सफा गाउँ अभियानले बिरामी कम


प्रकाशित मिति :2019-06-25 11:32:57

प्रकाश सिंह/महिला खबर

बाजुरा । मैना विक दुई वर्ष पहिला हप्ता जसो स्वास्थ्य चौकी जान्थिन् । खप्तड देडेदह गाउँपालिका १ काँडामा बस्ने उनका चार सन्तान छन् । कहिले ज्वरो, कहिले पखाला, कहिले रुघाले एउटा न एउटा बच्चा बिरामी भइरहने । बच्चा लिएर हप्तैपिच्छे स्वास्थ्य चौकी जाँदा उनी हैरान थिइन् ।

अहिले ६ महिना जति भो । मैनाले एक पटक पनि बच्चाहरूलाई स्वास्थ्य चौकी लगेकी छैनन् । बच्चाहरू बिरामी नहुनुको एउटै कारण हो – सरसफाइ अभियान । पहिला गाउँ फोहोर हुन्थ्यो, अहिले धेरै सफा भएको मैनाले बताइन् । भनिन् ‘सफा भएपछि त बच्चा पनि बिरामी नपर्दा रहेछन् ।’ घर र गाउँ सफा हुँदा आफैलाई फाइदा पुग्ने कुरा उनले बल्ल थाहा पाएकी छिन् । त्यसैले उनले आजभोलि सरसफाइमा बढि नै ध्यान दिन्छिन् ।

मैनालाई मात्र हैन, गाउँका धेरैलाई अहिले सरसफाइको महत्व थाहा भएको छ । ती मध्ये एक हुन्, बुढिगंगा नगरपालिका १० की जौला सेराला । उनका बच्चा पनि पहिला बिरामी परिरहन्थे । एक वर्ष यता भने उनी बच्चा बोकेर उपचारका लागि कतै गएकी छैनन् ।

पहिला गाउँ पुरै दुर्गन्धित थियो । पछि महिलाहरू सबै लागेर गाउँ सरसफाइ अभियान सञ्चालन गरेपछि बिरामीको संख्यामा निकै कमी आएको उनले बताइन् । भनिन् ‘मिलेर गरे जे नि हुने रहेछ ।’ महिलाहरूले गाउँमा सरसफाइ अभियान चलाएपछि यस्तो परिवर्तन आएको हो । यस अभियानमा शौचालय निर्माण समेत छ । यसै कारण आउँमासी, रुखाखोकीका बिरामी गत वर्षभन्दा यो वर्ष ४० प्रतिशतले कम भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

आर्थिक वर्ष ०७३।०७४ मा जिल्लामा १३ हजार २ सय ६३ बिरामी भएका थिए । त्यसयता बिरामी घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अधिकृत रुगम थापाले बताए । ०७४।०७५ मा १० हजार ७ सय ६४ र ०७५।०७६ को वैशाखसम्म ७ हजार ७ सय ९७ बिरामी भएका छन् ।

नेपालका लागि झाडापखाला चुनौतीको रुपमा रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । भने ‘गर्मी मौसमको सुरुवातसँगै वर्षातको समयमा झिंगाहरू धेरै हुने हुँदा झाडापखालाको सम्भावना बढी हुन्छ । गर्मीमा फोहोरको कारण सरुवा रोग धेरै फैलन्छ ।’ डाक्टर पुनका अनुसार आफ्नो शरीर र वातावरणीय सरसफाइमा पर्याप्त ध्यान नपुग्दा धेरै रोग लाग्ने र वर्षायाममा बाढीले जीवजन्तुहरू मर्ने र पानी प्रदूषित भइ वातावरणसमेत फोहोर हुन्छ । त्यसले झाडापखालाको महामारी समेत फैलिन्छ ।

यसरी महामारी नफैलियोस् भनेर जिल्लाका धेरै महिलाहरू मिलेर नमुना गाउँ बनाउन लागेका छन् । यो अभियान बुढिगंगा नगरपालिका ५ नवाँघरमा निकै प्रभावकारी बनेको छ । घर, भान्सा र शौचालय सधै सफा राख्ने काममा उनीहरू लागेका छन् ।

आफ्नो दैनिक कामबाट थोरै समय निकालेर महिलाहरूले चलाएको अभियान प्रभावकारी भएको बुढिगंगा नगरपालिकाका प्रमुख दिपक बिक्रम शाहले बताए । भने ‘महिलाहरूले गर्ने काम परिपक्व र परिवर्तनकारी हुन्छ ।’ घर मात्र हैन उनीहरू अहिले खुल्ला दिसामुक्त बनाउने अभियानमा छन् । नवाँघर गाउँलाई जिल्लाकै नमुना गाउँ बनाउन लागेको स्वयंसेविका लोक्सरी थापाले बताइन् । गाउँ पुरै सफा भए सुन्दर मात्र देखिदैन, कुनै महामारी रोग समेत नफैलिनेमा ढुक्क छिन् थापा । गाउँमा ७१ परिवार छन् । ती सबै घरका महिलाहरू दैनिक रुपमा घर आँगन सफा गर्छन् र साप्ताहिक रुपमा चौतारा, धारा, बाटो सरसफाइ गर्छन् ।

उनीहरू आफू मात्र सरसफाई गर्दैनन्, फुर्सद निकालेर गाउँ सफा भए नभएको हेर्न समेत जान्छन् । बिहान खेतबारीको काम सकेर दिउसो अनुगमनमा समेत हिँड्ने गरेको महिला समूहकी सचिव सरिता थापाले बताइन् । भनिन् ‘हामीले टोल/टोलमा गएर सरसफाइ गर्ने तरिका र यसको फाइदा पनि भन्छौं ।’ उनीहरूले सामुदायिक संस्था मार्फत सरसफाई कोषसमेत स्थापना गरेका छन् । यसको उद्देश्य आपत् विपत् र सरसफाइमा सहयोग पुगोस् भन्ने हो ।

गाउँमा सरसफाइ अभियान विगतमा नभएको भने होइन । पहिला यो अभियान पुरुषको जिम्मामा थियो । तर उनीहरूले राम्रो काम गर्न नसकेपछि यो जिम्मा महिलाले लिएका हुन् । महिलाको जिम्मामा यो अभियान आएपछि सफल भएको हो ।

गाउँको विकासमा महिलाको मुख्य भूमिका रहने पूर्ण सरसफाइ अभियानलाई अगाडि बढाइरहेको जिल्ला समन्वय समितिकी उपप्रमुख सुनिता मिजारले बताइन् । यस अभियानपछि बाटोमा दिसा नहुने, घरको भाँडा माझ्ने ठाउँ सफा हुने र माझेको भाँडा सुकाउने ठाउँ बनेका छन् । अभियानले गाउँ सफा त भएकै छ, महिलामा नेतृत्व क्षमता समेत बढेको छ । बुढिगंगा –३ ताप्राकी रिठु सार्की यसको उदाहरण हुन् ।

रिठुका श्रीमान नौले सार्कीको ८ वर्ष पहिले भारतको दिल्लीमा नोकरी गर्न गएको समयमा मृत्यु भयो । उनको आर्थिक अवस्था निकै कमजोर छ । कृषिबाट उनलाई तीन महिना पनि खान पुग्दैन । बाँकी ९ महिनाको लागि मजदुरी गर्नु पर्ने बाध्यता छ । उनको बाध्यता एकातिर छ अर्कोतिर उनी समाधान निकाल्दै अभियानमा हिँड्छिन् । भनिन् ‘खान त कसलाई पुग्छ र ? तर सबैको भलो हुन्छ भने थोरै सुतेर पनि काम गर्नुप¥यो ।’ पहिला उनी जानेको कुरा बोल्न समेत डराउँथिन् । आजभोलि अरुलाई समेत सिकाउने भइसकिन् । गाउँमा जथाभावी दिसापिसाब गरेर गाउँ नै दुर्गन्धित बन्नुका साथै विभिन्न रोगको शिकार बन्न पुगेपछि महिलाहरू गाउँमा शौचालय निर्माण अभियानमा लागेको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणी शाहले बताइन् । उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई जनाभन्दा बढी हुदैनन् ।’

महिलाले एकातिर सरसफाइ अभियान चलाएका छन् भने अर्कोतिर परम्परा पनि जोगाएका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा महिलाहरूले खेल्दै आएको देउडा गीत गाउने चलन कम हुँदै गएको छ । यसैलाई ध्यानमा राखि महिलाहरूले यसको जगेर्नामा पनि ध्यान दिन थालेका छन् ।

मेला र चाडपर्वमा महिलाहरूले खेल्ने गरेको देउडा लोप नहोस् भनेर उनीहरूले सरसफाइसँग जोडेर गाउन थालेका छन् । शौचालय निर्माण र गाउँ टोल सरसफाइ गर्नमा लोक देउडा गीतमार्फत महिलाहरूले सन्देश दिँदै आएपछि देउडा गीतसँगै सरसफाइ अभियान सञ्चालन भएको छ । ‘घर÷घरमा बनाऔं चर्पी, सफा राखौं धर्ती’ भन्ने नाराका साथ महिलाहरू देउडा गीत मार्फत विभिन्न कार्यक्रममा चेतना दिँदै आएका छन् ।

महिलाहरू बेला÷बेला गाउँमा देउडा गीतको कार्यक्रम राख्छन् । यस्ता कार्यक्रमले सरसफाइको काम प्रभावकारी हुने गरेको छ । बुढाबुढीले समेत गीतमार्फत भन्दा बुझ्ने गरेका छन् । अहिले सरसफाइ अभियान सञ्चालन पछि पुरानो देउडा गीतको झल्को आएको उमेरले ६० नाघेकी मनाकोटीकी लक्ष्मी रोकायाले बताइन् । भनिन् ‘केही वर्ष यता देउडा गीत गाउँमा सुन्न समेत छाडिएको थियो ।’ सरसफाइ अभियानले देउडा समेत जोगाएकोमा पुराना पुस्ता मख्ख छन् ।

(पत्रकार सिंह बाजुराका क्रियाशील पत्रकार हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

निमुखाको शिकार: बाल यौनदुराचारीको दृष्टि नेपालतिर

-जनकराज सापकोटा- ‘नेपालमा ६०० बालगृहमा १५ हजारजति बालबालिका छन् र यहाँ बालगृह एउटा उद्योगकै रूपमा विकास

अब बालविवाह हुन्न

उनका अनुसार पछिल्लो समय विवाह दर्ता गर्न आउनेको संख्यामा उमेर पुगेका जोडी मात्रै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: