अपांगताः कानुन प्रभावकारी नहुँदा जोखिममै छन् बालबालिका


प्रकाशित मिति :2019-09-01 17:57:33

बिमला तुम्खेवा

ललितपुर । रामकृष्ण र मिश्रीमाया श्रेष्ठले २०५९ साल फागुन ३ गते थापाथलीस्थित प्रसूती गृहमा छोरी जन्माए । पहिलो सन्तान लक्ष्मी अर्थात छोरी जन्मदा निकै खुसी भएको यो दम्पतीको खुसी लामो समयसम्म भने टिकेन ।

नर्मल अवस्थाबाट जन्मिएकी बच्चीको तौल जन्मिदा साढे तीन केजी । आमा र छोरी दुवैको अवस्था सामान्य भएपछि अस्पतालले भोलिपल्ट नै डिस्चार्ज गरिदियो । घर पुगेको चार दिनमा नेवारी सस्ंकार अनुसार छोरीको न्वारान गर्ने प्रचलन अनुसार नुहाई सकेपछि तेल लगाउन लाग्दा बच्ची निकै चिच्याउन थालिन् । रुने क्रममा अचानक मुखभित्र घाउ देखेपछि आमाबुबा आत्तिए । बच्चीको किलकिले निकै पाकिसकेको थियो । उनीहरुले हतार हतार गर्दै बच्चीलाई कान्ती बाल अस्पताल महाराजगञ्ज पुर्याए । अस्पतालमा पो थाहा भो, बच्चीलाई जन्मदा नै ज्वरोले च्यापेको रहेछ ।

प्रसूति गृहको सानो लापरबाहीले छोरीको जिन्दगीमाथी यत्रो ठूलो ब्रजपात आईपर्छ भन्ने यो दम्पतीलाई हेक्का थिएन । पाँच दिन अस्पतालमा राखिसकेपछि छोरी निको त भईन् तर ६ महिनापछि फेरि अर्कै समस्या देखियो । अचानक छोरीको शरीर दह्रो हुन थाल्यो । पुरै शरीर काप्न थाल्यो । उनी बेहोस भइन् । आमाबुबाले तत्कालै अस्पताल लगे । बेहोस् भएको २० मिनेटपछि मात्रै होस् आयो । डाक्टरले बिस्तारै ठिक हुने आश्वासन त दिए तर छोरी कहिले ठिक नहुने भैसकेकी थिईन् । सामान्य अवस्थाबाट जन्माइएकी शिशु जन्मिदा कुन डाक्टर सलंग्न थिए भन्नेसमेत दम्पतीलाई थाहा भएन । उनीहरुलाई अहिले एउटै कुराले पछुतो छ – त्यसबेला प्राईभेट अस्पतालमा सुत्केरी गराएको भए सायद यस्तो हुदैन थियो की ! पैंसा खर्च भए पनि शिशुले यस्तो दुःख ब्यहोर्न पर्दैनथ्यो थियो की ! कमसेकम शिशुको अवस्था त डाक्टरले चेक गर्ने थिए होलान् ।

‘सरकारकै ठूलो लगानी रहेको थापाथली हस्पिटल भनेर बिश्वास गरेर गयौं, आखिर यस्तो भोग्नुपर्यो,’ रामकृष्णले नाबालक छोरी र आफ्नो परिवारले भोग्नुपरेको पीडा सम्झिदै भने, ‘घाउकै कारणले रहेछ छोरीले आमाको दूध चुस्न सकेन । ल्याक्टोजन खुवाएर हुर्कायौं । अहिलेसम्म दवाई पिनेरै खुवाउनुपर्छ । ठोस खानेकुरा खान सक्दिनन् । झोलिलो खानेकुरा मात्रै ख्वाउनुपर्छ ।’

रामकृष्ण र मिश्रीमायाको कथा यतिमा मात्र सकिदैन । दम्पतीले छोरीको लागि भाकल, जडीबुटी, धामीझाँक्री त कति गरे गरे । उनीहरुको दोस्रो सन्तान पनि छोरी जन्मिइन् । हुर्ददैं गएपछि दुबै दिदी बहिनीलाई रोयल पब्लिक स्कुलमा भर्ना गरियो । दुई वर्ष स्कुल गइसके पनि बच्चीको विकास भएन । बरु उनको स्वभाव अस्वभाविक थियो ।

जसको कारण अरु बच्चालाई पनि डिस्टब हुन थालेपछि उनले छोरीलाई बौद्विक अपांग स्कुल बानेश्वरमा पाँच वर्षसम्म पठाए ।

रामकृष्णको आफ्नै ट्याक्सी छ । उनले दिनभर ट्याक्सी नचलाए घर धान्न मुस्किल हुन्छ । योसंगै छोरीलाई हरेक दिन स्कुल पुर्याउने, ल्याउने, कमाएर घरसमेत धान्नुपर्ने अवस्थाका कारण उनीहरुलाई दुःखमाथि दुःख थपिदैं थियो । तर पनि छोरीको अवस्था सुधारोन्मुख थिएन ।

छोरीको अवस्थामा आज सुधार हुन्छ, भोली हुन्छ भन्दै कुरेका उनीहरुको आमा निरासामा परिणत हुन थाल्यो । किनकी विद्यालयले पनि नानीप्रति खासै ध्यान दिएको थिएन । स्कुलबाटसमेत सन्तुष्ट नमिलेपछि त्यहाँबाट पनि नानीलाई छुटाइयो । छोरीकै कारण उनीरुले घर छोडेर कहिले बाहिर घुमफेर गर्न गएको याद छैन ।

एक त स्कुल पनि भनेजस्तो नपाईने, पाईहाले पनि भरपर्दो र चित्त बुझ्दो नहुने भएपछि नानीलाई उल्टै यातना भयो । ‘अहिले हामी दुई बुढाबुढी पालैपालो समय मिलाएर छोरीको हेरचाह गर्छौं’ मिश्रीमायाले भनिन् ।

त्यसो त उनीहरुले छोरीलाई पाँच लाखको जीवन बिमा पनि गरिदिएको छन् । दम्पतीले भएको सम्पती सबै दुईटा सन्तानलाई बराबर गरिदिने निर्णय गरिसकेका छन् । आफ्नो ज्यानमा तलमाथि भइहाले सम्पत्तिकै लोभले पनि बैनीले हेर्छ की भन्ने सोचेका छन् उनीहरुले । छोरीको लागि महिनामा २५ सय सय दवाई, फलफुल, खाना गरेर सबै जोड्दा १० हजार खर्च पुग्छ । ‘कमाउनै पर्यो । सरकारले महिनामा दुई हजार त दिन्छ कम्तीमा पचास प्रतिशत मात्र दिए पनि राहत हुने थियो’ रामकृष्णले भने, ‘अब हामी बाचुञ्जेल त दुःख पाउदैन । हामी नभएको खण्डमा यसको हालत के होला ?’ यही पिरले सताईरहन्छ उनीहरुलाई ।

मिश्रीमायाले होटेल चलाउछिन् । त्यसैले बिहानै घरबाट निस्कन्छिन्, नपुगी हुदैन । तर रामकृष्णचाहिँ छोरीलाई सकेसम्म दवाई र खाना आफै खुवाएर फेरि ट्याक्सीबाटै श्रीमतीलाई जिम्मा लगाएर मात्र काममा निस्कन्छन् । यो उनको नियमित रुटिङ हो ।

हुन त सन्तानको सुख र खुसीका लागि आमाबुबाले लागे पुगेसम्म सबथोक गर्छन् । तर यसो भन्दैमा सबै आमाबुबाले यसो गर्छन् त ? यो आफैमा जटिल प्रश्न हो । तर अपांगता भएका सन्तानप्रति यति विघ्न माया गर्ने यस्ता आमाबुबा पनि दुर्लभ पाईन्छन् ।

अपांगता भएका बालबालिकाहरु परिवारसंगै बसे पनि अपहेलित छन् । उचित स्याहार सुसारको अभावमा आफ्नै परिवारबाट दुःखपूर्ण र जोखिमपूर्ण जीवन बाच्न बाध्य छन् ।

नेपालमा जन्मिएका धेरै जसो अपांगता भएका बालबालिकाको अवस्थालाई गहिरिएर अनुसन्धान गर्ने हो भने, आमाले गर्भावस्थामा पोषणयुक्त खानेकुरा नखाएको, नियमित सुई नलगाएको, अत्यधिक मदिरा सेवन गरेको र दुव्र्यसनमा फसेका बुबा अथवा आमाको कारण यस्तो समस्या भएका शिशुहरु जन्मिने गरेका छन् ।

अपांगता भएका बालक भन्दा बालिकाहरु सुरक्षाको हिसाबले जोखिममा छन् । सुरक्षाको कारणले नै छोरीलाई कहिल्यै नछाडेको आमा मिश्रीमायाको भनाइ छ ।

हरेक अखबारका पृष्ठहरुमा शारीरिक अपांगता भएका बालबालिकामाथी दुव्र्यबहार भएको, कष्टपूर्ण जीवन बाँचिरहेका समाचारहरु प्रकाशित भैरहेको देखिन्छ । अपांगता भएका मान्छेहरुको अधिकारका लागि क्रियाशील अभियन्ता टीका दाहाल अपांगता भएका बालिका र महिलाहरु बालक र वयश्क पुरुषको तुलनामा बढी जोखिममा हुने गरेको बताउँछिन् । अभिभावकले नै अपांगता भएका सन्तानका लागि बढी सचेत हुनुपर्ने र छिमेकी, विद्यालय र हरेक मान्छेले पनि उनीहरु बारे संवेदनशील भएर व्यवहार गर्नुपर्ने राय दाहालको छ ।

सरकारले अपांगता भएका व्यक्तिको अघिकारलाई सम्बोधन गर्न अपांगता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ मा शिक्षा, व्यवसायिक तथा सिपमुलक तालिम, प्रदान गर्ने, सरकारी नियुक्तिहरुमा कुनै भेदभाव नराखी नियुक्ती प्रदान गरिने स्पष्ट उल्लेख छ । तर पनि सामाजिक जीवनमा भने अपांगता भएका मान्छेले हरेक पाईलामा अप्ठ्यारो झेल्नुपर्ने अवस्था छ । कानुनले जति नै व्याख्या गरेता पनि अपांगता भएका नागरिकको जीवन नेपाली समाजमा कष्टकर छ ।

नेपाली समाजमा शारीरिक रुपमा अशक्त सन्तान जन्मिनु आमाबुबाको निम्ति जीवनभरको कष्ट हो । त्यसैमाथी समाजले गर्ने व्यबहारको कारण अभिभावक र बालबालिका दुबैले दोहोरो सामाजिक हिंसाको सिकार हुनुपर्छ ।

बिरगंज निवासी तर अहिले काठमाडौंको घट्टेकुलोमा अस्थाई रुपमा बसोबास गर्दै आएको झा परिवारमा छोरो जन्मिदा खुसी नहुने कोही थिएन । जन्मेको भोलिपल्ट बच्चाको जिउ अचानक तातो भएको महुसुस भो । ज्वरो नाप्दा एक सय चार डिग्री थियो । तुरुन्तै काठमाडौं ल्याउन खोज्दा प्लेनको टिकट पाईएन । सुत्केरीलाई बसमा हिन्न समस्या भो । पर्सीपल्ट प्लेनबाट काठमाडौं ल्याउदा डिलो भैसकेको रहेछ । जसका कारण तिनै बालक शिभमको अहिले यस्तो अवस्था भयो ।

उनी कहिल्यै आम बच्चा जस्तो हुन सक्दैनन् । उनको शारीरिक अवस्था पनि कमजोर छ । आमा बुबा र दाजुभाइलाई भने राम्रोसँग चिन्छन् ।
सुभमलाई स्कुल भने जस्तो नभएको कारणले घरमै राखीरहेको बताउछिन्, आमा जानुकादेवी झा । हरेक दिन जसो एक समय घरबाहिर घुमाउन निकाल्छिन् । बाहिर घुम्न खुबै मन पराउने शुभमलाई परिवारको माया र साथ त छ । तर यो समाजमा कति छन् त यस्ता भाग्यमानी बालबालिका ? भेट्न मुस्लिम छ ।

नेपाली समाजमा शारीरिक रुपमा अशक्त सन्तान जन्मिनु आमाबुबाको निम्ति जीवनभरको कष्ट हो । त्यसैमाथी समाजले गर्ने व्यबहारको कारण अभिभावक र बालबालिका दुबैले दोहोरो सामाजिक हिंसाको सिकार हुनुपर्छ ।

नेपाल सरकारले अपाङ्ता भएको व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ ल्याईसकेको छ । तर यसलाई संशोधन गरेर नियमावली ल्याउन बाँकी भएका कारण अहिले यो ऐन मन्त्रीपरिषद्मा बिचारधीन अवस्थामै छ । कसरी कार्यान्यन गर्ने हो स्पष्ट नभएका कारण पनि हाल मन्त्रालयलाई समस्या छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव पशुपति महत भन्छन्, ‘अपांग सम्बन्धि ऐन आयो तर बिचाराधिन अवस्थामै रहेको कारण समस्या छ । यो ऐन लागु हुन अझै दुई वर्ष जति लाग्छ । त्यसैले अहिलेलाई देशभरका अपांगता भएका नागरिकलाई राष्ट्रिय बाल अघिकार परिषदले पहिलेकै नियम कानुनलाई निरन्तरता दिइरहेको छ ।’

हाल पहिलो सूचीमा पर्ने अपांगता भएका नागरिकलाई तीन हजार र कम्तिमा १६ सय प्रति महिना सामाजिक सुरक्षा भत्ता सरकारले प्रदान गर्दै आएको छ ।

सरकारले राष्ट्रिय बाल अघिकार परिषद अन्तर्गत ४६ जिल्लामा ५ सय ३३ बालगृह सन्चालन गर्दै आएको र यसमा १४ हजार ८ सय ६४ जना बालबालिका आवद्व रहेको परिषदका सूचना अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।

सरकारको पहिलो उद्देश्य भनेको अपांगता भएका व्यक्तिलाई आफ्नै परिवारसंग फर्काउने पहिलो जोड रहेको चन्द बताउँछन् । उनीहरुको निम्ति परिवार भन्दा अरु कोही पनि भरोसायोग्य नहुनाले पनि यही उपाय अपनाएको उनले बताए ।

अहिलेको ऐनमा केन्द्र, प्रदेश र स्थानीय सरकारले मात्र बालगृहहरु चलाउने नियावली आएका कारणले पनि निजिस्तरबाट संचालनमा आएर राम्रो काम गरिरहेका संघ संस्थाहरुलाई समस्या आईपरेको छ । तर नीजिस्तरबाट संचालित संघ संस्थाले उल्लेखनीय योगदान पुर्याएको कुरा सरकारले मनन् गर्नुपर्ने नेपाल अपांग संघकी अध्यक्ष तथा अधिकारकर्मी निर्मला धिताल बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?

क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन

जातका आधारमा महिलालाई घर निकाला

–महिला खबर– आफूलाई कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला

महिला मन्त्री थापा केन्या प्रस्थान

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हिजो आइतबार राती केन्या

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका महिलाले निर्वाचनमा भने निकै असहज

सुत्केरीलाई उपाध्यक्षको कोसेली

उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: