किन बन्द भयो स्यानिटरी प्याडको उत्पादन ?


प्रकाशित मिति :2019-10-03 16:26:40

करिब एक वर्षअघि सञ्चार माध्यममा “प्याड वुमन” शिर्षकको समाचार भाइरल भयो । अभियन्ता राधा पौडेलले हातमा स्यानिटरी प्याड लिएकी थिइन् । त्यो आम नेपालीलाई उत्साह दिने समाचार पनि थियो । कारण, अभियन्ता पौडेलको अगुवाइमा चितवनमा महिलाहरूले ४० लाख रुपैयाँको लागतमा स्यानिटरी प्याडको उत्पादन थालेका थिए ।

वातावरण मैत्री जैविक स्यानिटरी प्याड । वातावरणलाई असर नगर्ने, प्रयोगकर्तालाई पनि एलर्जी नहुने भनी ल्याब टेष्टबाट प्रमाणित भएको त्यो स्यानिटरी प्याड प्रयोग गर्न महिलाहरू हौसिएका पनि थिए । अझ, स्वदेशमै केही गर्नुपर्छ भन्ने अभियानकर्ताको पहलमा सुरु भएको यो उद्यम । जसरी पनि सफल पार्नुपर्छ भनेर उद्यम थालेका महिलाहरूलाई हौस्याउने पनि थुप्रै थिए ।

दुःखद, सञ्चालनको वर्षदिन नपुग्दै उत्पादन रोकिएको छ । सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएपनि यो उद्योगलाई त्यो नीतिले कुनै सहुलियत दिएको छैन ।

सरकारले गएको साउनदेखि सामान आयात तथा निर्यात गर्ने उद्योग, व्यक्ति वा संस्थाले आफ्नै निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) हुनुपर्ने व्यवस्था गरेपछि यो उद्योगले काम रोक्नुपर्यो ।

मितेरी जैविक प्याड उत्पादन केन्द्र नाम राखेर सुरु गरेको स्यानिटरी प्याड उत्पादन उद्योगमा तीन महिना यता कच्चा पदार्थ छैन । केन्द्रकी अध्यक्ष सावित्री भण्डारी उद्योगमा कच्चा पदार्थ नहुँदा तीन महिनायता उत्पादन गर्न नसकेको बताउँछिन् ।

‘स्यानिटरी प्याडको कच्चा सामग्री भारतबाट ल्याउनुपर्छ’ भण्डारीले भनिन्, ‘यसअघि अरुको एक्जिम कोडको सहायताले कच्चा सामग्री खरिद गरेका थियौं, अहिले आफ्नै एक्जिम कोड नभइ ल्याउन नमिल्ने रहेछ ।’

एक्जिम कोड लिन गर्न उनीहरू तयार छन् । उद्योगमा भएको नाफा व्यक्तिमा बाँडफाँड नगरी उद्योग बढाउनै लाग्नेगरि घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता पनि भइसकेको छ । तर, उद्योगसँग एक्जिम कोड लिनको लागि राख्ने धरौटी रकम छैन । निकारी पैठारी संकेत नम्बर प्रदान गर्ने सम्बन्धी कार्यविधी २०७३ को दफा ५ (छ) ले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकले जारी गरेको न्यूनतम एक वर्षको अवधि भएको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत भएपछि मात्रै एक्जिम कोड प्रदान गर्ने व्यवस्था छ ।

भण्डारी भन्छिन्, उद्योगसँग भएको अलिअलि रकम कच्चा पदार्थ खरिदकै लागि चाहिएको छ । नाफा नकमाइ स्वदेशमै उद्यम गर्न चाहेको हामीजस्ता महिलालाई प्रोत्साहनको लागि सरकारले एक्जिम कोडको लागि वैकल्पिक व्यस्था गरिदिए उत्पादन थाल्न सहज हुनेथियो ।

उद्योगका सुपरभाइजर मोती कँडेलका अनुसार स्यानिटरी प्याड बनाउन बायो प्लाष्टिक, बायो नन ओभन, कपास टाँस्न गम २ प्रकारका आवश्यक पर्छ । अहिले उद्योगसँग बायो प्लाष्टिक सकिएको छ । तर, एक्जिम कोड नहुँदा आयात गर्न सकिएको छैन ।

सरकारले जनतालाई उद्यममा आकर्षित गर्ने भनेर कम ब्याजदरमा ऋण दिने विभिन्न उद्यमशिलता कार्यक्रम ल्याएको पनि छ । महिला उद्यमशिलता कोष पनि खडा गरेको छ । तर, एकातिर प्रोत्साहनको नीति, अर्कोतिर अड्चन आउने खालका व्यवस्थाले उद्यम गर्न महिलालाई प्रोत्साहन हुनै सक्दैन । जुन उदाहरण चितवनको जैविक स्यानिटरी प्याड उद्योग हो ।

सामान्यतया हेर्दा, व्यवस्थित कर प्रणाली बनाउन लागु गरेको एक्जिम कोडको व्यवस्था नराम्रो पक्कै होइन । तर, त्यसमा पनि उद्यमको प्रकृति छुट्याउन जरुरी छ । यस प्रकृतिका उद्योगलाई संभव भएसम्म निःशुल्क वा कम शुल्कमा एक्जिम कोड ल्याउने व्यवस्था गर्न जरुरी छ । तर, कार्यविधीले पचास हजार भन्दा बढी रकमको सामान आयात हुनेभएपछि अनिवार्य एक्जिम कोड हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले कम लागतमा र सेवा उन्मूख उद्योगलाई सहयोग गर्दैन ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने अति नै लोकप्रिय कार्यक्रम कार्यक्रम ल्याएको छ ।

महिलाका प्रत्यक्ष प्रजनन् स्वास्थ्यसँग जोडिएको स्यानिटरी प्याड उत्पादन स्वदेशमै गर्न जरुरी छ । स्यनिटरी प्याडमा कर लगाउनुहुँदैन भन्ने अधिकारकर्मीहरूको आवाज उठिरहँदा कच्चा पदार्थ नै ल्याउन नसकेर स्वदेशमा उत्पादन थालेको एउटा उद्योग बन्द हुने स्थितीमा पुग्नु दुःखद हो ।

त्यसैले चितवनका महिलाले थालेका जस्तो स्थानीय तहमा थालिएका उद्यमलाई दीर्घकालिन रुपमा स्थापित गर्न उद्योगको प्रकृति हेरेर कर र आयातमा सहज बनाइदिन जरुरी छ । साथै,स्वदेशमै उत्पादन गरिएका गुणस्तरीय स्यानिटरी प्याड सामुदायिक विद्यालयमा वितरण गर्ने नीति सरकारले लिने हो भने उनीहरूको बजार प्रवद्र्धनमा पनि सहयोग हुने देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला उद्यमीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर हुनुपर्छः आयुक्त तिम्सिना

सानो लगानीबाट व्वसाय सुरु गरि सफल भएका व्यवसायी महिलाहरूले आफ्नो व्यवसाय स्थापना गर्न परिवार र

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: