महिला सिनेटरले घोषणा गरिन् आफैलाई राष्ट्रपति


प्रकाशित मिति :2019-11-14 12:26:38

बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनिएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन् । राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएर मेक्सिकोमा शरण लिएपछि सिनेटर आनिएसले संसद् बैठकमा आफूलाई राष्ट्रपति घोषणा गरेकी हुन् । वरिष्ठता र रोलक्रमका आधारमा आफू राष्ट्रपति भएको उनले दाबी गरेकी छिन् । उनको नियुक्ति गर्न आयोजित कंग्रेस बैठकलाई मोरालेस नेतृत्वको समाजवादी पार्टीले बहिष्कार गरेको थियो ।

आफू संविधानबमोजिम राष्ट्रपतिको लाइनमा रहेको भन्दै उनले चाँडै निर्वाचन गर्ने वाचा गरिन् । उनको नियुक्तिलाई बोलिभियाको संवैधानिक अदालतले पारित गरेको छ । तीन साताअघि सम्पन्न राष्ट्रपति निर्वाचनमा मोरालेस चौथो कार्यकालका लागि विजयी भएका थिए ।

तर, निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सडक र सदनबाट उनको विरोध हुन थालेपछि उनी समस्यामा परेका थिए । सेनाले समेत समर्थन नगर्ने चेतावनी दिएपछि उनले बाध्य भएर राजीनामा दिएका थिए । सम्भावित रक्तपातबाट मुलुकलाई जोगाउन आफूले राजीनामा दिएको उनले बताउँदै आएका छन् । उनको राजीनामापछि रिक्त राष्ट्रपति पदमा अनेजले दाबी गरेकी हुन् ।

मेक्सिकोबाट निन्दा गरे मोरालेसले

आनिएसले आफूलाई राष्ट्रपति घोषणा गरेपछि निवर्तमान राष्ट्रपति मोरालेसले विरोध गरेका छन् । मेक्सिकोबाट ट्विट गर्दै उनले भनेका छन्, ‘इतिहासमै तुच्छ र घृणित ‘कु’को निन्दा गर्छु ।’ आनिएसको घोषणालाई मोरालेसले तिरस्कार गर्दै उनी ‘कु’ चाहने दक्षिणपन्थी सिनेटर भएको बताए । आफ्नो जीवन जोखिममा रहेको भन्दै निवर्तमान राष्ट्रपति मोरालेसले मेक्सिकोमा शरण लिएको बताए ।

मोरालेसको उदय र पतन

पूर्वकिसानसमेत रहेका मोरालेस सन् २००६ मा भएको राष्ट्रपति निर्वाचनमा विजयी भएका थिए । उनी जनजाति समुदायको तर्फबाट बोलिभियाको पहिलो राष्ट्रपति बनेका थिए । झन्डै १४ वर्ष लामो कार्यकालमा उनले गरिबी न्यूनीकरण र देशको अर्थतन्त्र सुधारमा उल्लेख्य भूमिका खेलेका थिए । तर, चौथोपटक राष्ट्रपतिमा विजयी भएपछि भने विवादमा तानिएका थिए । चुनावमा धाँधली गरेको भनी अमेरिकी राज्यहरूको संगठनले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँदै निर्वाचन रद्द गर्न आह्वान गरेको थियो । त्यसको जवाफमा मोरालेसले ताजा निर्वाचन गर्न सहमति जनाएका थिए । तर, उनका मुख्य प्रतिद्वन्द्वी कार्लोस मेसाले निर्वाचनमा मोरालेसले प्रतिस्पर्धा गर्न नपाउने अडान राख्दै त्यसको विरोध गरेका थिए ।

सेनाका प्रमुख जनरल विलियम कालिम्यानले शान्ति र स्थिरताका लागि मोरालेसलाई तत्काल राजीनामा दिन दबाब दिएका थिए । उनले राजीनामा नदिएको भए तत्कालै सेनाको ‘कु’ गर्ने तयारी थियो । सेनाको चेतावनीपछि उनले तत्काल राजीनामा दिएका थिए । राजधानी ला पाजमा उनका समर्थक र सुरक्षाकर्मीबीच झडप भइरहेका वेला उनी मंगलबार शरणका लागि मेक्सिको पुगेका थिए । आफ्नो जीवन बचाइदिएकोमा उनले मेक्सिकन राष्ट्रपति एन्डिस म्यानुअल लोपेज ओब्रडरप्रति आभार व्यक्त गरेका छन् ।

सिनेटर कसरी बनिन् अन्तरिम राष्ट्रपति ?

आनिएसले मंगलबार सिनेटको अस्थायी नेतृत्व आफ्नो हातमा लिइन् । उपराष्ट्रपतिलगायत वरिष्ठ नेताहरूले राजीनामा दिएपछि उनलाई राष्ट्रपतिको दाबेदार बन्ने बाटो खुलेको थियो ।

‘राष्ट्रपति, उपराष्ट्रपति तथा चेम्बर अफ सिनेटर्सका अध्यक्षको अनुपस्थितिमा संविधानबमोजिम म तत्कालै राष्ट्रपतिको जिम्मेवारी वहन गर्छु,’ आनिएसले भनिन् । उनलाई राष्ट्रपति नियुक्त गर्नेबारे चलेको संसदीय बैठकलाई मेरालेसको लेफटिस्ट मुभमेन्ट फर सोसलिज्म पार्टीका सांसदले बहिष्कार गरेका थिए । उनको नियुक्ति अवैधानिक भएको सो पार्टीले जनाएको छ । बोलिभियाको उच्च संवैधानिक अदालतले उनको समर्थन गरेको छ ।

५२ वर्षीय एनेज योग्य वकिल हुन् । टोटलभिजन टेलिभिजन स्टेसनकी पूर्वनिर्देशक उनी मोरालेसको खरो आलोचकसमेत हुन् । उनी सन् २०१० देखि नेसनल एसेम्बलीकी सिनेटर हुन् । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: