राजनीतिज्ञ महिला भन्छन्, ‘सहयोगी भूमिका चाहियो’


प्रकाशित मिति :2019-11-11 09:55:12

–महिला खबर–

रुपन्देही । निर्वाचनमा महिला सहभागिताका लागि परिवार, समाज र मिडियाको सहयोगी भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ ।

सञ्चारिका समूह नेपालले आइतबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक कार्यशालाको समापन तथा राजनीतिज्ञ महिलासंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला राजनीतिज्ञहरूले आफूहरुलाई महिलाहरूले मात्रै सहयोग गरेर नपुग्ने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले समाज परिवर्तन र सशक्तिकरणका लागि आफैबाट परिवर्तनको सुरुआत गर्न आवश्यक रहेको बताइन् । “हिजोका व्यवहारले नयाँ नेपाल बन्दैन, नयाँ सोंच र व्यवहारका साथ अगाडी बढ्नुपर्छ” उनले भनिन् । समाजलाई परिवर्तनको दिशामा अगाडि बढाउन मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने मन्त्री पौडेलको भनाइ छ । महिलालाई हेर्ने दृष्टिकोणमा पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन आइसके पनि समाजको सोंच र व्यवहार अझै परिवर्तन गर्नुपर्ने उनले बताइन् ।

प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले लैङ्गिकताको मुद्दा संस्थागत गर्न आफैबाट सकारात्मक सोचको थालनी गर्नुपर्ने बताइन् ।

सधैंभरी समाजले के भन्ला भन्ने चिन्ताग्रस्त मानसिकताले महिला अगाडि बढ्न नसकेको भन्दै उनले समाज परिवर्तनका सबै चुनौती पार गर्न तयार हुनुपर्ने बताइन् । “हामी पीडित छौ भनेर बोलेर मात्र हुँदैन । समाजको सोंच र चिन्तन् बदल्नुपर्छ” उनले भनिन् । उपसभामुख चौधरीले मिडिया र राजनीति एक अर्काका परिपूरक रहेकाले महिला राजनीतिज्ञका मुद्दाहरूलाई प्राथमिकता दिन संचारकर्मीसंग आग्रह गरिन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक निर्मला शर्माले मिडियाले महिलाको पक्षमा बोल्न हिच्किचाउने गरेको बताइन् ।

प्रदेश सभा सदस्य थानकुमारी थापाले मिडियासंगको समन्वय कमजोर हुँदा राजनीतिज्ञ महिलाले उठाएका विषयले प्राथमिकता पाउन नसकेको बताइन् ।

प्रदेश सभा सदस्यहरू रमा अर्याल, दिपा विक, गिता थापा, कमला विश्वकर्मा लगायतले महिला जनप्रतिनिधिले गरेका कामलाई मिडियाले प्राथमिकता नदिएको गुनासो गरे ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले मिडियाले पदीय व्यक्तिलाई महत्व दिने गरे पनि पुरुष र महिला भनेर भेदभाव नगरेको स्पष्ट पारे । “राजनीतिक नेतृत्व र जनप्रतिनिधिको जनतासंगको सम्बन्ध जति नजिक हुन्छ मिडिया त्यही पुग्छ । मिडियालाई राजनीतिज्ञहरू आवश्यक छ”, उनले भने, तर पुरुष राजनीतिज्ञले जस्तो महिलाले समय व्यवस्थापन गर्न नसक्दा मिडियामा कम उपस्थिती देखिन्छ ।”

सञ्चारिका समूहका पूर्व अध्यक्ष बबिता बस्नेत, संचारिका समूहका अध्यक्ष नितु पण्डितले मिडियामा महिलाका मुद्दालाई प्राथमिकताका साथ उठाउन पत्रकार महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेबि आचार्य, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्ले, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जानकीदेबी श्रीवास्तबले समाजका लैङ्गिकताको विषय बुझाउन जरुरी रहेको धारणा राखे ।

राजनीतिज्ञ सावित्रा अर्याल, लक्ष्मी कोइराला, सरिता श्रीष, रिता सेन, मञ्जु भुसाल, जानकी घिमीरे लगायतले महिलाका मुद्दामा महिला राजनीतिज्ञहरू एक हुन जरुरी रहेको बताए ।

कार्यक्रममा पत्रकारहरू निरु गौतम, माया गौतम, रेखा भुसाल, उषा पन्थ लगायतले लैङ्गिकताको मुद्दालाई साझारुपमा उठाउनुपर्ने बताए ।

युएनडीपी, संयुक्त राष्ट्रसंघ निर्वाचन सहयोग कार्यक्रम, युनेस्को, निर्वाचन आयोगको सहयोगमा आयोजना गरेकोे कार्यशालामा प्रदेश नं ५ का जिल्लाहरूमा कार्यरत २७ जना पत्रकार महिलाहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा नेपाली मिडियाको अवस्था र मिडिया नीति, निर्वाचनमा मिडियाको भूमिका, अभिव्यक्ति स्वतन्त्रता र निर्वाचन, सामाजिक सञ्जाल र पत्रकार महिलाहरूको सुरक्षा अवस्था लगायतका विषयमा प्रशिक्षण दिइएको संचारिका समूहका अध्यक्ष नितु पण्डितले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय

बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्ने घोषणा पत्रमा

सामूहिक बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’

–महिला खबर– शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: