‘मर्द’ पुरुषः ‘चरित्रहीन’ महिला


प्रकाशित मिति :2019-06-03 14:13:17

-उमा पौडल-

सिन्धुली । होटल भृकुटी भ्यू गोदावरीमा ४ दिने तालिममा थिएँ । एकजना साथी रुममेट थिईन् । साथी के भनौं १८ वर्षकी किशोरी बहिनी । दिउँसो कार्यक्रममा रहँदा र हरेक दिनको कक्षा सकिनेबित्तिकै मोबाईलमा झुण्डिने उनको स्वभावले उनी कसैसंगको प्रेममा छिन् भन्ने अड्कल काड्न मलाई कुनै अप्ठ्यारो लागेन । त्यही अड्कललाई उनको मसँग एउटै कोठाभित्रका व्यवहारले अझ पुष्टी गर्ने आधार थपि दिन्थ्यो ।

घरी जोडले हाँस्थिन्, छिनमै शान्त हुन्थिन् त घरी चिच्याएर रुन्थिन् । यो वैशाख जेष्ठको चर्को घाममा पनि सिरकले शरीर पुरै ढाकेर कुरा गर्थिन् । मलाई उनका व्यवहार अरु अस्वाभाविक लाग्थ्यो । तर म केही भन्न सक्दिन थिएँ । केही बोलौँ कि भनेर नसोचेको हैन तर उनी र म एउटै कोठामा भएर पनि बोल्ने समयको चाँजो मिल्न सकेन । म हरेक दिन निदाईसक्दा उनी फौनमै हुन्थिन् र म ब्युझँदा पनि । कुन बेला उनको निद्रा पथ्र्यो र कुन बेला खुल्थ्यो थाहै भएन ।

तालिम सकिएको अन्तिम रात, म सधैँ झँै मस्त निन्द्रामा थिएँ । रुदैँ उनले मलाई घच्घचाईन् । र भनिन्, ‘दिदि एकपटक मेरो फोनमा कुरा गर्दिनुन प्लिज ।’ निन्द्रा गिजमिजिएपछि रिसले कन्पारो तात्यो । तथापी संयम् हुँदै बोले ‘हेलो’ मैले यत्ति बोल्न नपाउँदै उताबाट आवाज आयो ‘दिदि यो तालीम कति दिनसम्मको हो ?’

‘आज सकियो भाई’ लुरुक्क उत्तर दिए ।

‘चारै दिनदेखि यो हजुुरसंगै छे ?’ ती भाई मसंग खुब कन्फिडेन्टका साथ बोले । मानौं उनी र मबीच वर्षौ लामो चिनजान छ । अनी ती बहिनीलाई यो भनी सम्बोधन गरे । कुनै निर्जिब बस्तुबाहेक मैले मेरो बुवाले आमासंग मात्रै त्यो/यो भनेर आकलझुकल बोलेको सुनेकी छु । मध्यरातमा अरुलाई ब्यूँझाएर चिन्नु न जान्नुको मान्छेले मैले ऋण नै खाईदिएको जसरी एकपछि अर्को प्रश्नको चाङ् लगाउँदा मभित्रको रिसले सीमा नाघिसकेको थियो । तथापि परिपक्कता देखाएँ । ‘संगैछिन् बाबु ।’ अब उसको फोन काटियो । मेरो हातबाट मोबाईल त्यी बैनीकहाँ पुग्न नपाउँदै फेरि फोनमा घण्टि बज्यो । बैनी कुरा गर्दै कोठाबाट निस्किईन् । म फेरि निदाएँ ।

भोलीपल्ट बिहानै बहिनीलाई सोधें ‘हिजो तिमिलाई के भएको थियो ?’ चार दिनसम्म आफूसंग समय नै नभए झैं गरी अन्तिम क्षणमा एकैपटक पड्किईन् उनी ‘दिदि हेर्नुन, मेरो ब्याईफ्रेण्डले मेरो कुरामा विश्वास नै गर्दै । उसको र मेरो वल्लो पल्लो घर हो । घरमै भएको बेलाचाहिँ केही भन्दैन । यसरी बाहिर हिँड्यो कि कहाँ गएको, कोसंग गएको भनेर मलाई खाली शंका गर्छ । दिक्क भैसकें ।’

‘बल्ल १७/१८ की भयौ । पढ्ने उमेरमा कसैसंग प्रेममा छौ । त्यो पनि अविश्वास गर्ने, पीडा दिने र शंका गर्ने मानिस । तिमीलाई उसंगै सम्पर्कमा रहनुपर्छ भन्ने के छ र ? पहिले पढाई सक । जागिर गर अनि विश्वासिलो, मन मिल्ने केटा छानेर विवाह गर बैनी ।’ एकै सासमा मैले उनलाई सुझाउन भ्याएँ ।

उनले मलाई त्यी केटासंगको सम्बन्धबाट बाहिरिँदा हुँने धेरै अब्यवहारीक अप्ठ्याराहरू सुनाईन् । मेरो घर फर्किने बेला भैसकेकाले उनैको भलो (तिमीले यो सम्बन्धबाट बाहिरिँदा नै ठिक हुन्छ बहिनी) बोल्दै निस्किएँ । बाटाभरी उनैलाई सम्झिरहेँ । १८ वर्षको उमेरमै त्यो शंकैै शंकाको प्रेममा रहँदा जीवन कसरी कटाउलिन् उनले ?

……..

‘तेरो कोठामा सुत्ने साथी केटा हो की केटी ? ४ दिनपछि घर फर्किदा अर्कैको पेट बोकेर आउलिस् नी’ । एउटी सामाजिक क्षेत्रमा काम गर्ने श्रीमतीका लागि श्रीमान्ले बोेलेको वाक्य थियो यो ।

एउटै बेडमा रहेकी मैले पनि उनका श्रीमानले फोनमा बोलेको कुरा सुनिहाले । उनको लागि यस्तो कुरा सुन्नु कुनै नौलो थिएन सायद । मलाई छाँगाबाट खसेजत्तिकै भो ।

२०६८ सालमा कुनै एउटा जाति बिशेषको आर्थिक, सामाजिक, शैक्षिक अवस्था सम्बन्धी अध्ययनको लागि एउटा संस्थाको काम जिम्मा लिएर हामीसँगै एउटा गाँउ पुगेका थियौं । सँगै कोठामा बस्ने एकजना विवाहित साथीको एउटा बाध्यता थियोः साझ परेदेखि रातको ९/१० बजेसम्म जस्तोसुकै अवस्था होस्, अनिवार्य श्रीमान्सँग कुरा गर्नुपर्ने । कुराकानीमा उनले सबैजसो श्रीमान्को शंकामाथि यसो होईन र उस्तो होईन भन्दै विश्वास भर्दिनुपर्ने । एउटा रुममा अझ एउटै वेडमा सुत्ने साथी भएकोले मैले यत्ति भेउ पाएकि थिएँ ।

निकै पढेलेखेका विद्धान श्रीमान्ले आफ्नी श्रीमतीलाई त्यसरी धावा बोलेको सुन्दा म अचम्ममा परें । यी सबै संवादहरूको साक्षी हुँदा समेत मैले त्यी साथीलाई केही सोध्ने आँट गरिनँ । किनभने उनको मुखबाट पटक–पटक श्रीमान्को तारिफ सुनेकी छुँ । श्रीमान्, श्रीमती दुबैको फिलिङ्, ‘सो प्राउड टु बि योर हस्बेन्ड/वाईफ’वाला पोष्टमा सबैभन्दा पहिला लाईक/कमेन्ट गरेकी छु ।

हँसिलो मुहारकी साथी फोन आउनेबित्तिकै कालो निलो भएको देखेर प्रतिप्रश्न गर्दा पनि केही भएको हैन भनेर मेरो कुरा टार्छिन् । यसो हुँदाहुँदै मैले त्यी साथीको ब्यक्तिगत जीवनमा निन्दा गर्न खाँचो ठानिन । फेसबुक हेरेरै थाहा पाएकी छु, उनीहरू दुबैजना अहिले जागिरमै छन् । उनीहरूको फिलिङ् लभ, मिसिङ्वाला कमेन्ट पनि देखेकै छु । लाईक/कमेन्टमा त त्यही दिनदेखि औला चल्दैनन्, जुन दिनदेखि उनीहरू बिचको संवादले तिनको लोग्नेको बास्तविकता र श्रीमतीको खेपाईको भेउ पाएँ ।

के कुनै श्रीमती श्रीमानले जस्तै बिनाजानकारी कार्यालयको काम सकेर मध्यरातमा घर फर्किइन् भने चरित्रवान ठहरिन्छिन् त ? के महिलाको चरित्र दिन र रातले ठम्याउँछ ?

केही अधिकारकर्मीहरू देख्छु, जसले महिलामाथीको नकारात्मक टिकाटिप्पणी गरेको सहनै सक्दैनन् । महिलालाई धावा बोलेको सुन्नै सक्दैनन् । तर यी घटनाहरूको साक्षी मेरो मनमा एउटै कुराले सधै चिमोटिरहन्छ, ‘के हामी बाहिर जति ठूला ठूला अधिकार र ईज्जतका साथ महिलाको मुद्दामा बोल्छौ, लेख्छौं बहस गर्छौ, हाम्रो हृदय पनि उत्तिकै चोखो र पवित्र छ त ?’

के कुनै श्रीमती श्रीमानले जस्तै बिनाजानकारी कार्यालयको काम सकेर मध्यरातमा घर फर्किइन् भने चरित्रवान ठहरिन्छिन् त ? के महिलाको चरित्र दिन र रातले ठम्याउँछ ?

कुनै महिला काम विशेषले २,४ दिन बाहिर रहिन् । रात परेपछि घर आईन् भने चरित्रहीन हुन्छिन् ? पुरुष बिनाकाम मध्यरातमा घर आए पनि ‘मर्द’ ठहरिन्छन् । महिलाले सार्वजनिक रुपमा यौन, माया प्रेम, स्वतन्त्रताका कुरा गरे उत्ताउली मानिन्छिन् । पुरुषले जति धेरै जनासँगको यौन सम्बन्ध, प्रेम सम्बन्धको कुरा सुनाउँछन् उति नै टाठो ठहरिन्छन् । उति नै बहादुर मानिन्छन् त ।

आफ्नी घरकी छोरी, बहिनी, आमा, भाउजु, दिदी चरित्रवान् हुन्छिन् भने पल्ला घरका दिदी बहिनी, आमा, भाउजु कसरी चरित्रहीन् ?

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: