सरकार ! फेरि नजन्माउनु सदीक्षा र सलिनाहरू


प्रकाशित मिति :2019-07-09 12:46:41

मीरा राजभण्डारी अमात्य

एसइइ परीक्षामा कम ग्रेड आएकोमा दुःखी हुँदै दुई किशोरी सदीक्षा पौडेल र सलिना ढकालले आत्महत्या गरे । यीनका दुःखान्त कथाले हाल शैक्षिक क्षेत्रको नीति र परिवार समाजको मनोविज्ञान र परम्परालाई सोच्न बाध्य बनाएको छ । अर्को तर्फ निःशब्द बनेको छ किशोहरूको जमात । कलकलाउँदो कोपिला र उदाउँदो सूर्य जे नाम दिनुस्, भविश्यका योग्य नागरिक, सफल छोरी र योग्य आमाहरूलाई अनाहकमा राज्य र परिवारले गुमाउनु परेको छ । तर संवेग र भावनाविहीन राज्यका संयन्त्र र शैक्षिक नीतिहरू जस्ता अभौतिक संयन्त्रले संवेग र भावनामा जिउने मर्ने मानव प्राणी ती नानीहरूका आमा परिवारमाथि परेको बज्रपातलाईे महसूस गर्न असमर्थ छ । नत यसको क्षतिको परिपूर्ति हुने वा गर्ने कुनै माध्यम नै छ ।

कुनै समय थियो जुनबेला म नेपालको इन्जिनियरिङ क्षेत्रसंग सरोकार राख्ने निकायमा काम गर्थे । नेपालका वरिष्ठतम् इन्जिनियरहरूको शैक्षिक योग्यता लगायतको नाली बेली राख्ने काम थियो । पुराना र तात्कालिन समयमा सचिवसरहको दर्जामा पुगिसकेका एक वरिष्ठ इन्जिनियरको प्रमाण पत्रमा एसएलसीमा तेश्रो दर्जा अर्थात पास मार्क देख्दा म अचम्म परें । खोज्दै जाँदा थुप्रै त्यस्ता प्रमाण पत्र भेटें जुन पास मार्क अर्थात तेश्रो दर्जा र दोश्रो दर्जा लगायतको । ती नेपालका मात्र होइन, अन्तर्राष्ट्रिय संगठनसम्म आवद्ध भई काम गरिरहेका वरिष्ठ इन्जिनियरहरू समेत थिए । यो विषयमा मेरा तत्कालीन हाकिम जो सडक विभागका डिजी पद खाएर रिटार्यड अफिसर थिए, उहाँसंग प्रश्न गरेकी थिएँ, ‘कसरी तेश्रो डिभिजन आउनेले पनि इन्जिनियरिङ पढ्न सके ? उहाँको उत्तर थियो ‘एसएलसी होस् वा अन्य कुनै परीक्षाको नम्बर वा ग्रेडले आगामी शिक्षामा कुनै प्रभाव पार्ने होइन । प्रभाव पार्ने त आत्म विश्वासले हो । नम्बर कम आउनु वा फेल हुनु ठूलो कुरा होइन, ठूलो कुरा त हिम्मत हो ।’

उहाँको उत्तर सुनेपछि आफू एसएलसीमा दोश्रो श्रेणी आउँदा तैले अव आर्टस् पढ्, इन्जिनियरिङ पढ्न सक्दैनस्, प्राइभेट वा विदेशमा पढ्न पैसा कहाँबाट ल्याउने जस्ता मेरो मनोवल गिराउने साथीहरू र केही आफन्तको टिप्पणी पश्चात आर्किटेक्चर इन्जिनियरिङ पढ्ने चाहाना सदाको लागि सपना मात्र बनेको मेरो शैक्षिक इतिहासले निकै मन दुखायो । मलाई याद छ, जब पद्मकन्या कलेजमा CfOP पढ्न शुरु गरेँ, बाटामा ड्राफ्ट गर्ने टीसेट व्यागमा पछाडि बोक्दै साईकल चढेर इन्जिनियरिङ क्याम्पसतिर जाँदै गरेका विद्यार्थीहरूलाई फर्की फर्की हेर्थे । त्यसपछिको छनोट भयो–भुगोल विषय । किनकी कमसेकम त्यसमा टीसेट चलाउनु र भवन लगायतका केही नक्सा बनाउनु पथ्र्यो, सन्तोष त्यसैमा गरेँ । यो मेरो हो ।

दोश्रो कथा

भखरै आइए दोश्रो वर्षको परीक्षा सकेको खुशियालीमा रमाईलो मनाईरहेका दिनहरू थिए । परीक्षा सकेपछि साथीहरूसंग बाक्लो भेटघाट हुन्थ्यो । विशेष काठमाडौं बाहिरका साथीहरू डेरामा बस्ने र फ्रि हुन्थे । हाम्रो पहिलो प्राथमिकता ती साथीहरूकोमा जाने हुन्थ्यो । यसै क्रममा विराटनगरकी चीज कुमारी (थर भुलें) जो धोबी खोलातिर बस्थिन, भेट्न गयौं । दिनभर जुनेलो, मकै, घरकै घिउ हालेको रोटी, तीलको छोप चाख्यौं । घरबाट ल्याएको भन्दै मिठा गुलिया अम्बा खान र कोसेली समेत हाली दिईन् चीजले । दिनभर रमाईलो गरि हामी फक्यौं । हाँसिरहनुपर्ने स्वभावकी रमाइली चीजकुमारी साँच्चै निकै चीजकै थिइन् ।

परीक्षा फल प्रकाशित भयो । म फेरि दोश्रो श्रेणीमा पास भएँ । परीक्षाफल प्रकासित भएको केही दिनपछि कलेजमा हल्ला फैलियो कि चीजकुमारीले आत्महत्या गरिन् । कारण– फेल हुनु । दोश्रो वर्षको परीक्षामा नेपाल परिचय एक विषयमा उनी फेल भएकी रहिछिन् । के गरेको चीज यस्तो ? आफ्नो सुसाइट नोटमा उनले लेखेकी रहिछिन्, ‘मीरा, पुष्पा सब पास भए होलान्, म मात्र …. ।’

घरसंगैको अम्बाको बोटमा झुण्डेर आफ्नो देह त्याग गरेकी हाम्री सखिलाई मात्र फेल हुनुको दुःख थियो । शायद मलाई कोशेली पठाएको अम्बा त्यही बोटको थियो होला, जसले उसको किशोरी प्राण ह¥यो । यस्तै सोच्दै कैयो दिनसम्म चिजको सम्झना आईरह्यो । सबै साथी दुःखी थियौं । अहिले जस्ता क्याम्पसहरूमा खादा र शोकसभा गर्ने चलन त्यो बेला थिएन । बिस्तारै हामीले चीजलाई बिर्सियौं । त्यो घटना सम्झेर संधै दुःखी हुने चीज पनि थिएन ।

तेश्रो कथा

हामीसंग पदमकन्या स्कूल पढ्ने साथी सेन्टअप (दश कक्षा) परीक्षामा असफल भईन् । एक वर्षपछि एसएलसी दोश्रो श्रेणीमा उत्तीर्ण गरे पश्चात उनले संस्कृति, इतिहास लिएर पढिन्, प्रमाणपत्र तहमा । पछि उनका आफन्तले अमेरिकामा पढ्ने व्यवस्था मिलाई दिए । अमेरिका पुगेपछि उनको सोच बद्लियो । उनले कम्पयुटर साईन्स पढिन् र नेपाल फर्किन् । अहिले उनी आईटी अफिसर छिन् महिनामा लाखौं कमाउछिन् नेपालमै ।

यी तीन वास्तविक घटनाले हाम्रो समाजको व्यवहार र मनोविज्ञानले मानिसको आत्म विश्वास र जीवनको दायरालाई कत्तिको प्रभाव पर्छ भन्ने प्रमाणित गरेको छ । फेरि प्रसंग हो, हालै एसइइ परीक्षामा कम ग्रेड आएकोमा दुःखी हुँदै आत्महत्या गरेकी दुई किशोरीहरू सदीक्षा पौडेल र सलिना ढकालको ।

यो दुःखान्त कथा र्सिजित गर्न र हुन हाम्रो सामाजिक र पारिवारिक मनोविज्ञानको दोष पहिलो नम्बरमा परेको देख्छु म । स्कूलमा १० कक्षा पुग्नेबित्तिकै अभिभावक र स्कूल दुवैले होस्टलमा कैदी बन्दीलाई जस्तै थुनेर जवरजस्ती पढाइमा तनाव दिने काम गर्छन्, केही स्कूललाई छोडेर । एक त एसइइ दिने विद्यार्थी किशोरावस्थाका हुन्छन् । किशोरावस्थाको मनोविज्ञान अत्यन्त जटिल हुन्छ–शारीरिक र मानसिक हिसाबले । थप आफ्नो शैक्षिक भविश्यका लागि उनीहरू निकै तनावमा हुने गर्छन् । अभिभावक चाहन्छन् आफ्ना नानीहरूले परीक्षामा उत्कृष्टता हासिल गरुन् । स्कूल चाहन्छन्, उनका सबै विद्यार्थीले उत्कृष्ट नम्बर ल्याउन् । स्कूलको साख बचोस् । आगामी दिनमा बढी भन्दा बढी विद्यार्थी स्कूल भर्ना होउन् । यसरी एउटा निरिह किशोर किशोरीको योग्यता क्षमता कति छ, उसको मानसिक हालत कस्तो छ भन्ने सोच, अध्ययन र विवेक राख्नु भन्दा उसले हासिल गर्ने परीक्षाको प्राप्तांकले अभिभावक र स्कूलको इज्जत बेइज्जत र आर्थिक कारोबारसंग सरोकार राख्ने हुन्छ ।

विद्यार्थीको हकमा संगैका साथीको परीक्षामा प्राप्त गरेको माकर्, उनीहरूले पाईरहेका र नपाईरहेका भौतिक आवश्यक पूर्वाधारहरू कम्प्युटर लगायतले पनि उनीहरूको मनोबल बलियो वा कमजोर बनाई रहने हुन्छ । किनकि सबै अभिभावक ती पूर्वाधार दिन असमर्थ हुन्छन् । अर्को थप कुरा आफू पप्लु खेलेर समय बिताउने, नानीकै अगाडि टीभी सिरियल हेरेर समय कटाउने अनि नानीहरूलाई पढेन भनेर हकार्ने थुप्रै आमा बुबाहरू छोराछोरी विशिष्ट श्रेणीमा पास भएको हेर्न चाहन्छन् वा नल्याएकोमा सराप्छन् ।

अन्तमा, शिक्षा शक्ति हो । आफू शक्तिशाली हुन फरक जीवन जिउन र अरुको जीवन बदल्न शिक्षाको जरुरत रहन्छ । शिक्षा आर्जनको फिलोसफी वा दर्शन विज्ञान यसरी परिभाषित छ । हरेक अभिभावक आफ्नो जीवन असहज संघर्षमय भएको कारण आफ्ना नानीहरूको जीवन आफ्नो भन्दा सहज, अनुकुल र स्तरीय होस् भन्ने चाहन्छन् । अभिभावकको आफ्ना सन्तानको जीवनप्रति यो जीवन दर्शन रहनु गलत पनि होइन । तर फरक के हो भने समय अनुसार संसारमा बजारको माग र शिक्षाको दायरा पनि फरक–फरक हुँदै गईरहेको बारे अभिभावक वर्ग र वर्तमान पुस्ताको बुझाई र ज्ञान वा फरक हुन्छ ।

हिजोका दिनमा डाक्टर कम थिए । बजारमा उनीहरूको माग, राज्यले दिने स्तर र सम्मान फरक थियो । तर अहिले डाक्टर, इन्जिनियर र शिक्षक जस्ता पेशामात्र सम्मानित वा स्तरीय मानिदैन । अहिले हरेक पेशाको महत्व आफ्नै छ । हरेक पेशासंग अन्य पेशाहरू टीम वर्कको रुपमा परिभाषित हुन्छ । जस्तो अस्पतालमा डाक्टरको भूमिका र अस्पताल संयन्त्र चलाउने व्युरोक्रेसी वा कर्मचारी संयन्त्रको त्यतिकै महत्व रहन्छ । राज्य सरकार चलाउन हरेक पेशाको आवश्यकता रहन्छ । तसर्थ हरेक शिक्षाको महत्व राज्य संचालनका लागि खास अर्थ राख्दछ । त्यसैले परीक्षामा खास ग्रेड ल्याउनेले खास विषय पढ्ने र भविश्यमा खास पेशा गर्न पाउने जस्ता परम्परागत मानसिकता अब त्याग्न आवश्यक छ– विद्यार्थी, अभिभावक र शिक्षक तथा शैक्षिक संस्थाले । होइन भने चीज कुमारी, सदिक्षा र सलिना जस्ता कोपिलाहरूले अनाहकमा जीवन गुमाउन बाध्य भइरहनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

तस्बिरमा हेर्नुस्, बेइजिङ प्लस २५ को समिक्षा कार्याशाला

-महिला खबर- ललितपुर । बेइजिङं २५ को समीक्षाका आजदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: