आमालाई प्रश्न गर्ने छोरा


प्रकाशित मिति :2019-09-17 16:06:37

-मिरा राजभण्डारी अमात्य-

-आज मे एघार तारिखको विहानी । अमेरिका छिरेको ठयाक्कै एक महिना भयो । आज मेरो लागि खास दिन हो भने छोराको लागि जीवनको खास अझै खास दिन । हरेक किशोरावस्थाका सपना हुन्छन् अमेरिकी शिक्षा ग्रहण गर्ने र खास बन्ने । ती खास सपना बोक्ने खास युवाहरु कत्तिका सपना विपनामा परिणत हुन्छन् भने कत्तिका सपनामै सिमित हुन्छन् । केहीका आर्थिक कारण केहीका डिगी्रका कारण र केहीका अमेरिकी इमिग्रेसनका मुडका कारण ।

ती सव अवस्था बाट पार गरी परिवार समाजमा सवभन्दा पहिलो विदेश पढ्न जाने छोराको रुपमा आफनो अवसर पाउदा एक आमा कति खुशी होलिन् ? तपाई सहजै अनुमान गर्न सक्नु हुन्न किनकि केही घटनाहरु अनुमान गरेर होईन अनुभव गरेर अनुभुति मिल्छ । आम आमाको चाहना हुन्छ उनका सन्तान ले उच्च शिक्षा प्राप्त गरुण । आफु भन्दा माथि प्रगती गरुण । जिवनमा असल र सफल नागरीक बनुन् ।

अमेरीकीहरुको लागि आफना नानीहरु गजुयशन हुनुलाई खास दिन मान्ने परम्रम्परा छ । सकेसम्म परिवारका सदस्यहरु र नातागोता समेत जम्मा हुन्छन् त्यो दिन । उपहार र आर्शिवादको लर्को लाग्छ । के शिक्षक के विद्यार्थी सब खुशी भेटिन्छन् । एक अर्कामा उपहार बाँडने र प्रेम प्रकट गर्ने राम्रो अवसर हुन्छ खास त्यो दिन । ग्राजुयशन हलबाट एक एक गरी विद्यार्थीहरुको नाम बोलाउँदा अभिभावक शिक्षक र साथीहरुको खशी मिश्रीत हल्लाले मन हुरुक्क हुन्छ सवैको । हुन पनि किन नहोस । नेपाल लगायत अन्य देशका विद्यार्थीलाई विशेष गाह्रो पनि छ डिग्री पाउन । स्कलरसिप नै पाउने अधिकाँस विद्यार्थी पनि विचैमा पढाई छोडेर जानुले प्रमाणित गर्छ । वास्तवमा विदेशमा पढ्न कत्ति गाह्रो छ । अझ आर्थिक अवस्थाले नेपालबाट थेग्ने नसक्ने र काम गर्दै पैसा कमाउंदै पढ्नु पर्ने विद्यार्थीका लागि निकै कष्टकर छ अमेरीकी जीवन र पढाई ।

भर्खर छ महिनाको छोरा काखमा राखेर दुःध चुसाउदै थिएं । आमा छेवैमा बसेर टिभी हेर्दै थिईन् । यस वर्षको बोर्ड फष्टमा ग्यालेक्सीका गरीमा राणाले ….अंक ल्याई सफलता हासील गरेकि छिन्, अचानक नेपाल टेलिभिजनबाट प्रशारित उक्त समाचारले मेरो ध्यान तान्यो । काखका छोरालाई आमालाई दिंदै उक्त समाचार पुरा सुने । ग्यालेक्सी स्कुल र गीता राणा बारे अली अली सुन्थे, स्कुलमा राम्रो डिसीप्लीन छ, यसतै यस्तै । यस अघि पनि अन्य स्कुलहरुबाट बोर्ड फष्टका समाचार सुन्थे तर यस पटक शायद आमा बनि सकेकी हुनाले होला, सो समाचारले मेरो ध्यान विशेष तान्यो । मनले भन्यो यही स्कुलमा छोरा पढाउछु….। नभन्दै त्यो दिन पनि आयो छोरा स्कुल जाने । एकल परिवार श्रीमान संधै व्यस्त । छोरालाई कुन स्कुल राख्ने, खर्च कति लाग्छ, ती सवको अनुसन्धान र निर्णय गर्ने जिम्मा मेरो । संगै गर्भमा र्हुकदै गरेको नानीको कारण गर्भावस्थाका संवेदनशिल क्षणसंग पनि झुझदै थिए म ।

पहिलो दिन माघ महिनाको विचोविच म हातमा छोरा लाई डोर्‍याउदै मैति देवीबाट ज्ञानेश्वरस्थित ग्यालेक्सी स्कुल पुगें । चिनेका स्कुलका एक शिक्षकसंग स्कुलका बारेमा भर्ना प्रक्रियादेखि शुल्क लगायतका विषयमा सोधीखोजी गरें । समय खाजा खाने थियो । कक्षा बाहिर सो शिक्षकसंग गफ गर्दै गर्दा प्राईमरी सेक्शनका साना विद्यार्थीहरु मेरो सानो छोरालाई छुंदै जिस्कदै जान्थे । चौविसै घण्टा कोठा र गल्लीमा मात्र सिमित मेरो छोरा बग्रेल्ती साना नानी देख्दा अचम्म र रमाईलो मानी रहेको थियो । उनका बालसुलभ आँखा चारै तिर डुलिरहेको थियो । कक्षा कोठाहरु र त्यहां झुण्डायाइएका रंगी विरंगी चार्ट पेपरहरु र त्यसमा कोरिएका फलफूल तरकारी र चंगाहरुको चित्र बहुत चाख मानेर हेर्दै थिए मेरो पुण्टे छोरा । “भाञ्जा तिमी पनि यो स्कुलमा पढ्ने हो ?” चिनजानका दाइ पर्ने शिक्षकले छोरालाई सोध्दा लजाउंदै मेरो सारीको सप्को मुखमा राख्दै हो भन्ने सहमतीमा टाउको हल्लाए उनले । सबै कुरा टुँग्याएपछि म लागें स्कुलको टवाइलेट देखि क्लास सम्म अवलोकन गर्न । खुल्ला मैदान सफा चर्पीले मेरो मन विशेष तान्यो पनि । आफु स्कुले विद्यार्थी हुंदा विद्यालयको चर्पी कहिले प्रयोग गरिंन मैले । सरसफाईको चेतना नभएर होईन अधिकांस सरकारी स्कुल कलेजका चर्पीहरुका हालत अझै पनि त्यस्तै छन्, उ बेला को कुरा अझ फरक थियो । स्कुलको शुल्क, कक्षा कोठा चर्पी मैदान सवैको निरीक्षण गरेपछि म छोरालाई डोर्‍याउदै गेटबाट निक्लने क्रममा थिएँ । अचानक एउटा दृश्यले मलाई तान्यो । गिता राणा अर्थात त्यस स्कुलका प्रिन्सिीपल आठ नौ जना विद्यार्थीलाई लहरै राखेर गाली गर्दै थिईन् । स्कुलको पहिरण अन्र्तगतका साधारण जुत्ता नलाएर डयाम शु लगाएकै कारण उनी गाली गर्दै र सम्झाउदै थिईन, र भन्दै थिइन्, “अल अफ यु गाई कम स्कुल फर स्टडी अर समथिंग एल्स ? ह्वाई डोण्ट थिंक एबाउट योर प्यारेण्टस, हु बार हार्ड वर्किगंग फर योर फयुचर……. ।”

मलाई किन हो शिक्षक पेशा अत्यनत मन पर्छ । जब जब स्कुलमा नानीहरुका अभिभावकहरु कहिले कापी हराएकोमा, कहिले नम्बर थोरै आएकोमा त कहिले गृहकार्य नगरेर कखुरा बनाएको वा उठ्बस गराएको विषयमा छोरा छोरीले पोल लगाएपछि शिक्षकसंग झगडा गर्न तम्सिने र लफडा गरी रहने गरेको देख्थे ग्यालेक्सीमा बेला बेलामा, जुन मलाई मन पर्थेन । एकल परिवार का कारण नानी सम्हाल्न मलाई कम मुस्किल हुन्थेन त्यो बेला । छोरा बच्चा मनोवैज्ञानिक हिसावले पनि अधिक चकचक गर्ने हुन्छन् । त्यसमाथि थप आफू गर्भावस्था समेतका हुंदा भर्खर स्कुल जान थालेका छोराको होमवर्कदेखि टिफिनसम्म जुटाउनु बोकेर स्कुल लानु लैजानु मेरा लागि कठीन थिए ती दिन । घरी घरी वाकवाकी लाग्ने, छिन छिनमा पिसाव आई रहने गर्भावस्थाको शारीरिक हालतसंग जुध्दै छोरालाइ शिक्षा दिलाउन म संघर्ष गरी रहेर्थे । स्कुल नजादासम्म दिनभर घरमा चकचक गरेर कहिले पानी पोख्ने, कहिले गल्लमिा खेल्दै गरेको छोरा मामाघर सम्झिदै सडक तिर दौडिने त कहिले अरुका कुकुरको पुच्छर तानेर टोकाउदै हतार हतार टेकु कुदाउनु पर्ने हैरानीका दिनहरु बाट स्कुल भर्ना गरेपछि मैलै धेरै राहत पाएको थिएं । तसर्थ शिक्षक र स्कुल प्रति मेरो अगाढ आस्था थियो । मलाई लाग्छ, हामी अभिभावकले कमाएर फिस तिर्ने मात्र कर्तव्य रहन्छ, असली कर्तव्य र भार जिम्मेवारी त शिक्षक र स्कलको हुने गर्छ जसका असल कर्म असल व्यवहार र कर्तव्य जिम्मेवारी तथा उनीहरुले दिने अशल वा कमसल शिक्षाले उनीहरुको भविश्यको खाका कोर्ने गर्छ । यदी विद्यार्थीहरु माटो नै हो भने पनि शिक्षक अशल कुम्हाले हो,जसले विद्यार्थीको जीवनलाई विस्तारै आकर दिएर एउटा उज्वल भविश्यको खाका कोरेर आकार दिने गर्छन् । मेरो बुझाई र मेरो विवेक यस्तै रह्यो शिक्षकहरु प्रति ।

जे होस कमसेकम मेरो छोरा अनुशासन सिकदै पढ्दै थिए स्कुलमा । आफनै नानी सम्हाल्न गाह्रो हामीलाई एकै कक्षामा विसौं विद्यार्थीलाई कसरी सम्हाल्दो हो, मेरो विकेकले प्रश्न गर्थ्यो । प्रिन्सीपल गिता राणाको को त्यो आफ्नोपन र नानीहरुलाई नसिहत दिई रहेको त्यो दृश्यले मेरो छोरालाई ग्यालेक्सीमा पढाउने ३० महिना अघिको सपनाले साकार लिनमा अझ बल मिल्यो । मैले छोरालाई त्यही स्कुलमा भर्ना गरें । र पछि छोरीलाई पनि त्यही पढाएँ ।

एउटी आमा र सन्तान वीचको सम्बन्ध गर्भ देखिको हुन्छ । आफुले खाने खाना देखि पहिरन सम्मको होशियारी अपनाउनु पर्छ आमाले । पिरो नखाउ, हातमा नेल पलिस नलाउं , धेरै गाह्रो नबोक, फलानो खानेकुरा नखाउ, पानी धेरै खाउ, भजन सुन, नरुनु, नरिसाउनु, मन्दीर नजाउ, यो गर, उ नगर, यस्ता त्यस्ता गर्न हुने नहुने नियममा बाँधिदै थोपा थोपा रगत पसिनाले सिंचित गर्दै गर्भ र्हुकाउंदै गरेको हुन्छ आमाले । र यस्तो समय हो जुन बेला किशोरावस्थामा आफनी आमाले महिनामा चार दिन छुई बार भन्दा रिसाउंदै थालको भात कौशीमा बजार्दै स्कुल जाने गरेको, यो नगर त्यो नगर यहां जा त्यहां नजा भनि अर्ती दिंदा अपच भएर मुख फुलाएर दिनौ सम्म आमा संग चिसिएको सम्बन्ध संझिने हुंदो रैछ । विचरी मेरी आमा शायद उनलाई पनि यस्तै गाह्रो भएको होला म पेटमा रहंदा । यस्तै सोच आउने दिन हुंदो रैछ । गर्भवती महिलाको मनोविज्ञान ।

त भन्दा भन्दै छोराको स्कुल जाने पहिलो दिन पनि आयो । फागुन महिनाको दुइ गते विहान आठ बजे दायां हातमा छोराको स्कुल व्याग र बायाँ हातमा छोरा बोकेर म स्कुल पुर्गे । स्कुलको गेट पुग्न नपाउंदै छोरा हतार हतार ओर्लियो र कक्षा तिर दौडियो । कक्षामा खासै विद्यार्थी आई पुगेका थिएनन् । एरिक नाम गरेको फुच्चे लाई देखेर छोरा हतार हतार उ बसेको ठाउं तिर गयो । घरका कोठा कोठा चहार्दै वाक्क भएका फुच्चे आफु सरहका साथी देखेर दंग थिए । “मम्मी तपई जानुस म छाथीसंग बच्छु, छोराले विदा गर्‍यो आफनो तोते बोलीसंगै । म हात हल्लाउंदै “ल साथी संग झगडा नगर हैू भन्दै फर्कें । त्यो दिन पहिलो पल्ट बर्षौपछि सानी आमाको घर गएर रमाएको याद छ मलाई बिहेपछि महिलाहरुका कति नाता सम्बन्ध नयाँ नाता जोडिएसंगै क्रमस ओझलीमा पर्दो रैछ । दिन उतै वित्यो साढे दुई बजे छोरा लिन ग्यालेक्सी स्कुल पुगें । थुप्रै नानीहरु कोइ रुदै कोइ लाडिंदै अभिभावक हरुसंग फर्किदै थिए । म छोराको कक्षातिर लागें । कक्षाबाहिर शिक्षिकाले मेरो छोरासहित अन्य नानीहरुलाइ सम्हाल्दै थिईन् । खै किनहो कुन्नी मलाई देख्नेवित्तिकै छोरा रुन थाल्यो, ल के भयो भन्दै मैले छाटीमा टाँसे छोरालाई । हिक्क हिक्क गर्दै रोईरहेका छोरातिर हेर्दै शिक्षिकाले भनिन् “चिन्ता नमान्नुस म्याडम, आज पहिलो नि हो, केही दिन नानीहरु यस्तै विलौना गर्छन, स्कुलमा रत्तिन टाईम लाग्छ” । छोरालाई हेरें । रुदा रुदा आँखा सुन्निएका जस्ता । जुरुक्क बोकें र घरतिर लार्गे । बाटोमा सोधें, “किन रोको रु”, “होइन, म पैले रोइन, पछि त्यो दाँत नभएको साथी (त्यो फुच्चेको अगाडीको दाँत फुक्लेको थियो ) रुन थाल्यो, मैले नरोउ साथी भनेको उ त मानेन, अनि मलाई नि आँसु आयो” । कठै बाल सुलभ मनोविज्ञान । त्यस रात छोरालाई हल्का ज्वरो आयो । शायद तर्सेको होला नया वातावरणले । अशुरक्षित महशुस गरे होलान । कठै त्यो सानो मुटु कति जोडले ढुकढुक गरे होलान । आमाले फेरी लिन आउने हो वा होइन । कति शंका उपशंका र त्रास उब्जे होलान, विचरो तीन वर्ष मात्र टेकेको त्यो मेरो सानो छोरो।

भोली पल्ट विहान उठ्दा उ चंगा थियो । आफनो टिफिन व्यगमा राखेको देख्दा उनले अंधेरो मुख लाएर सोध्यो, “आज पनि स्कुला जानु पर्छ ?” “शुक्रवार हो, हिजो भन्दा छिटो फर्किने छोरा । अनि आईस क्रिम खाने, भृकटी मण्डप जाने रेल चढ्ने” । आदि इत्यादी भन्दै छोरालाई स्कुल लगें । किनहो हिजो जस्तो फुर्ती थिएन उनमा । स्कुल नजिकिदै जाँदा उनको मुटु जोडजोडले धड्किएको स्पष्ट अनुभव गरें । स्कुल पुग्ने वित्तिकै शु आयो भन्दै टवाईलेट तिर हानिए उनी । निकै बेर सम्म निकलेन उ । स्कुलको घण्टी बजि सकेको थियो । म भित्र गएं । उ त्यतिकै कमोड माथि बसी रहेको थियो, मलाई पेट दुख्यो उसले ढाँटयो । कठै मेरो फुच्चेको संघर्ष । स्कुल जाने समयमा धेरै दिन सम्म उनका त्यस्ता हरकत भई रहे, बाल मनोविज्ञान । धेरै दिन सम्म उनको फुच्चे ज्यानको सानो मुटु डरले ढुकढुकाई रह्यो । केही दिनपछि विस्तारै ठिक भयो । केही दिन पछि त स्कुल जाने बेला आफनो कपाल जानी नजानी कोर्ने र म ननिकलीदै हात छोडेर गल्ली तिर स्कुलका लागि कुद्रने भो मेरो छोरो ।

मेरो दोश्रो प्रसवको दिन आउंदै थियो । गर्भावस्थाका आठ महिना पछिका दिनहरु अत्यन्त कष्टकर बने मेरा लागि । त्यसमाथि छोराको आफनै संघर्षको दिन । हुन पनि दिनै भर चक चक गरेर जे मन लाग्यो खाइ खेली हुर्कि रहेका बालक लाई एकै पटक स्कुलको कठोर नियममा (उसका लागि ) बस्नु पर्दा कम्ता सास्ती हुंदो हो र ? अझ दिनको आठ दश पेज कर्ली इङ्गिलस एविसिडी अक्षरले भर्नु पर्दाको दुख उसलाई बाहेक अरुलाई के थाहा ? उनको सानो हत्केला राताम्मे हुन्थे । कहिले बाल सुलभ प्रश्न गरी हाल्थे “ममी किन पढ्नु पर्छ ? के जवाफ दिउं नदिउं हुन्थें र हतपताउंदै भन्थें, “भोली पर्सी ठुलो मान्छे बन्नु पर्छ के, पढेन भने….”मेरो कुरा पुरा नहुंदै एकातिर पेन्सील र अर्को तिर कापी फाल्दै छाँद हालेर उ मेरो काखमा आउंथ्यो अनी धुरु धुरु रुंदै भन्थ्यो “ममी म नपढ्ने, म ठुलो मान्छे नबन्ने” कहिले मलाई चिन्ता हुन्थ्यो, लौन मेरो छोरा अनपढ पो हुने होकि, कहिले उसंगै म पनि रुन्थे । हुन पनि उसलाई बोकेर बस टयाम्पु चढ्दा सहचालक ले “लौ चावेल चाबेल” भनेको सिको गर्दै, घरको ढोका ठट्टाउने गर्दा होस वा कहिले तरकारी फल वाला भैयाले “लो केरा चाहिए केरा” भनेको सिको गर्दै लुगा धुने बाटा टाउकोमा बोकेर कराउंदै खेलेको देख्दा कुन चाहीं आमालाई पीर नलाग्दो हो । आखिर मन आमाको न हो । अनि झल्को लाग्थ्यो, मेरी आमालाई पनि मैले यस्तै भने हुम्ला।

उ स्कुल गएको केही महिना पछि मेरो गर्भ पुग्यो र छोरी जन्मीईन । त्यसपछि फेरी अर्को संघर्ष शुरु भो त्यो फुच्चेको । उ दिनभर स्कलमा पढेर आउथ्यो, उसकी बहिनी मेरो काखमा हुन्थिन् । उसलाई लाग्दो हो बहिनीलाइ कति हाई सञ्चो । उ बहिनीलाई पर धकेल्न खोज्दै भन्थ्यो मम्मी, बहिनीलाई भुईमा राख्नुस न, बाबु काखमा बस्ने । म कहिले उसलाई म्वाई खाँदै छोरीलाई पर सार्दै उसलाई काखमा लिन्थें त कहिले दुध खाँदै गरेको छोरीलाई च्यापेर बस्थें वास्ता नगरी बस्थें । त्यसपछि रुञ्चे लागेको छोरा र भर्खर जन्मेको छोरीलाई एक्लै सम्हाल्नु पर्दाका दिन सम्झिदा अहिले कथा जस्तो लाग्छ ।

अहिले कापी कलम फयाक्दै रुने त्यो छोरा विशाल अमेरिकी देशको टप टेन कलेज बाट ग्राजुयट हंदै गर्दा दुई थोपा आँसु झरे, तर खुशीको । कसैले नदेख्ने गरी आँसु पुछी रहदा उ कक्षा दशमा पुग्दाका दिन सम्झें । किशोरावस्थामा उसले गरेको चक चक र हैरानी र अटेर गरेर तनाव दिएका दिनहरु समेत सम्झें । वर्षा याममा स्कुल जाने समयमा पानी पर्दा लौ छाता लान्छौ कि रेनकोट लान्छौ भनि अगाडी राखि दिंदा, मेरा हात बाट रेनकोट खोसी ढोका तिर कुद्दै रेनकोट फालेर भिज्दै स्कुल कुदेको दिन सम्झें मैले । अनि सम्झे ति किशोरावस्थाका उसका तनाव र संघर्षहरु, जुन दिनहरुमा उसले विहान चार बजे देखि बेलुका बाह« बजे सम्म अथक मेहनत पढाईमा खर्चेका कठीन पल हरु । न खाने ठेगान न सुत्ने समय । हामी अभिभावकको मनोविज्ञान पनि अचम्मको आफना नानीले पढेको र खाएको देख्दा केके न विजय र सफलता पाएको जस्तो । थप क्रिकेट म्याचमा कहिले हारेका दिनका मलिनो अनुहार त कहिले जितेर धपक्क बलेको उसको अनुहार को मनोवज्ञान । मैले उसको किशोरावस्थाको सोह् वर्षें यी यस्ता मनोविज्ञान पढें । अनि समझें उनका निरास र नरमाईला दिनहरु ।

एसएलसी पश्चात रातो वंगलामा पढ्ने ठुलो इच्छा हुंदा हुंदै पनि आफु भन्दा कर्म मार्क ल्याएका साथीको नाम निक्लंदा उदास भएका उनका किशोर आँखाहरु । ऋनि सम्झें ती उनका अठोट गरेका ती गर्विला शव्दहरु, “मम्मी भयो चिन्ता नगर्नुस, मेरो चेल्सी कलेजमा नाम निक्ल्यो, म त्यहीं बाट राम्रो गर्छु“ । साच्ची उसले राम्रो गर्‍यो पनि । सुधीर झा जस्ता विवेकी प्रिन्सीपल, जीत गुरुङ्ग तथा आकाश सर जस्ता मायालु र हरदम प्रोत्साहित गरी रहने शिक्षहरुको को छत्रछाँयामा मेरो छोराले शिक्षाको क्षेत्रमा मात्र होईन जीवनको वास्तविक चुनौतिलाई समेत समाना गर्ने दाउ पेच र विवेक सिकेको छ । ग्लोबल चेञ्जमेकर्स वाट छात्र वृत्ति पाएर वेलायतमा विश्वका तीन हजार बालवालिकाको लर्कोमा नेपाल बाट छनोैटमा पर्न सफल भएको क्षणहरु कम गर्विला छैनन् म, मेरो छोरा र उनका स्कुल कलेजका लागि । थप परिवारमा सवै भन्दा पहिलो पटक विदेशमा समिट भिजीट गर्ने र पढ विदेशिने पहिलो छोरामा दरिएको छ मेरो छोरा । अनि सम्झे मैले जुन बेला किशोरावस्था लाग्दै गरेको छोरा छोरीलाई छोड्न हुन्न भन्ने आफनै विवेकमा महिनाको एक लाख कमाउन छोडेर नेपाल फर्केका ती दिनहरु । अनि समझें श्रीमानको कमाईले नपुगेर भए भरका गहना ब्याँकमा राखी स्कुल कलेज पढाएका ती कठीन दिनहरु । वास्तवमा मानिसको जिवन संघर्षको अनित्य यात्रा रैछ मैले बुझेको । जव सम्म जिवन रहन्छ, संघर्षले निरन्तरता लिई रहंदो रैछ । मात्र समय र संघर्षको प्रकृति फरक तर जीवन अगाडी लाने नियति र गती त्यस्तै रैछ ।

“ओ मम, के सोची रारु घर जाने होईन रु आज पार्टी दिने हो सवै प्रोफसरहरु लाई, अंगालो मार्दै छोराले डो¥यायो मलाई । ग्रयाजुयशन हलबाट बाटामा जाँदै छोराले जिस्कायो, “पढ्नु सढनु छैन, खायो मोटायो । होइन पिएचडि गर्ने विचार छ कि छैन रु कि जिवनभर भात पकाउंदै बस्ने रु उ म संग ठट्टा गर्दै थियो, मैले ननिको मानिन । किन नगरोस त उसले ठट्टा , आज उसको पाँच वर्षको तपस्या र मेहनतको पगरी गुथेको दिन, उसको जीवनको रमाईलो दिन । अमेरिका जस्ता व्यस्त र संघर्षमय देशमा अमेरिकी नागरीकले भन्दा बढी मेहनत गरेर परिणाम देखाएको दिन । कति दिन उसले खायो खाएन कति दिन उ सुतेन, म जान्दिन । तर एउटी आमा भएको कारण म बुझन सक्छु उसको मनोविज्ञान । नेपालमा “भात पस्किदै गर्नु म आएं” भन्ने छोरा घण्टौं भान्छा मा नझर्ने बानीका कायल म उ आएपछि मात्र पस्किन्छु र तातो खान दिउंला भनेर भाञ्छा कुरी रहंदा कहिले काहीं उ छिट्टै भान्छा र्छिथ्यो र खाना नपस्केको देख्दा किशोर रिस देखाउंदै भोकै स्कुल भाग्थ्यो । म खाना हटकेशमा राखेर उसको पछि पछि दौडन्थे । तर स्कुल पुग्दा फेरी सरी मम्मी भन्दै हाँसेर विदा गर्दा मन खुशी बनाउंदै फर्किन्थे ।

अमेरिकामा पक्कै पनि उसलाई नखाँदा पस्की दिने आमा थिईनन् । नत स्कुल सम्म फकाउंदै खाना लगी दिने म थिएं । जे होस आज मेरो छोराले जीवनमा अझ थप कुरा जानेको छ । मेहनत गर्नु पर्छ । खानेकुरा फाल्नु हुंदैन । कुनै काम सानो हुंदैन, मानिस भएर जन्मे पछि कर्म गर्नु पर्छ, अर्थात काम । अझ थप जानेको छ, उचाइइमा पुग्न उकालो चढ्नु पर्छ र उकालो चढ्न मेहनत गर्नु पर्छ ।

हो मेरो छोराले कहिले यो बन्छु या उ बन्छु भनेर किटानी गरेन । बेलायतमा होस वा फ्रान्स जेनभामा हरेक टेडेक्सको कन्फ्रेन्समा संसारका विद्धानहरु र संसारका नामी ढनाढ्यहरु वीच आफना विचारहरु पोख्ने अवसर पाएको छ उसले । केही भनेर होइन केही गरेर देखाएको छ मेरो छोराले । अहिले म नेपालको सरकारी स्कुल पद्म कन्या हाई स्कुल र पद्मकन्या कलेज र पछिल्ला दिनमान जनप्रशासन क्याम्पस बाट एमफिल सम्म पढ्ने समय समेत जुटाएर नानी हरुलाई विशेष समय दिएर थोरै बाँकी समय आफनो वृत्ति विकास र शैक्षिक योग्यता बढाउन खर्चेका मेरा समयले अहिले सार्थकता पाएको म महशुस गरी रहेछु । कमसे कम मैले किताब समातेर बसेकै कारण पनि म जस्तो निम्न मध्ययम वर्गीय परिवारमा हुर्केको र आर्थिक हैसियतले भ्याई नभ्याई भएकि म जस्ती आमाको छोराले समयमै पढ्नु जरुरी छ भनी सम्झाउन सकेकोमा गर्व लाग्छ । हिजो “मम्मी म ठुलो मान्छे नबन्ने न नपढ्ने” भन्दै अंगालोमा रुदै मुख लुकाउने छोरा आज संयुक्त राज्य अमेरिकाको टप टेन कलेज बाट गर्‍याजुयट हुन सफल भएकोमा मेरो शीर सगरमाथा जस्तै उंचो भएको छ । ग्यालेक्सी को नर्सरी क्लास देखि चेल्सी हुंदै यहां सम्म पुग्न र पुर्‍याउन छोरा म र उसको बुबा त्यो भन्दा बढी असल संस्कार र असल शिक्षा दिई मेरो छोरालाई यहाँ सम्म पुग्नका लागि मार्ग तय गरी दिने ग्यालेक्सी स्कुलका प्रिन्सीपल गीता राणा लगायत सवै शिक्षकहरु, स्कुल पछिका चेल्सी कलेजका प्रिन्सीपल सुधीर झा लगायत असल शिक्षालय, शिक्षकहरु तथा लगायत हामी सवैको लामो संघर्षको यात्रा छ । ती संघर्षका कथा कति लेखिए वा लेख्न चाहेर पनि लेख्न सकिएनन् होला । तर एउटा सफल आमाको पात्रको रुपमा भने म दरिए जस्तो लाग्छ । कारण हिजो “मम्मी म नपढ्ने, म ठूलो मान्छे नबन्ने” भन्दै रुने छोराले आज मलाई भन्छ, “काम साम छैन, पढ्नु छैन, मिठो पकायो, खायो मोटायो । पिएचडी गर्नु पर्दैन ?”

वास्तवमा एउटी आमाको लागि यति प्रश्न गर्न सक्ने सन्तान हुनु भनेकै जीवन सफल हुनु हो जस्तो लाग्छ । थप जीवन रहेसम्म संघर्ष त अनित्य नै रहन्छ । किनकी जीवनको पर्यावाची शव्दै नै संघर्ष हो, मैले जानेको र मैले बुझेको ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सुत्केरी महिला अस्पतालमै बन्धक

–महिला खबर– ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका

अँध्यारोमै जन्मिन्छन् शिशुहरू

स्वास्थ्य चौकीमा उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य

नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार

–महिला खबर– ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १०

बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक

–महिला खबर– आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

तीन बालिका आफन्तबाटै बलात्कृत

–महिला खबर– ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: