गर्भवती शिक्षिकालाई बिदा नदिंदा…


चिकित्सकले आराम गर्नू भने पनि प्रधानाध्यापकले बिदा दिएनन्

प्रकाशित मिति :2019-09-08 15:15:21

-विद्या राई-

काठमाडौँ । राजधानीको असनस्थित त्यौड माविकी शिक्षिका लता शर्मा (नाम परिवर्तन) ले गर्भ नवौं महिना पुग्दासमेत आराम पाइनन् । प्रसूतिका लागि चिकित्सकले तोकेको मिति नाघिसक्दा पनि उनले विद्यालय गएर पढाउनुपर्‍यो ।

यही धपेडीबीच केही दिनअघि उनले प्रसूतिगृहमा जन्माएको शिशुको निधन भएको छ । यसका लागि पीडित पक्षले प्रधानाध्यापक सुरेन्द्र केसीको ‘यातनाजन्य व्यवहार’ लाई कारण बताएका छन् ।

घटनाअघि केसीलाई राष्ट्रिय महिला आयोगले ‘महिलाविरुद्ध हिंसा’ नगर्न चेतावनीसमेत दिएको थियो । चिकित्सकले शर्मालाई ‘पूर्ण रूपमा आराम गर्नू’ भनी प्रेस्क्रिप्सन दिए पनि केसीले बिदा स्वीकृत गरिदिएनन् । उल्टै स्पष्टीकरण सोधेर हैरानी दिएको पीडितको आरोप छ । शर्माले अपरेसनका दिन पनि विद्यालय गएर पढाएकी थिइन् ।

‘प्रशासनिक शक्तिको दुरुपयोग गर्दै दुःख दिँदा हामीलाई ठूलो क्षति भएको छ, हेडसर र सहायक हेडसरको अफिसमा राखेर आयोगको पत्र फिर्ता नगरे प्रशासनिक एक्सन सुरु गर्ने धम्की दिए,’ शर्माका पतिले कान्तिपुरसँग भने, ‘स्कुलमा गाली गर्छन्, जागिर जान्छ भन्ने मानसिक तनावले गर्दा अस्पताल भर्ना हुनुपर्ने उनलाई स्कुटर चढाएर विद्यालय पुर्‍याउनुपर्‍यो ।’

गर्भ आठ महिनाको छँदा अस्वस्थ भएपछि शर्मा माघ–फागुनमा २५ दिन बिदा बसेको आयोगमा दिएको निवेदनमा उल्लेख छ । उनले ०७५ चैत २४ गते प्रजननसम्बन्धी समस्याका कारण अस्वस्थ भएको भन्दै प्रधानाध्यापकलाई निवेदन लेखी सुत्केरी बिदाबापत पाउने सुविधा अग्रिम रूपमा कट्टा गराइदिन आग्रह गरेकी थिइन् । त्यसअघि पनि दुईवटा निवेदन अस्वीकृत भएको शर्माका पतिले बताए । फागुन २३ गते चिकित्सकले ‘पूर्ण रूपमा आराम गर्नुपर्ने’ भनी प्रेसक्रिप्सन लेखिदिएका थिए ।

केसीले शर्माको निवेदन एक महिनापछि ०७६ वैशाख ३१ गते मात्र सम्बोधन गरे । उनले त्यसमा टिप्पणी गर्दै लेखेका छन्, ‘नियमानुसार बिदा स्वीकृत गर्न नमिल्ने ।’ उनले जेठ २८ गते दोस्रो पटकसमेत बिदा अस्वीकृत गरे । त्यसबीच शर्माले बिदाका लागि केसीसँग पटक–पटक आग्रह गरिन् । स्वीकृत नभएपछि असार २६ गते आयोगमा उजुरी दिइन् ।

आयोगले त्यही दिन प्रधानाध्यापक केसीको नाममा बिदा स्वीकृत गर्न आदेशसहितको पत्र लेख्यो । पत्रमा शर्मालाई ‘बिदाबाट वञ्चित गर्नु महिलाविरुद्धको हिंसा भएको’ उल्लेख छ । त्यसमा शिक्षा विकास निर्देशनालयले गर्भवती तथा सुत्केरीलाई प्रसूति बिदा कार्यान्वयन गर्नरगराउन ०७५ मंसिर १९ गते देशभरका शिक्षा इकाईमा पठाएको पत्रबारे पनि स्मरण गराइएको छ ।

करिब एक महिना चुपचाप बसेर साउन २० गते केसीले आयोगमा जवाफ लेखे । त्यसमा उनले महिलाविरुद्ध हिंसा हुने भनी आएको पत्रमाथि आपत्ति जनाए । निवेदन प्रक्रियासम्मत नआएको भन्दै उनले प्रक्रियाअनुसार आए बिदा र सुविधाबाट वञ्चित नगरिने उल्लेख गरेका छन् ।

शिक्षिका लताले विद्यालय प्रशासनसँग समन्वय नगरी आफूखुसी बिदा बसेको उनले आयोगलाई लेखेको पत्रमा आरोप लगाएका छन् । शिक्षिका लता आफ्नो काममा जिम्मेवार र प्रशासनप्रति उत्तरदायी नहुने गरेको आरोप लगाए । केसीले पत्रमा लेखेका छन्, ‘अन्य शिक्षकसँग अनावश्यक प्रतिस्पर्धाको भावना लिने अनि विद्यार्थीको भविष्यमाथि समेत खेलबाड गर्ने गर्दै आएको व्यवहारले कुनै पनि पेसालाई मर्यादित बनाउन सक्दैन ।’ उनले पत्रमा प्रसूतिपश्चात अनिवार्य बिदा लिनु स्वाभाविक हुने भन्दै प्रसूतिपूर्वको बिदा आफू कार्यरत कार्यालयसँग समन्वय गरेर मात्र लिनुपर्ने जवाफ लेखेका थिए ।

महिला आयोगले बिदाको सवालमा प्रश्न उठ्दा संविधानको धारा ३८ मा उल्लेखित ‘सुरक्षित मातृत्व वा प्रजननको हक’ बारे स्मरण गराएको थियो । त्यही हक कार्यान्वयनका लागि बनेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको दफा १३ मा ‘सुत्केरीअघि वा पछि ९८ दिन तलबी बिदा पाउने, त्यतिले अपुग भएमा डाक्टरको सिफारिसमा एक वर्ष बेतलबी बिदा पाउने’ उल्लेख छ । यो सुविधा सरकारी, गैरसरकारी र निजी संस्थामा काम गर्ने महिलाले पाउने ऐनमै व्यवस्था छ ।

प्रअ केसीले भने महिला आयोगमा पठाएको जवाफमा अस्पतालमा गराएको स्वास्थ्य परीक्षण तथा बिदा बस्नुपर्ने कारणसहितको कागजात पेस नगरेको आरोप लगाए । बिदा सुविधालाई आफूअनुकूल मात्रै उपयोग गर्ने गरी चिकित्सकको सामान्य सिफारिस ल्याएको उनको भनाइ थियो ।

पढाइ सकिएर वार्षिक परीक्षा सुरु हुन लागेको अवस्थामा उनलेविषय शिक्षकले बिदा लिँदा पढाइमा अवरोध हुने तर्क अघि सारे । तर शिक्षिका लताको भनाइअनुसार त्यतिबेला परीक्षाको बेलामा ‘कोर्स’ सकिएको थियो । नियमित पठनपाठन सकिएर विद्यालयसमेत बिदा भइसकेको थियो ।

शिक्षकको बिदाको विषयमा आफूले व्यवस्थापन समितिसँग समेत सल्लाह गर्नुपर्ने भन्दै तत्कालीन समयमा स्वीकृत नगरिएको प्रतिक्रिया उनले दिए । बिदा स्वीकृत गर्ने अधिकार प्रअलाई छ । उनले महिला आयोगमा लेखेको पत्रमा शिक्षिका लतालाई आफूले बिदा दिन अस्वीकार गरेको बताएका छन् । उनले जवाफमा लेखेको पत्रमा भनिएको छ, ‘निवेदकको मागबमोजिम सम्मानित महिला आयोगले निर्देशन गरेको बिदा विद्यालयले दिन नसक्ने व्यहोरा सविनय अनुरोध गर्दछु ।’

उनले जवाफमा फेरि शिक्षकले आफूलाई आवश्यक परेको बिदाको पूर्ण विवरणसहित निवेदन दिएको अवस्थामा बिदाबारे विचार गर्न सकिने व्यहोरा उल्लेख गरेका छन् । उनले यो पत्र विभिन्न आठवटा निकायलाई बोधार्थको रूपमा पठाएका छन् ।

महिला आयोगले आफूमाथि ‘महिला हिंसा’ को सवाल उठाएको आक्रोश प्रअ केसीले उनै शिक्षिका लतामाथि पोखे । आयोगमा चिठी लेखेको भोलिपल्ट उनले शिक्षिका लतालाई आठ बुँदे स्पष्टीकरण सोधे । त्यसमा जिम्मेवारी इमानदारीपूर्वक पालना नगरेको, विद्यालयको आन्तरिक गतिविधिबारे बेसरोकारसँग कुरा गर्दै हिँडेको, प्रधानाध्यापकमाथि अमर्यादित व्यवहार गरेको आरोप छ । प्रधानाध्यापकको स्पष्टीकरणको बुँदा ४ मा भनिएको छ, ‘गलत मनसाय राखी सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन ०७५ को हवाला दिई प्रजनन स्वास्थ्य कारणले जटिल शल्यक्रिया गरेको भनी प्रसूति बिदा लिने दुस्प्रयास गरेको ।’

त्यस्तै ०७६ वैशाख ३१ गते विद्यालयमा निवेदन दर्ता भएकोमा ‘विद्यालयले निवेदन दर्ता गरेन’ भनी महिला आयोगमा उजुरी दिएको भनेरसमेत शिक्षिका शर्मासँग स्पष्टीकरण सोधिएको छ । तर निवेदनमा चैत २४ गते भनी मिति उल्लेख छ ।

प्रधानाध्यापकमाथि जघन्य अपराधको आरोप लगाएर महिला आयोगमा उजुरी दिएको,बाहिरी निकायको सहारा लिने प्रयास गरेको र राजनीतिक पदाधिकारीबाट फोन गराई प्रधानाध्यापकलाई हतोत्साहित गराउने प्रयास गरेको आरोप लगाए । पूर्णरूपमा आराम गर्नुपर्ने शिक्षिका लता बिदा पाउनुको साटो प्रअले स्पष्टीकरण साधेपछि थप तनावमा रहिन् ।

आकस्मिक रूपमा कहिलेकाहीँ १र२ दिन लिने बिदाबाट समेत बञ्चित गरियो । उनी बानेश्वरको पूजा प्रतिष्ठानबाट असन पुगेर पढाउँथिन् । एक सातापछि गत जेठ २७ गते उनले प्रधानाध्यापकलाई स्पष्टीकरणको जवाफ लेखिन् । भोलिपल्ट जेठ २८ गते आफूले माग गरेको बिदा के भयो भनी विद्यालयमा जानकारीपत्र माग गरिन् ।

‘बिदा नपाएका कारण त्यसको दुई महिनासम्म म नियमित विद्यालय जानुपर्‍यो, यसबीचमाअनेक मानसिक यातना दिइयो,’ उनले कान्तिपुरसँग भनिन्, ‘प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले महिला आयोगमा दिएको उजुरी फिर्ता नलिए प्रशासनिक कारबाही हुन्छ, भोलि जागिर पनि अप्ठेरोमा पर्छ भनेर दबाब दिने र अनेक दुःख दिने काम गर्नुभयो ।’

प्रधानाध्यापक सुरेन्द्र केसीले आफ्नो नियत गलत नभएको प्रतिक्रिया दिए । ‘शिक्षा नियमावलीमा सुत्केरीअघि बिदाको व्यवस्था थिएन, केही अस्पष्टता देखिएकाले परामर्श गर्दा मात्रै ढिला भएजस्तो देखिएको हो,’ केसीले कान्तिपुरसँग भने, ‘तपाईंले पत्राचार र अन्य कागजात हेर्नुभयो भने मेरो नियत गलत देख्नुहुन्छ तर पछि परिस्थिति त्यस्तो भएछ, त्यसमा मेरो दोष छैन ।’

केसीले शिक्षा समन्वय इकाईका प्रमुख नन्दलाल पौडेल र शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीसमेतको परामर्श र सल्लाहका आधारमा आफू चलेको प्रतिक्रिया दिए । ‘आयोगको निर्देशनबारे अस्पष्टता देखिएपछि मैले सम्बन्धित निकायमा सल्लाह गरेको हुँ । मोहनजी मेरो साथी भएकाले उहाँसँग सरसल्लाहसम्म भएको हो । कानुनी अस्पष्टता देखिएकाले मिल्दैन भन्ने सल्लाह आएकाले मैले बिदा अस्वीकृत गरेको हुँ ।’

विद्यालयका एक शिक्षकका अनुसार प्रधानाध्यापकलाई बिदा दिनुहुन्न भन्ने सल्लाह दिनेमा सहायक प्रधानाध्यापक महेश अधिकारीसमेत थिए । तर उनले शिक्षिका लताको शिक्षण कार्यतालिकाका विषय बाहेकमा कुराकानी नगरेको र दबाब पनि नदिएको प्रतिक्रिया दिए । ‘उहाँको रुटिन (शिक्षण तालिका) का बारेमा कुरा भएको हो, बिदालगायत विषयमा यातना दिएको होइन,’ उनले भने, ‘हेडसरले काम गरिरहनुभएको थियो, त्यसमा केही सल्लाह र परामर्श भएको हो, दबाबका रूपमा होइन ।’

स्पष्टीकरण बुझाएको करिब दुई महिनासम्म उनले विद्यालय गएर पढाइन् । नियमित स्वास्थ्य परीक्षण क्रममा चिकित्सकले घरमा आराम गर्न सल्लाह दिइरहेका हुन्थे । तर भदौ १ गते मात्रै प्रधानाध्यापक केसीले महिला आयोगमा चिठी लेखेर शिक्षिका
लताको बिदा स्वीकृत गरिएको पत्र पठाए । त्यसको पर्सिपल्ट शिक्षिकाले थाहा पाइन्, जुन निकै ढिला भइसकेको थियो । त्यही दिन विद्यालयमा हाजिर भएर बिदाको तर्खर गर्दागर्दै अचानक स्वास्थ्यमा समस्या आएपछि थापाथलीस्थित प्रसूतिगृहमा भर्ना भइन् ।

त्यही दिन अपरेसनबाट निकालिएको शिशुको निधन भयो । ‘एउटा प्रधानाध्यापकको गलत क्रियाकलापका कारण हामीले ठूलो क्षति ब्यहोर्नुपर्‍यो,’ लताका पतिले भने, ‘यस्ता गैरजिम्मेवार अनि गैरकानुनी र प्रवृत्तिलाई निरुत्साहित गर्न पनि म कानुनी उपचारको बाटोमा जान्छु ।’ साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: