अब कारागारमै प्रजनन् सुख


गर्भवती बन्दीलाई ६० दिन घर बिदा दिने व्यवस्थासहितको विधेयक तयार

प्रकाशित मिति :2019-11-08 11:54:38

-मातृका दाहाल-

काठमाडौँ । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन् ।

त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन् । सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसँग बिताउन दिइनेछ ।

सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ । संसद्को आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिँदै छ । २०६८ चैत २८ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश बलराम केसी र गिरीशचन्द्र लालको इजलासले कारागारमा वैध दम्पतीबीच प्रजनन अधिकार सुनिश्चित गर्न सरकारलाई आदेश दिएको थियो । गृह मन्त्रालयले आठ वर्षपछि ऐन संशोधन गरेर आदेश कार्यान्वयनमा ल्याउन लागेको हो ।

विधेयकअनुसार ६ महिना पूरा गरेका गर्भवती वा सुत्केरी कारागार प्रशासनले तोकेको बैंक जमानत राखेर २ महिनासम्म घरमा बस्न पाउँछन्, ‘सुत्केरी बिदा’ वा ‘गर्भवती बिदा’ शीर्षकमा । यो अवधि उनीहरूले कारागारमा बसेर कैद भुक्तान गरेसरहकै मानिनेछ । ६० दिन पूरा गरेको भोलिपल्टै कारागार फिर्ता हुनुपर्नेछ । अन्यथा सुरक्षाकर्मी प्रयोग गरेर कारागार ल्याइने र जमानत जफत गरिनेछ । आफैं फर्कनेको बैंक जमानत कारागार प्रशासनले फुकुवा गरिदिनुपर्नेछ ।

तर यस्तो सुविधा राज्यविरुद्धको अपराध, बलात्कार, हत्या, अपहरण, संगठित अपराधलगायत जघन्य कसुर र जन्मकैदमा परेका महिलाले पाउने छैनन् । सुत्केरी स्याहार तथा सुत्केरी सुविधाअन्तर्गत महिला कैदीको बसोबास, खानपान र स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

‘कारागार प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान, स्वास्थ्य परीक्षणका सम्बन्धमा तोकिएबमोजिम व्यवस्था गर्ने,’ प्रस्तावित विधेयकको दफा ३७ मा भनिएको छ । ५ वर्षमुनिका सन्तानलाई महिला बन्दीले आफैंसँग राख्न पाउने व्यवस्था पनि गरिएको छ । त्यस्ता बालबालिकाको रेखदेख र जीवनयापनमा लाग्ने खर्च सरकारले बेहोर्नुपर्नेछ ।

विधेयकमा कैदी–बन्दीका दम्पतीबीच कारागार परिसरमै ‘यौन सम्पर्क’ को व्यवस्था हुने उल्लेख छ । ‘कारागारमा बन्दीका रूपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनुपर्नेछ,’ दफा २३ मा भनिएको छ । विधेयकले ऐनको रूप लिएपछि नियमावली र निर्देशिका बनाएर प्रजनन अधिकारसम्बन्धी अन्य व्यवस्था पनि समेटिने गृहले जनाएको छ । प्रजनन अधिकार भने जुनसुकै कसुरमा थुनिएकालाई पनि दिइनेछ ।

बन्दीलाई हत्कडी लगाउन नपाइने

विधेयकमा कैद भुक्तान गरिरहेका बन्दीलाई हत्कडी लगाउन नपाइने व्यवस्था छ । तर भागेर पुनः पक्राउ गरिएकालाई हत्कडी लगाउन पाइनेछ । सांसद रेशमलाल चौधरीलाई दुवै गोडामा नेल लगाइएकै अवस्थामा वीर अस्पतालको शय्यामा राखिएको दृश्य सार्वजनिक भएपछि सरकारको आलोचना भएको थियो ।

‘तर एकपटक कारागारबाट भागेको, कारागारबाट भाग्ने वा उम्कने उद्योग गरेको वा दुवै कसुर गरेकालाई हत्कडी लगाउन पाइनेछ,’ विधेयकमा उल्लेख छ ।

चौकीदार र नाइकेलाई विशेष सुविधा

कारागारका चौकीदार र नाइकेलाई कैद सजायमा हुने छुट बढाउने प्रस्ताव गरिएको छ । अहिले चौकीदार बन्दीलाई वर्षमा ४५ र नाइकेरसहनाइकेलाई ३० दिन कैद मिनाहा हुने गरेको छ ।

विधेयकमा चौकीदारलाई २ महिना, नाइकेलाई ४८ र सहनाइकेलाई ३६ दिन छुट दिन प्रस्ताव गरिएको छ । कारागारमा शिक्षकका रूपमा नियुक्त बन्दीलाई पनि चौकीदारसरह कैद छुट हुनेछ ।

विशेष कैदीलाई छुट्टै कोठा

विधेयकमा विशेष किसिमका थुनुवा र बन्दीलाई छुट्टै कोठामा राख्नुपर्ने व्यवस्था छ । मुद्दाको अनुसन्धान भइरहेका थुनुवा, तेस्रो लिंगी, सरुवा रोग लागेका, मानसिक अवस्था ठीक नभएका, ६५ वर्ष पूरा भएका र जघन्य तथा गम्भीर कसुरमा सजाय पाएकालाई छुट्टाछुट्टै कोठामा राख्नुपर्ने उल्लेख छ ।

सरकार र अदालतले विशेष सुरक्षासहित कारागारमा राख्न भनिएका बन्दीलाई समेत कोठा छुट्याउन प्रस्ताव गरिएको छ ।

साभार : कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

सुत्केरी महिला अस्पतालमै बन्धक

–महिला खबर– ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका

अँध्यारोमै जन्मिन्छन् शिशुहरू

स्वास्थ्य चौकीमा उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य

नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार

–महिला खबर– ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १०

बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक

–महिला खबर– आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

तीन बालिका आफन्तबाटै बलात्कृत

–महिला खबर– ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: