न निर्मलाले न्याय पाइन्, न ‘जिउँदा सहिद’ले


निर्मला पन्त हत्या काण्ड

प्रकाशित मिति :2019-06-19 14:45:37

–लोग्शरी कुँवर–

ललितपुर । काठमाडौंको महाराजगञ्जस्थित टिचिङ् अस्पताल । तेस्रो तल्लामा रहेको क्याबिन नम्बर ३१५ । दिउँसो ४ बजेतिर पुग्दा कञ्चनपुर, ऐठपुरकी शिवकला भण्डारा बेडको छेउमै बसेर छोराको कपाल सुमसुम्याउँदै थिइन् । भित्तापट्टी पल्टिरहेका थिए– उनका २० वर्षीय छोरा अर्जुन भण्डारा अर्थात निर्मला हत्या काण्डका जिउँदा सहिद ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग हुनुुपर्ने भन्दै आन्दोलनमा सहभागी भएका बेला प्रहरीको गोली प्रहारबाट अर्जुन घाइते भए । २०७५ भदौ ७ गते आन्दोलनको पक्षमा कञ्चनपुर पुरै उर्लिएको थियो । महिला, बालबालिका, वृद्धवृद्धा, युवा कोही बाँकी थिएनन् । घटनाको महिना दिन बित्दासमेत हत्यारा पत्ता लाग्न नसकेपछि पुरै स्थानीय आक्रोसित थिए । देशैभर निर्मलालाई न्याय भन्दै थरीथरीका आन्दोलन जारी थिए ।

संगैका साथीहरू, छिमेकी आफन्त सबै आन्दोलनमा जाँदै थिए । कलिलो उमेर, शान्त स्वभावका अर्जुन पनि आन्दोलनमा नजाने कुरै भएन । उनी पनि ‘हो मा हो’ मिलाउँदै साथीहरूसँगै आन्दोलनमा गए । आमा शिवकलालाई त छोरा कहाँ गयो भन्ने पनि थाहा भएन । दिउसो करिब १ बजेतिर शिवकलाको मोबाइलमा घण्टी बज्यो । कसैले फोनमा भन्यो, ‘अर्जुनलाई गोली लाग्यो, अस्पताल आउनुस् ।’ शिवकला बनाउँदै गरेको नास्ता छोडेर रुँदै महाकाली अस्पताल पुगिन् । अर्जुनको दायाँ खुट्टाको पिडुलामा राइफलको गोली लागेको भनेर सुनाए । निरन्तर रगत बगिरहेको थियो । पातलो जीउडालको छोराको शरीरबाट निरन्तर बगेको रगत देखेर शिवकलाको मुटु चुडियो । छोरालाई मुसारिन् । रोइन् । हार गुहार गरिन् । जसरी पनि छोरा बचाइदिनुस् भन्दै सबैसँग अनुनय विनय गरिन् । त्यहाँ जम्मा भएका सबैले अर्जुनलाई बचाउँछौं भने । महाकालीमा उपचार सम्भव नहुने भन्दै चिकित्सकले धनगढीस्थित सेती अञ्चल अस्पताल रेफर गरिदिए । अर्जुनलाई उनका दाई र अरु केही मानिसले धनगढी लगे । त्यहाँ पनि उपचार सम्भव भएन । रगत नथामिने भो । बेलुकीको प्लेनमा काठमाडौं ल्याइयो ।

अर्जुनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याउँदा करिब ७ बजेको थियो । तर उपचार गर्ने डाक्टर पुगे राती ११ बजे । अर्जुनका दाई एकिन्द्रका अनुसार करिब १० बजेसम्म त उनी होस् मै थिए । अस्पताल पुग्नेबित्तिकै डाक्टरको उपचार पाएको भए सायद होेस छँदै उपचार हुन्थ्यो । शरीरको रगत बग्नै नछोडेपछि उनी बेहास भए । त्यसपछि आईसीयूमा राखेर उपचार शुरु भो ।

१० महिना पुरा भो, अर्जुन चेतमा नआएको । गोली लाग्दा होसमै रहेका अर्जुनको गोली लागेको खुट्टाको घुँडाभन्दा तल काटिएको छ । उनलाई कृतिम खुट्टा दिइएको छ । तर उठ्न सके पो । अस्पतालको खाटको खुट्टासँगै राखिएको छ सेतो रङ्गको कृतिम खुट्टा पनि । छोरा कहिले उठ्ने हुन् र त्यही कृतिम खुट्टाको सहाराले भए पनि हिँड्ने हुन् भनेर प्रतिक्षामा छिन्, आमा शिवकला ।

अर्जुन बेहास् छन् भन्दा आँखा खोल्नै नसक्ने अवस्थाका होइनन् । उनी दिनभर प्राय ब्यूझैं हुन्छन् । राती भने मस्तले सुत्छन् । तर ओल्टो कोल्टो समेत आफै फर्किन सक्दैनन् । जस्तो सुतायो त्यस्तै हुन्छन् । हात अलिअलि चल्छन् । टाउको चल्छ । बोली आउँदैन । र पुरानो एउटा कुरा पनि याद छैन ।

आमा र दाईको सहयोगले अर्जुनले बल्लतल्ल हाँस्न सिकेका छन् । कोही मान्छे देख्यो भने पनि हाँस्छन् । प्राय हाँसि नै राख्छन् । नमस्कार गर्छन् । आँखा मार्देउ भन्दा दुबै आँखा झिम्काउँछन् । जिस्काइदेउ भन्दा लामो जिब्रो तानेर ‘ह्या’ गर्छन् । बाई–बाई गर्छन् । व्यवहार ठ्याक्कै बच्चाको जस्तो । जीउडालले मात्रै भन्न नमिल्ने ।

निर्मलाको न्यायको निम्ति गोली लागेका छोरालाई काठमाडौं ल्याएपछि ५४ वर्षकी शिवकला पनि छोरा स्याहार्न काठमाडौं आउनुपर्यो । १० महिना भो उनले पनि ढुक्कको सास फेर्न नसकेको । छोरा हाँस्दा हाँस्छिन् । ‘यसकै अनुहार हेरेर बाँचेकी छु । यत्तिको भए पनि मैले छोरालाई त देख्न पाएकी छु’ छोराको भौतिक शरीर मात्रै पनि साथमा हुँदाको खुसी बाँड्दै भनिन्, ‘सन्नी खुना (निर्मलाको न्यायका लागि भएको आन्दोलनका क्रममा २०७५ भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका १४ वर्षीय बालक)को परिवारलाई कस्तो हुँदोहोला ?’

पीडामाथि पीडा

शिवकलाका श्रीमानको घर कालिकोटको छाप्रे हो । २०४८ सालतिर उनी श्रीमान भन्द्र भण्डाराको साथमा कञ्चनपुर झरिन् । दम्पती नै मिलेर महेन्द्रनगरस्थित बसपार्कमा नास्ता पसल चलाए । यो २८ वर्षको अवधिमा उनीहरूसँग भएको सम्पती पनि त्यही छाप्रोको नास्ता पसल मात्रै हो । ‘अरु त एक आना सुन र एक धुर जमिन समेत छैन’ शिवकलाले सुनाइन् । त्यही नास्ता पसलबाट आएको पैंसाले पाँच छोराछोरीको पेट गुजारा भो । अहिले जेठो र माइली छोरीको त बिहे पनि भइसक्यो ।

शिवकलाले अर्जुनका बुबा अर्थात श्रीमान गुमाएको १६ वर्ष भो । दमका रोगी श्रीमानलाई बचाउन नसकेपछि पाँच छोराछोरी एक्लैले हुर्काइन् । नास्ता पसल राखिएको १० धुर जमिनको मासिक चार हजार भाडा तिर्छिन् । त्यही छाप्रोबाटै छोरीहरूको बिहे गरिन् । तीन छोराहरू काखमा च्यापेर त्यही नास्ता पसलमा ओत लाग्थिन् उनी । माइलो छोरा अर्जुन घाइते भएपछि उनलाई स्याहार्न कान्छो छोरा दिपकसहित उनी अस्पतालमा छिन् भने जेठो छोरा एकिन्द्र कञ्चनपुरमै छन् । घटनापछि उनको चुलोमा आगो बलेको छैन । ‘छोरा कहिले कसैकोमा खान्छ, कहिले कता । बिचल्ली भो हाम्रो’ शिवकलाले दुर्घटनाले छितरबितर बनाएको परिवार बारे भनिन् ।

जिल्ला फर्किने धोको

अर्जुनलाई टिचिङमा भर्ना गरेको १० महिना पुरा भइसक्यो । उपचारमा संलग्न डाक्टरले गएको माघमै यो भन्दा राम्रो हुँदैन, घर लैजानुस् भनिसके । तर आमाको मन न हो, भाग्य बदलिन्छ की, छोरा होसमा आउँछ की भन्ने आसामा अस्पताल छोड्न सकिनन् । ‘भगवान दाहिने भए त मेरो छोरा निको हुन्थ्यो होला’ भगवानकै कारण छोराको यो हालत भएको झैं घटनाको सबै दोष पनि भगवानकै थाप्लोमा हालिन् उनले ।

शिवकला अब जिल्ला फर्किन चाहन्छिन् । हुन त उनको आफ्नो र परिवारको नामको एक धुर जमिन पनि छैन । तर दशकौंदेखि बसेको चिरपरिचित ठाउँलाई नै उनी घर भन्न बाध्य छिन् । ‘अन्त त कहाँ जानु ? कम्तिमा महेन्द्रनगरमा चिनेको समाज त छ । दुःख बिसाउने ठाउँ हुन्छ । मन बहलाउन दिदीबहिनीको समाज पनि छ’ शिवकलाले मनको कुरा पोखिन् । तर त्यसका लागि सरकारले अर्जुनको उपचारका लागि टिचिङमा उपलब्ध गराइरहेको सुबिधासहित बस्ने वासको व्यवस्था जिल्लामै गरिदिनु पर्ने माग उनको छ ।

१० महिनादेखि अस्पतालको कोठामा बेहोस् छोराको धरालो लागेर बस्दा उनलाई कारागारमा बसे भन्दा कम उकुसमुकम भएको छैन । शुरुमा अस्पताल आउँदा अधिकारकर्मी, पत्रकार, जिल्लवासी कोही न कोही भेट्न आउँथे । अहिले त त्यो पनि शून्य । कस्तो छ भनेर समेत कोही फर्केर आएका छैनन् । जिल्लाबाट कहिलेकसो शारदा चन्द लगायत अधिकारकर्मीले फोनमा सोध्छन् । नत्र भने फोन गरेर रुने दुई छोरीबाहेक कोही छैनन् । निर्मलाकी आमाले समेत आफूलाई के कसो छ भनेर नसोध्दा दुःख लागेको उनले बताइन् । ‘कारागारमा पनि मुख बोल्ने ५÷१० जना कैदी त हुँदा हुन् । तर यहाँ त कहिलेकाहीँ सोधपुछका लागि आउने नर्स र डाक्टरबाहेक गफ गर्नलाई समेत कोही चिनजानको छैन’ शिवकलाले आसाका साथ आग्रह गरिन्, ‘तपाईंले सक्नुहुन्छ भने हाम्लाई जिल्ला फर्किने वातावरण मिलाइदिनुस् ।’

अर्जुनको उपचारमा लागेको सबै बिल भर्पाई राज्यले गरिरहेको छ । अर्जुनलाई दिसा पिसाबका लागि उठाउन सुताउन एक जनाले सकिदैन । औषधिको कारण ज्यान भारी छ । शिवकला एक्लैले नसक्ने भएपछि स्याहारका लागि राज्यले नै दुई जना सहयोगी राख्नुस् भन्यो । तर निश्चल स्वभावकी शिवकलाले गएको मंसिर महिनादेखि एक जना मान्छे राखिन्, मासिक १५ हजार दिने सहमतिमा कञ्चनपुर घर भएका राजेन्द्र रानालाई । अर्को सहयोगीको रुपमा छोराको स्याहार आफै गर्छु, राज्यलाई मात्रै किन भार पार्ने सोचेर । तर अहिले असार पहिलो साता जान थालिसक्यो, राज्यबाट सहयोगीले पाउने भनिएको तलव पाएका छैनन् । अनि गएको बैशाख महिनासम्मको तलव शिवकलाले सय कडा तीन रुपैयाँ ब्याजमा निकालेर सहयोगीलाई दिइन् । ‘तलव दिन्छु भनेर राखेको मान्छेलाई सरकारले दिएन, दिन्न भन्न मिलेन । बल्लतल्ल ऋण निकालेर ६ महिनाको ९० हजार तलव दिएँ’ शिवकलाले दुःखेसो पोखिन् ।

शिवकलासँग कुराकानी गर्दैगर्दा उनीहरुलाई भेट्न अस्पताल पुगेकी नेता पवित्रा तिमिल्सेना ।

शिवकलाका अनुसार अर्जुनको औषधिपोचार र खानामा लागेको खर्च गृह मन्त्रालयले बीलका आधारमा भुक्तानी गरिरहेको छ । अहिले बील अनुसारको रकम समयमा भुक्तानी नहुँदा करिब ३ लाख ऋण लागिसकेको पनि उनले बताइन् । अब राज्यले दिँदै आएको र दिने भनेको सेवा सुबिधा जिल्लामै पाउने गरेर व्यवस्था गरिदिन शिवकलाले सरकारलाई आग्रह गरेकी छन् ।

२०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याराको अझैं पहिचान भएको छैन । निर्मलाको लागि न्याय भन्नेहरु पनि दिनप्रतिदिन कम हुँदैछन् । यही घटनाका कारण सरकारले देश विदेशमा लज्जा व्यवहोर्नु परिरहेको छ । राज्यले ८ वटा छानबिन समिति गठन गर्दा समेत दोषी को हो पत्ता लाग्न सकेको छैन । दुईटा छानबिन समिति अहिले पनि गोप्य रुपमा जिल्लामै छन् ।

बहिनी उमेरकी निर्मलाको निम्ति न्याय माग्दा राज्यको गोली थापेका अर्जुनलाई आफूले राम्रो गरें या गरिन थाहा छैन । अर्थात जीवन र मृत्युको दोसाँधमा रहेका उनी यो बारे अनभिज्ञ छन् । तर छोराको जीवन रक्षाका लागि २४ सै प्रहर खटिरहेकी शिवकलालाई भने जति दुःख छोरालाई यो अवस्थामा पाउँदा हुन्छ, त्यति नै पीडा निर्मलाका हत्यारा पत्ता लाग्न नसकेकोमा पनि । र उनलाई यो पनि विश्वास छ, घटनाका सबै दोषीलाई एक दिन कार्वाही हुन्छ, भगवानले छोड्ने छैनन् । उनले भनिन्, ‘राज्यले नदिए भगवानले न्याय दिन्छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: