तिमी नहुनु भनेको जीवन पूर्ण नहुनु पनि त हो………… बुबा !


प्रकाशित मिति :2019-08-30 10:39:31

-शोभा बजगाई-

“म आशा गर्छु मेरा छोराछोरीहरुले मलाई एक असल बाबुको रुपमा सधै स्मरण गर्नेछन्” एकजना विदेशी लेखक यसो भन्नुहुन्छ । स्मरण हुनेहरुले त गर्लान् तर सम्झनामै बाबुको तस्विर नहुनेले के स्मरण गर्ने…. ?

माफ गनुहोस् बुबा १ तपाईं मेरो सम्झनामा कतै हुनुहुन्न । कुशे औंशी अर्थात बाबुको मुखहेर्ने दिन नजिकिदै जादा आमाले सम्हालेर राखेका पुराना फोटाहरु यसो पल्टाउछु । र तिम्रो स्मृतिलाई गाढा बनाउँछु । मेरो मानस्पटलमा तिम्रो तस्विर छैन, तिमीसंग बिताएका याद छैनन्, तर म बढ्ने,पढ्ने र यो समाजसंग समायोजन हुने क्रममा पार गरेका थुप्रै खुड्किलाहरु छन् । जहाँ तिम्रो चरम अभाव छ । त्यहि भएर त हिजोदेखि आजसम्म तिमी चाहिने अवस्थामा आफन्त, नातागोता र साथिभाइ रुपी षुरुषहरुसंग हारगुहार गर्ने गरेकी छु ।

भनाइ छ नि….आमा सत्य हो तर बाबु विश्वास । आमाको जस्तो माया बाबुले गर्दैनन् । यसमा के कति सत्यता छ त्यसको हिसाब किताब त म गर्न सक्दिन । तर हामी जुन मानसिकता, सामाजिकिकरण र सामाजिक व्यवहारबाट हुर्कदै छौ, त्यहाँ बाबुको उपस्थितीलाइ प्रथम मानिन्छ । बाबुको नामलाइ प्रथम मानिन्छ । त्यहि ठाउँमा आमा गौण हुन्छिन् । दोस्रो हुन्छिन् ।

मृत्यु सत्य हो । अकाट्य हो । तर स्वयं मृत्यु नै डराउनेगरि आएको मृत्युले मानिसलाइ आघात मात्र पुर्‍याउदैन । अपाङ्ग नै बनाउछ । त्यस्तै मृत्यु हो तिम्रो । बच्चा बेलामा म त्यस्तै ४/५ वर्षकि थिए होला । छिमेकमा एउटी दिदी थिइन् । खेल्ने क्रममा उनले भनिन्, “तिम्रो बुबा त भगवानको घर जानुभयो नि थाहा छ….?” त्यो नै पहिलो झड्का थियो मेरो लागि । अब तिमी नफर्कने ठाउँमा गयौ भन्ने । यस्तै झड्काहरु लाग्दै गए जीवनमा । माफ गर्नुहोला म “म” भएर लेखे पनि एउटा परिवारमा पिताबिना हुर्कन छोरीलाई के कस्ता चुनौती आउँछन भन्ने विषयप्रति केन्द्रित हुन खोज्दैछु ।

“बालबालिकाको चौतर्फी विकासमा बाबुको महत्व” यस विषयमा Ditta M. Oliker ले २०११ मा एउटा अध्ययन गरेकी छन् । जसमा उनी भन्छिन्, “जन्म देखिनै जो बच्चा बाबुसंग समय बिताउछ्न उनीहरु भावनात्मक रुपमा आफूलाई बलियो ठान्छन् । वरिपरिका अवस्थितीहरुसंग खुल्नका लागि बढि आत्मविश्वासी हुन्छन् । यसले उनीहरु जति ठूला हुन्छन् उति नै स्वस्थ्य सामाजिक सम्बन्धहरु राख्नका लागि योग्य बन्छन् ।” यो अध्ययनबाट पनि पुष्टि हुन्छ पिताको महत्व ।

आत्मविश्वास भन्ने चिज आर्जन गरिने विषय हो । व्यक्तिका धारणा, प्रस्तुति, निर्णय, क्षमता आदिमा उसको आत्मविश्वास प्रतिविम्वित हुन्छ । तर आत्मविश्वासको उपयुक्त वातावरण निर्माणमा भने धेरै पक्षको भुमिका रहेको हुन्छ । जसमा बाबु प्रमुख हुन्छन भन्ने सत्य नकार्न सकिन्न । समय संगै म हुर्कदै गए । त्यस्तै ४/५ कक्षामा अध्ययन गर्दाको कुरा हो । मेरा एकजना शिक्षकले भोली तिम्रो बुबालाइ स्कुलमा बोलाउनु छात्रवृत्तिको विषयमा कुरा गर्नु छ भने । मैले मेरो बुबा हुनुहुन्न भन्न नपाउदै तिम्रो त बुबा हुनुहुन्न हगि……… ठिकै छ हजुरबुवालाई बोलाउनु है भनेर गए । त्यस बेला त यो कुरा सामान्य लाग्यो । तर त्यसको प्रभाव भने असामान्य हुनेरहेछ । बुबाको सट्टामा आमालाई किन बोलाइएन रु बरु हजुरबुबालाइ बोलाइयो । यो विषयले बारम्बार बिथोलीरहन्छ ।

म स्कुल पढ्ने भए । कलेज पढ्ने भए । साथीहरु पनि धेरै केटीहरु नै भए । घरमा आमाका साथीहरु महिला । महिलाकै आवागमन हुने क्रम बढ्यो घरमा । यसो हुँदा मैले पुरुष बुबा,काका,मामा, दाजु भाईसंग संगत गर्ने मौका पाइन । सामाजिकिकरणको क्रममा पुरुषका बहस र छलफलमा सरिक हुन पाइन । मेरो सामाजिक फैलावटको आयतन साँघुरिदै गयो । मैले आफ्ना काका, मामा, दाजु,भाई समयमै नचिन्नु भनेको आम पुरुष जतिबेला जसरि चिन्नुपर्ने हो त्यसरि नचिन्नु पनि त हो । यसले मलाइ प्रत्यक्ष रुपमा नोक्सान पुर्‍याएको महसुस हुन्छ आज पनि ।

मेरो कक्षामासंगै पढ्ने साथीको बुबा शिक्षक हुनुहुन्थ्यो । उसलाई छन्दका कविता बाचन गरेर सुनाउने, कविता लेख्न सिकाउने र आफु पढ्न बस्दा संगै राखेर पढाउने गर्नुहुन्थ्यो । पहिलो गुरु, पहिलो प्रशंसक, पहिलो आलोचकको भूमिकामा सधै उसको बुबा देखेर मलाई उसंग रिस उठ्थ्यो । बोल्न मन लाग्दैनथ्यो । प्रतिस्पर्धाको भावना उत्पन्न हुन्थ्यो । अहिले सम्झन्छु म ईष्र्याको उत्कर्षमा पुगेकी रहेछु । र त्यो डाहाको एउटै मात्र कारण बुबा हुनुहुन्थ्यो । यो घटनाले मलाइ मानसिक रुपमा विक्षिप्त बनाएको थियो ।

एक दिन आमा र म आफन्तको घर गएका थियौ । लगभग ७० वर्ष उमेरकि हजुरआमा हुनुहुन्थ्यो । उहाँको छोरो विवाहको लागि केटी हेर्न गएका रहेछन् । उनले आफ्नि आमालाइ भने, आमा केटी राम्रै लाग्यो । घरपरिवार पनि ठिकै छ । तर केटीको बाबु रहेनछन के गर्ने आमा १ भनेर छोराले सोधे । आमाको तुरुन्त जवाफ आयो । भो भो….. बाबु नभएकी छोरी विवाह गर्न हुन्न । शिलस्वभाव भएका हुन्नन् । संस्कारी हुदैनन् । छाडा हुन्छन । त्यसबेला मेरी आमा र मैले एक अर्काको मुखमा हेराहेर गर्यौ । गहिरो मौनतामा संवाद गर्‍यौं । र घर फर्कियौ । आमा नमज्जाले दुख्नुभयो शायद त्यस घटनाले । बाबु नहुदा विवाह गर्नपनि पो गाहे हुने रहेछ भन्ने कुराको महसुस त्यसबेला भयो मलाई । यसरी तिमी गएपछि,घर पूर्ण घर भएन । जीवन, पूर्ण जीवन भएन । तिमी नभएर त हुँदै हो । त्यो भन्दा पनि अझ बढि तिमी नहुदा परिवार, समाज र हरेक सम्बन्धहरुप्रतिको भूमिका परिवर्तन भएर हो । अझ भनौं मेरी आमालाई तिमी सरहको स्थान प्राप्त नभएर हो । त्यो स्थान ग्रहण गर्ने हैसियत यो समाजले नदिएर हो ।

स्कुल जादा समाउने चोरी औंला नहुनु । परीक्षामा फेल हुँदा शिर झुकाउँने ठाउँ नहुनु । सफलतामा अट्टाहाँसले अंगाल्ने साथ नहुनु । शिरभरी आशिर्वाद दिने हात नहुनु । यी सबै नहुदा जिन्दगी, जिन्दगी जस्तो नहुनु पनि त हो । तथापी मैले लिने वायुमा तिम्रो अंश छ । आमा सुत्ने कोठामा भएको तस्विरमा तिमी हाँस्दा घर उज्यालो हुन्छ । र त्यो उज्यालोमा तिम्रो हिस्सा छ । तिमीले भौतिक शरीर विसर्जन गर्‍यौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला उद्यमीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर हुनुपर्छः आयुक्त तिम्सिना

सानो लगानीबाट व्वसाय सुरु गरि सफल भएका व्यवसायी महिलाहरूले आफ्नो व्यवसाय स्थापना गर्न परिवार र

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: