अब म पनि बा


प्रकाशित मिति :2019-11-06 11:45:55

-बाबु त्रिपाठी-

आज छोरीको जन्मदिन । आज बा पनि अस्पतालबाट डिस्चार्ज हुने दिन । छोरीले हिजै भनेकी छ–हजुरबालाई लिएर आउनु भनेर । अलि अगाडि लेखेथेँ–बाले छोरीलाई भाग्गेमानी भन्नु भो । बाले सबैलाई भाग्गेमानी भन्नुहुन्छ । बाले भनेको पुग्छ पनि । त्यो दिनदेखि छोरी अझै भाग्गेमानी भई ।

अपरेशन थिएटरमा छिर्ने ढोकालाई दाहिने हातले भित्र धकेलेँ । उनी अपरेशन गाउन लगाएर ह्विलचियरमा बसिरहेकी रैछिन् । उनी बसेको अगाडि रातो धर्को कोरिएको थियो । मैले बुझेँ त्यो भन्दा अगाडि जान पाइन्न । उनको अनुहारमा एकचोटि हेरेँ । धेरै खुसीजस्तो थोरै डरजस्तो देखेँ । मैले उनलाई भनेँ–“डराउनु पर्देन ।”

अगाडिको सिसाबाट आएको उज्यालो मेरो आँखामा आएर ठोक्कियो ।

एकछिनमा अर्को नर्स आउनु भो र उनको हातका औँलाहरू हेर्नु भो र भन्नु भो–“ला यो पालिस लगाएको औँला लिएर त जान पाइन्न थिएटरमा । “एनेस्थेसिया” ले गाली गर्नुहुन्छ ।”

उनले भनीन्– “मलाई गारो भो ।” त्यसपछि उनले पेट समाइन ।
मैले भनेँ–“इमर्जेन्सी ल्याउनु प¥यो । त्यतातिर ध्यानै भएन ।” पालीसको कुरा गरेँ ।

नर्सले स्प्रिटसँगसँगै कपास पनि ल्याइदिनु भो । कपासलाई स्प्रिटमा चोपेँ र नङमा दलेँ । एकछेऊ पालिस उप्कियो । आधाघण्टा अगाडि यो काम गर्न पाएको भए सबै पालिस जान्थ्यो होला ।

उनको अपरेशनको समय दुई बजेको थियो । दुई बज्न तीन मिनेट बाँकी हुँदो हो । अर्को एकजना नर्स टेप लिएर आउनु भो र दशवटै औँलामा सेतो टेप लगाइदिनु भो । ह्विलचियर गुड्न थाल्यो । मैले उनलाई भनेँ–“केही हुँदैन ।”
दुई प्वाइन्ट रगतको बन्दोवस्त गरेर दाइ अपरेशन थिएटरमा आइसक्नु भएको थियो । मैले अघि सहीछाप गरेको कागज सम्झेर मेरो हात काप्न थाल्यो ।

छेउको कुर्सीमा बसेँ । “आज अपरेशनको चाप पनि बढी” –यति भन्दै अर्को नर्स थिएटरतिर छिर्नु भो । “प्यासेन्ट ट्रली” मा सुतेर अपरेशन भैसकेका बिरामीहरू धमाधम पोष्टअपतिर आउनेक्रम पनि उत्तिकै थियो ।

“पन्ध्र मिनेट है, त्यसपछि त अपरेशन सकिन्छ । बरु चिया पिएर आउनु होला ।” ओटी इन्चार्ज दिदीले यति भन्नु भो ।

“यहाँ कुर्नु पर्देन । फेरि ओखती चाहिएला ।” मैले भनेँ

“पर्दैन, दाइ क्या त । ढुक्कले चिया पिउन जानू ।” मेरो हात कापिरहेकै थियो ।

सधैँ चिया पिउने पसलमा आएँ र “साउनी चिया” भनेँ । मेरो अनुहार बदलिएछ क्यारे । साउनीले चाल पाउनु भएछ । “के भो अनुहार त अर्कै देखिन्छ नि ?”

“थियटरमा पठाएर आको । ”

“ए, अब बाउ हुने । लौ बधाई छ । त्यही भएर पो हस्याङ् फस्याङ् गाँठे । ”

चिया पनि आयो । आज चिया मलाई स्वादिलो लागेन । “पानी ज्यादा जस्तो छ चियामा” यति भनेँ र आधा चिया छाडेर हिँडेँ ।

साउनी भन्दै हुनुहुन्थ्यो– “चिया त पूरा सकेर जानू ।”

मैले नफर्कीकन हातले जवाफ दिएँ । पछि पिउँला ।

अपरेशन सकिएर पनि उनी पोष्टअपमा आइसकेकी र’ैछिन् ।

“छोरी आइ ”–दाइले भन्नु भो । छोरी भएको खबर सबैभन्दा पहिले दाइले चाल पाउनु भएछ । म नजिक आएर भन्नु भो– “बधाई छ छोरी भई ।”

ओ.टी. इन्चार्ज दिदी अझै मुस्कुराउँदै भन्नु भो– “बधाई छ कविजी ।”

“धन्यवाद दिदी हजुरलाई–” मैले यति भनेँ । इन्चार्ज दिदी ओ.टी.भित्र छिर्नु भो ।

गुलाबी रङ्को ब्ल्याङकेटमा बेरिएर छोरी अपरेशन थिएटरबाट बाहिर आइ । थिएटरको ढोकासम्म त छोरी इन्चार्ज दिदीको काखमा थिई । मैले त्यतिबेलासम्म छोरीको अनुहार देखिसकेको थिइनँ । उहाँले भन्नुभो– “ल कल्ले बोक्ने हो छोरीलाई ?”

दाइले मतिर र इन्चार्ज दिदीतिर हेर्र्दै पालैपालो भन्नु भो– “दिदी पनि, छोरी उसकै बाउले बोक्छ नि ।” मैले दाइलाई हेरेँ ।

“मुस्कुराउँदै ओइ ला छोरीलाई बोक्”–दाइले भन्नु भो । मैले छोरी बोक्न मानिनँ । छोरी इन्चार्ज दिदीकै काखमा थिई ।

“अब छोरी बोक्ने पालो तेरो” –दाइले भन्नु भो । यति भनेर दाइको पोल्टाबाट छोरी मेरो पोल्टामा आइ । त्यतिबेलासम्म हामी थियटर छिर्ने ढोकामै थियौँ । मैले छोरीलाई बोक्न जानिनँ । थिएटरको ढोकाबाट नर्स मलाई छोरी बोक्ने कला इशारा गरेर सिकाउँदै हुनुहुन्थ्यो । निकैबेर मैले छोरीलाई हेरिरहेँ । ढ्याक्कै भर्खर उदाएको घामजस्तै थिई छोरी । अघि कापेको हात अब काप्न छाड्यो ।

मैले भनेँ–“छोरी बोक्ने पहिलो अधिकार सबैभन्दा पहिले दाइको । ठूलोबाको ।” मैले यति भनेपछि दाइले छोरीलाई बोक्नु भो । त्यो बेलासम्म मैले छोरीको अनुहार हेर्न पाएको थिइनँ । दाइले ब्ल्याङ्केट बिस्तारै पल्टाउनु भो । भर्खर उदाएको घामजस्तै देखिइ छोरी । आँखा चिम्म गरेकी । छोरी रोइ । हत्तन पत्त गोजीमा हात हालेँ । जे जति मुठीमा हात लाग्यो सबै पैसा मुठ्याएर मैले पैलो चोटि छोरीको अनुहार हेरेँ । मेरो बाक्य रोकियो । छोरीलाई हेरेको हे¥यै भएछु ।

मैले पहिलोचाटि छोरी नबोक्नुको कारण हो, घरको सबैभन्दा ठूलो मान्छे भनेको त्यतिबेला दाइनै हुनुहुन्थ्यो । बा हुनुहुन्थेन । म घरको सबैभन्दा सानू । व्यबहारमा बहिनी भन्दा पनि सानू । ठूलो मान्छेको आर्शीर्वाद पहिलोचोटि पाउनु छोरीको हक हो । दाइ, छोरीलाई एकोहोरो हेरिरहनु भएको थियो । सँगै म पनि । त्यो बेलासम्म दाइ बोल्नु भएको थिएन । तर मलाई थाहा छ, दाइले अघिनै छोरीलाई आर्शीर्वाद दिनु भो । दाइले अघिनै भाग्गेमानी भनिसक्नु भो । छोरी पहिलोचोटि भाग्गेमानी भई ।

“अब छोरी बोक्ने पालो तेरो” –दाइले भन्नु भो । यति भनेर दाइको पोल्टाबाट छोरी मेरो पोल्टामा आइ । त्यतिबेलासम्म हामी थियटर छिर्ने ढोकामै थियौँ । मैले छोरीलाई बोक्न जानिनँ । थिएटरको ढोकाबाट नर्स मलाई छोरी बोक्ने कला इशारा गरेर सिकाउँदै हुनुहुन्थ्यो । निकैबेर मैले छोरीलाई हेरिरहेँ । ढ्याक्कै भर्खर उदाएको घामजस्तै थिई छोरी । अघि कापेको हात अब काप्न छाड्यो ।

थियटर बाहिर छोरी कुरेर बसिरेहका छन् मेरा आफन्तहरू । छोरीकी मामा र ठूलीआमा । सुरक्षामा बस्नुभाको दाइले घरक्क थिएटरको ढोका खोलिदिनु भो । मैले छोरी लगेर उसको मामाको काखमा राखिदिएँ । यो बेलासम्म छोरीले आँखा खोलेकी थिइन । घरकी कान्छी बहिनी अब कान्छी भइनन् ।
…………………………………………….
म छोरीकी आमालाई भेट्न पोष्टअपभित्र छिरेँ । गाउन सकिएको रहेछ । यत्तिकै छिरेँ । उनी ऐया…ऐया गर्दी रैछिन् । खुट्टा समाएँ चीसो । उनको हात समाएँ चीसो । कापेको जस्तो पनि थिइन् ।

मुस्कुराउँदै पोष्टअपको नर्सले भन्नुभो–“पहिला चैँ बधाई । दोस्रो चैँ । एउटा हटब्याग तयार गर्नु तुरुन्त । उहाँलाई जाडो भो । चारवटा व्ल्याङकेटले पनि भएन ।”

उताबाट अर्को नर्सको आवाज आयो– “हटब्याग तयार गरिदिएको छु मैले । पानी तात्दै छ ।”

मसँगै बस्नुभएको नर्सले भन्नु भो– “दुई हातमा सेकाइदिनु हटब्यागले । खुट्टामा चैँ पर्दैन । एनेस्थेसियाको असर छ । खुट्टालेचैँ चाल पाउँदैन । चीसो र तातो कम्मरभन्दा माथि नै सेकाइदिनू । नछोड्नु नि हटब्याग । बिरामीलाई थाहा हुन्न ।” मैले मुन्टो हल्लाएँ ।

हटब्याग आयो । उनको चीसो हातमा हटब्याग राखिदिएँ । उनको हातले तातोको स्पर्श पायो । अलि काप्न बन्द पनि भयो । उनी बोलेजस्तो गर्थिन् । केही भन्न खोजेजस्तो गर्थिन् ।

चारघण्टापछि उनलाई होस् आयो । छोरी जन्मेको खबर उनको कानमा पनि परिसकेछ । भनौँला भनेको भन्न पाइन । उनले भनिन्–“छोरी कस्ती छ ।”

मैले जस्तो देखेँ उस्तै भनिदिएँ–“छोरी भर्खर उदाएको घाम जस्तै छे ।”

“हैन के–को जस्ती छे । तपाइँजस्तो कि म जस्तो ।”

“अचम्म, अहिले कसरी भन्नी हो । मलाई यति थाहा छ, हात गोडाका औँलाहरू लामा लामा छन् । निधार बटुलो छ ।” यति भनेँ उनलाई । मेरो हातको तातो स्पर्श उनको हातमा गएर साटियो ।

छोरीकी आमा पोष्टअपमा छिन् ।

डाक्टरले भन्नुभाथ्यो–“छोरीले आमालाई नभेटाउञ्जेल छोरीलार्ई दुई दुई घण्टाको फरकमा तीस एम.एल.मात्र ल्याकटोजीन खुवाउनू ।” मैले खुवाउने विधि पनि सिकेँ । चीसोले होला अथवा भोकले होला, अथवा आमा खोजेकी होली, नखुलेकै आँखाले रुन्थी छोरी ।

डाक्टरले भन्नुभाथ्यो, दुई दुई घण्टामा खुवाउनू । छोरी रोएको देखेर म सोच्थेँ छोरी भोकाइ । मैले डाक्टरले भन्नु भएको कुरालाई अटेर गर्दै जति जति बेला छोरी रुन्थी उति उति बेला ल्याकटोजिन बनाउँथेँ र छोरीलाई खुवाउँथेँ । तातो स्पर्शले छोरी निदाउँथी, उसको ठूलीआमाको काखमा । त्यो रात पहिलोचोटि छोरीले आँखा खोली ।

दोस्रो दिन छोरीलाई अलि गारो भो । अनकल डाक्टरलाई बोलाएँ र बेलीबिस्तार लगाएँ ।

डाक्टरले भन्नु भो–“तपाइँ बाउ कि बच्चा । छोरी रोइ भन्दैमा दुई दुई घण्टामा खुवाउनु पर्ने कुरा आधा आधा घण्टामा खुवाउँदा एक दिनको बच्चाले पचाउन सक्छ । धन्न केही भएन ।” मेरो बोली आएन त्यसपछि । डाक्टरले मलाई निकै गाली पनि गर्नु भो र ओखती लेखिदिनु भो । दुई थोपा ओखती छोरीको मुखमा राखिदिएँ । रोइरहने छोरी चुप भई आधा घण्टापछि ।

भोलिपल्ट बा सरासर अस्पताल आउनु भएछ । म अस्पतालमा थिइनँ । तर बा आइपुग्नु भएको खबर पाएँ । दौडी गएँ खबरले । बा बसिरहनु भएको रहेछ । झ्यालपटीको बेडमा आमा छोरी । अर्को बेडमा दिदी र बहिनी । बालाई देख्ने बित्तिकै म मस्कुराएँ र भनेँ–“बा सन्चै ?”

बाले मुन्टो हल्लाउनु भो र छोरीलाई हेरिरहनु भो । बाले मुन्टो हल्लाउनु नै बा सन्चो हुनु हो झैँ लाग्यो ।

दिदीले भनिन्–“हेर्त साथीलाई जस्तो पो भन्दो रैछ ए बालाई त । बा सन्चै रे । दर्शन सर्सन छैन है बालाई । तेरो बुद्धि । बा सन्चै रे लौ ।” दिदीको कुरालाई मैले ध्यान दिइन । बा निकैबेर टोलाउनु भो छोरीलाई हेरेर । म पनि बोलिनँ ।

ढोका टकटक्को आवाज आयो । ढोका खोलेँ । डाक्टरहरुको राउण्ड आएछ । एकजना डाक्टरले भन्नु भो–“यत्तिका भीड त पाइँदैन बच्चालाई असर गर्छ ।” २ जना नर्सले पनि यो कुरा दोहो¥याउनु भो । दिदी हत्तन पत्त उठेर बाहिर गइन् । मैले भनेँ–“डा.साब सबै मेरो परिवारका सदस्य ।” बा अलि छेऊ लाग्नु भो ।

बा हिँड्ने बेलामा मैले बालाई भनेँ–“बा म छोरीको लागि झलुङ्गो किनेर ल्याउँछु । सजिलो हुन्छ ।”

बाले गाली गर्दै मलाई भन्नु भो–“ल्याउलास् झलुङ्गो । न तँ हुर्किस् झलुङ्गोमा । न तेरो दाइ । न तेरो दिदी । न तेरो बहिनी । तँलाई छोरी हुर्काउन गारो छ भनेँ बरु भन् म हुर्काउँला तर खबरदार झलुङ्गो ल्याइस भनेँ, झलुङ्गोमा हुर्कने छोरी हो र ।” मैले बाको कुरा नबोली मुन्टो हल्लाएर समर्थन जनाएँ । बाले भन्नु भो मैले मानेँ । छोरीकी आमा बाले मलाई गाली गर्नु भएको सुनेर हाँसी । ऊ हाँसेको देखेर बा पनि मुस्कुराउनु भो । म चुप बसेँ । दिदीले “खुच्चीङ” भनिन् । त्यो दिनदेखि मेरो मनबाट झलुङ्गो हट्यो ।

छोरीको छैठीको दिन र आमाको श्राद्धको दिन एकैचोटि प¥यो । श्राद्ध त ट¥यो । बाले फेरि भन्नुभो–“यसको हजुरआमाको श्राद्धको दिन छैठी परेछ । यो त तेरी आमाको भाग्य लिएर आइजस्तो पनि छ ।” मैले बाको अनुहारमा निकैबेर हेरेँ ।

छैठीको दिन आयो ।

बाले छोरीको लगन बनाउनु भएछ । रातो कागजमा के के लेखिएको थियो त्यो त म जान्दिनँ, त्यो थमाउँदै बाले भन्नु भो–एक टपरी चामल राख । चामलमाथि दीयो राख । टपरीमा पैसा राख । फलफूल राख । अनि त्यसमाथि यो लगन राख । छेउमा एउटा कलम राख कापी राख । नहरा नि यो लगन । न्वारनको दिन चाहिन्छ ।

छैठीको दिन अस्पतालमा नै बत्ती बालिदिएँ । छोरी सुत्ने बेडको टाउकोतिर फर्किएर दीयो बलिरह्यो । बाले भन्नभाथ्यो– “रातभरि दीयो कुरेर बस् । दियो निभ्न हुन्न ।” मलाई दीयो निभ्ला भन्ने चिन्ता पनि उत्तिकै भो । रातभरि कुरेर बसेँ । तर दीयो निभ्न दिइन । बिहान डाक्टरहरूको राउण्ड आउँदासम्म दीयो बलिरहेको थियो । बाको कुरा मैले पूरा गरेँ । दीयो निभ्न पाएन ।

बा अस्पताल आउँने बित्तिकै छोरीलाई बोक्नु भएछ निकैबेर । निकैबेर बाले छोरीलाई नियाल्नु भएछ । छोरी बोक्दा बोक्दै बाका आँखाबाट आँसु बगेछ । बाको आँखाबाट आँसु बगेको छोरीको आमाले देखिछ । ऊ पनि बासँगै रोइछ । यो कुरा छोरीको आमाले मलाई दुई दिन पछि भनी ।

मैले उसलाई भनेँ–“यो कुरा आज किन भनेको त मलाई, अस्ती नभनेर, अनि बाले छोरीलाई केही भन्नु भएन ?”

उनले भनिन–“बा कस्तरी रुनु भाथ्यो । त्यतातिर ध्यानै भएन ।”

मैले उनलाई भनेँ–“थाहा छ ममता, बाले छोरीलाई भाग्गेमानी भन्नु भो । बाले सबैलाई भाग्ग्ेमानी भन्नुहुन्छ । बाले भनेको पुग्छ पनि । ” त्यो दिनदेखि छोरी अझै भाग्गेमानी भई ।
…………………………………………..
डिस्चार्ज गरेर छोरीलाई घर लगेँ । घरको ढोका छिर्ने बित्तिकै भित्तामा राखिएको आमाको तस्बीर (आमा) लाई छोरी चिनाइदिएँ । छोरीलाई हजुरआमा चिनाइदिएँ । तस्बीरको आमा मुस्कुराउनु भो । मलाई थाहा छ त्यहाँ पनि आमाले छोरीलाई भाग्गेमानी भन्नु भो । छोरी घरको दैलोमा छिर्ने बित्तिकै अझै भाग्गेमानी भई ।

छोरीको न्वारनको दिन चाहिने सामान बालेनै जोहो गर्नु भएछ । अलिअलि सामानको लागि मलाई भन्नु भो । त्यो जोहो गरेँ ।

बाले भन्नुभएझैँ छोरीको नामको पहिलो अक्षर “ला” बाट आउने हुनुपथ्र्यो । छोरीको नाम राख्नमा तँछाड मछाडमा हामीले धेरै दिन बितायौँ । घरका सबैले एकएक खाले नाम बोकेर बसे । यो कुरा बालाई थाहा थिएन । बाले नाम माग्नु हुन्छ भन्नेचैँ थाहो थियो । तर छोरीको नाम बालाई भनेका चैँ थिएनौँ हामीले ।

बाले भन्नुभएझैँ पीपलको बात ल्याएँ । पीपलको पातलाई बेरेर गोलो सानो आगो फुक्ने ढुङ्ग्रोजस्तो बनाइदिएँ र बनाएपछि बालाई सोधेँ–“बा यसो किन बिनाएको पीपलको पातलाई बेरेर ?”

बाले भन्नुभो– “अहिले गुरुले यहीबाट छोरीको कानमा भन्नुहुन्छ, छोरीको नाम ।”

हामी आ आफ्नै नाम बोकेर बस्यौँ । कसैलाई नभनी । बालाई पनि नभनी ।

छोरीको नाम दिने बेला आयो । छोरीको कानमा उसको नाम भन्ने बेला आयो । गुरुले अघि मैले गोलो पारेको पीपलको पातलाई फुकाउनु भो । बाले एकैचाटि सबैलाई भन्नु भो– “छोरीको नाम कसैले सोचेको छ भने देओ है ।”

मैले बालाई भनेँ–“बा तपाइँले सोच्नु भएन छोरीको नाम ?”

“मेरो त छँदै छ नि, पैला तिमीहरूको नाम के रैछ हेरौँ न” –बाले यति भन्नुभएपछि मैले चाल पाएँ, बाले छोरीको नाम सोचिसक्नु भाछ । घरका सबैलाई यो कुरा भनेँ । यसपछि घरका कसैले पनि नाम दिने आँट गरेनन् ।

दाइले भन्नुभो– “तपाइँकै नाम सदर भो बा, अरुले नाम दिन सकेनन् ।”

दाइले यति भनेपछि बा मज्जाले हाँस्नु भो । “नाम दिन सकेनौ है ।” बाको अनुहार अझै उज्यालो देखियो ।

छैठीको दिन बनाको लगनमा छोरीको नाम लेख्न लाउनुभो बाले–दाइले नाम लेख्नु भो–बाले भन्नुभो–छोरीको नाम “लावण्य ।”

गुरुले पीपलको पातमाथि अबिरले लेख्नु भोे– “लावण्ड” र त्यही पातलाई फेरि बेरेर छोरीको कानमा गएर छोरीलाई सुनाइदिनु भो उसको नाम “लावण्य” । छोरी त्यस दिनदेखि “लावण्य” भई ।

होमको लागि दाउरा बनाएँ । म पूजामा बसेँ । गुरुले जसो जसो भन्नुभो उसै उसै गरेँ । होम भयो ।

बाले भन्नु भो–“छोरीलाई दुई अञ्जुलीमा राख् र सातचोटि यो बलिरहेकोे होमको आगो माथिबाट उफार् ।”

मैले बालाई भनेँ–“उफार्नै पर्छ र बा । डरलाग्दो भो त ।”

बाले भन्नु भो– “खुरुक्क छोरीलाई हातमा राख । खुरुक्क उफार ।”

छोरीको आनीबानीमा परिवर्तन हुँदै आयो । उसमा देखिएको सबैभन्दा ठूलो परिवर्तन भनेको रुने कला हो । रुने कला अचम्मको भाछ । एकदिन छोरी निरन्तर रोइ । छोरी रोएको देखेर उसकी आम पनि रोइ । हतार हतार अस्पताल लिएर आएँ । हुर्कने बेलामा यस्तै हुन्छन् बच्चाहरू । आत्तिन पर्ने छ केही छैन । औषधी लेखिनु पर्ने ओ.पि.डी. कार्डमा डाक्टरले लेखिदिनु भो “वेल बेबी” ।

बाले यति भनेपछि छोरीलाई दुई अञ्जुलीमा राखेँ र बलिरहेको आगोमाथि सात चोटि उफारेँ । छोरी त्यो बेला पनि रोइन । अनि उफारिसकेपछि मैले बालाई भनेँ–“बा यसरी उफार्दा के हुन्छ ?”

बाले भन्नुभो– “तँलाई एक दिन बताम्ला ।”

अनि फेरि बाले भन्नु भो– “अब छोरीको दाहिले पैताला जमिनमा टेकाइदे ।”

छोरी उसको आमासँग थिइँ । उसकी आमा छोरी बोकेर म छेऊ आइन् र बाले भन्नुभएजस्तै पूर्वतिर फर्किइ र छोरीको दाहिने गोडा पहिलोचोटि पृथ्वीमा टेकाइदिइ । यतिखेर पनि छोरी रोइन ।

गुरुले भन्नु भो–“यी नानी भाग्गेमानी छिन् । रोइनन् । बच्चाहरू त रुन्छन् जमिन टेकाउँदा । टेकाउँदा रोए भने, दुःख पाउँछन् रे ।” त्यो दिन पनि छोरी भाग्गेमानी भई ।

एकछिन पछि त छोरी रोइ । चीसोले होला भन्ठानेँ ।

बाले मैले पहिले दिन भनेको कुरा भन्नुभो– छोरीको हात गोडाको औँला असाध्यै लामा छन् । निधार बाटुलो छ । छोरी भाग्गेमानी छे ।
……………………………….
छोरीको आनीबानीमा परिवर्तन हुँदै आयो । उसमा देखिएको सबैभन्दा ठूलो परिवर्तन भनेको रुने कला हो । रुने कला अचम्मको भाछ । एकदिन छोरी निरन्तर रोइ । छोरी रोएको देखेर उसकी आम पनि रोइ । हतार हतार अस्पताल लिएर आएँ । हुर्कने बेलामा यस्तै हुन्छन् बच्चाहरू । आत्तिन पर्ने छ केही छैन । औषधी लेखिनु पर्ने ओ.पि.डी. कार्डमा डाक्टरले लेखिदिनु भो “वेल बेबी” । यसपछि छोरीको आमाको मुस्कान फर्कियो । अहिले पनि छोरीको आमाको अनुहार धमिलो देखेँ भनेँ “वेल बेबी” लेखिएको ओ.पी.डी. देखाइदिने गरेको छु । उसको मुस्कान तुरुन्त फर्किन्छ ।

छोरीकी आमा अचेल भन्न थालेकी छिन्–छोरी निदाउँछे तपाइँजस्तै । छोरी निदाउँदाचैँ मुठी कसेर निदाउँछे । निधार पनि खुम्च्याउँछे तपाइँजस्तै ।

छोरीलाई हेर्नु उसको आनीबानी चैँ छ मजस्तै । नपत्याए गाला हेर्नु त फुलेका छन् मेरा जस्तै । यस्ता कुरामा उनी रमाउन थालेकी छिन् । म सोचिरहेछु खुसीहरू किन्न कतै जानै पर्दैन ।

बाले भन्नुभाछ–“छोरीको पास्नी आउन दे । एकातिर पैसा राखिदे । अर्कोतिर कापी र कलम राखिदे । अनि हेर, छोरीले पहिलो पटक जेलाई छुन्छे, त्यो छोरीको हुन्छ ।”

म बाले भन्नुभाजस्तै पास्नी कुरेर बसिरहेको छु । मनमा एउटा खुल्दुली छ । आखिर छोरीले छुन्छेचैँ केलाई । यो जान्ने खुल्दुली छ । अब त म पनि बा ।

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: