गणतन्त्रमा न्याय– पीडकलाई सम्मान र पीडितलाई अपमान !


प्रकाशित मिति :2019-09-18 12:23:17

-गायत्री खतिवडा-

सानैमा बुबा आमासंग इन्डियामा काम गर्न गएकी उनी उतै बस्दा सिन्धुपालचोक जिल्लाको पुरुषसंग चिनजान भयो र विवाह भयो । विवाह भएको ८ वर्ष संगै बसिन् । तीन छोराछोरी जन्मिए । तर श्रीमानले कहिल्यै राम्रो व्यवहार गरेनन् । रक्सी खाने, दिनहुँ पिट्ने र यातना दिने गर्थे । उनले श्रीमानसंग आफ्नो नागरिकता, विवाहदर्ता र बच्चाहरुको जन्मदर्ता बनाइदिन अनुरोध गरिन् । घर लैजान अनुरोध गरिन् । तर श्रीमानले कहिल्यै टेरेनन् । उल्टो दिनहुँ रक्सी खाएर छोराछोरी र उनलाई पिट्थे । आफू र छोराछोरीको ज्यान बचाउन गाह्रो भएपछि एकदिन पाँच वर्ष, तीन वर्ष र डेढ वर्षको तीन जना बच्चाहरु च्यापेर भागिन् । ज्यालादारी काम गरेर बच्चाहरु हुर्काउँदै थिइन् यस्तैमा धादिङ जिल्लाको पुरुषसंग चिनजान भयो र विवाह भयो । चार वर्ष अगाडि नेपाल फर्किए । घर आएपछि दोस्रो श्रीमानले बच्चाहरुको जन्मदर्ता बनाइदिए ।

ठूली छोरी काठमाडौंमा अर्काको घरमा काम गर्न पठाइन् । दुई छोराछोरी लिएर बसिरहेकी थिइन् । दोस्रो श्रीमानले आफुलाई माया गरेपछि बच्चाहरु लाई माया गर्दैनथे । यो कुराले उनको मन पोलिरहन्थ्यो । उनलाई जे कुराको डर थियो त्यो एक दिन सत्य सावित भयो । उनी ठूली छोरी भेट्न काठमाडौं गएको मौका छोपेर श्रीमानले ८ वर्षकी कान्छि छोरीमाथी जवरजस्ती करणी गरेछन् । घर फर्कदा छोरीको यौनीबाट रगत बगिरहेको देखेर छोरीसंग कुरा गर्दा “जे कुरा छोरीको मुखबाट सुनिन्” त्यसपछि उनी अचेत जस्तै भइन् । एकैपटक आकाश खसेजस्तो भयो । धर्ती फाटिए जस्तै भयो । संसार अन्धकार भयो । शरिर काँप्यो । ओठ मुुख सुक्यो । केही बोल्न सकिनन् । त्यतिबेला मात्रै होइन । पछि पनि केही बोल्नै सकिनन् । कारण घर परिवार र समाजले थाहा पाउला भनेर ।

फेरी दोस्रो पटक पनि उही कर्तुत दोहो¥याएको थाहा पाएपछि श्रीमानसंग घटनाको बारेमा सोध्दा “यो कुरा बाहिर लगेमा आमा छोरीलाई नै मार्ने” धम्की दिए । हर दिन आठ वर्षको कलिलो कोपिला लाई लोग्ने भनाउँदो पापीले लुछेको घटनाले उनको पेट पोल्थ्यो । छोरीले बाबा भनेर बोलाउँदा मुटु फुट्ला जस्तो हुन्थ्यो । बेला बेला आमा छोरी संगै मर्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । तर बोल्ने आँट आएन । फेरी एक दिन बारिमा घाँस काट्न गएको ठाउँमा छोरीमाथी जवरजस्ती करणी गरिरहेको उनको आफ्नै आँखाले देखिन् । शुरुमा अपराध गरेको थाहा पाएको मितिले चार महिना भैसकेको थियो । यसवीचमा उसले कतिपटक अबोध छोरीमाथी अपराध गर्याे त्यसको उनले कल्पना पनि गर्न सकिनन् ।

त्यसपछि चै उनको सहने शक्तिको बाँध फुट्यो र गाउँका दिदीबहिनीसंग कुरा गरिन् । गाउँका दिदीबहिनीले सहयोग गर्ने आँट दिए र महिला मानवअधिकार रक्षकहरुसंग भेट गराइदिए । महिला मानवअधिकार रक्षकहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा श्रीमानको विरुद्धमा जवरजस्ती करणी र तथा हाडनाता करणी मुद्दा अन्र्तगत उजुरी दिइन् ।

जब उनले उजुरी दिइन् त्यसपछि पहिले उनलाई सहयोग गर्छु भन्नेहरु पनि कसैले सहयोग गरेनन् । घटनाको साक्षी बस्न गाउँका दिदीबहिनीहरु कोही तयार भएनन् । पहिले जो जो संग घटनाको बारेमा कुरा गरेकी थिइन् । पछि उनीहरुले नै हामीलाई घटना बारेमा थाहा छैन भने ।

उजुरी गर्न भनेर घरबाट हिंडेपछि उनको सवै कपडाहरु परिवारले जलाइदिए । मुद्दा दर्ता गरेको थाहा पाएपछि घरपरिवार सासु ससुरा,जेठाजुहरु कसैले पनि घरमा फर्किएर जान दिएनन् । गाउँलेहरुले पनि वास्ता गरेनन् । १० वर्षको छोरा र ८ वर्षकी छोरी लिएर दुई हप्ता धादिङ बेशीमा सहयात्री समाज नेपाल नामक गैरसरकारी संस्थाले चलाएको सेफ हाउसमा बसिन् । घर फर्किन पाउने आश मरेको थिएन ।

छोरी लाई सेफ हाउसमा छोडेर छोरा साथमा लिएर घर जान पाउने आशमा निस्कीएकी उनी घर पुग्न पाइनन् । बाटोमा जाँदै गर्दा घर फर्किएमा आमा छोरालाई नै मार्ने धम्की आयो । त्यसपछि राजमार्गमा होटलमा भाँडा माझेर बस्न थालिन् । अहिले पनि उनको दैनिकी त्यहीं होटलमा भाँडा माझेर नै बितेको छ । छोरीलाई (घटनाबाट प्रभावित बालिका) लामो समयको पुर्नस्थापनाको लागि क्याप नेपाल काठमाडौं हुँदै रक्षा नेपाल काठमाडौंमा रिफर गरिएको छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ ले जवरजस्ती करणी तथा हाड नाता करणी मुद्दामा पीडकलाई सजायँ सहित घटनाको क्षतिकोे आधारमा पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरेको छ । यस भन्दा अगाडि रहेको मुलुकी ऐन २०२० ले पनि जवरजस्ती करणी घटनामा सोही खालको कानुनी व्यवस्था गरेको थियो ।

धादिङ जिल्ला अदालतले २०७६ बैशाख १६ गते यस घटनाको पीडकलाई २१ वर्ष जेल सजायसहित २० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गर्याे। अदालते पीडकलाई सजायँको फैसला गरेर झट्ट हेर्दा पीडितले न्याय पाएको देखिए पनि पीडित पक्ष झन् पीडित भएर बस्नुपर्याे । घटना भएको एक वर्ष भैसक्यो । पीडित पक्षको खाने बस्ने ठाउँ छैन । जाने ठाउँ छैन । कहीं कतैबाट सुरक्षा, सहयोग र संरक्षण छैन ।

तर पीडक जेलमा छ र पनि उसको लागि सवै जना छन् । परिवार साथमा छ । आफन्तहरु साथमा छन् । हप्तै पिछे परिवार र आफन्तहरु जेलमा भेट्न जान्छन् । गाउँलेहरु साथमा छन् । राजनीतिक पार्टी साथमा छ । राजनीतिक पार्टीका मान्छेहरु भेट्न जान्छन् ।

पीडितको लागि कोही छैन । न परिवार, न आफन्त, न गाउँलेहरु । न त स्थानिय सरकार नै । घटना बाहिर आएको एक वर्ष हुन लाग्यो । आज सम्म कसैले पनि घटनाको पीडित कुन हालतमा कहाँ छन् भनेर खोजि गरेको पाइएको छैन । कसैले पनि प्रभावित बालिका कहाँ के गरिरहेकी छिन् ? भनेर सोधीखोजी गरेको छैन । प्रभावित बालिका र उनको आमा, दाईको स्थानीय, मानसिक, संवेगात्मक, आर्थिक र सामाजिक अवस्था के कसो छ भनेर कसैले बोलेको सुनेको छैन । लेखेको देखेको छैन । यस्तो लाग्छ उनीहरु मान्छे नै होइनन् ।
हामी बेला बेला पीडितको न्यायमा पहुँचको कुरा सुन्छौं । र गर्छौ पनि ।

साँच्चै न्याय के हो ? पीडक मैत्री शासन व्यवस्थामा पीडित मैत्री न्याय कसरी स्थापित गर्ने ? पीडितको न्यायमा पहुँच पुग्न के के हुन आवश्यक छ ? वा राज्यले के के व्यवस्था गर्न आवश्यक छ ? घटनामा उजुरी गरेकै कारण घर परिवार र समाज बाट विस्थापित हुनुपर्ने अवस्थाको अन्त्य कसरी गर्ने ? यस्ता सवालमा बहस र छलफल हुन आवश्यक छ ।

कुनै घटनाको पीडितले प्रहरी या अदालतमा उजुरी गर्न सक्नु वा अदालत बाट मुद्दा फैसला हुनु मात्र न्याय हो भन्ने बुझ्छौं भने त्यो पूर्ण रुपमा ठिक हुन सक्दैन ।

अव न्यायको कुरा गर्दा अदृश्य न्याय होइन । वस्तुगत न्यायको कुरा गरिनुपर्छ । व्यवहारमा अनुभूत गर्ने न्यायको कुरा गरिनुपर्छ । सामाजिक न्यायको कुरा गरिनुपर्छ ।

जो उजुरी गरेकै कारण विस्थापित भइरहेका छन् उनीहरुलाई सुरक्षा र संरक्षण प्रदान गर्ने दायित्व स्थानिय सरकारको हुनुपर्ने हो । तर अहिले सम्म त्यो हुन सकिरहेको छैन । स्थानीय सरकारहरुले आफ्नो नगरपालिका÷गाउँपालिका भित्रका त्यस्ता प्रभावितहरुलाई संरक्षण गर्न उपयुक्त सहयोगी वातावरण तयार गरिदिन सक्छन् । तैपनी त्यता ध्यान कसैको जाँदैन । अहिलेसम्म गएकै छैन । मानौं ती विस्थापित हुने महिला बालबालिका मान्छे नै होइनन् ।

धादिङ जिल्लामा यसरी विस्थापित हुने महिला बालबालिकाको संख्या उलेख्य छ । खास गरि यौन हिंसा प्रभावितहरु र घरेलु हिंसा प्रभावितहरु विस्थापित हुने गरेका छन् । घर परिवारबाट निकालिए पछि होटलमा भाँडा माझ्ने, गिट्टी बालुवाको काम गर्ने र अरुको घरका काम गर्ने जस्ता ज्यालादारीको काम गरि दैनिकी गुजारिरहेका हुन्छन् । जस्ले गर्दा उनीहरु आफैं र आफुसंग भएका बालबालिकाहरु थप जोखिमा गुज्रिरहेका हुन्छन् । झन् पीडा र तनावमा बाँचिरहेका हुन्छन् ।

जेलमा रहेको पीडकले कस्तो गुणस्तरको चामल खान्छ ? कस्तो व्यवहार पाउँछ ? लेखपढ गर्न, काम गर्न पाउँछ पाउँदैन ? सूचना सञ्चारको पहुँचमा छ छैन ? भनेर खोजि गरिने हाम्रो कानुनी तथा समाजिक व्यवस्था र चेतनाले पीडितले खान पाए कि पाएनन् ? बास पाए कि पाएनन् ? सुरक्षा र संरक्षण पाए कि पाएनन् ? भनेर कहिले खोजि गर्ला । पीडित पनि मान्छे नै हो पीडिले बाँच्न पाए कि पाएनन् होला भनेर कहिले खोजि गर्ला ? कहिले देखि खै गर्ला ? पीडकलाई सम्मान र पीडितलाई अपमान गर्ने शासन व्यवस्था कहिले उल्टिएला ?

    Comment Here!

Related NEWS
मुख्य खबर

सुत्केरी महिला अस्पतालमै बन्धक

–महिला खबर– ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका

अँध्यारोमै जन्मिन्छन् शिशुहरू

स्वास्थ्य चौकीमा उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य

नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार

–महिला खबर– ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १०

बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक

–महिला खबर– आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

तीन बालिका आफन्तबाटै बलात्कृत

–महिला खबर– ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: