म कसरी एकल ?


प्रकाशित मिति :2019-06-23 13:09:08

नेपाली समाजको सबैभन्दा हानिकारक कुप्रथा मध्ये एउटा प्रथा हो–बिधुवा प्रथा । अर्थात एकल महिला भनेर गरिने विभेद र त्यस्ता महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूमाथी गरिने सामाजिक अपराध ।

इतिहासलाई केल्याउँदा श्रीमान् मरेपछि जिउँदै चितामा जल्नु पर्ने डरलाग्दो सती प्रथालाई वि.स. १९७७ सालमा चन्द्र समशेरले अन्त्य त गरिदिए । तर नेपाली समाजमा त्यसका अवशेषहरू अझैं जीवित छन् । श्रीमान्को मृत्युपछि श्रीमतीले आफूले लगाएको रातो कपडा, सिन्दूर, चुरा, पोते सबै त्याग्नु । सेतो पहिरनमा जीवन बिताउनु । शाकाहारी हुनु । पुनर्विवाह नगर्नु यसैका उदाहरण हुन् । त्यसैले आजका दिनमा श्रीमान् गुमाउने महिलाहरूले उसको लाशसँगै जिउँदै जल्नु त पर्दैन, तर बाँचुञ्जेल स्वतन्त्रतापूर्वक र सम्मानित भएर बाँच्न पनि पाउँदिनन् । जीवनभर श्रीमान टोकुवाको आरोप सहन बाध्य हुन्छिन् ।

अहिलेका सबै विधुवा महिलाहरूले सेतै मात्र लगाउँदैनन् । तर अधिकांशले रातो अर्थात शौभाग्यको रङ्ग पनि त लगाउँदैनन् । कतिपयले सामान्यतयाः रातो कपडा, टीका, चुरा लगाउन त थाले । तर त्यस्ता महिलाको गाउँ समाजमा उछ्टिटो काटिन्छ । कुनै पुरुषैलाई प्रभावित गर्न यस्तो उत्ताउली भएकी भन्ने आरोप लगाइन्छ । अथवा सज्जनै भए पनि उसको चरित्रमाथि विश्वास गरिदैन ।

एकाबिहानै अथवा शुभ साइतमा कतै जान लाग्दा बिधुवा महिलालाई देखेपछि साइत पर्दैन, अलच्छिन लाग्छ भन्ने अन्धविश्वास यथायत छ । यसै निहुँमा कतिपय महिलाहरूमाथि हातपात, गाली बेइज्जत समेत भएका छन् । आफ्नै चिनजानका, परिवारका र गाउँलेबाट प्रताडित छन्, बिधुवा महिला ।

श्रीमान्को मृत्युपछि परिवारले अर्कैसँग पो जान्छे कि भन्ने डरले सम्पतीको अधिकार दिँदैनन् । स्वतन्त्रताको अधिकार हनन् गरिरहन्छन् ।
श्रीमान् मरेपछि फेरि अर्को विवाह गर्न पाउने, गर्ने या गरिदिने कुरालाई कथित धर्मसित जोडेर पाप हुन्छ भनिन्छ । तर यसैको उल्टो कुनै पनि पुरुषले एकल जीवन बिताउनु पर्छ भनेर समाज उकास्दैन । अर्थात उसले श्रीमती टोकुवाको आरोप सहनु पर्दैन । बरु ‘मर्दकी १० वटी’ भन्दै पुनर्विवाहका लागि तयारी हुन्छ । समाजले किरियामै छँदा उसका लागि नयाँ श्रीमतीको खोजी गर्छ ।

अहिले समाज विकासको क्रमसँगै धेरै परिवर्तन र सुधार नभएका होइनन् । यद्यपि हुनुपर्ने जस्तो समाज विकास हुन सकेको छैन । महिलाले महिला भएकै कारण प्रताडना सहनु पर्ने कुरा यथावत् छ ।

बिधुवा महिलाले पहिलाको जस्तो कपडा लगाउन, विवाह गर्न रोकतोक छैन । आफ्नो खुसीमा विवाह गर्ने गरेका पनि छन् । तर किशोरावस्थामै, युवावस्थामै एकल भएका महिलाहरूलाई दिन खाइसकेका पुरुषलाई जत्तिको पनि पुनर्विवाहको लागि उकासिन्न ।

समग्रमा हेर्दा अहिले पनि श्रीमान् नभएको एउटा विवाहित महिलालाई पुरुषले खुलेर समाजको अगाडि विवाह गर्ने या उसको हात माग्न जाने हिम्मतचाहिँ गरेका छैनन् ।

जतिसुकै आदर्शका कुरा गरे पनि, महिला समानताका भाषण गरे पनि घरमा आमा बुबाको रोजाइको बुहारी कन्या (कसैसँग यौन सम्बन्ध नगरेकी) र पढेकी नै हुन्छ । अनि जीवन साथी रोज्ने रोजाइ पनि त्यस्तै हुन्छ ।

रोग लागेर, दुर्घटनामा परेर, विचार नमिलेर या अरु कुनै कारणबाट विवाहपछि कुनै महिला एकल हुन्छिन् भने किन ती महिला फेरि कुनै पुरुषको जीवन साथी बन्न पुरुषको रोजाइमा पर्न किन सक्दिनन् ?

बरु अहिले पनि एकल महिला भनेपछि बिचरा, कठै, ओहो कस्तो दुख ! यस्तै यस्तै सब्दले सहानुभूति दिन्छन् मान्छेहरू ।

एकल भन्नाले विवाहपछि श्रीमान् मरेकोलाई मात्र होईन, उमेर पुगेर विवाह नगरी एक्लै जीवन बिताएका, श्रीमानसित सम्बन्ध बिच्छेद गरेका सबैलाई परिभाषित गरिन्छ ।

मैले १५ वर्ष एकल जीवन बिताइसकें । तर मलाई म एकल हुँ भन्न मन पर्दैन । र यो परिभाषा मनै पर्दैन ।

कहिलेकाहीँ मेरो बिगत बारे कसैलाई सुनाउदा ओहो यस्तो दुःख, यस्तो पीडा, कठै भन्छन् । तर हासो लाग्छ मलाई यस्तो सुनेर । अनि फेरि प्रश्न तेर्साउँछन्, ‘तपाई एकल नारी भएर कसरी यती धेरै काम गर्नु सक्नु भा’को ।’

अहिले पनि महिला या एकल महिलाले केहि गर्न सक्दैनन् भन्ने भ्रम र दरिद्र मानसिकताले झाङ्गिएको छ हाम्रो समाज ।

एकल महिला भनेपछि उसको विवशताको फाइदा उठाउने कोसिस धेरै हुँदोरहेछ । उसका आवश्यकता र कमजोरीका झ्यालहरू चिहाउने मानसिकताको भिँड पनि निकै बाक्लो रहेछ । अवसर र आवश्यकता पुरा गरिदिने बहानामा आफ्ना स्वार्थमा सम्झौता गराउन खोज्नेहरू पनि कम रहेनछन् ।

सबैभन्दा ठूलो कुरा मानसिकतालाई बदल्न जरुरी छ यहाँ ।

नारीवादका खोक्रा भाषण गर्नेले एकल नारीलाइ सम्मान दिएर उसलाई समाजको अगाडि हात समाएर अपनाउन हिम्मत गर्न सक्नु पर्छ ।
श्रीमान् कुनै कालगतीले मर्दा श्रीमान् टोकिस् भन्ने आरोप लगाउने मानसिकलाई जरैदेखि उखेल्नु पर्छ ।

एकल महिलालाई बोक्सी देख्ने आँखाका पट्टीहरु खोलिनु पर्छ ।

मैले जीवनको डेढ दशक एक्लै बिताएँ । आजसम्म मैले आफूलाइ एकल कहिले सम्झिन । म कोही भन्दा कम छैन । श्रीमान् नभएका कारण मेरा कुनै पनि काम अधुरा छैनन् । मैले चाहेका सबै काम फत्ते गरिरहन्छु । अनि मलाई एकल हुँ भन्ने सोच्न र भन्न किन आवश्यक ?

ती नारीसँग धेरै पीडा छ, जुन नारी आफ्नो सहारा गुमाएर, सहाराबिना भई बाँचेकी छिन् । उनलाई आफन्तको संरक्षणको जरुरी हुन्छ । सहयोगको जरुरी छ ।

समाजबाट सम्मान र राज्यबाट उचित व्यवस्थाको आवश्यकता छ ।

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो, मर्दा पनि एक्लै मर्नुपर्छ । त्यसैले न श्रीमतीको अगाडि मृत्यु हुँदा श्रीमान्ले टोकेको हो, न श्रीमान्को अगाडि मृत्यु हुँदा श्रीमतीले नै टोकेकी हुन्छे ।

जन्मको आधारमा म एक्लो हो । तर कर्म र सामाजिक संस्कारले, परम्पराले कुनै नारीको पहिरन, स्वतन्त्रता, अधिकार हनन् गर्न पाइदैन, मिल्दैन र हुँदैन ।

त्यसैले सबैभन्दा पहिले सोच बदलौं । परिवर्तनको सुरुआत आफैंबाट गरौँ ।

हामी जन्मिदा एक्लै जन्मेको हो, र कर्म पनि एक्लैले गर्नुपर्छ । आफ्नो आत्मविश्वास, लगनशीलता र मेहनतमा विश्वास राखौं । हामी कोहीभन्दा कमि छैनौं । मात्र यहाँ अवसरको खाँचो छ । हामीलाई हेर्ने विभेदकारी आँखाहरू तगारो नबन्दिने हुन् भने हामीले जे पनि गर्न सक्छौं । हामी कोही बिना पनि बाँच्न सक्ने बहादुर नारी हौं ।

मैले जीवनको डेढ दशक एक्लै बिताएँ । आजसम्म मैले आफूलाइ एकल कहिले सम्झिन । म कोही भन्दा कम छैन । श्रीमान् नभएका कारण मेरा कुनै पनि काम अधुरा छैनन् । मैले चाहेका सबै काम फत्ते गरिरहन्छु । अनि मलाई एकल हुँ भन्ने सोच्न र भन्न किन आवश्यक ?

आज पर्न गएको ९ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको सम्पूर्ण दिदीबहिनीहरुमा शुभकामना !

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: