‘मलाई योगले बलात्कारको आघात र डिप्रेशनबाट बचायो’


प्रकाशित मिति :2019-11-04 12:05:03

आफ्नी आमाले आत्महत्या गरेपछि नताशा नोएलले तीन वर्षको उमेरमा ठूलो वज्रपात सहनुपर्‍यो ।

सात वर्षको उमेरमा उनको घरमा काम गर्ने एक व्यक्तिले उनको बलात्कार गरे।

त्यसपछिका वर्षहरूमा उनले आफ्ना आफन्तबाट यौन दुर्व्यवहार बेहोरिन् जसका कारण उनी गम्भीर प्रकृतिको डिप्रेशनको सिकार भइन्।

तर आफ्नो विगत स्वीकार गर्दै योगमार्फत् आफूलाई निको बनाएकी नताशाले शारीरिक र मानसिक शक्ति आर्जन गरिरहेकी छन्।

उपचार

निको हुनेतर्फको नताशा नोएलको यो यात्रा उनी २१ वर्ष पुगेपछि बल्ल सुरु भयो।

उनका प्रेमीले उनलाई माया गर्न छाडेका थिए र अलग्गिने निधो गरेका थिए।

त्यही भएर सबै अस्तव्यस्तताको अवस्था उनले आफैँले समाधान गर्नुपर्ने भयो। तर उनको घाउ निकै गहिरो थियो।

नताशा साढे तीन वर्षकी हुँदा उनकी आमाले आत्मदाह गरेकी थिइन्।

गम्भीर खालके मानसकि रोग लागेका उनका बुवालाई त्यसपछि घरबाहिर पठाइयो। त्यसपछि उनी आफ्ना धर्ममातापिताको गइन्।

सात वर्षको उमेरमा घरेलु कामदारले उनलाई बलात्कार गरे। तर उनले त्यस घटनाबारे कसैलाई भनिन्।

त्यसको केही समयपछि नै आफन्तले दुर्व्यवहार गर्दा वा महिला आफन्तले अनुपयुक्त ढङ्गले छुँदा पनि उनी एक शब्द बोलिनन्।

“मेरो बाल्यकाल सदैव पश्चात्ताप र पीडामा बित्यो र सधैँ मैले त्यसको लागि आफूलाई नै दोषी ठानिरहेँ,” उनले भनिन्। “मलाई आफूलाई दोषी ठान्न मन पर्‍यो। मेलै त्यो भोग्नैपर्छ भन्ने मलाई लाग्यो।”

उनले वर्षौँसम्म आत्मविश्वासको सङ्कट खेपिकी उनले नृत्यमा स्वतन्त्रता अनुभव गरिन्।

आत्मविश्वासी भएर आफूलाई प्रस्तुत गर्ने माध्यम नृत्य बन्यो।

भारतको मुम्बई महानगरमा उनले एउटा स्थानीय तालिम केन्द्रमा ज्याज, ब्याले र समकालीन नृत्य सिकिन्।

तर घुँडामा चोट लागेपछि उनले त्यसलाई निरन्तरता दिन सकिनन्।

बदलिने आकाङ्क्षा

विद्यालयमा हुँदा दुर्व्यवहार सहनुपरेपछि डिस्लेक्सिया भनिने लेख्न र पढ्न रुचि नहुने समस्या उनमा देखा परेको थियो।

उनले स्नातक तहसम्मको अध्ययन पूरा गरिन् र उनकी धर्मआमाले उनलाई सुरक्षित जागिर पाइने भएकाले शिक्षण पेसा अँगाल्न सुझाव दिइन्।

नताशाका अनुसार उनको नयाँ परिवारले उनलाई आफूले सकेसम्म माया दियो तर त्यो उनका लागि कहिल्यै पनि पर्याप्त भएन।

“त्यस बेला मैले ‌आफूलाई केन्द्रमा राखेँ, म स्वीकारिन तयार थिइनँ र म कसैसँग खुलिनँ। म शिक्षकको जागिर खानका लागि तयार थिइनँ।”

त्यसपछि प्रेमवियोगको त्यो अवस्था आयो जसले उनमा फेरिनुपर्छ भन्ने आकाङ्क्षा जगायो।

“मैले यतिमात्रै थाहा पाएँ कि म राम्रो हुनैपर्छ।”रिक्तताको पूर्ति

जीवनको त्यो चरण उनका लागि एउटा ठूलो शिक्षा बन्यो: “तपाईंले आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ किनभने अरू कसैले पनि त्यसको ख्याल राखिदिँदैन।”

“मेरा लागि डिप्रेशन भनेको अति नसुहाउँदो व्यवहार देखाउने अवस्था जस्तै थियो। मैले आफूले सास फेर्न नसक्दासम्म खाइरहन्थेँ र त्यसपछि बान्ता गर्थेँ। तर कहिलेकाहीँ आफूलाई भोकभोकै राख्थेँ। कहिले दिनभरि सुतिदिन्थे अनि कहिले सुत्दैसुत्दिनथेँ।”

भारतमा मानसिक स्वास्थ्यलाई अधिकांश अवस्थामा उपेक्षा गर्ने गरिन्छ।

त्यहाँ मानिसहरूमा चिन्ताजनक तहमा डिप्रेशनको समस्या रहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार चारमध्ये एक व्यक्तिमा जीवनको कुनै मोडमा मानसिक रोग हुने गरेको छ।

नताशा कम उमेरमै उपचारका लागि गएकी पनि थिइन्, तर यसपालि उनले आफूलाई ख्याल राख्ने मौलिक किसिमको बाटो रोज्ने निर्णय लिइन्।

त्यस क्रममा एउटा आभार प्रकट गर्ने दैनिकी लेख्न अनि त्यससँग मिल्ने लक्ष्य पूरा गर्ने गतिविधिको अर्को दैनिकी थालिन्।उनी भन्छिन्, “मेरो डिप्रेशन र चिन्ताले मलाई त्यसभन्दा बाहिर आउन प्रेरणा दियो।”

“मैले मेरा लागि प्रत्येक दिन कपाल कोर्ने वा पाँच मिनेटका लागि बाहिर हिँड्न निस्कने जस्ता सामान्य खालका लक्ष्यहरू निर्धारण गरेँ।”

त्यस्तो केही पनि गर्न नसकेको दिन उनी आफ्नो लागि भए पनि दयालु बन्ने गर्न थालिन्।

“मैले असफल हुनु र भोलि पुन: सफल हुने प्रयास गर्नु ठिक हो भनेर सिक्न थालेँ। मैले अरू विकल्प फेला नपर्दासम्म आफूलाई माया गर्ने क्रम जारी राखिरहेँ।”

त्यो उनको बानीमा आएको महत्त्वपूर्ण परिवर्तन थियो।

“म सम्झन्छु मेरा थेरापिस्टले मलाई तिमीलाई कस्तो छ भनेर सोध्दा म मलाई ठिक छ भन्ने उत्तर दिने गर्थेँ।”

उनी सम्झिन्छिन्, ‘म अरूलाई यति धेरै माया दिने गर्थेँ कि आफ्नोबारे केही परवाह गर्दिन थिएँ।”

योगमार्फत् नयाँ जीवन

नताशाको डिप्रेशन र चिन्ताबाट मुक्त हुने जीवन यात्राको महत्त्वपूर्ण अङ्ग ध्यान बन्यो।

त्यसपछि उनले शारीरिक र मानसिक शक्ति आर्जन गर्न त्यसमा योग पनि मिसाइन्।

“घुँडामा चोट लागिसकेपछि म नाच्न सकिनँ अनि कुनै शारीरिक काममा पनि लाग्न सकिनँ। तर मैले संसारभरिका महिलाले सामाजिक सञ्जालमा अद्भुत किसिमका हाउभाउ देखाइरहेको देखेँ र मलाई त्यो गज्जब लाग्यो।”

उनी एक एक पाइला गर्दै योगको विशिष्ट अनुभव गर्न चाहन्थिन्।

त्यो भनेको शारीरिक आसन भन्दा पनि प्राणायाम गरेर मस्तिष्कसम्मै योगको प्रभाव अनुभूति गर्नु थियो।

“सुरुमा यो एकदमै सुस्त प्रक्रिया थियो तर पछि उत्साहजनक परिणाम आउन थाल्यो।”

योग थालेको पाँच वर्षमा उनी अहिले राम्रो अवस्थामा पुगेकी छन्।उनी भन्छिन्, “अहिले जे जस्तो अवस्था भए पनि म दिनको सुरुमा योगको अभ्यास गर्छु र केही मिनेट ध्यान गर्छु।”

यसले तनावपूर्ण दिनलाई कम कष्टकर बनाएको मात्रै छैन उनलाई आफैँलाई प्रेम गर्न विगतमा कहिल्यै अनुभूति नगरेको स्तरमा उत्प्रेरणा दिइरहेको छ।

नताशाले यसलाई आफ्नो जीवनशैलीमा नै ढाल्ने निर्णय लिइन् र त्यसपछि योग प्रशिक्षकको तालिम गरिन्।

सत्ताइस वर्ष पुगेकी उनले अहिले पनि नराम्रो क्षण खेप्नुपर्छ। तर त्यसबाट कसरी अघि बढ्ने भन्ने उनलाई थाहा छ।

उनी योगशिक्षिका मात्रै नभएर मानसिक स्वास्थ्यको पक्षमा पैरवी गर्ने समाजिक सञ्जालमा प्रभावशाली रहेकी एक अभियानकर्ता पनि हुन्।

उनले आफू स्वयंलाई स्वीकार गरेपछि अहिलेको यात्रा सम्भव भएको बताउँछिन्।

“तपाईँले मेरा बारेमा भन्ने शब्द र त्यो भन्दा अझ खराब मैले पहिले नै आफ्नो लागि सोचिसकेकी छु,” उनले आफ्नो इन्स्टाग्रामको प्रोफाइलमा लेखेकी छन्।

त्यहाँ उनले आफ्ना दुई लाख ४५ हजार फलोअरलाई लक्षित गर्दै योगाभ्यास गर्न प्रेरणा दिने गर्छिन्।

उनको व्यक्तिगत अनुभव र भोगाइ पनि बेलाबेलामा लेख्ने गर्छिन्।

“मैलै निरन्तर रूपमा मानसिक पीडा बेहोरिरहेँ। स्वयम् आफैँलाई निराश बनाइरहेकी थिएँ।”

प्रभावशाली व्यक्तिका रूपमा उनलाई कतिपयले सामाजिक सञ्जालमा ट्रोल गरिराख्छन्। उनलाई कतिपयले ‘चरित्रहीन’, ‘असक्षम’, ‘सहज खालकी’ वा ‘अपर्याप्त’ जस्ता सङ्ज्ञा दिने गरेको देखिन्छ।

तर उनलाई त्यसको कुनै वास्ता छैन।

“मैले मेरो धारणा फेरिसकेकी छु र अझ राम्रो बन्नका लागि काममा जोड दिने गरेकी छु।”

“यो अवस्थासम्म आइपुग्न मलाई २० वर्ष लाग्यो र मलाई अझै पुगिसकेको छैन। प्रत्येक सासमा एक पटक म आफूलाई उपचार गराइरहेकै छु।”

साभार : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: