आत्महत्याको अवस्था र रोकथामको उपाय : सन्दर्भ विश्व आत्महत्या रोकथाम दिवस


प्रकाशित मिति :2019-09-09 16:31:28

-गायत्री खतिवडा-

घटना  १ :

२७ वर्षिया उनको विवाह भएको ४ वर्ष भयो । श्रीमान् एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । उनले प्रविणता प्रमाण पत्र तह पास गरेकी छन् । परिवारले बच्चा नजन्माएको निहुँमा दिनहुँ गालीगलौज र दुव्र्यवहार गर्थे । उनले जे काम गरेपनि जस दिदैनथे । छिमेकमा अरु कसैसंग बोल्न दिदैनथे । खान,लाउन, इच्छा , चाहना खुशीका बारेमा कसैले सोध्दैनथ्यो । परिवारमा कोही बोल्दैनथ्यो । विवाह भएको एक वर्ष पछि बाट नै यस्तो व्यवहार भोगेकी उनले विष सेवन गरि आत्महत्या गर्ने प्रयास गरिन् । भाग्यबश समयमा नै उपचार पाएर बाँच्न सफल भइन् ।

घटना २:

उनको विवाह भएको १० वर्ष भयो । ९ वर्षकी छोरी छिन् । उनी गर्भवती भएदेखि नै श्रीमानले गर्भमा भएको बच्चा मेरो होइन भन्दै यातना दिए । बच्चा जन्माउन अस्पताल जाँदा श्रीमान गएनन् । बच्चा जन्माएर माइती बसिन् । छोरी माइतीमा नै हुर्किएर ९ वर्षकी भइन् । तर श्रीमानले छोरी भनेर माया र हेरचाह गरेका छैनन् । उनलाई पनि अरुसंग लागेको आरोप लगाउने, कुटपिट गर्ने, खान लाउन नदिने र बेवास्ता गर्ने गरे । श्रीमानको यस्तो व्यवहार सहन नसकेर दुईपल्ट आत्महत्याको प्रयास गरिन् । पहिलो पटक विष सेवन गरि आत्महत्याको प्रयास गरेकी उनले दोस्रो पटक पुलबाट हामफालेर आत्महत्या गर्ने कोशिस गरिन् । अरु कसैले देखेको कारण उनको ज्यान बचेको छ ।

घटना ३ :

९ वर्षकी एक जना नानी आफ्नो ६ वर्षिया बहिनी संग खेलिरहेकी थिइन् । आमा एउटा विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्थिन् । बुबा विदेशमा थिए । धन्सारको माथिल्लो तलामा खेल्दा खेल्दै बहिनीलाई तल भुईमा पठाएर सलले पासो लगाएर आत्महत्या गरिन् ।

घटना ४  : 

२३ वर्षिया उनको दुई जना छोराछोरी छन् ६ वर्षको छोरा र ४ वर्षकी छोरी छिन् । विवाह भएको समय ७ वर्षदेखि नै उनले श्रीमानबाट घरेलु हिंसा भोगिन् । श्रीमानले रक्सी खाएर आएर कुटपिट गर्थे । अरुसंग बोल्न दिदैनथे । जो संग बोल्यो उसैसंग लागेको आरोप लगाउँथे । सात वर्षदेखि श्रीमान कुटाइ र दुव्र्यवहार भोग्दै आएकी उनले एक दिन विहान विष सेवन गरिन् । आफन्तले थाहा पाएर अस्पताल लैजादै गर्दा बाटोमा उनको निधन भयो ।

माथिको उदाहरण धादिङ जिल्लामा यो आर्थिक वर्षमा भएको आत्महत्याको घटना हो । यही सेप्टेम्बर १० अर्थात भदौ २४ गते संसारभर विश्व आत्महत्या निवारण दिवस मनाइन्छ । सन् २००३ देखि संसारभर यो दिवस मनाउन शुरु गरिएको हो । विश्वमा बढ्दो आत्महत्या रोकथाम गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर १० का दिन यो दिवस मनाउँदै आइएको छ ।

 आत्महत्या भनेको के हो ?

आत्महत्या आत्म+हत्या मिलेर बनेको शब्द हो । अर्थात आत्माको हत्या नै आत्महत्या हो । व्यक्ति स्वयं आफुले आफुलाई मार्नु नै आत्महत्या हो । जानी–जानी आफुले आफुलाई मार्न खोज्नु वा मार्नु नै आत्महत्या हो । यस घटनाको पीडित व्यक्ति स्वयं नै हो । जव व्यक्तिले “मैले गरेको केही हुँदैन, म केही गर्न सक्दिन र मेरो कोही छैन” भन्ने सोच्न थाल्छ त्यसपछि उसमा आत्महत्याको सोच आउन थाल्छ । व्यक्तिले आफुलाई पूर्णतः निरीह, असाहाय र निराश महशुस गर्न थालेपछि आत्महत्या गर्ने गर्छ । आत्महत्या एक सामाजिक समस्या हो ।

आत्महत्याको जोखिमको चरण :

जव व्यक्तिले समस्या मलाई मात्र परेको हो । यसको समाधान छैन भन्ने सोच्न थाल्छ त्यसपछि उसको मनमा आत्महत्याको विचारहरु आउन थाल्छ । यस्तो विचारहरु आए पनि सवैले आत्महत्या गरिहाल्छन् भन्ने छैन । यद्यपी मनमा आउने यस्ता भावनाहरु व्यक्त गर्ने उपयुक्त माध्यम नपाउँदा आत्महत्या गर्ने योजना बनाउने र आत्महत्या गर्ने अवस्था सम्म पुग्छ ।

प्रायः सवै व्यक्तिहरुले जव अप्ठ्यारो परिस्थीति आउँछ वा त्यो परिस्थीको सहज रुपमा समाधानको बाटो देख्दैन त्यसपछि आफ्नो जीवनमा आत्महत्या गर्ने सोच/विचार मनामा ल्याउने गरेको पाइन्छ । तर पनि परिवार, आफन्त र साथीभाइको सहयोगमा उक्त समस्या समाधानको बाटो पहिल्याउने र आत्महत्या नगर्ने हुन्छ । जुन व्यक्तिहरुले  मनमा आउने उदासिनता, निराशापन, असफलता, वा सम्बन्धमा भएको बेमेलहरु भन्ने उपयुक्त माध्यम पाउँदैनन् ती व्यक्तिहरुले आत्महत्याको विचार मनमा ल्याउने र योजना बनाउने गर्छन् । साथै आत्महत्या गर्ने साधनहरुबारेमा खोजी गर्ने , आफुसंग ती साधनहरु राख्ने र अन्ततः आत्महत्या गर्ने गर्छन् ।

(क) आत्महत्याको सोचा / विचार ल्याउने

(ख) आत्महत्याको योजना बनाउने

(ग) आत्महत्याको साधनहरुको खोजी गर्ने /राख्ने (डोरी, नाम्लो ,सल , पछेउरा,विषको भाँडाहरु)

(घ) आत्महत्या गर्ने

विश्वमा आत्महत्याको प्रयास गर्नेमा महिलाको संख्या पुरुषको संख्या भन्दा दोब्बर रहेको छ भने आत्महत्या गर्नेमा पुरुषको संख्या महिलाको तुलनामा दोब्बर रहेको छ । तर धादिङ जिल्लाको पछिल्लो चार आर्थिक वर्षको आत्महत्याको तथ्याङ्क हेर्दा महिलाको संख्या पुरुषको तुलनामा महिलाको संख्या दोब्बर बढेको देखिन्छ । उमेर समुहलाई हेर्दा संसार भरि नै १५ वर्षदेखि २९ वर्ष सम्मको व्यक्तिहरु र ७५ वर्ष माथीका व्यक्तिहरुको संख्या धेरै रहेको छ ।

विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने विभिन्न तथ्याङ्कहरुले भनेको छ ।  विश्व स्वास्थ्य संगठन(WHO) ले यो संख्या बढेर सन् २०२० सम्ममा एक वर्षमा २० लाख व्यक्तिले आत्महत्या गर्ने अनुमान गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक तीन सेकेन्डमा एक आत्महत्याको प्रयास र ४० सेकेन्डमा एक जनाको आत्महत्याको कारण मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल आत्महत्या गर्ने देशको सूचिमा सातौं स्थानमा रहेको छ । नेपालमा दैनिक सरदर १६ जनाले आत्महत्या गर्ने नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।

आत्महत्याको कारणहरु :

धादिङ जिल्लामा गरिएको एक अध्यन अनुसार ७० प्रतिशत महिलाहरुको आत्महत्याको मुख्य कारण घरेलुु हिंसा रहेको पाइयो । लामो समय सम्म शारिरीक तथा मानसिक यातना भोगेका महिलाहरुले आत्महत्या गर्ने गरेको पाइयो । घरेलु हिंसा ,चरित्र माथी आरोप, घर निकाला लगायतका घटना भोगेका महिलाले आत्महत्याको प्रयास र आत्महत्या गरेको पाइएको छ । पुरुषहरुले गर्ने आत्महत्याको कारणहरुमा उदासिनता -Deperession) असफलता, निराशापन, अत्यधिक मादक पदार्थको सेवन रहेको छ । पछिल्लो समयमा स–साना बालबालिकाहरुले पनि आत्महत्या गरेका छन् । जसमा परिवारले वेवास्ता गरेको महसुस गर्ने, एक्लोपनाको महसुस गर्ने,पढाइमा असफलताको कारणले पनि आत्महत्या गरेको पाइयो ।

आत्महत्या गर्ने मुख्य कारणहरुमा छलफल गर्नुपर्दा उदासिनता -Deperession) मादक पदार्थ (जाँड रक्सीको ) सेवन, मानसिक समस्या, तनाव, निराशापन -Hopeleseness), असहायपन (Helplessness) र असफलता रहेको छ । साथै बेरोजगारी, गरिबी, सम्बन्धमा बेमेल, सोचेको कुरा प्राप्त नहुँदा , प्रेममा असफलता , इज्जत प्रतिष्ठामा धक्का लाग्दा, रिस र आवेगलाई नियन्त्रण गर्न नसक्दा, ऋण (कर्जा) तिर्न नसक्दा र दिर्घरोग जस्ता कारणहरुले व्यक्तिले आत्महत्या गरेको पाइएको छ । पछिल्लो समयमा एकातिर प्रविधीले व्यक्तिलाई एकात्मक बनाउँदै लगेको छ भने अर्कोतिर संयुक्त परिवारमा नबस्ने परिपाटीले पनि व्यक्तिले अति एक्लो महशुस गरि आत्महत्या गर्ने गरेको पाइयो ।

धादिङ जिल्लाको अवस्था :

धादिङ जिल्लामा पछिल्लो चार आर्थिक वर्षमा जिल्लामा भएको आत्महत्याको तथ्याङ्क हेर्दा गएको वर्षहरुमा भन्दा यो वर्ष महिलाको आत्महत्याको संख्या धेरै देखिन्छ । आत्महत्या गर्नेमा पनि झुन्डिएर आत्महत्या गर्नेको संख्या धेरै रहेको छ । धादिङ जिल्लामा आर्थिक वर्ष ०७५/०७६मा आत्महत्या गर्नेमा ७ वर्षकी बालिका, ९ वर्षकी बालिका र १३ वर्षका बालक समेत रहेका छन् ।

 मुलुकी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुर को दफा १८५ मा आत्महत्या गर्ने वातावरण तयार गर्ने व्यक्तिलाई पनि सजायँ हुने व्यवस्था उल्लेख छ ।  दफा १८५ को उपदफा (१) मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँ सम्म जरिवाना हुनेछ । भन्ने कुरा उल्लेख छ । २०७४ भन्दा अगाडी सम्म यस्तो खालको व्यवस्था पनि थिएन । पछिल्लो कानुनलाई टेकेर जिल्ला प्रहरी कार्यालय धादिङले यस आर्थिक वर्षमा एउटा मुद्दा आत्महत्या दुरुत्साहन अन्र्तगत दर्ता गरेको जनाएको छ ।

न्यूनिकरणको उपायहरु :

मानसिक स्वास्थ्य सवैभन्दा महत्वपूर्ण कुरा भएपनि हाल शारिरीक स्वास्थ्यलाई मात्र ध्यान दिने गरेको पाइन्छ । जस्ले गर्दा मानसिक स्वास्थ्यको कुरा उपेक्षामा /ओझेलमा पर्दै गर्दै आएको छ । मनोसामाजिक समस्या भएका व्यक्ति पनि स्वास्थ्य संस्थामा जाँदा शारिरीक समस्यालाई मात्र बताउने गरेकोले मनोसामाजिक समस्या पहिचान र समाधान तिर गएको देखिदैन । शारिरीक समस्या र मनोसामाजिक समस्या एक अर्कासंग जोडिएको हुन्छ । दिर्घ रोग लागेका व्यक्तिहरुलाई पनि मानसिक समस्या हुन सक्छ भने मानसिक समस्याको कारण पनि मनोसामाजिक समस्या देखिएको हुन्छ । शारिरीक समस्या उपचार पश्चात ठिक हुन्छ भने मनोसामाजिक समस्याको समाधान मनोविमर्श हो ।

आत्महत्या न्यूनिकरणका लागि सवैभन्दा पहिले व्यक्तिले देखाएको अस्वभाविक व्यवहार वा चिन्ह हरुलाई पहिचान गर्न आवश्यक छ । आत्महत्याको सोच बनाएका व्यक्तिहरुले बारबार आत्महत्या गर्न मन लागेको कुरा व्यक्त गरिरहेको हुन्छ । साथै आफु नजन्मिएको भए हुन्थ्यो वा म जन्मिएको बेकार भयो भन्ने खालको कुरा गरिहरहेको हुन्छ । यि कुराहरुमा सवैभन्दा पहिले परिवार, आफन्त र साथीहरुले ध्यान दिन आवश्यक छ ।

व्यक्तिले जीवन प्रति सधैं निराशा व्यक्त गर्छ । एक्लै बस्न मन पराउँछ । निरीह महशुस गर्छ । एक्लै डाडाँमा वा एकान्तमा जान्छ । हातमा डोरी, नाम्लो वा यस्तै केही झुन्डिन सघाउने खालका सामाग्री बोकेर हिड्छ भने परिवारका सदस्यहरु चनाखो भएर कुराकानी गर्न आवश्यक छ । आफन्त र साथीभाइले जिवनमा आशा जगाउने खालका कुराकानी गर्ने , कुनै पनि समस्याको समाधान छ भन्ने खालको कुरा गरेर ढाडस दिने गर्न आवश्यक छ ।

आफ्नो सरसफाइमा बेवास्ता गर्ने, खुशीको क्षणमा खुशी नहुने, दुःखको क्षणमा दुखि नहुने (संवेगात्मक रुपमा शुन्य भएको ) अवस्था देखेमा पनि ध्यान दिन आवश्यक छ । आत्महत्याको जोखिमको तत्वहरु पत्ता लगाएर परिवारले भावनात्मक रुपमा सहयोग गर्ने, जीवनप्रतिको आशा जगाउने, मनोविमर्शकर्तामा सिफारिस गर्ने वा लैजाने, आत्महत्या गर्न बोकेर हिंडेका सामाग्रीहरु उसको पहुँच भन्दा टाढा राख्ने गर्न सकिन्छ । साथै व्यक्तिलाई एक्लै नछोड्ने , उसको मनमा के कस्ता कुराहरु खेलिरहेको छ भनेर कुराकानी गर्दा पनि बचाउन सकिन्छ ।

सवैभन्दा महत्वपूर्ण कुरा मनोविमर्शकर्ता र मनोचिकित्सक संग परामर्श लिने गर्नुपर्छ । औषधी खानुपर्ने भएमा औषधी र मनोविमर्शलाई संगसंगै अगाढी बढाउन सकिन्छ । समाजमा धेरै भन्दा धेरै व्यक्ति समक्ष आत्महत्या कसरी हुन्छ ? र रोकथामको लागि गर्न सकिन्छ भन्ने उपायहरुका बारेमा सरकार, निजी क्षेत्र, सञ्चार माध्यम सवै मिलेर सूचना पुर्याउन आवश्यक छ । यो दिवस मनाउनुको उद्देश्य पनि यही हो । जीवन सुन्दर छ । जीवन अमुल्य छ । बाँचौं र बचाऔं ।

(लेखक : मनोसामाजिक मनोविमर्शकर्ता हुनुहुन्छ )

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: