सांसद महिला राम्रो बोल्नुहुन्छः डा. शिबमाया तुम्बाहाम्फे, उपसभामुख


प्रकाशित मिति :2019-07-19 12:29:29

पद र पावरमा भन्दा जिम्मेवारीमा रमाउने व्यक्तित्वको नाम डा. शिबमाया तुम्बाहाम्फे । एमाले निकट अनेरास्ववियुको तत्कालीन प्रारम्भिक कमिटी अध्ययन दलबाट राजनीतिमा लागेकी उनले २०६४ सालमा त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा राजनीतिक महिला आन्दोलन’ विषयमा विद्यावारिधि गरिन् । ‘नेपालमा महिला आन्दोलन २००४–२०४६ र २०४७–२०६०’ गरि दुई भागमा पुस्तक प्रकाशन गर्नुका साथै महिला अधिकार र महिला आन्दोलन बारे थुप्रै फुटकर लेख रचना प्रकाशित गरिसकेकी महिलावादी चरित्रकी तुम्बाहाम्फे निडर, दृढ र अध्ययनशील व्यक्तिका रुपमासमेत परिचित छन् ।

तेह«थुममा जन्मिएर झापाको गौरादहमा अध्ययन गरेकी तुम्बाहाम्फेले मोरङ केन्द्रित भएर नेकपा एमालेको राजनीति गरिन् । २०४७ सालमा पार्टी सदस्यता लिएकी उनी २०५२ सालमा अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भएर विद्यार्थी राजनीतिबाट बिदा भएकी थिइन् । एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई काम गरेकी तुम्बाहाम्फे सरल र मिलनसार व्यवहारका कारण पार्टी, संघ संस्था र आफन्तबीच प्रिय छन् ।

प्रतिनिधिसभा सभामुखमा बहुमतले विजयी भएपछि डा. तुम्बाहाम्फेले भनेकी थिइन्, ‘उपसभामुखको भूमिका निर्वाह गर्न सक्षम छु । पार्टी राजनीतिबाट माथि उठेर उपसभामुखको भूमिका निर्वाह गर्नेछु,।’ उपसभामुखको भूमिका निर्वाह गरेको डेढ वर्ष पुग्दा के कस्ता अनुभव बटुलिन् त ? महिला खबरका लागि लोग्शरी कुँवरको कुराकानीः

उपसभामुखको भूमिका निर्वाह गरिरहँदा कस्तो महसुस गर्नुभएको छ ?

म उपसभामुख भइसकेपछि मैले खेल्नुपर्ने भूमिका बारे प्रष्ट भएँ । संविधान र नियमावलीले उपसभामुखको काम, कर्तव्य र अधिकार अनुसार जे–जे गर्नुपर्छ भनेको छ, त्यस बारे जानकारी लिएँ । तर उपसभामुख भएँ, सभामुख हुन पाइन भन्ने कुराको हिनताबोध भएन । उपसभामुख भएकोमा मलाई कुनै खालको दुःख लागेन । अहिले पनि छैन ।

म मेरो काम बारे प्रष्ट छु । हाउसभित्र खेल्नुपर्ने भूमिका जुन छ, संविधान र नियमावलीमा टेकेर गरिरहेको छु । जिम्मेवारीबाट बिमुख हुने काम गरेको छैन र गर्दिन पनि । सभामुखको अनुपस्थितिमा उपसभामुखले नै सबै काम गर्नुपर्ने हुन्छ । त्यही अनुसार काम गरिरहेकी छु ।

हाउसभन्दा बाहिर निस्केर गर्नुपर्ने कामहरू जस्तै संघीय संसद सचिवालयका काम गर्दा, बैठक बस्दा पनि आफू तल परेको, हेपिएर काम गर्नुपरेको अनुभव मसँग छैन । संसद वा त्यो भन्दा बाहिरको जुनसुकै काम होस् म गर्नसक्छु भन्ने आत्मविश्वास थियो, छ र गर्दै पनि छु । त्यसकारण उपसभामुख भइसकेपछिको मेरो अनुभव राम्रै छ ।

सभामुख र तपाईंबीच कत्तिको सहकार्य हुन्छ ? तपाईंका कुरा सभामुखले सहजै मान्नुहुन्छ ?

सभामुखले नमान्ने भन्ने कुरै हुन्न । व्यक्तिगत र सैद्धान्तिक रुपमा पनि सरल मान्छे भएका कारण उहाँबाट मलाई कुनै खालको समस्या भएको छैन । उहाँ र मैले केही कामको बाँडफाँड गरेका छौं । सभामुखले विशेष गरेर सरकार र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग समन्वयनकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसो गर्दा उहाँले मसँग सरसल्लाह गर्नुहुन्छ, जानकारी गराउनु हुन्छ । सचिवालयको प्रशासनिक कामको अनुगमन गर्ने बारेमा मैले पनि भए गरेका र गर्नुपर्ने कामबारे उहाँलाई जानकारी गराउने र सूचना आदान प्रदान गर्ने काम गरिरहेको छु । जसले गर्दा हामीबीच राम्रो सम्बन्ध छ । सचिवालयका कामहरूलाई कसरी सृजनशील र सिस्टमेटिक तरिकाले गर्न सकिन्छ भन्ने बारेमा पनि हाम्ले बढी ध्यान दिएका छौं । त्यसकारण मबाट उहाँलाई र उहाँबाट मलाई समस्या पर्ने कुनै काम अहिलेसम्म भएको छैन । हामी सहकार्यमा विश्वास गर्छौ र त्यसमै रमाइरहेका छौं ।

उपसभामुख भइसकेपछि तपाईंले गरेका केही महत्वपूर्ण कामहरू छन् कि ?

सही भन्नु भो । म उपसभामुख भइसकेपछि केही न केही त गरौं, केही नयाँ ढंगले काम गरौं भन्ने लाग्यो । अनि दुवै सदनका ३ सय ३४ जना सांसदहरूको भिडियोग्राफी निकाल्ने सोच आयो । यसपाली संसद सचिवालयको रणनीतिक योजना बनाउँदा संसद सचिवालयलाई ‘पेपरलेस’ बनाउने योजना बनाएका थियौं । अनि यस पूर्व सांसदहरूको प्रोफाइल किताबमा प्रकाशित हुन्थ्यो । अब यसलाई श्रब्य दृश्यसहितको प्रोफाइल बनाउने सोच आयो । मैले प्रस्ताव राखें । सबैले समर्थन जनाउनुभो । गत महिना संसद दिवसका अवसरमा ३ सय ३१ जना (तीन जनाबाहेक) सांसदको भिडियो प्रोफाइल निर्माणको काम पुरा भो । संसदको इतिहासमै यो पहिलो र नयाँ काम हो ।

यस्तै प्रदेशसभाका उपसभामुख महिलाहरूबाट हामीले जिम्मेवारी पाएनौं । सभामुख शौचालय गएको बेला मात्रै हाउस सञ्चालन गर्न पायौं…..। यी र यस्तै यस्तै केही गुनासा र असन्तुष्टिहरू सुनेकी थिएँ । एउटा अभिभावकको हैसियतले उहाँहरूका कुरा सुन्नै पर्यो, पर्छ । अनि प्रदेशसभा, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षसहित ९ जनाको भेला गर्नुप¥यो भन्ने लाग्यो । संसद् सचिवालयलाई भनें । उपसभामुख आफैंले गर्नुस् न भन्ने कुरा आयो । अब यस्तो काम मैले व्यक्तिगत रुपमा किन गर्नु ? व्यक्तिगत रुपमा गरिएको कामको आधिकारिकता के त ? मैले हुन्न भने ।

एक जना प्रदेशको सभामुख ठ्याक्कै त्यति नै बेला यहाँ आउनुभएको थियो । मैलेचाहिँ यसो यसो गर्न खोजेको छु, भनेर सेयर गरे । उपसभामुखहरूलाई एक ठाउँमा राखेर कसरी भूमिका निर्वाह गर्ने भनेर सिकाउनुपर्यो । उत्प्रेरणा मिल्छ भनें । उहाँले यस्तो कुरा महिलालाई मात्रै किन ? हामी (सभामुख) लाई पनि आवश्यक छ । हामी पनि आउँछौं भन्नुभो । अनि सातै प्रदेशका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष उपाध्यक्ष, सातैवटै प्रदेशका मुख्यसचिव, सचिवालयका सचिव, संसद सचिवालयका महासचिवहरूको भेला चन्द्रागिरीमा आयोजना गरियो । त्यो अत्यन्तै फलदायी रह्यो ।

तीन नम्बर प्रदेशले उपसभामुखहरूको भेला हेटौडामा आयोजना गर्यो । त्यहाँ सबैजना उपसभामुखहरूले दिदी यो कार्यक्रमको लिड तपाईंले नै गर्नुपर्छ भन्ने प्रस्ताव पनि राख्नुभो । उहाँहरूले अभिभावकको हैसियतले त्यसो भनेपछि नाइँ भन्ने कुरा आएन ।

त्यसपछि सातै प्रदेशका उपसभामुखसहित सांसद महिला र पत्रकारहरूलाई तालिम दिने कुरा गर्यौं । यस अन्तरगत सुदूरपश्चिम, कर्णाली र तीन नम्बर प्रदेशमा कार्यक्रम पनि गरिसक्यौं । अरु प्रदेशमा पनि हुन्छ ।

यस्तै काठमाडौंमा सबै उपसभामुख र पत्रकारहरूको अन्तरक्रिया ग¥यौं । यो भेटघाटले सञ्चार माध्यममा उपसभामुख र सांसद महिलाका कुरा ओझेलमा परिरहेको अवस्थामा पत्रकार र उपसभामुखलाई नजिक ल्याउने र एक अर्काका भावना आदान–प्रदान गर्ने काम गर्यो ।

त्यसपछि पनि उपसभामुखहरूले गुनासो सुनाइरहनु हुन्छ कि केही परिवर्तन भयो त ?

गुनासो त कहिलेकाहीँ भइहाल्छ नि । तर पनि पहिले भन्दा धेरै राम्ररी भूमिका निर्वाह गरिरहनु भएको छ । कार्य अनुभवसँगै परिपक्वता पनि भयो । अहिले सुधार छ । क्षमतामै प्रश्न गर्ने ठाउँ छैन ।

सांसद महिलाको भूमिकाचाहिँ कस्तो पाउनु भएको छ ?

सांसद महिला र पत्रकारसँगको अन्तर संवाद गर्दा धेरै कुरा उठेका थिए । जस्तै सांसदका के कस्ता कुराले मिडियामा स्थान पाउँछन् ? के कस्ता कुरामा कसरी बोल्ने ? कुन समयमा बोल्ने भन्ने कुरामा छलफल भएको थियो । त्यो अन्तर संवादले पनि सांसद महिलाहरूमा निखार ल्याएको अनुभव हामीले गरेका छौं ।

त्यस्तै दुई चारपटक सांसद भइसकेका महिला भन्दा नयाँ सांसदहरूलाई बोल्न अप्ठ्यारो हुने नै भो । शून्य समयमा बोल्दा के कति बोल्ने ? विशेष समयमा बोल्दा के कस्ता कुरा बोल्ने समेत सबैलाई थाहा हुन्थेन । अहिले त्यो सुधार भएको छ । राष्ट्रियता र जनसरोकारका धेरै विषयमा उहाँहरू बोल्नुहुन्छ । तर जति उहाँहरू बोल्नुहुन्छ, कुरा उठाउनुहुन्छ ती कुरालाई मिडियाले स्थान नदिएको मात्रै हो ।

पत्रकारले त सांसद महिलाहरूले बोल्दैनन्, बोले पनि राष्ट्रियता जस्ता विषयमा बोल्दैनन् भन्ने गरेका छन् नि ?

पत्रकारले किन र कसरी यसो भन्नुहुन्छ थाहा छैन । तर संसदमा बोल्ने सबै पुरुष सांसदले राष्ट्रियताको विषयमा मात्रै कहाँ बोल्नुहुन्छ र ? तर पनि उहाँहरूले जे बोल्दा पनि मिडियाको प्रमुख समाचार बन्छ । सीमितबाहेक अधिकांश महिला सांसदले भने जति राम्रो बोले पनि मिडियामा स्थान पाउँदैनन् । यसको मतलब मिडियाले महिला सांसदका कुरालाई स्थान दिएन भन्ने नै हो ।

महिला सांसद र पत्रकारका एक अर्कासँगका गुनासा सुनेर म उपसभामुख भएलगत्तै पत्रकारहरूसँग दुईपटक त मेरै कार्य कक्षमा छलफल राखे । यसले पनि केही हदसम्म पत्रकार र सांसद महिलाबीचको दुरी घटेको छ । र अहिले पहिलेको जस्तो समस्या छैन । महिलाहरू भाका मिलाएर, सीप देखाएर प्रष्टसँग बोलिरहेका छन् ।

तपाईंले कहिल्यैं संसदको पुरा बैठक चलाउने अवसर पाउनु भएको छ ?

छैन । मैले मात्रै होइन, सभामुखले समेत पुरा संसद चलाउन सक्नुहुन्न । कहिलेकाहीँ प्रतिपक्षले संसद चल्नै दिएन । अथवा कुनै कारणबस धेरै बेर संसद चल्न सकेन भने मात्रै सभामुख एक्लैले संसद बैठक सुरु गर्ने र समापन गर्ने हुन्छ । नत्र संसद बैठक पुरा चल्दा त सभामुख, उपसभामुख एक्लैले सञ्चालन गर्न सक्दैन । बीच बीचमा उठ्नु पर्ने, शौचालय जानुपर्ने हुन्छ । त्यस्तोमा एक अर्कालाई पालो दिनुपर्ने हुन्छ ।

उपसभामुख एक्लैले त संसद चलाउनै पाइँदैन । ऐन, नियमावलीले नै उमसभामुख एक्लैलाई संसद चलाउने अधिकार दिएको छैन । बैठकको सुरुआत र समापन सभामुखले नै गर्नुपर्ने व्यवस्था छ । उपसभामुखले सुरुआत र समापन गर्न नियमावली नै परिवर्तन गर्नुपर्ने हुन्छ । त्यस बारेमा कुरा उठिरहेको छ ।

प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख उपसभामुखहरूको भेलामा उपसभामुखले पनि बैठकको सुरुआत र समापन गर्न पाउनु पर्ने कुरा उठेपछि राष्ट्रियसभाको नियमावली परिवर्तन भएको छ । अहिले राष्ट्रियसभाका उपाध्यक्षले बैठकको सुरु र समापन गर्नुहुन्छ । त्यस्तै एक नम्बर प्रदेशले पनि नियमावली परिवर्तन गरेर उपसभामुखलाई पनि बैठकको सुरुआत र सामापन गर्ने अधिकार दिइसक्यो । अरु प्रदेशमा पनि यो कुरा उठिरहेको छ ।

आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

एकदमै सन्तुष्ट छु । मैले अघि पनि भनें मलाई उपसभामुख दिएकोमा कुनै असन्तुष्टि छैन । हैसियत सभामुखको राख्छु, छ । अथवा पार्टी र सरकारले जुनसुकै जिम्मेवारी दिए पनि सफलतापूर्वक निर्वाह गर्नसक्ने आँट र क्षमता छ । तसर्थ आफूले पाएको जिम्मेवारी निष्ठापूर्वक पुरा गर्ने हो भने मान्छे असन्तुष्ट हुन्न । पद भन्दा काम ठूलो हुने भएकोले मान्छे कामप्रति इमान्दार हुन सक्नुपर्छ । म इमान्दार छु । आफूले पाएको जिम्मेवारी जुनसुकै अवस्था र परिस्थतिमा पुरा गरेरै छोड्छु । कसैले रोकतोक गर्न सक्दैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

तस्बिरमा हेर्नुस्, बेइजिङ प्लस २५ को समिक्षा कार्याशाला

-महिला खबर- ललितपुर । बेइजिङं २५ को समीक्षाका आजदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: