–महिला खबर–
ललितपुर । अन्तरजातीय बिवाह गरेकी एक महिलालाई घर निकाला गरिएको छ । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बिरिङकोटकी २४ वर्षीया सुशिला बिकलाई तल्लो जात भन्दै सासू, ससुरा र श्रीमानले घर निकाला गरेका हुन् ।
२०६९ साल कार्तिकमा चित्रबहादुर खाम्चासंग बिहे गरेकी सुशिलालाई एक सन्तानसमेत जन्मिसकेको अवस्थामा सासू, ससुरा र श्रीमान्ले हालै घर निकाला गरेका हुन् ।
घर निकालापछि माइतीको सहारामा बस्दै आएकी शुसिलाले आफूलाई ६० वर्षीय ससुरा मतिराम खाम्चा, ५६ वर्षीया सासू जिवा खाम्चा र २६ वर्षीय पति चित्र बहादुर खाम्चाले घर निकाला गरेको बताइन् ।
आफूलाई तल्लो जातकी कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय प्युठानमा मुद्दा दर्ता गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सई बुद्धी बहादुर रानाका अनुसार जातीय छुवाछुत गरेको आरोपमा शुक्रबार तीन जना विरुद्ध जातीय भेदभाव तथा छुवाछूत सम्बधी मुद्दा दर्ता भइसकेको छ । मुद्दा दर्तासँगै तीनै जनालाई पक्राउ गरी हिजो आइतबार जिल्ला अदालत प्युठानबाट म्याद थप गरिएको पनि सई रानाले जानकारी दिए ।
अधिकारकर्मी सरु सुनारले जातकै आधारमा महिला घर निकाला हुनु दुःखद् भएको बताइन् । उनले महिलालाई घर निकाला गर्ने परिवारलाई कानून बमोजिक कडा कार्वाहीको माग समेत गरेकी छन् ।
Comment Here!