डम्मरेकी आमा


कविता

प्रकाशित मिति :2019-05-27 12:59:37

-निर्मल घिमिरे-

डम्मरेकी आमा !
बाछिटोल हानेर
टाटीको माटो झरेको भित्तो झैँ भइसक्यौँ हामी
कति गडिसकेछन् तिम्रा आँखा
छेपारी र नाडीका हरिया नसा
खै,
माथिबाट पितृहरूले बोलाउन थाले जस्तो
घरमाथिको बरको रूख ढलेको सपना देखे आज
कतै पिचासले पो बिगार गरे कि
सपना पनि साह्रै बिग्रन थाल्या छन् आजभोलि ।
डम्मरेकी आमा !
लिखुटी गाईको एक लोहोटा मही
चामल पखालेको चौलानी जस्तै पातलो भए पनि
वचन खाएरै ल्याएकी छु विष्टका घरबाट
भुट है दुई घान मकै
म च्याँख्ला पिँध्छु जाँतोमा
हुनेखानेहरू त चौरासी व्यञ्जन खालान्
तर मेरी थोती बूढी,
एक बटुको मही र सातु
पिरो नुन खुर्सानी हालेर
टारौँला हामी पनि आजको दिन ।

डम्मरेकी आमा !
साठी वर्षभन्दा बढी
मैले फलाम पिट्दा
साथ दियौ तिमीले आरन चलाएर
यही आरनले उत्पादन ग¥यो
गाउँभरीका लागि बन्चरो, खुर्पा कोदालो र खुकुरी
मेरी हिउँ जस्ती सेतो मनकी धनी
हामीलाई के दियो हेर त
आरनको रापिलो धुनले
अँगार जस्तै काला भइसकेछन् तिम्रा छाला ।
मेरी डम्मरेकी आमा !
आँखा कम देख्न थालेपछि
हामी जस्तै लुते अनि बिमार
भइसकेको छ यो आरन पनि
हाम्रा श्रम र सीपको खोजीमा
फिटिक्कै आउनै छाडे गाउँलेहरू
बजारिया जिनस्ले बर्बादै पा¥यो ।

रिट्ठे भीरभन्दा धेरै पर
सौभाग्यको हाम्रो सुर्जे नउदाएपछि
कसको के नै पो लाग्ने रैछ र रु
बा भएको एक जुवान छोरो पनि
बुहारी च्यापेर सहराँ बस्छ
न वास्ता, न त दुःख बिमार
केही मतलब छैन उसलाई
आफ्नाले नै यस्तो गरेसी
को नै रैछ र ?
डम्मरेकी आमा
हाम्रा आफ्ना भन्नु
नातागोताले उठ्नै नसक्ने भएकी छौ तिमी ।

डम्मरेकी आमा !
जिम्मलको घरमा बेहुली भत्रे छ रे कानेकोर्सी
एक बटुको तागतिलो झोल मागेर ल्याउँला
अनि आधा–आधा बाँडेर खाउँला
त्यसपछि त केही तङ्ग्रिन्छौ नि तिमी
मेरी काली बुढी ।
पहिला पहिला जवानीमा
सनासोले पनि च्याप्न नसक्ने तिम्रा गाला
मभित्रको रुमानी ब्रह्माण्ड हल्लाउने
तिम्रा प्रेमिल नजर
आफ्नै जोर हातका हस्तरेखा
देख्न नसक्ने गरी
मोतीविन्दुले कमजोर बनाई हाले
बाघको चालझैँ हिँड्ने तिम्रो जिउडाल
अहिले थिर्थिराएको देख्दा
डम्मरेकी आमा
भक्कानो फुटेर आउँछ ।
चालीस वर्षअघि
बडहरको गाँछीमा
बकुल्लाले डिम्मा पार्दै गर्दा
यही बृद्ध ढिकी छेउ
तिम्रा कोखबाट डम्मरेलाई
जम्माएकी थियौ यस धर्तीमा
मलाई अझै याद छ सो दिन
छडी हानेको भाले र एक हर्पे घिउ
छोरो जन्मिएको खुसीयालीमा
द्वारेबाकाबाट पर्म असुलीमा ल्याएको ।

बिट भाँच्चिएको सिलाबरको डेक्चीमा
च्याँख्लाको कालो खोले छड्किरहेको बेला
मेरो मनको कसैँडीमा फत्किरहेको
हाम्रा भूमिगत दुःख
तिम्रा चिन्ता अनि पिरलो
खै कसले पो सुन्छ र यो व्यथा
न निष्ठुरी शासनले, न त बहिरो देउताले ।

डम्मरेकी आमा !
अम्बाका एउटै गाँजमा फलेका
दुई ओटा तुलफूल जस्ता हामी
तिमी नखसेकी हुनाले म अडिएको छु
म नखसेकोले तिमी अडिएकी,
समय रूपी दैवले सुनिदिएर
चलोस त्यस्तो बतास
जहाँ एकै पटक खुत्रुक्क खसौं हामी
म खसेको तिमीले र तिमी खसेको मैले
कसैले चालै नपाइयोस्
मेरी डम्मरेकी आमा !

हरिवन न।पा।–१०, सर्लाही
हाल स् जापान

    Comment Here!

Related NEWS
मुख्य खबर

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

निमुखाको शिकार: बाल यौनदुराचारीको दृष्टि नेपालतिर

-जनकराज सापकोटा- ‘नेपालमा ६०० बालगृहमा १५ हजारजति बालबालिका छन् र यहाँ बालगृह एउटा उद्योगकै रूपमा विकास

अब बालविवाह हुन्न

उनका अनुसार पछिल्लो समय विवाह दर्ता गर्न आउनेको संख्यामा उमेर पुगेका जोडी मात्रै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: