अभिभावक बन्यो स्थानीय सरकार


प्रकाशित मिति :2019-06-02 14:21:49

लोकेश साउद/महिला खबर

बैतडी । विद्यालयमा उनी सवैभन्दा तेज विद्यार्थी थिइन् तर आफ्नो रहर अनुसार पढ्न पाउने आर्थिक अवस्था थिएन । पञ्चेश्वर गाउँपालिका–१ बैतडीकी बसन्ता लुहारले स्थानीय डुङ्ग्रीखान माविबाट २०७१ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । उनलाई इन्जिनियर बन्ने रहर थियो । रहरले मात्रै के गर्नु ? घरमा खान लाउन नै धौ–धौ । गाउँभन्दा बाहिर पढ्नु उनका लागि सम्भव थिएन ।

त्यसैले नजिकै रहेको कुलाउँ माविबाट२०७३ मा आईएस्सी पास गरिन् । २०७४ जेठमा स्थानीय तहको निर्वाचन भयो । गाउँपालिका अध्यक्षमा गोरखबहादुर चन्दले जिते । जो बसन्ता आईएस्सी पढ्दा कुलाउँ माविका प्रमुख थिए । गाउँपालिका अध्यक्ष भएपछि बसन्ताले उनलाई इन्जिनियर बन्ने योजना सुनाइन् र गाउँपालिका उपाध्यक्ष बिना भट्टलाई निवेदन दिइन् । त्यसपछि गाउँ कार्यपालिकाको बैठकमा महिला लक्षित बजेटबाट उनलाई सब–इन्जिनियर पढाउने निर्णय पास भयो ।

लोकेश साउद

स्थानीय सरकार अभिभावक बनेपछि अहिले बसन्ता दाङको घोराही–४ मा रहेको डाडागाउँ माविमा सिभिल सब–इन्जिनियरिङ दोस्रो सेमेस्टर पढ्दैछिन् । गाउँपालिकाले सहयोग नगरेको भए आफ्नो पढाइ अधुरै रहने बसन्ताले बताइन् । भनिन् ‘अब त गाउँको पहिलो महिला सब–इन्जिनियर भएर मात्रै घर फर्किने हो ।’

बसन्ताको जस्तै समस्या छ रिंकु धामीको पनि । १० वर्षको उमेरमा बुवाको मृत्यु भयो । घरमा कमाउने मानिस कोही थिएन । जसोतसो १२ कक्षासम्म पढिन् । चर्को शुल्क लाग्ने भएकाले प्राविधिक शिक्षा पढ्ने रहर हुँदाहुँदै पनि असम्भव थियो । गाउँपालिकामा भेटेनरी जेटिए पढ्ने भन्दै निवेदन दिएपछि उनको घरको अवस्थाका आधारमा गाउँपालिकाले उनलाई पढाइदिने भयो । पढाइ शुल्क ८० हजार लाग्छ । रिंकुले भनिन् ‘आफ्नै खर्चमा जेटिए पढ्नु सम्भब थिएन । अब पढ्दै छु ।’ रिंकुले भविष्यमा सरकारी जागिर खाने सोच बनाएकी छिन् । ‘जागिर नभए अब त गाउँमै कृषि गरेर पनि स्वरोजगार बन्न सक्ने आत्मविश्वास छ’ रिंकुले भनिन् ।

बसन्ताको पढाइ खर्चबापत दुई किस्तामा ५०-५० हजार गरि एक लाख पठाइएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । उनले बसन्ताको पढाइ खर्च र खाने बस्ने व्यवस्था पनि गाउँपालिकाले नै गर्ने बताइन् । सब–इन्जिनियर पढ्न २ लाख २० हजार खर्च लाग्छ । गाउँपालिका उपाध्यक्ष बिना भट्टले भनिन् ‘आर्थिक अभाबकै कारण पढ्न नसक्ने अब्बल छात्राहरूलाई हामीले पढाइदिने गरेका छौं ।’ गाउँपालिकाले १० लाख खर्च गरेर पाँच जना छात्रा र दुई जना छात्रलाई प्राविधिक शिक्षा पढाइरहेको छ ।

पञ्चेश्वर गाउँपालिकाले वडा नं. ६ मा कृषि पाठशाला पनि खोलेको छ । जहाँ ६ जना कृषि प्राविधिक छन् । उनीहरूको निगरानीमा २० जनाले रोजगारी पाएका छन् । अहिले १० हजार बोट अनार, एक-एक हजार बोट केरा र आँप रोप्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष चन्दले बताए । भविष्यमा त्यहाँ सयौं जनालाई रोजगारी दिने योजना छ । जहाँ आईएस्सी एजी पढ्ने छात्राले चाह्यो भने प्राथमिकताकासाथ काम दिने अध्यक्ष चन्दले बताए ।

पञ्चेश्वर गाउँपालिकाले महिलाका लागि गत वर्ष ४ लाख मात्रै खर्च गरेको थियो । यो वर्ष ३४ लाख बजेट छुट्टयाइएको उपाध्यक्ष भट्टले बताइन् । जुन रकमले वडा÷वडामा गठन भएका एकल, विपन्न तथा हिंसामा परेका महिलालाइ उनीहरूको माग अनुसार सहयोग गर्ने योजना छ ।

महिला हिंसाविरुद्ध परेका उजुरी सम्बन्धमा छलफल गर्दै सम्बन्धमा पुरचौंडी नगर उपप्रमुख जानकी ऐर बम ।

कुखुरा तथा बाख्रापालन, कृषि, सिलाई जस्ता तालिम कार्यक्रम महिला समूहले माग गर्ने गरेका छन् । त्यस्तै गाउँपालिकाको वडामा किशोरीका पनि समूह गठन भएका छन् । जो बालबिवाह रोक्न प्रयासरत् छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा प्रत्येक वडामा छुट्टै समूह पनि गठन गरिएको छ ।

पुरचौंडी नगरको सदरमुकाममा बागागाड, लोलीगाड र कोटेलीगाड गरि तीन नदी छन् । तीनवटै खोलाको संगमस्थल ‘त्रिवेणीधाम’को बगरमा एक महिना अघि नगरपालिकाका दश वटै वडाबाट आएका महिलाको ठूलो जमघट थियो । ती सबैजना एकल र हिंसामा परेका महिला थिए । त्यो भीडमा थिइन्– पार्वती बोहरा । १९ वर्षकी उनले श्रीमान गुमाएको एक वर्ष भयो ।

पुरचौंडी नगरपालिका–१० की बोहोरा भागेर विवाह गर्दा १५ वर्षकी थिइन् । बिहेपछि उनका श्रीमान कमाउन भारततिर लागे । १६ वर्षमै कालापहाड गएका श्रीमान दुई वर्षपछि बिरामी भएर घर फर्के । लगत्तै उनको निधन भयो । पार्वतीका साथमा अहिले चार वर्षका एक छोरा छन् । सँगैका साथीसँगीहरू हाँस्दै, खेल्दै पढ्दै गर्दा उनले कष्टपूर्ण एकल जीवन बिताइरहेकी छन् ।

यसरी सानै उमेरमा जीवनका उतारचढाव भोग्ने बोहोरा मात्र एक्ली महिला होइनन् । उनकै जस्तो पीडा छ पुरचौंडी नगरपालिका–२, की डम्बरा भट्टको पनि । ३२ वर्षे उनीसँग २ वर्षे छोरा छन् । तर श्रीमान छैनन् ।

एकल महिलाहरुलाई बाख्रा बितरण गर्दै पुरचौंडी नगर उपप्रमुख जानकी ऐर बम ।

भेलामा जम्मा भएका कतिपय महिलाका श्रीमान छैनन् । जसका छन्, उनीहरूले पनि श्रीमान र आफन्तबाट हिंसा खेप्दै आएका छन् । यसरी पीडित हुनेलाई कसरी सहयोग गर्न सकिन्छ ? भनेर पुरचौंडी नगरपालिकाले त्रिवेणीधामको बगरमा छलफलको लागि बोलाएको थियो ।

त्यही भेलामा नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका ३० महिलालाई दुई–दुई वटा उन्नत जातका बाख्रा वितरण गर्‍यो । ‘घरखर्च चलाउन सहयोग होस् भनेर तत्काल बाख्रा दिइएको हो’ पुरचौंडी नगर उपप्रमुख जानकी ऐर बमले भनिन् ।

सहयोग पाउने सबै महिला ४५ वर्ष भन्दा मुनिका छन् । उनीहरूलाई बाख्रापालन सम्बन्धि तालिम दिएपछि बाख्रा सहयोग गरिएको हो । यसका लागि नगरभरिका एकल र हिंसाप्रभावित महिलाको लगत लिइएको थियो । जसमध्ये ४५ वर्ष मुनिका एकल महिलाको संख्या एक सय ४५ थियो । बमले भनिन्, ‘उनीहरूलाई क्रमस माग गरे अनुसार आय आर्जनका लागि सहयोग गर्ने योजना छ ।’

यसरी आफ्नो समस्या बुझेर नगरपालिकाले सहयोग गरेकोमा महिला खुशी देखिन्थे । तिनै मध्ये एक हुन्–दमन्ती साउद । पैसा कमाएर आनन्दको जिन्दगी बिताउने सपना बाँडेर घर छोडेका श्रीमानले सौता भित्र्याए । ‘त्यसपछि म एक्लै भएँ । न काम छ, न पैसा । अब यही बाख्रा पालेर जीवन चलाउँछु,’ उनले भनिन् ।

चर्चा बटुल्दै ‘सुत्केरीलाई उपमेयरको कोसेली’

नगरपालिकाले बाख्रा वितरण मात्र हैन गत माघदेखि सुरु गरेको ‘सुत्केरीलाई उपमेयरको कोसेली’ कार्यक्रमले पनि निकै चर्चा पाएको छ । यसमा सुत्केरी महिलालाई उपमेयरले भेटेर घिउ, अण्डा, दाल, फलफूल तथा सरसफाइका सामान प्रदान गर्छिन् । कार्यक्रम अन्तर्गत चार महिनामा एक सय ९१ जना आमाले ‘कोसेली’ पाएका छन् ।

यस कार्यक्रमले सुत्केरीलाई विशेष महत्व दिनुपर्छ भन्ने सन्देशसमेत दिएको स्वास्थ्य ईकाई प्रमुख बिनोद कुँवरले बताए । भने ‘उपप्रमुख नै भेट्न जाँदा महिलाले जनप्रतिनिधि भएको अनुभव र गर्व गर्ने गरेका छन् ।’ कार्यक्रमको प्रभाव देखेर छिमेकी गाउँसमेत सिको गर्ने तरखरमा छन् ।

सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रौपदी चन्दले कोसेली कार्यक्रम देखेर आफू पनि दंग भएको बताइन् । ‘सुत्केरी महिलाको लागि राम्रो कार्यक्रम सुरु गरिएको रहेछ । अब हामी पनि शुरु गर्छौं ।’ चन्दले भनिन् ।

पुरचौंडी नगरपालिकाले गत वर्ष महिलाका लागि १८ लाख रकम खर्च गरेको थियो । यो वर्ष बढाएर ४५ लाख पु¥याएको छ । महिलाको आय आर्जनका सीपमूलक तालिम तथा घरेलु हिंसाविरुद्ध महिला समूह निर्माणमा रकम खर्च भएको छ ।

पुरचौंडीले किशोरीका घरमा हरियो झण्डा राख्ने कार्यक्रम पनि सुरु गरेको छ । २० वर्ष मुनिका किशोरी रहेका घरमा गाडिने झण्डालाई बाल बिवाह नगर्न खबरदारी गर्ने प्रतीकको रुपमा स्थापित गर्न खोजिएको छ । उपमेयर बमले भनिन्, ‘बिहान बेलुका झण्डा देख्दा बाल बिवाह नगर्न मनोवैज्ञानिक रुपमा अभिभावकलाई दबाब सिर्जना गर्छ ।’

गर्भावस्थामा सबै खोप लगाएकी आमाको घरमा झुण्ड्याइने हरियो झण्डाका साथ स्थानीय किशोरी ।

उता शिवनाथ गाउँपालिकाको घरमा झण्डा गाड्ने उद्देश्य भने पुरचौंडीको भन्दा फरक छ । शिवनाथ गाउँपालिकामा झण्डालाई सुनौलो हजार दिने आमा र शिशुसँग जोडिएको छ । गर्भावस्थामा सबै खोप लगाएको र शिशु जन्माएको हजार दिनसम्म आमाको घरमा हरियो झण्डा, गर्भवती रहेको घरमा पहेंलो झण्डा र खोप लगाउन नमान्ने वा छुटाउने महिलाको घरमा रातो झण्डा गाड्न थालिएको छ । उपाध्यक्ष कुश्मा चन्दका अनुसार सबै झण्डाले सुत्केरी आमाको घर चिनाउने र सामान्य महिलाको भन्दा बढी ख्याल गर्नुपर्ने संकेत गर्छ ।

दोगडाकेदार गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने महिलालाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने गरेको छ । छोरा जन्मिदा मख्ख पर्ने र छोरी जन्मिदा निरास हुने चलनको अन्त्य गर्न यो कार्यक्रम सुरु गरेको उपाध्यक्ष पार्वती कार्कीको भनाई छ । यो ठूलो रकम होइन । तर यसले समाजमा छोरीप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउन सहयोग पुग्नेमा ढुक्क छिन्, कार्की । स्वास्थ्य संस्थामा सुत्केरी हुन आएकी दोगडाकेदार–२ की गोमती दमाईले हजार रुपैयाँ पाउँदा खुसी लागेको बताइन । भनिन्, ‘हजार रुपैयाँसँगै छोरी बोकेर फर्किदा घरमा पनि सबैजना खुसी हुन्छन् होला ।’

गत वर्ष गाउँपालिकाका दुई सय ८० जनाले छोरी जन्माएबापत उक्त रकम पाए । यस वर्ष असार यताको संख्या एक सय ४३ जना पुगेको छ । त्यस्तै प्रत्येक चोटी गर्भ जाँच गराएबापत पनि गाउँपालिकाले आयोडिनयुक्त नुन, साबुन, नङकट, ब्रस लगायतका सरसफाई सामग्री दिने गरेको छ । चारचोटी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाले चारै चोटी यस्तो सामग्री पाउँछन् ।

दोगडाकेदार गाउँपालिकाले मातृ शिशु कोषको स्थापना गरेको छ । स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने महिलाले जिल्ला बाहिरको अस्पताल जाँदा लाग्ने खर्च उक्त कोषबाट व्यहोरिने उपाध्यक्ष कार्कीले बताइन् । कोषमा दुई लाख ४० हजार रकम राखिएको छ । कोष संचालनका लागि गाउँपालिकाले कार्यविधि पनि तयार गरिसकेको छ ।

कोष स्थापना भएपछि गाउँपालिकाका चार जना महिलालाई डडेल्धुरा र धनगढी पठाउने खर्च दिएको थियो । यतिमात्र होइन दोगडाकेदार गाउँपालिकाले आमाबुवा नभएका १९ जना बालबालिकालाई मासिक दुई हजार भत्ता दिइरहेको छ । त्यस्तै गाउँपालिकाभित्रका स्वयंसेविकालाई वार्षिक पाँच हजार प्रोत्साहन भत्ता दिन थालेको छ । गाउँपालिकाले महिलाको क्षेत्रमा रु ५० लाख बजेट छुट्टयाएको छ । जसमध्ये २५ लाख खर्च भइसकेको छ ।

नगरपालिका भन्दा गाउँकापालिकाका काम उदाहरणीय

बैतडीका नगरपालिका भन्दा दुर्गममा पर्ने गाउँपालिकाले महिलाको क्षेत्रमा उदाहरणीय काम गरेका छन् । जिल्लाका चार नगरपालिकामध्ये पुरचौंडीबाहेक अन्य तीन नगरपालिकामा महिलाका लागि थोरै मात्र कार्यक्रम संचालन भएका छन् ।

पाटन नगरपालिकाले महिला हिंसा न्यूनिकरणका लागि अभिमुखीकरण तालिम संचालन गर्न पाँच लाख मात्रै बजेट राखेको छ । वडाहरूले एकदेखि ३ लाख सम्मका अन्य कार्यक्रम संचालन गरेको उपमेयर सरस्वती कोलीले बताइन् ।

त्यस्तै मेलौली नगरपालिकाले १० लाख बजेट छुट्टयाएको छ । जसमध्ये महिला हिंसा विरुद्धको १६ दिने अभियान, केही वडामा महिला सञ्जाल गठन तथा महिला दिवस मनाइएको छ भने क्षमता अभिवृद्धि तथा सीपमूलक कार्यक्रम छिट्टै संचालन गरिने उपमेयर राधा ओझाले बताइन् ।

पाटन नगरपालिकाले महिला हिंसा न्यूनिकरणका लागि अभिमुखीकरण तालिम संचालन गर्न पाँच लाख मात्रै बजेट राखेको छ । वडाहरूले एकदेखि ३ लाख सम्मका अन्य कार्यक्रम संचालन गरेको उपमेयर सरस्वती कोलीले बताइन् ।

जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिकाले महिलाका लागि छुट्टै खास कार्यक्रम संचालन गरेको छैन । तर महिला हिंसाविरुद्धको अभियान, वडामा महिला समूहलाई सक्रिय पार्ने काम भने भएका छन् । हिंसाका घटना भएमा वडामा रहेका समूहले उपमेयरको संयोजकत्वमा रहेको नगरस्तरीय सञ्जालमा खबर गर्ने गरेको उपमेयर मीना चन्दले बताइन् । महिला हिंसाका घटनाविरुद्ध लड्न समूहलाई छिट्टै सरकारी वकिलको कार्यालयसँग सल्लाह गरेर तालिम दिने योजना उपमेयर चन्दको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारले महिलाका लागि गरेका बाचा अनुसार काम नभए पनि केही सकारात्मक प्रयास भने सुरु भएको अधिकारकर्मीको भनाइ छ । महिलाको क्षेत्रमा काम गर्दै आएकी देबु ठगुन्नाले भनिन्, ‘यस्तै महिलामुखी आय आर्जन तथा जीविकोपार्जनका कार्यक्रम सबै तहमा प्रभावकारीरुपमा पुग्न सके अझ राम्रो हुन्थ्यो ।’

महिलाको लागि बजेट कम भएको अधिकारकर्मी सरस्वती नेपालीले बताइन् । भनिन्, ‘महिलाका लागि जनसंख्याको आधारमा बजेट तर्जुमा हुनुपर्छ र त्यही अनुसार कार्यान्वयन गर्नुपर्छ ।’ अधिकांश स्थानीय तहमा महिलाको जीवनमा दीर्घकालीन सुधार ल्याउने कार्यक्रम नभए पनि केही स्थानीय तहमा भने सकारात्मक कामको सुरुआत भएको उनले बताइन् ।

नेपाली र ठगुन्ना दुवैलाई यहाँको स्थानीय सरकारले सुरु गरेको सकारात्मक प्रयासबाट अरुले पनि पाठ सिक्नुपर्छ भन्ने लाग्छ । महिला जनप्रतिनिधीले एक अर्कासँग सहकार्य, समन्वय गर्ने र राम्रा प्रयासको सिको गर्दै अघि बढ्न सके सबैको लागि राम्रो हुने उनीहरूको सुझाव छ ।

(पत्रकार साउद बैतडीबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

तस्बिरमा हेर्नुस्, बेइजिङ प्लस २५ को समिक्षा कार्याशाला

-महिला खबर- ललितपुर । बेइजिङं २५ को समीक्षाका आजदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: