैजान खोजेको थियो । तर, गृह मन्त्रालयको अनुमति नमिलेपछि उनी जान पाएनन् ।

अष्ट्रेलियन संघीय प्रहरीले जियोफ्रेमाथि १३ देखि १४ वर्षका पाँच नेपाली बालकमाथि यौन दुराचार गरेको आरोपमा मुद्दा दर्ता ग¥यो । अदालतले सुनाएको १५ महीना लामो कैद सजाय भुक्तान गरेर जियोफ्रे फेब्रुअरी २०१२ मा छुटेका थिए ।

स्वयंसेवक वा पर्यटकको भेषमा छिरेर नेपाली बालबालिकामाथि यौन अपराध गरेको आरोपमा नेपाल बाहिरका देशमा कानूनी कारबाही भएका अरू उदाहरण पनि छन् ।

नेपाली बालबालिकामाथि भएको ज्यादतीमा अमेरिकी अदालतले कडा सजाय गरेको उदाहरण पनि छ । अमेरिकाको न्याय विभागको वेबसाइटमा उल्लेख भए अनुसार,बालबालिकाको अश्लील तस्वीर, भिडियो खिचेको र बाल यौन दुराचारमा संलग्न भएको भनेरबेलायती नागरिक सिमोन ज्यास्पिर म्याकार्टेलाई अमेरिकी अदालतले १२ वर्षअघि ३० वर्षको कैद सजाय सुनाएको थियो । हवाईस्थित हिलो अन्तर्राष्ट्रिय विमानस्थलबाट सिमोनलाई २००८ अगष्ट महीनामा अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तेस्रो विश्वका सडक बालबालिकाको हितमा च्यारिटीहरू संचालनमा सक्रिय व्यक्तिका रूपमा चिनिने सिमोनको कोठाबाट प्रहरीले विद्युतीय सामग्रीमा पोर्नोग्राफिक ९अश्लील० भिडियो र तस्वीरहरू बरामद गरेको थियो ।अदालती सुनुवाइका क्रममा सिमोनको ल्यापटपमा भेटिएका ४०० अश्लील भिडियोमध्ये ६० वटा उनलाई देखाइएको थियो । जसमा उनले ६, १० र ११ वर्षका बालकसँग यौनजन्य गतिविधि गरेको दृश्य थियो ।

सिमोनको यौनदुराचारबाट पीडितमध्ये केही बालक नेपाली थिए । सिमोनले अदालतमा नेपालमा बाल आश्रम निर्माण गर्ने क्रममा तीन बालकलाई भेटेको स्वीकार गरेका थिए । अदालतले तीनमध्ये दुई नेपाली बालकको पहिचान खुलेको र सबैभन्दा बढी उमेरको बालक नेपाली रहेरनरहेको चाहिं यकिन पुष्टि हुन नसकेको बताएको छ ।

नेपालमा भएको बाल यौन दुराचारको घटनामा फ्रान्सको अदालतमा मुद्दा चलेको अर्को पनि घटना छ ।काठमाडांै छाउनीमा संचालित ‘एशोसिएसन फर दि चिल्ड्रेन अफ छाउनी’ नामक बाल आश्रम आबद्ध फ्रेन्च नागरिक जिन ज्याक हेसँग जोडिएको अर्को अनौठो अपराध कथा छ । यसबाट थाहा हुन्छ, कसरी विदेशीहरू नेपालको कमजोर कानूनको फाइदा उठाउँदै नेपाली बालबालिकामाथि यौन दुराचार गर्छन् ।

१९९८ को कुरा हो– आश्रममा बसेर स्थानीय पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गरेका ९ बालकमाथि जिनले यौन दुराचार गरिरहेका छन् भन्ने थाहा भयो । आर्थिक सहयोग गर्ने भनेर जिन सो संस्थासँग नजिकिएका थिए । बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरू सिविन, साथी र ‘भ्वाइस अफ चिल्ड्रेन’ को उजुरीपछिजिनलाई पक्राउ गरियो । काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भयो । उनी धरौटीमा छुटे र फ्रान्स छिरे ।

फ्रान्स पुगेको थाहा पाएपछि भ्वाइस अफ चिल्ड्रेन संस्थाका अध्यक्ष कृष्ण थापाले फ्रान्सेली संस्था ‘इनफ्यान्ट एण्ड डेभलपमेन्ट’ सँग मिलेर जिन विरुद्ध फ्रान्सको ट्रिब्युनलमाबाल यौन दुराचारको मुद्दा दर्ता गरे । सन् २००१ मा फ्रेन्च प्रहरीले जिनलाई पक्राउ ग¥यो ।

ट्रिब्युनलले अनुसन्धानका लागि उनीबाट यौनशोषणमा परेका नेपाली बालबालिकालाई फ्रान्स बोलाउने निर्णय ग¥यो । २६ भदौ २०६० मागृह मन्त्रालयले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखालाई पीडित बालकलाई फ्रान्स जाने अनुमति दिन पत्राचार ग¥यो । नौ मध्ये ८ बालक आफूमाथि भएको यौन दुराचारको बयान दिन फ्रान्स पुगे । पीडितहरू १५ देखि १९ वर्षका थिए । उनीहरूकोवयानकै आधारमा फ्रेन्च ट्रिब्युनलले जिनलाई साताको एक दिन अदालतमा उपस्थित हुन र देश छाड्न नपाउने आदेश सुनायो । पीडित बालकहरू नेपाल फर्के ।

यो आदेशको चार–पाँच महीनापछि जिन अदालतको सम्पर्क बाहिर पुगे । आश्चर्यको कुरा उनी फ्रान्स छाडेर टर्कीको इस्तानबुल पुगेको खबर आयो । अदालतलाई नै झुक्काएर भागेपछि फ्रेन्च प्रहरीकै पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन ९इन्टरपोल० ले उनी विरुद्ध ‘रेडकर्नर’ नोटिस जारी ग¥यो ।

डीआईजी मीरा चौधरी त्यसवेला नेपाल प्रहरीको महानगरीयवृत्त बालाजुमा डीएसपी थिइन् । गोप्य सूचनाको आधारमा मीराले जिनलाई जोरपाटीको, अत्तरखेलस्थित एक घरबाट पक्राउ गरिन् । अनुसन्धानपछि खुल्यो कि नौ वर्षअघि नेपालबाट छुटेका तिनै जिन नक्कली राहदानी प्रयोग गरेर इस्तानबुल हुँदै नेपाल छिरेका थिए । फ्रान्स र नेपालका उच्च प्रहरी अधिकारीले अनौपचारिक सहमति गरे, फ्रेन्च प्रहरी सुटुक्क आयो र जिनलाई खुसुक्क लिएर फ्रान्स गयो ।

जिनफ्रान्स पुगेपछि मुद्दाको थप प्रक्रिया अघि बढ्यो । दोस्रो पटक पनि अदालतले वयानका लागि बालकहरूलाई बोलायो । सन् २००९ मा ६ नेपाली बालक वयान दिन फेरि फ्रान्स गए । अदालतले जिनलाई १० वर्ष कैद सजाय सुनायो । पीडित बालकहरू कसैलाई ५ हजार त कसैलाई १० हजार डलर क्षतिपूर्ति दिनुपर्ने फैसला ग¥यो ।

तर, मुद्दा फैसला भएको १० वर्ष भयो, अहिलेसम्म कुनै बालकले पनि क्षतिपूर्ति पाएका छैनन् । जिनले सबै सम्पत्ति बेचिसकेका थिए । पीडकले क्षतिपूर्ति दिन नसकेको खण्डमा सरकारले दिने क्षतिपूर्ति पनि फ्रेन्च नागरिकको हकमा मात्रै सीमित थियो । यही कानूनी अल्झनका कारण पीडित बालकले क्षतिपूर्ति पाएनन् ।जिनबाट पीडितमध्येका एकले यतिमात्रै भने,“पुरानो घाउको खाटा मात्रै छ, भो नकोट्याउनुस् ।”

दुराचार दृष्टि नेपालतिर

यस क्षेत्रमा कार्यरत संस्थाहरूका अनुसार, नेपालमा विस्तारै विस्तारै बाल यौन दुराचारका घटना बढ्दै गएको देखिन्छ । कमजोर कानून, बालबालिकासँग सजिलै घुलमिल हुन सकिने सामाजिक वातावरण र नेपालको गरीबीले नेपालमा बाल यौन दुराचारीहरूलाई अपराध गर्न सहज बनाइदिएको देखिन्छ ।

नेपाल प्रहरीकोकेन्द्रीय अनुसन्धान ब्यूरोमा रहेर बाल यौन दुराचारका झण्डै दर्जन घटनाको अनुसन्धान गरेका एआईजी पुष्कर कार्की भन्छन्,“गरीबी, पछौटेपन र विदेशीसँग सजिलै घुलमिल हुने नेपाली स्वभावको फाइदा उठाउँदै बाल यौन दुराचारीहरू स्कूल र संरक्षण केन्द्रहरू छिर्दैछन् ।”

डीआईजी मीरा चौधरीको पनि यस्तै अनुभव छ । २४ माघ २०६३ मा मीरा महानगरीय प्रहरी वृत्त कालीमाटीको महिला सेलमा डीएसपीथिइन् । उनको टोलीले एक रात गल्कोपाखाको ‘हाम्रो जीवन संरक्षण बालगृह’ मा छापा मार्दा नेदरल्याण्डका नागरिक मोल्हुसेन हेन्डिङ ओट्टो गृहमा आश्रित बालकहरूसँग नग्न अवस्थामा भेटिएका थिए ।

अनुसन्धानका क्रममा मोल्हुसेनले अफ्रिकी राष्ट्र घानामा समेत आपराधिक क्रियाकलाप गरेको भेटियो ।नेपाल छिर्नुअघि भने उनी होण्डुरसमा बसेको देखियो । स्पेनको एउटा अदालतले नाबालकसँग दुव्र्यवहार र करणी गरेको आरोपमा मोल्हुसेनलाई ६ वर्ष जेल सजाय तोकेको पाइयो ।

मोल्हुसेन विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भयो । २५ चैत २०६५ मा काठमाडौं जिल्ला अदालतले मोल्हुसेनलाई ९ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला ग¥यो । पुनरावेदन अदालत पाटनले १२ असोज२०६७ मा जिल्ला अदालतकै आदेश सदर गरिदियो ।

ब्रिटिशनागरिक इयान वा डच नागरिक मोल्हुसेनको घटनाकोएउटै समानता भनेको यी दुवै बाल यौन दुराचारी पृष्ठभूमिका व्यक्ति थिए ।डीआईजी चौधरीका भनाइमा, उनीहरू ‘पक्राउ परिहाले पनि छुट्न सकिन्छ’ भन्ने बलियो आत्मविश्वासमा नेपाल छिरेका थिए ।

आफूले अनुसन्धान गरेको बाल यौन दुराचारको घटनाको निष्कर्ष सुनाउँदै डीआईजी चौधरीले भनिन्, “यस्ता धेरैजसो घटनाका प्रतिवादीहरू थाइल्याण्डलाई सेल्टर बनाएर नेपाल भारत, श्रीलंका र भियतनाम घुमिरहेको देखिन्छ । कमजोर कानून भएका र गरीब देशमा घुम्ने र बालबालिकामाथि यौन अपराध गर्ने उनीहरूको प्रवृत्ति देखिन्छ ।”

अनुसन्धान अधिकारीहरूका भनाइमा, सन् १९९२ मा थाइल्याण्डमा बाल यौन दुराचारको कानून बनेपछि त्यहाँ बालबालिकामाथि हुने हिंसाका घटनामा कडाइ गर्न थालियो । त्यसपछि पश्चिमा बालयौन दुराचारीहरूले नेपाल जस्ता देशहरूमा आँखा लगाउन थालेका हुन् ।

साइबर सुरक्षा सम्बन्धी काम गर्ने संस्था ‘थ्रेट निक्स’ ले सन् २०१७ मा प्रकाशित गरेको थ्रेट रिपोर्टमा नेपाल विदेशी बाल यौन दुराचारीको केन्द्र बनिरहेको मामिला गोप्य राख्नुपर्ने विषय नभएको भनेको छ । सो रिपोर्टमा ‘गोप्य रूपमा संचालित अनलाइन फोरम डार्क नेट मार्फत विदेशी बाल यौन दुराचारीहरूले नेपाललाई गन्तव्य बनाइरहेको’ उल्लेख छ ।

डार्क नेटमा बाल यौन दुराचारीहरूले नेपाल जोडेर एक आपसमा आदानप्रदान गरिएका केही सूचनाहरू पनि छन् । एक बाल यौन दुराचारीले नेपालमा ६०२ बालगृहमा १५ हजार बालबालिका रहेको र बालगृह एउटा उद्योगकै रूपमा विकास भएका उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यस्ता बालगृहले पर्याप्त छानबिन विना नै स्वयंसेवक राख्ने गरेरबालबालिकालाई दुव्र्यवहार गर्न खुला छाडिदिएको छ ।’ सो रिपोर्ट अनुसार, ‘डार्क नेटमा पहु“च भएका केही नेपालीले बालबालिकासँगको यौन गतिविधिको फोटो र भिडियो यस्तो फोरममा राख्ने काम गर्छन् ।’

कमजोर नियमन

सन् २०१९ मा मात्रछिमेकी देश भारतले बाल यौन दुराचारीहरूलाई रोक्न आफ्नो भिसा नियम परिवर्तन गरेको छ । भारतले भिसा लिने विदेशीहरूले भिसा फारम भर्दा उसको आपराधिक पृष्ठभूमि भएरनभएको स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरेको छ । ५ कात्तिक २०७६ मा महिला तथा बालबालिका विकास मन्त्री मेनका गान्धीले ट्वीट गर्दै ‘शृंखलाबद्ध रूपमा बाल यौन दुराचारमा संलग्नहरूले भारतलाई टार्गेट गर्न थालेको’ भन्दै ‘त्यसलाई रोक्न यस्तो कदम चालिएको’ उल्लेख गरेकी थिइन् ।

बेलायत लगायतका देशहरूले बाल यौन दुराचारको मुद्दामा बलियो कानून निर्माण गरेका छन् । बेलायतले सन् २००३ मा बेलायती नागरिकले देश बाहिर गरेका बाल यौन दुराचारमा समेत देशभित्र मुद्दा चलाउन सकियोस् भनेर ‘थप क्षेत्राधिकार’ सहितको कानून बनाएको छ ।

विद्यमान दण्डहीनता, कमजोर अनुसन्धान प्रणाली र पक्राउ परिहाले पनि सजिलै छुट्न सकिन्छ भन्ने पीडकको बुझाइका कारण पश्चिमा बाल यौन दुराचारीहरूले नेपाललाई गन्तव्य बनाइरहेको बुझाइ संयुक्त राष्ट्रसंघको ‘एन्टी ट्राफिकिङ टास्क टिम’ मा काम गरेकी अमेरिकी नागरिक लोरी ह्याण्डरहानको छ ।

‘एपिडेमिकः अमेरिकाज ट्रेड इन चाइल्ड रेप’ नामक पुस्तककी लेखिका लोरीले इमेल वार्तामा भनिन्, “आर्थिक रूपमा शक्तिशाली पश्चिमा बाल यौन दुराचारीबाट नेपाली बालबालिकालाई जोगाउन सरकारले नै बलियो प्रणाली निर्माण गर्नुपर्छ । त्यो भनेको उच्च प्रविधियुक्त साइबर क्राइम युनिट, दक्ष अनुसन्धानकर्मी, बलियो कानून र अभियोजन प्रणाली नै हो ।” अन्तर्वार्ता

यस सम्बन्धि मुद्धा हेरिरहेका अधिवक्ता प्रविन सुवेदी, बालबालिका सम्बन्धी ऐन २०७५ र फौजदारी आचांर संहितमा बाल यौन दुराचारको ब्याख्या भएपनि त्यसमा प्रस्टताको अभाव देख्नछन । उनका विचारमा ‘अप्राकृतिक मैथुन’ ‘बाल यौन दुरुपयोग’ जस्ता शब्दहरुमा थप ब्याखा जरुरी पर्छ । सुवेदीले भने, “मेरो विचारमा अनुसन्धान प्रणाली र कानुनी प्रस्टता दुवैको खा“चो छ ।”

नेपाल प्रहरीका प्रवक्ता एआईजी विश्वराज पोख्रेलले पछिल्ला बर्षहरुमा बाल यौन दुराचार रोक्न ईन्टरपोल र विभिन्न देशका अपराध अनुसन्धान अधिकारीस“ग पत्राचार गरेर सुचना संकलन गर्ने, मुद्धा प्रमाणीत गर्नेजस्ता काम गरिरहेको बताए । उनले भने, “नेपालका बालबालिका बाल यौन दुराचारीहरुको जोखिममा छन् । त्यसैले प्रहरीले यस्ता मुद्धालाई गम्भिरताका साथ हेर्न थालेको छ ।”

‘नेपालले साइबर अपराध अनुसन्धान युनिट बलियो बनाउनुपर्छ ’

विदेशी यौनदुराचारीहरूले नेपाललाई किन गन्तव्य बनाइरहेका छन् ?

पश्चिमा गोरा पुरुष दुराचारीहरू नेपालको प्रहरी प्रशासन, अभियोजनकर्ता र अदालती संयन्त्र अक्षम र भ्रष्ट छ, इमानको कमी छ, उनीहरूलाई पैसाको भरमा सजिलै किन्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्छन् । पिटर डलग्लिस जस्ता उच्च ओहोदाका र धेरै तलब खाने धनीमानीहरू यस्तो वातावरणको फाइदा उठाइरहेका छन् ।

सन् २०१८ मा गार्जियनले यस्तो प्रवृत्तिबारे रिपोर्टिङ गरेको थियो । बेलायतका यौन दुराचारी रिचर्ड हकलले ‘पेडोफाइल्स र गरीबीस् बालबालिकालाई कसरी प्रेम गर्ने, कसरी निमुखा शिकार खोज्ने र अरूलाई त्यसको पत्तो नदिने’ भन्ने अनलाइन गाइड लेखेर सार्वजनिक गरेको विवरण त्यसमा उल्लेख छ । यसबाट पनि बुझ्न सकिन्छ बाल यौन दुराचारीहरूले नेपाललाई किन गन्तव्य बनाइरहेका छन् ।

नेपालमा पक्राउ परेका अधिकांशले बालबालिकासँगको यौनजन्य गतिविधिको फोटो र भिडियो खिचेको देखिन्छ । त्यसको उद्देश्य के हो ?

बाल यौन दुराचारीहरू बालबालिकासँग बलात्कार र यौनजन्य गतिविधिको फोटो, भिडियो खिच्ने र कतिपयले त्यसको ‘लाइभ’ समेत गर्ने गर्छन् । यस्तो गर्नुको कारण छ । जस्तो, बालजन्य यौन गतिविधिको फोटोको अनलाइन माध्यमबाट बिक्री गर्नु, यस्ता फोटो र भिडियो हेर्दै बालबालिकालाई भएको दुखाइ र छटपटी हेरेर आनन्द मान्दै हस्तमैथुन गर्नु र ‘पेडोफाइलहरूको भर्चुअल नेटवर्क’ मा त्यस्ता गतिविधि समेटिएका फोटो र भिडियो शेयर गरेर वरिष्ठ कहलिनु ।

उदाहरणका लागि, हालैमात्र अमेरिकाको वासिङ्टनडीसीस्थित मेयर कार्यालयका कानूनी सल्लाहकार टोम मोयर चाइल्ड पोर्नोग्राफीको आरोपमा पक्राउ परे । टम मोयर अनलाइन प्रत्यक्ष प्रसारणमा संलग्न थिए जहाँ केही अपराधीहरूले साना बालबालिका बलात्कार भएको घटना हेरिरहेका थिए ।

अक्सर बाल यौन दुराचारीहरू बालबालिकासँगको यौन गतिविधिको फोटो र भिडियो खिच्दा आफ्नो परिचय खुल्ने कागजात वा अफिसियल पोशाक देखाउँछन् । किनकि उनीहरू बाल यौन दुराचारीहरूको समूहमा आफ्नो गतिविधि प्रमाणित गर्दै आफूमाथि घमण्ड गर्छन् । सन् २००६ मा ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ का सहायक प्रेस सचिव ब्रायन डोयली २३ बालबालिकामाथि गम्भीर प्रकृतिको यौनशोषण गरेको आरोपमा पक्राउ परे । उनी सम्बद्ध यौन अपराधको अनुसन्धान गर्दा त्यस सम्बन्धी भिडियोमा उनले अमेरिकी सरकारको परिचयपत्र र आफ्नो फोन नम्बर उल्लेख गर्थे भन्ने खुल्यो ।

चाइल्ड पोर्नोग्राफिक सामग्री र बाल यौनदुराचारबीच केही सम्बन्ध छ ?

बालबालिकामाथि गर्ने क्रूर बलात्कार र यातना नै चाइल्ड पोर्नोग्राफी हो । यसमा संलग्नलाई हामी बाल यौन दुराचारी पनि भन्छौं । चाइल्ड पोर्नोग्राफी र पेडोफिल्स जस्ता दुवै शब्द चलनचल्तीबाट हटाउनुपर्छ किनकि यिनले बालबालिकामाथि हुने अपराधको अर्थ बोक्दैनन् । पेडोफिल्सहरू बाल यौन अपराधी र बालबालिकाको बलात्कार गर्ने व्यक्ति हुन् । चाइल्ड पोर्नोग्राफी बालबालिकाको बलात्कारमा हुने व्यापार हो ।

नेपालले कसरी बाल यौन दुराचारीहरू विरुद्ध कदम उठाउन र अन्तर्राष्ट्रिय समुदायबाट यस काममा सहयोग लिन सक्छ ?

बाल यौन दुराचारको अनुसन्धान गर्न साइबर क्राइम युनिटको स्थापना गर्ने, त्यसमा दक्ष जनशक्ति र प्रविधिमा लगानी गर्ने विषयलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । यस्तो इकाइमा अत्याधुनिक सूचना प्रविधि जानेका सयौं दक्ष अनुसन्धानकर्मीको खाँचो पर्छ । यस्तो इकाइमा तालिमप्राप्त दक्ष अभियोजनकर्ता, कानूनी रणनीति निर्माण गर्न सक्ने न्यायाधीश हुनु जरूरी हुन्छ । जसले बाल यौन दुराचारीहरूलाई जेल पठाउन सकुन् । अन्तर्राष्ट्रिय समुदायले पनि बाल यौन दुराचारीहरू विरुद्ध लड्न नेपाललाई आवश्यक आर्थिक सहायता गर्नु जरूरी छ । साभार : सीआइजे

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: