प्रसूति गृहमा एक रात


खुला पत्र

प्रकाशित मिति :2019-09-26 13:43:01

आदरणीय डा. जागेश्वर गौतम ज्यू,

म आज दिउँसोदेखि प्रसूति गृहको पुरानो भवनमा रहेको अनेक्स वार्डमा छु । भोलि बिहान ९ बजे अप्रेसन छ भनिएको छ । ६ वटा बेड भएको यो वार्डमा दुई जना सुत्केरी, ३ जना सुत्केरी व्यथा लागेकासहीत म छु । यद्यपि मलाई व्यथा लागेको छैन ।

यो वार्डमा त तपाईं आउनु भएकै होला । भित्ताभरी माकुरोका अनगिन्ती घर छन् । एउटा झ्यालका दुईतिर जाली छ, जुन एउटामात्रै सद्दे छ । जहाँबाट गर्मीको यो मौसममा आउन मिल्ने सबै लाम्खुट्टे सहजै भित्र आइरहेका छन् । बाहिर सितल छ, तर भित्र अत्यधिक गर्मी । पंखा त छ तर अपरेसन गरेका सुत्केरी र शिशुसंगै भएका कारण हाम्लाई पंखा छुन पनि मिलेको छैन । किनकि पंखा लाउदा आमा र शिशुलाई समस्या हुन्छ भनिएको रहेछ । अहिले रातीको १ बज्यो । अघि ११ बजेतिर बाहिर गएर झुल किनेर ल्याएको, लाउन नमिलेर सलले लाम्खुट्टे हम्कदै बसेकि छु । एक हिसाबले अस्पतालको यो बसाई लोकतान्त्रिक मुलुकको यातना गृह झैँ लागिरहेको छ ।

नेपालकै सबैभन्दा ठूलो मान्छे उत्पादन गर्ने फ्याक्ट्रीका रुपमा परिचित यो अस्पतालमा सामान्य परिवारकी मलाई एक रात बिताउन पनि यस्तो आपत् ? सरकारी अस्पतालको सेवामा बढी विश्वास गर्दै आइरहेकी मलाई हिनताबोध भइरहेको छ र म आफैलाई प्रश्न गरिरहेकी छु, ‘आँखिर म यस्तो अस्पतालमा किन आएँ ? किन पैंसा तिरेर प्राइभेट अस्पतालमा गइन ?’

निदाउँ नै नसकेपछि पटकपटक पिसाब आइरहेको जस्तो हुने । तर तपाईंलाई त थाहा छ नि है, बिरामीदेखि कुरुवासम्मले प्रयोग गर्ने यो बिचरा शौचालयको दुर्दशा कस्तो छ भनेर । यसको अनुहार हेर्दा त लाग्छ यो शौचालयको मुहार सफा नभएकै कम्तिमा दशक त पुग्यो होला ।

महिलाको हकमा तपाईं मलाई कुनै भगवान भन्दा कम लाग्नु हुन्न । किन थाहा छ, मैले यो लौकिक जगतमा सजिव भगवान देख्ने अवसर अहिलेसम्म पाएकी छैन । यसकारण मलाई नदेखिएको भगवानमा विश्वास नै छैन । तपाईं जस्ता मान्छेलाई जीवन दिने, सुशासन र न्यायको लागि लड्छु भन्ने मान्छे नै मलाई साक्षात भगवान लाग्छ । र म तपाईं जस्तालाई नजिक नहुदा पनि अन्तरमनले स्यालुट गर्छु ।

मैले तपाईंलाई सुशासनको पक्षपाती किन भने थाहा छ ? सुशासनको पक्षमा तपाईंले उठाउने विषयहरू निकै तार्किक, गहकिला र सान्दर्भिक लाग्छन् । तपाईं एउटा जिम्मेवार, अनुभवी र दक्ष चिकित्सक भएका कारण सुत्नेसमेत फुर्सद पाउनुहुन्न होला भन्ने लाग्छ मलाई । तर नेपाल सरकारको कर्मचारी भएर पनि समसामयिक विषयमासमेत तपाईंको विचार सुन्दा र पढ्दा तपाईं हाम्रै पालामा परिवर्तन खोज्ने र चाहाने मान्छे हो भन्दा फरक नपर्ला ।

हेर्नुस् न सर, तपाईंलाई यति कुरा लेख्दालेख्दै फेरि पिसाब गरेर आएँ । अहिले त त्यही शौचालयको धारा खोल्दा टाउकैदेखी पो भिजेछु । कसरी थाहा छ सर ? शौचालयको प्याननेरको धारा बन्द नहुदो रहेछ । सायद मजस्तै कोही महिलाले आफ्नो कपालको रबर बाधिदिनु भएछ । त्यसले धेरथोर पानी बग्न कम त गरेको छ, बन्दचाहिँ होईन । त्यही धारा बन्द गर्न लाग्दा रबर फुत्किएर भिज्न पुगेछु । झन्डै दुई जोर अरु पनि लुगा ल्याएको थिएँ र चेन्ज गर्न सजिलो भो । तर त्यही शौचालयभित्रको नुहाउने, हातमुख धुने धारा भने खोल्नै मिल्दैन, धाराको टुटी नै छैन । अनि त्यही शौचालयबाहिरको धारा पनि त बन्द त कहाँ हुनु र ! काठमाडौंमा बस्दा पानीको अभाव खेपिसकेका म जस्ता मान्छेलाई यसरी २४ सै घण्टा फोकटमा पानी बगेको देख्दा त लोभ पो लाग्दोरहेछ । पाइपै लाएर आफ्नो कोठामा लैजाउ जस्तो ।

लौन कति ठूलो कक्रोज ! अघिको मुसा जत्रो । सबैजनाको ध्यान भित्तामा फाट्टफुट्ट देखिरहेका कक्रोज (साङ्ला) र मुसातिर छ । बिचरा मुसा र कक्रोज पनि किन नआउन त नि ! उनीहरूलाई पनि त खान चाहिँदो हो ।

पल्लो बेडमा व्यथा लाग्ने औषधि राखिएकी एक महिला भन्दैछिन्, “महिलाहरू पनि कति ‘फोहोरी’ हुन् । ‘जाबो व्यथा’ लागेको छ भन्दैमा आफ्नो फोहोर पनि व्यवस्थापन गर्न नसक्के । यसो बाहिर राखिएको डस्टबिनमा हाल्नु नि फोहोर । यत्तिकै फ्यात्त फालेछ्न खाट्मुनी । जुन कुरा मुसा र कक्रोजको चारो भइरहेको छ ।ˮ हुन त हिजोदेखी यो कोठाले कुचो पनि त पाएको रहेनछ । अनि खाटबाट ओर्लिदा केही गरेर चप्पलभन्दा बाहिर खुट्टा गैहाल्यो भने पैतालाभरी माटो लाग्नु त स्वाभाविकै होईन र ?

रातको सवा एक बज्यो । आँखा पोलिरहेका छन् । गर्मी र मच्छरले कसरी सुत्नु ? पल्लो बेडकी सुत्केरी महिलाको कम्मर मुनी लुगा नै छैन । उहाँले प्रयोग गर्नुभएको प्याड पनि रगतले पूरै भिजिसकेको छ । बिचरा गर्मीले शरीरको मेक्सी कता गयो, पत्तो पाउनु भको छैन । राती ९ बजेपछि पुरुष कुरुवालाई प्रवेश निषेध रैछ मात्रै ।

प्रसूति गृहमा तपाईं निर्देशक भएकै बेला नयाँ भवनको काम पनि पूरा भो । त्यसको रेखदेख र व्यवस्थापन सही हुन्छ भन्ने विश्वास लागेको थियो, छ । कति भको छ की तपाईंलाई थाहा होला, की त त्यहाँ सेवा लिइरहेका म जस्ता र लिइसकेकाहरूलाई । आज मात्रै भर्ना हुनेबेला करिब १ घन्टाभन्दा बढी जति म इमर्जेन्सीमा बस्दा २ पटक त्यहीँको शौचालय गएँ । त्यहाँ पनि चुक्कुल नै रहेनछ । अनि प्याड नि– यत्र, तत्र, सर्बत्र ।

अनि लेबर रूमको हालत ! पस्नेबित्तिकै त एसीले स्वागत गर्यो । आहा भने । भित्र हेर्दा त सुस्केरा हालौं जस्तो । कति धेरै हुन् सुत्केरी हुन आउने पनि । यत्रो भवनमासमेत नअटाका । यतिका धेरै व्यथा लागेका महिलालाई संगै देख्दा त लाग्यो, महिला जति सबै सुत्केरी हुँदैछन् । एउटै बेडमा ४ जना बस्नुपर्ने बाध्यता । मैले करिब १०देखि १२ मिनेट त बेड्मा बस्ने ठाउँ नै पाइनँ । मेरो पाठेघरको अवस्था हेर्नकै लागि सुताउँने बेड नपाएर व्यथाले प्याक प्याक भएकी महिलालाई उठाउन पर्यो । त्यो हलमा पर्दासमेत छैन । त्यति नै बेला व्यथाले च्यापेकी श्रीमतीको अवस्था बुझ्न त्यहाँ टुप्लुक्क पुगे एक जवान । जहाँ म कम्मरमुनि निर्वस्त्र थिएँ । व्यथा सुरु नभई भर्ना हुन गएकी मलाई अस्पतालको लेबर रुमको त्यो अवस्था भोगेपछि सुत्केरी व्यथाले च्यापेका महिलाको रोदनले भन्दा धेरै मन खिन्न भो । कताकता लाग्यो पनि कि, यो अस्पतालको लागि सरसफाइमा खट्ने स्वयंसेवक आव्हान गरौं !

गर्भावस्थामा यसरी मन खिन्न हुने कुरा सोच्न हुन्न रे नि है ? तर पनि नगरौं, नबोलौं भन्दा पनि नसकिने रहेछ कहिलेकाहीँ त । तैं चुप र मैं चुपको कारणले त होला नि हैन र सरकारले लगानी गरेको अस्पतालको यो अवस्था ? हुन त पुरानो भवनको पेइङ क्लिनिकमा नियमित चेकजाँचमा आउँदा पनि यस्तो त कहाँ नभोगेको हो र । त्यहाँ पनि शौचालय त उस्तै त हुन् – चुक्कुलबिनाका । सरकारीमा आउने अनि सुबिधा खोज्ने ? हो आफ्नो मनलाई यस्तै जवाफ दिन्थे म । सायद धेरै सेवाग्राहीलाई यस्तै लाग्छ र त बोल्दैनन् । अनि यो अस्पतालको शौचालयमा २४ सै घन्टा पानी बगेको, चुक्कुल नभएको, डस्टबिन नभएको, फोहोर व्यवस्थापन नभएको र उपलब्ध सेवा सामग्रीको सही उपयोग नभएको कुराको रिपोर्टिङ कस्ले पुर्याओस्, तपाईं र सरकार समक्ष ?

औसतमा दैनिक ६६ जना र वर्षमा २५ हजार मान्छे जन्मिने अस्पतालको फोहोर व्यवस्थापनमा किन यतिधेरै लापरवाही ? के प्रसूति गृहलाई सरसफाई गर्ने स्वयम्सेवक र शौचालय सफा पार्ने कुचोको अभाव हो त ? यदि हो भने, तपाईं आव्ह्रान गर्नुस, जनस्तरबाटै यसको बन्दोबस्त हुन्छ ।

अब तपाईं नै भन्नुहोस्, के मैले पनि प्रसूति गृहमा आएर जस्तोसुकै अवस्थामा पनि आँखामा पट्टि बाधेर फर्किनु ? या तपाईंजस्तो महिलाको समवेदना बुझ्ने मान्छेलाई जानकारी गराउँनु ? की सरकारी अस्पताल यस्तै हो, सुविधा खोज्न त प्राइभेट जान पर्छ भन्दै चित्त बुझाएर अरुलाई सरकारी अस्पतालमा खुट्टा नटेक्क सरसल्लाह दिनु ? या त प्रसूति गृहजस्तो देशकै सबैभन्दा धेरै सुत्केरी हुने अस्पतालको निर्देशक पुरुष हुनुमा दोष देख्नु ? यी सबै प्रश्नको उत्तर तपाईंसंगै रहेको मेरो बुझाइ छ सर ।

एकपटक फेरि पनि भन्छु, ‘तपाईं एकपटक मान्छे जन्माउन प्रसूतिमा पुगेकी मान्छेको ठाउँमा उभिएर सोच्नुस् त !’

(२०७६ साउन ३ गते राती परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा भर्ना भएकी मैले अस्पतालका निर्देशक डा. जागेश्वर गौतमलाई पठाएको पत्र । यो पत्र पठाएको आज २ महिना  बितिसक्दा समेत म सुत्केरी हुँदा भर्ना भएको अनेक्स वार्ड र त्यो वार्डका बिरामीले प्रयोग गर्ने शौचालयको हालत उही छ । यद्यपि निर्देशक डा. गौतमले पत्र पाएको दुई दिनपछि यस्तो प्रतिक्रिया दिएका थिए,- ‘We really appreciate you suggestion,will act on it.’

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: